aarthiknews.com बुधबार, ०८ बैशाख २०७८   Wednesday, 21 April, 2021
 
nmb
Esewa_Remit
Bajaj_Bike

चालु आर्थिक वर्षको सुरुमै घट्यो विदेशी लगानी

  • आजको कान्तिपुर दैनिकबाट
    आजको कान्तिपुर दैनिकबाट
  • आइतबार, १८ असोज २०७७
Reliance life insurance
चालु आर्थिक वर्षको सुरुमै घट्यो विदेशी लगानी
Jagadamba
LBEF

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिना (साउन) मा १ अर्ब ३९ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) भित्रिएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो ३.३ प्रतिशत कम हो । अघिल्लो वर्षको साउनमा यस्तो लगानी १ अर्ब ४४ करोड रुपैयाँ थियो । गत आर्थिक वर्षका सबै महिनामा उच्च दरले बढेको विदेशी लगानी चालु आर्थिक वर्षको सुरुकै महिनामा घटेको हो ।

गत साउनमा विदेशी लगानी केही घट्नुको कुनै कारण नदेखिएको र एक महिनाकै तथ्यांकलाई हेरेर वर्षभरमा विदेशी लगानीको प्रवृत्ति विश्लेषण गर्न नसकिने राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले बताए । कोभिड–१९ का कारण विश्वभर नै लगानी विस्तारमा सुस्तता आएकाले त्यसको केही असर नेपालमा परे पनि गत आर्थिक वर्षको भन्दा विदेशी लगानी घट्ने सम्भावना नरहेको उनको अनुमान छ ।

‘नेपालमा धेरै विदेशी लगानी आउने देश भारतमा पहिलो त्रैमासमा कुल गार्हस्थ्य उत्पादन (जीडीपी) २४ प्रतिशत घटेको छ,’ उनले भने, ‘सञ्चालनमा रहेका परियोजनाहरूमा लगानी आउने क्रम जारी छ । यसकारण पनि विदेशी लगानी गत वर्षको भन्दा कम हुँदैन ।’ विभिन्न अन्तर्राष्ट्रिय अध्ययनले पनि सन् २०२१ मा विश्व अर्थतन्त्रमा सुधार आउने प्रक्षेपण गरेका छन् । यसले पनि आउँदा महिनामा विदेशी लगानी बढ्ने उनको भनाइ छ । पछिल्ला वर्षमा लगानीको वातावरणमा सुधार भएको, सोसम्बन्धी केही कानुन बनेको, एकद्वार प्रणालीको सुरुवात भएको, लगानी सम्मेलन गरिएकोलगायत कारण विदेशी लगानी बढेको राष्ट्र बैंकले जनाएको छ ।

‘कोभिड–१९ ले सिर्जना गरेको अवस्था छाड्ने हो भने मुलुकमा लगानीको वातावरणमा उल्लेख्य सुधार भएको छ,’ प्रवक्ता भट्टले भने । गत आर्थिक वर्षमा एफडीआई करिब झन्डै ५० प्रतिशत बढेको थियो । अघिल्लो आर्थिक वर्षमा कुल १३ अर्ब ६ करोड रुपैयाँ विदेशी लगानी आएकोमा गत आवमा यो बढेर १९ अर्ब ४८ करोड रुपैयाँ पुगेको राष्ट्र बैंकको प्रतिवेदनले देखाएको छ । गत आर्थिक वर्षमा नेपाल भित्रिएको विदेशी लगानीको ९० प्रतिशतभन्दा बढी हिस्सा चारवटा जलविद्युत् आयोजनामा आएको छ । जसमा वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनीमा २ अर्ब, लाङटाङ भोटेकोसी हाइड्रोपावरमा ३ अर्ब ६० करोड, अरुण जलविद्युत्मा ८ अर्ब १५ करोड र सोलु हाइड्रोपावर कम्पनीमा १ अर्ब ४२ करोड विदेशी लगानी भित्रिएको राष्ट्र बैंकले जनाएको छ ।

गत असारसम्मको तथ्यांक हेर्दा रेमिट्यान्समा जस्तै विदेशी लगानीमा पनि कोभिड–१९ को प्रभाव देखिएको छैन । नेपालमा सरकारले गत चैत ११ देखि लकडाउन गरेको थियो । चैतयता असारसम्म ठूलो परिमाणमा विदेशी लगानी नआए पनि अघिल्लो वर्षभन्दा केही बढेको देखिन्छ ।

कोभिड–१९ का कारण ठूला आयोजनामा आउने विदेशी लगानी नघटे पनि जनताको स्तरमा आउने लगानी प्रत्यक्ष रूपमा प्रभावित हुने विज्ञहरू बताउँछन् । तत्कालको कोरोना असरलाई बिर्सने हो भने पनि नेपालमा धेरै विदेशी लगानी भित्र्याउन सरकारले गरेका काम पर्याप्त नभएको उनीहरूको आरोप छ । सरकारले केही नीतिगत सुधार गरे पनि व्यवहारमा अपेक्षित सुधार भएको छैन । ‘एकद्वार नीति बनाउने भन्दै उद्योग विभागमा एक निकाय थपियो । तर त्यहाँ अत्यावश्यक पूर्वाधार पनि छैन । त्यस्तो ठाउँबाट के धेरै सुविधा आस गर्नु ?’ एक विज्ञले भने ।

अघिल्लो आर्थिक वर्षको तुलनामा ०७५/७६ मा सबै महिना विदेशी लगानी घटेको थियो । सो आर्थिक वर्षका पुस र जेठमा ऋणात्मक नै पुगेको थियो । गत आर्थिक वर्षको सुरुदेखि नै विदेशी लगानीमा सुधार देखिएको छ । उक्त आर्थिक वर्षका सबै महिनामा लगानी उल्लेख्य रूपमा बढेको छ ।

पछिल्ला वर्षमा मुलुक भित्रिने विदेशी लगानीभन्दा लाभांशबापत बाहिरिने रकम धेरै छ । यो प्रवृत्ति हरेक वर्ष बढ्दो छ । गत आवमा आएको एफडीआईमध्ये सबैभन्दा धेरै जलविद्युत् क्षेत्रमा छ । अघिल्ला वर्षमा यस्तो लगानी औद्योगिक क्षेत्रमा धेरै थियो । लगानीमा रहेको पुँजी हेर्दा सबैभन्दा धेरै लगानी ट्याक्स हेभन मानिने ‘वेस्ट इन्डिज’ राष्ट्रबाट आएको राष्ट्र बैंककै अध्ययनले देखाएको छ ।

प्रतिक्रिया दिनुहोस