१५ प्रतिशत बिमितले बीचमै बीमा छोड्छन् - Aarthiknews
aarthiknews.com बुधबार, ०१ असोज २०७६   Wednesday, 18 September, 2019
 
बीमाप्रति अझै आममानिस आकर्षित हुन सकेनन्

१५ प्रतिशत बिमितले बीचमै बीमा छोड्छन्

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २६ जेठ २०७६
Sunrise bank
१५ प्रतिशत बिमितले बीचमै बीमा छोड्छन्
LBEF
NCH-IPS

काठमाडौं, जेठ २६ । बीमा गर्ने व्यक्तिको आम्दानी नहेरी बीमा गरिदिँदा एकसय जनामा १५ जनाले बीचैमा बीमा गरेको पैसा तिर्न नसकेर छाड्ने गरेका छन् । 

बीमक (बीमा गरिदिने व्यक्ति) ले ठूलो आश्वासन बाँडेको भरमा बीमित (बीमा गर्ने व्यक्ति)ले बीमा पोलिसी गरिद गर्ने तर रकम तिर्न नसकेर बीचैमा छाड्ने गरेका हुन् । यसरी बीचैमा छाड्ने क्रम पछिल्लो समय निकै बढेको छ । बीमितको मासिक वा वार्षिक आम्दानी नहेरी बीमा पोलिसी बिक्री गर्दाको परिणाम यस्तो हुन गएको बीमा समितिको भनाइ छ ।

१९ जीवन बीमा कम्पनीबीच बीमा पोलिसी कसरी बढी बिक्री गर्ने भन्ने सम्बन्धमा प्रतिस्पर्धा नै छ । नयाँ बीमा पोलिसी बिक्री गर्दा अभिकर्तालाई बढी कमिसन आउने गर्छ । त्यसैले पनि अभिकर्ताले आक्रमक रुपमा बीमा पोलिसी बिक्री गर्नमा ध्यान केन्द्रित गरेका छन् । तर, बीमा गर्ने व्यक्ति गर्ने व्यक्तिको आर्थिक स्थिति तथा व्यक्तिगत आम्दानी हेरिदैन । बीमा अभिकर्ताले आक्रमक रुपमा बीमा पोलिसी बिक्री गर्न अनावश्यक आश्वासन बाँड्ने गर्छन् । बीमितहरु बीमा गर्न सक्ने अवस्थामा नहँुदा नहुँदै पनि नाता, गोतासमेत लगाएर बीमा पोलिसी बिक्री गरिन्छ । उनीहरु पनि आफ्नो इज्जत जोगाउने उपायले बीमा पोलिसी खरिद गर्ने गरेको तर बीमा पोलिसी नवीकरण गर्न नसकेर बीचैमा छाड्ने गरेको बीमा बिज्ञहरु बताउँछन् ।

अहिले पनि करिब ८५ प्रतिशत नेपालीले बीमा गरेका छैनन् । उनीहरुलाई बीमा पोलिसी बिक्री गर्न शहरदेखि गाउँसम्म बीमा कम्पनीले बीमा अभिकर्ताहरु खटाएका छन् । उनीहरुले अनेक प्रलोभन देखाएर बीमा पोलिसी बिक्री गर्दै आएका छन् ।

बीमा गर्दा फाइदा छ । यसमा कसैको पनि दुई मत छैन् । तर, बीमा पोलिसी खरिद गरिसकेपछि प्रत्येक वर्ष नवीकरण गर्न पुनः पैसा तिर्नुपर्छ । बीमा गर्दा जुन अवधिका लागि जति रकम बराबरको बीमा गरिन्छ, त्यो अवधिमा किस्ताबन्दी रुपमा त्यति नै रकम तिर्नुपर्ने हुन्छ । जस्तो १५ वर्षमा पैसा फिर्ता पाउने गरी ५ लाखको बीमा गरिको छ भने ३३ हजार ३ सय ३३ पैसार रकम बुझाउनुपर्ने हुन्छ । तर, त्यसरी बुझाउनुपर्ने रकम तिर्न नसक्दा बीचैमा बीमा पोलिसी ल्याप्स हुँदै आएको छ ।

अझै पनि केही व्यक्तिहरुको मानसिकता बीमा गर्नुभन्दा बैंकमा पैसा राख्दा बढी फाइदा हुने धारणा राख्छन् । तर, बीमा बिज्ञहरुले भने बैंकमा राखिएको पैसाले जोखिम बहन नगर्ने हुँदा बैंकमा पैसा राख्नु भन्दा बीमा गर्नु राम्रो हुने बताउँछन् ।

बीमा गर्दा अनेक फाइदा हुन्छ । बीमाले व्यक्तिलाई आफ्नो जीवन र सम्पत्तिबारे भविष्यमा हुनसक्ने जोखिमहरूको कारण उब्जिएको समस्याबाट राहत हुने गरी क्षतिपूर्ति दिन्छ । जीवन बीमा गरेको निश्चित अवधिसम्म बीमा गर्ने व्यक्ति जीवित भएमा उसैलाई, नभए आश्रित परिवारलाई बीमा कम्पनीले एकमुष्ट बीमा रकम फर्काउँछ । बीमा गर्ने व्यक्ति वा परिवारमा भएको घटना वा जोखिमलाई सुरक्षित क्षतिपूर्ति गरिदिने भएकोले बीमा गर्नु लाभदायक मानिन्छ ।

बीमा गर्दा बचत गर्ने बानी बस्छ । जीवन बीमाले मानिसलाई रकम बचत गराउन प्रोत्साहन गर्छ । खाइ–नखाई कमाएको सम्पत्तिको संरक्षण गर्न र पछि हुनसक्ने दुर्घटनाबाट बच्न आफू सचेत हुन प्रोत्साहन गर्छ । बैंकमा जम्मा गरिएको रकमलाई सानोतिनो काम पर्दा निकाल्न सकिन्छ तर बीमा कम्पनीमा जम्मा गरेको रकम अवधि पूरा नहुन्जेलसम्म झिक्न नपाइने भएकाले रकम बचत भइरहनुका साथै बोनसको रूपमा ब्याज बढिरहने भएकोले बीमा गर्दा बचतको लागि प्रोत्साहन मिल्छ । यदि कसैलाई बीचैमा रकम आवश्यक पर्याे भने बीमा पोलिसी राखेर ऋण लिन पनि सकिन्छ ।

शिक्षा, दिक्षा र विवाहको व्यवस्था अति आवश्यक कार्यमा बीमा रकम प्रयोग गर्न सकिने हुन्छ । आफ्ना छोराछोरीलाई शिक्षादिक्षाको व्यवस्था गराउनका साथै विवाहको प्रबन्ध मिलाउनको निम्ति ठूलो खर्च आईलाग्ने भएकाले बाबु–आमालाई यसको बोझ हल्का गराउन बीमामा संरक्षित रकमको अनुपातमा कर्जाको व्यवस्था हुन्छ । छोराछोरीको उच्च शिक्षा अथवा विदेश गएर पढ्न चाहानालाई यसले ठूलो सहयोग गर्छ । अथवा विवाह, ब्रतबन्ध, कुनै सांस्कृतिक कार्यक्रम गर्नका लागि पनि यसले ठूलो मद्दत गर्छ ।

लाभदायक लगानीका रुपमा बीमालाई लिने गरिएको छ । जीवन बीमा जीवन सुरक्षाको उपाय साथै यो एक प्रकारको लगानी पनि हो । तोकिएको समयभन्दा अगाडि नै बीमा गर्ने मानिसको मृत्यु भएमा उसले इच्छाएको व्यक्ति वा आश्रित परिवारलाई एकमुष्ट रकम प्रदान गर्छ । यो रकम मूल बीमा रकम र त्यसको सो अवधिमा पाकेको ब्याजसहित कम्पनीले फर्काइदिन्छ । यो रकमलाई कुनै लाभदायक काममा लगाउन सकिन्छ । यति फाइदा हुँदा हुँदै पनि बीमा गर्दै नगर्ने र बीचैमा छाड्ने प्रवृति बढ्दैछ ।

प्रतिक्रिया दिनुहोस