aarthiknews.com आइतबार, ३० जेठ २०७८   Sunday, 13 June, 2021
 
nmb
Esewa_Remit

अमेरिकामा एकैदिनमा अहिलेसम्मकै धेरै सङ्क्रमित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ०८ कार्तिक २०७७
Nabil Bank
अमेरिकामा एकैदिनमा अहिलेसम्मकै धेरै सङ्क्रमित
LBEF

एजेन्सी । अमेरिकामा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या अहिलेसम्मकै धेरै देखिएको छ । लकडाउन खुकुलो हुदै गएको, चुनावी गतिविधिहरु बढेको, भिडभाड धेरै हुन थालेको लगायतका कारणले सङ्क्रमितहरुको संख्यामा बृद्धि भएको अधिकारीहरुले जनाएका छन् ।

केही अस्पतालहरुमा सङ्क्रमितहरुको संख्या अत्यधिक भएको र उनीहरुकोमा त्यो संख्या पनि अहिलेसम्मकै धेरै भएको जनाइएको छ । अमेरिकामा शुक्रवार ८३ हजार भन्दा बढीमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको तथ्याकंमा छ । तर मृत्यु दर भने राम्रो उपचारका कारण कम भएको बताइएको छ ।

विभिन्न निकायहरुले दिएको विवरण अनुसार अमेरिकामा कोरोना भाइरसको महामारी शुरू भए यता ८५ लाख मानिसहरू कोरोनाभाइरस सङ्क्रमित भएका छन् ।यस अघि एकैदिनमा सवैभन्दा धेरै सङ्क्रमित गत जुलाई १७ मा भएका थिए । त्यो दिन ७६ हजार ८ सय ४२ रहेकोमा अहिले झण्डै ६ हजारले बढी भएको देखिएको छ ।

त्यसैगरी साप्ताहिक विवरण हेर्दा पनि गत एक हप्तामा ४ लाख ४१ हजार भन्दा बढीमा सङ्क्रमित भएका छन् । यो सङ्ख्या पनि जुलाई यताको सबभन्दा धेरै भएको जनाइएको छ। तर मृत्यु भएकाहरुको सङ्ख्या भने गत अप्रिलको भन्दा कम नै रहेको छ । अप्रिलमा दैनिक दुई हजारको मृत्यु भएको थियो । 

पछिल्ला केही दिनदेखि सङ्क्रमितहरुको संख्यामा बृद्धि भएसँगै अस्पताल भर्ना हुनेहरुको संख्यामा पनि बृद्धि भएको छ । शुक्रवारको तथ्याङ्क अनुसार ४१ हजार ४८५ जना विभिन्न अस्पतालमा उपचार भइरहेको छ । 
 
कतिपय देशहरुमा पछिल्लो समयमा फेरी सङ्क्रमितहरुको संख्या बढ्न थालेको पाइएको छ । विश्व स्वास्थ्य सङ्गठनले पनि अमेरिकासहितका कतिपय मुलुकहरुमा कोरोना भाइरसको सङ्क्रमण फैलिने क्रम अत्यन्त धेरै रहेको र ती क्षेत्रको अवस्था कठिन रहेको भन्दै चिन्ता व्यक्त गरेको छ ।  

प्रतिक्रिया दिनुहोस