aarthiknews.com बुधबार, १२ कार्तिक २०७७   Wednesday, 28 October, 2020
 
Tansen_cement
Bajaj_Bike

श्रम घटाउ श्रमिक नहटाउः श्रममन्त्री

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०९ असोज २०७७
LBEF
Nabil Bank

कोभिडको मारमा सबैभन्दा बढी श्रमिक वर्ग परेका छन् । धेरैको रोजगारी गुमेका कारण अहिले श्रमिक अप्ठ्यारोमा परेका हुन् । उनीहरूलाई दैनिकी गुजारा गर्न निकै गाह्रो भएको छ । यस्तो दयनीय अवस्थामा रहेका श्रमिकहरूका विषयमा सरकारले लिने आगामी कदर र उनीहरूको सुरक्षाको विषयमा केन्द्रीत रहेर श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवसँग आर्थिकन्युज डटकमले गरेको आर्थिक वहसः  

मन्त्रीज्यू, अहिले हजुर के गर्दै हुनुहुन्छ ?

म अहिले दुःखीहरूको गन्ती गरेर बसेको छु । यसो किन भनिएको हो भने सबैभन्दा बढी कोरोनाबाट पीडित भनेको श्रमिकहरू नै हुन् । श्रमिकहरू नै हाम्रा सबैभन्दा सरोकारको वर्ग हो । देश भित्र र बाहिर रहेका श्रमिकहरूको समस्या कसरी हल गर्न सकिन्छ यहिबारे सोचिरहेको छु । विदेशमा अलपत्र परेका, रोजगारी गुमाएका र स्वदेश फर्किने प्रतिक्षामा रहेका श्रमिकहरूको बारेमा छलफल, मन्थन सम्बन्धित मुलुक र त्यहाँका निकायहरूसँगको सम्पर्क र संम्वादमा नै दिन बितिरेको छ । 

के स्वदेश फर्कने प्रतिक्षामा रहेका नेपाली श्रमिकहरूलाई उद्धार गर्न श्रम मन्त्रालयले गरिरहेको प्रयास पर्याप्त छ जस्तो लाग्छ  ?

यो जटिल प्रश्न हो । मन्त्रीको हैसियतमा मैले भन्नेकुरा एउटा हुन्छ । व्यक्तिगत रुपमा मैले भोगिरहेको अनुभूति अर्कै छ । जिम्मेवारीपूर्वक भन्छु विदेशमा रहेका श्रमिक फिर्ता ल्याउन जे जति प्रयास गर्नुपथ्र्यो त्यसमा नेपाल सरकारले कुनै कसुर बाँकी राखेको छैन । तर, व्यवस्थापकीय कमी कमजोरी भने भइ हाल्ने रहेछ । 

अहिलेसम्म हामीले तेस्रो मुलुकबाट ७० हजार नेपाली श्रमिककरूलाई फिर्ता ल्याइसकेका छौँ । तर, अझै ६० हजारले तत्काल स्वदेश फर्कन खोजिरहेका छन् । यी सबैलाई तत्काल उद्धार गर्नुपर्ने अवस्था छ फेरि ल्याइसकेपछि यसको व्यवस्थापन गुर्नपर्ने हुन्छ । आउने जाने क्रम भइ नै रहन्छ यो प्रक्रिया अनन्तःसम्म चलिरहने छ । कोभिडका साथै नेपालीको प्रमुख चाडसमेत आएको हुनाले नेपाल फर्किेनेको संख्या निकै ठूलो छ । 

वैदेशिक रोजगारीबाट स्वदेश फर्केकाहरूको व्यवस्थापनबारे के सोचिरहनु भएको छ नि ?

स्वदेश फर्किएकाहरूलाई उनीहरूको ज्ञान, सीप, क्षमता र अनुभवका आधारमा  विभिन्न समूहमा वर्गीकरण गर्ने योजना सरकारले बनाएको छ । त्यसका लागि श्रमिक सूचना बैंक स्थापना हुँदै छ । यसबाट कुन मानिस के कामको लागि दक्ष छ भन्ने जानकारी प्राप्त हुन्छ । यसैका आधारमा रोजगारका अवसरहरू सिर्जना गर्न सकिन्छ भन्ने हाम्रो योजना हो । 

विदेशमा रोजगारी गर्न जानेहरूको अवस्था कस्तो देखिरहनु भएको छ ?

हामीले श्रम स्वीकृति खोलिसकेपछि विदेश जान चाहनेको पनि ठूलै चाप देखिएको छ ।  त्यसबाहेक कतिपय मुलुककरूमा थप श्रमिक पठाउने विषयमा समेत छलफल गरिसकेका छौँ । जस्तो की इजराएलमा २०–२५ हजार श्रमिक पठाउने छलफल भएको छ । त्यस्तै जापान, कोरिया, युरोपलगायत हाइ पे गर्ने मुलुककरूमा श्रमिक पठाउन लागि परेका छौँ ।  

सरकारको प्राथमिकता विदेश पठाउने हो कि स्वदेशमै रोजगारी दिने हो ?

हाम्रो पहिलो प्राथमिकता हरेक नेपालीहरूलाई स्वदेशमा नै रोजगार सिर्जना गर्ने हो । म धेरै श्रमिक विदेश पठाएर रेकर्ड बनाउने मन्त्री बन्न चाहान्न । तर, बाहिरजान तलतल लागेकालाई त रोक्न सकिन्न । विदेशमा गएर गर्नेजति मेहेनत नेपालमा नै गर्ने हो भने नेपालमा नै त्यसको ५ गुणा बढी प्रतिफल प्राप्त गर्न सकिन्छ  । 

त्यस्तो होला त मन्त्रीज्यू ?

मज्जाले हुन्छ । म आफै भैसी पालन गर्ने सोचमा छु । म सँग भैसी चराउने सीप छ । मैले त्यहि काम किन नगर्ने ?त्यसैले म भन्छु सबैभन्दा पहिले सबै श्रमिकलाई सीपयुक्त बनाउनु पर्छ । सीपमा  प्रविधि समायोजन गर्न सके हामी नेपालीले विदेशमा भन्दा स्वदेशमै राम्रो आयआर्जन गर्न सक्छौं ।  हामीले प्रधानमन्त्रीलाई पनि यो कुरा गरिसकेका छौँ । त्यसैले हामीले सातै प्रदेशमा युवा शक्तिका लागि  तालिम केन्द्र खोल्ने तयारी गरेका छौँ । बजेटमा पनि यो कुरा समेटिएको छ । 

यसअघि पनि सीप सिकाइ र तालिमका नाममा अर्बौ खर्च भएको हो । तर, प्रतिफल देखिएन, यसपटक चाहिँ यसलाई परिणाममूखी बनाउन तपाईको ठोस योजना के छ ?

अत्याधुनिक तालिकमेन्द्रहरू निर्माण गर्दा निश्चय नै ठूलो लगानी आवश्यक हुन्छ । त्यसैले निजि क्षेत्रसँग समेत सहकार्य गरेर कसरी त्यसलाई काम गर्न सक्ने जनशक्ति बनाउने भन्ने बारे गम्भिर रुपमा छलफल गरिरहेका छौँ । मेरो अर्को प्लान भनेको श्रमिक सूचना बैंक बनाउने हो । यो देशमा श्रमिक को र कति छन् भन्ने त्यसको तथ्याकं छैन ।

अहिलेको अवस्थामा  वास्तवमा  श्रमिकको परिचय तथा पहिचान पनि छैन । न त उसको सामाजिक सुरक्षा नै छ । नेपालका श्रमिकहरू बेसाहरा जस्तै छन् । त्यसैले अनौपचारिक क्षेत्रमा पनि कति श्रमिक छन् भन्ने तथ्याकं राख्ने योजना हो । सबैं श्रमिकलाई वर्गीकरण गरेर पचियपत्र वितरण गर्नेछौँ ।  विभिन्न तहका सरकारल अर्बौ रुपैयाँ राहत बाड्यौँ, तर कुन स्तरकाले कति पाए भन्ने अझै प्रष्ट तथ्यांक छैन । लक्षित वर्ग तथा व्यक्तिहरूले राहत पाएका छैनन भने हुनेखानेले राहत लिएका छन् । 
 

यस्तो अवस्था कसरी आयो ?

काठमाडौं कै हकमा पनि हेर्ने हो भने यहाँ श्रम गर्न आएका श्रमिकहरूले राहत पाएनन् । किनकी सिफरिस गर्ने वडा अध्यक्षले भोट लिस्टमा नाम छैन भनेर फर्काए । कावाडी संकलन गर्ने, फोहोर संकलन गर्नेहरूको कहाँबाट मतदाता नामावलीमा नाम हुन्छ ? उनीहरू त यहाँ श्रम गर्न आएका हुन् । यहि कुरा मैले संसदीय समितिमा भन्दा मन्त्रीले सरकारको पोल खोल्यो भनियो । तर, म यथार्थवादी मानिस हुँ  । जे भएको थियो त्यहि कुरा राखे ।  

अब श्रमिककरू मिटर ब्याज (३६ प्रतिशत) मा ऋण लिएर एउटा भैसी किन्ने  र त्यहि भैसी बेच्दा पनि ब्याज तिर्न नसक्ने परिस्थति सिर्जना नहोस् । यस्तो अवस्था आउन नदिन म एउटा फाइनान्सियल श्रम बैंक खोल्न खोज्दैछु । 

के गर्छ त्यो श्रम बैंकले ? 

श्रम बैंकले श्रमिकलाई उनीहरूको सीप अनुसारको रोजगारी सिर्जना गर्न तथा स्वरोेजगार बनाउन लगानी उपलब्ध गराउँछ । सरकारसँग श्रमिकहरू कै करिब ३० अर्ब पैसा छ । त्यो पैसा म श्रम बैंकमार्फत श्रमिकमा लगानी गर्छु । उनीहरूलाई स्वदेशमै बस्ने वातावरण सिर्जना गर्न यसले ठूलो सहयोग गर्नेछ । 

कोरोना कहरले धेरै श्रमिकले रोजगारी गुमाए । राज्यको अर्थतन्त्र पनि नाजुक भइसकेको छ । अब यस्तो अवस्थामा के गर्ने तयारीमा हुनुहुन्छ ?

विदेशबाट आएका श्रमिककरू जो अब विदेश जान्न नेपालमै केहि गर्छु भन्ने सोच बनाएका छन्, उनीहरूका लागि जागिर नभए पनि आत्मनिर्भर हुन सक्ने वातावरण त हामीले बनाइदिनु पर्यो नि ? श्रमिकहरूले जम्मा गरेको पैसा हामीले विभिन्न बैंकमा राख्नुभन्दा

आफ्नै बैंक किन नखोल्ने ? 

आफ्नो बैंक खोलेर श्रमिकहरूको बीचमा लगानी गर्ने वातावरणको तयारी गर्न मैले थालनी गरेको छु । त्यसपछि हाम्रो देशमा भित्रिने रेमिट्यान्स पनि त्यहि बैंकबाट आउने सम्भावना हुन्छ । इमान्दारी पूर्वक हामी लागि पर्यौ भने १० वर्ष पनि लाग्दैन । १० वर्षभित्र नयाँ नेपालको परिकल्पना गर्न सकिन्छ । हामीसँग भएका सम्भावनाहरूका क्षेत्रमा काम गर्न तथा श्रम सिर्जना गर्ने प्रशस्तै ठाउँ छ । 

श्रम बजारमा वार्षिक रुपमा भित्र्ने नयाँ जनशक्ति र वैदेशिक रोजगारीबाट फर्केकालाई देशमा राख्ने वातावरण सरकारले सिर्जना गर्न नसकेको त हो नि ?

श्रम बजारमा हरेक वर्ष आउने जनशक्तिको आकलन एसईईको रिजल्ट हरेर गरिन्छ । यसको कुनै आधिकारीक तथ्यांक छैन । हामीसँग श्रमिकको तथ्यांक छैन । श्रमिक सूचना बैंकमा सबैको तथ्यांक समावेश गरेपछि श्रमिकका बारेमा यथार्थ तथ्यांक आउँछ । 
श्रमिक सूचना बैंक बनाउनुको अर्थ पनि यहि हो । यसपछि हामीले एसईई र वैदेशिक रोजगारीबाट फर्केकाको तथ्यांक कुर्नु पर्दैन । यी सबैको व्यवस्थापन मिलाउन नै श्रम बैंक स्थापना गर्न लागिएको हो । यसमा सबै श्रमिकको विवरण कार्य क्षेत्रअनुसार इन्ट्री हुन्छ ।

म श्रममन्त्री भएयता ८ महिनाको अवधिमा ५ सय भन्दा बढी लास आइसकेको छ । नेपालीहरू बाहिर श्रम गर्न गएका हुन् । परिवारको सुखसयलका लागि श्रमिकहरू विदेशमा श्रम बिक्री गर्न गएका हुन् । तर, त्यहि ज्यान गुमाउनु पर्ने अवस्था रहेको छ । हाँसो र परिवारको सुख सयलका लागि गएको श्रमिकको मृत्युले उसको परिवारको खुशी रोदनमा परिणत भएको छ । 

 

श्रमिकहरूलाई विदेशी भूमीका काम गर्दा हुने डिप्रेशनबाट जोगाउन मैले अर्को नयाँ योजना बनाएको छु । उनीहरूलाई प्रत्येक दिन आफ्नो परिवारसँग गफ गर्न सक्ने वातावरण मिलाउँदै छु । डिप्रेशनकै कारणबाट आत्महत्या गर्ने अवस्थामा श्रमिक पुगेका छन् । त्यसको समाधानको लागि प्रत्येक श्रमिकलाई नेपालको सिम दिने व्यवस्था मिलाउन लागिएको हो । 

उनीहरूले आफ्नो परिवारसँग दैनिक आधा घण्टा गफ गर्न पाए भने डिप्रेशनमा जाँदैनन् मेरो विश्वास भन्ने हो । जनावरले त आफ्नो बच्चा प्रति माया ममता देखाउँछ भने हामी त मानव हौं त्यसैले उनीहरूलाई दैनिक परिवारसँग कुरा गराउने वातावरण मिलाउन लागेको हुँ । म सबै श्रमिकलाई कम्युनिकेशनमा राख्न चाहन्छु ।

उनीहरूले आफ्नो परिवारसँग दैनिक आधा घण्टा गफ गर्न पाए भने डिप्रेशनमा जाँदैनन् मेरो विश्वास भन्ने हो । जनावरले त आफ्नो बच्चा प्रति माया ममता देखाउँछ भने हामी त मानव हौं त्यसैले उनीहरूलाई दैनिक परिवारसँग कुरा गराउने वातावरण मिलाउन लागेको हुँ । म सबै श्रमिकलाई कम्युनिकेशनमा राख्न चाहन्छु ।

विदेशमा श्रम गर्न जानेलाई एक÷एक वटा सिम दिनुको अर्को योजना भनेको नेपालमा श्रमिकको तथ्यांक नहुँदा भत्रगोल जस्तै अवस्था छ । संस्थागत रुपमा विदेशीएकाको मात्रै सरकारसँग तथ्यांक हुन्छ । आफूखुशी व्यक्तिगत रुपमा जानेको कुनै तथ्यांक हुँदैन । यसले कति बाहिर गए कति फर्किए यसको तथ्यांक राख्न खोजिएको हो । कुनै देशमा कोही आफू खुशी गयो भने कुन देशमा पुग्छ र कसरी  बसिरहेको थाहा हुँदैन । एकै पटक उसको लास आएपछि मात्र थाहा हुन्छ । 

सिम दिएर पठाउन सके ऊ बसेको देश तथा उसले परिवर्तन गरेको स्थानको वारेमा सिमबाट लोकेशन हेर्न सकिन्छ । त्यसैले पनि प्रत्येक वैदेशिक रोजगारीमा जानेलाई एउटा सिम दिएर पठाउने योजना मैले बनाएको हुँ । यो टेक्नोलोजीबाट पत्ता लगाउन सकिन्छ । यो सिम मैले विशेष गरेर जीवन रक्षाको लागि प्रयोग गर्न लागेको हुँ र यो मेरो सपना पनि हो । म यी सबै कुराको व्यवस्थापन मिलाउने तयारीमा छु । 

नेपालमा धेरै च्यानलबाट रकम भित्र्न्छ । रेमिट्यान्सलाई वैधानिक च्यानलबाट भित्र्याउन नयाँ प्लान के गर्दै हुुनुहुन्छ ?

म कानुनको विद्यार्थी । जुन हिसावमा विदेशबाट मानिस नेपाल फर्किए त्यसबाट हामीले धेरै रेमिट्यान्स घट्छ भनेर आकलन गरेका थियौं  । तर, त्यहि हिसावले रेमिट्यान्स घटेन । १ प्रतिशत घटेकोलाई खासै घटेको मान्नु हुँदैन। 

तर, मेरो के सोच हो भने अहिले विदेशमा प्रतिमहिना ५० हजार कमाउनेलाई कम्तीमा पनि एक लाख कमाउने बनाउने मेरो लक्ष्य हो । अझ म त डेढ लाख कमाउने बनाएरमात्र कामदार वैदेशिक रोजगारमा पठाउन चाहन्छु । उनीहरूले कमाएको पैसा आधा खर्च भएपनि आधा स्वदेशमा भित्रिन्छ । युरोपियन कन्ट्रीबाट आएका डिमाण्डहरू राम्रा छन् । विदेशमा काम गर्नेले कम्तीमा पनि एक लाख बचाउन सकुन भन्ने मेरो आशय हो । 

यसो गर्न सके उसले राम्रो आम्दानी गर्न सक्छ पछि स्वदेश फर्किएपछि फेरि त्यो रकमलाई उद्यमशीलतामा लगाएर रोजागारी पनि सिर्जना गर्न सकिन्छ । यसबाट केही जनशक्तिले रोजगारी पाउँछन् भने उत्पादनकत्व पनि बढ्छ । देशलाई आत्मनिर्भर बनाउन टेवा पुग्छ । 

यसो गर्न सके उसले राम्रो आम्दानी गर्न सक्छ पछि स्वदेश फर्किएपछि फेरि त्यो रकमलाई उद्यमशीलतामा लगाएर रोजागारी पनि सिर्जना गर्न सकिन्छ । यसबाट केही जनशक्तिले रोजगारी पाउँछन् भने उत्पादनकत्व पनि बढ्छ । देशलाई आत्मनिर्भर बनाउन टेवा पुग्छ । 

अबका दिनमा यस्तै व्यवस्था गर्न सकियो भने देश समृद्ध बन्न सक्छ र धेरै वस्तुमा हाम्रो परनिर्भरता घट्छ । माछा, मासु, हरियो तरकारीलगायतका वस्तु हामी आफैै उत्पादन गर्न सक्छौ । पुशपालनबाट पनि उत्पादनकत्व बढाउन सकिन्छ । गाई भैंसीको मलमूत्रबाटै हामी उत्पादकत्व बढाउन सक्छौं ।  

रोजगारी सिर्जना गर्न सकिने अन्य क्षेत्र पनि पहिचान गर्नुभयो होला नि ?

सीपका विषयमा कुरा गर्दा निर्माण क्षेत्रसँग सम्बन्धहरूले २५ लाख जतिलाई रोजगारी दिनसक्ने बताएका छन् । त्यसमा १२ मात्र नयाँले रोजगारी दिन सकियो भने पनि राम्रो हुन्छ । यो क्षेत्रमा ५ लाख भारतीय कामदार छन् । यसमा पनि नेपालीलाई लगाउन सकिन्छ । 

तर, त्यसका लागि उनीहरूलाई सीप भने सिकाउनु पर्ने हुन्छ । देशका विभिन्न क्षेत्रमा रोजगारी उपलब्ध गराउन सकिने प्रचुर सम्भावना छ । बाटोमा ब्लक विच्छाउने होस् या टायल विच्छाउने काम देखि हाइड्रोपावरसम्म विदेशी कामदार छन् । यसमा उनीहरूलाई दक्ष बनाएर काममा लगाउन सकिन्छ । इँटा उद्योगमा पनि ९५ प्रतिशत श्रमिक भारतीय नै छन् । 

सीप सिकाउन सकियो भने हामीसँग प्रशस्त रोजगारी सिर्जना गर्न सकिने ठाउँहरू छन् । यो सबै आकलन गर्दा हाम्रो काधमा ठूलो जिम्मेवारी छ । हामीले सबैलाई सीप सिकाउन सकियो भने समृद्ध नेपाल र खुशी नेपाली बनाउन सकिन्छ । यी सबै कुरा योजना वद्ध रुपमा मिलाएर लैजानु पर्ने हुन्छ । 

यसका लागि सिष्टम बन्नु पर्छ । यसलाई जोड्नको लागि नै हामीले श्रमिक बैंकको अवधारणा अघि सारेका हौं । बाहिर पठाउनको लागि प्रपर च्यानल नबनेसम्म यो बढी आर्जन गर्ने भन्ने कुरा सम्भव छैन । श्रम स्वीकृत नलिइ कन जाने धेरै छन् । गैर कानुनी रुपमा विदेशमा जाँदा एकातिर उनीहरूलाई बढी शोषण हुन्छ भने अर्कोतिर पैसा पनि वैधानिक च्यानलबाट आउन सक्दैन । पहिला यसलाई वैधानिक च्यानलमा ल्याउनु पर्छ अनिमात्र रेमिट्यान्स वैधानिक च्यानलबाट भित्र्याउन सकिन्छ । हुण्डीबाट पैसा ल्याउनेलाई सरकारले कन्ट्रोल गर्नै पर्छ । देखिएका ल्याप्सेसलाई बन्द गर्ने संयन्त्र बनाउने सरकारको योजना छ । हामी यो रोक्न सरकार लागिपरिरहेको छ । 

रोजगारी गुमाएर पीडामा कष्टकर जीवन यापन गरिरहेका श्रमिक दाजुभाइ तथा दिदीबहिनीलाई तपाई के भन्न चाहनुहुन्छ ? 
कोभिड–१९ ले सबैभन्दा बढी प्रभावित भएको वर्ग श्रमिक नै हुन् । उनीहरूलाई म के भन्न चाहन्छु भने हामीले जुन पीडा भोग्यौ त्यो पीडा राज्यको कारणले नभइ प्रकृतिको कारणले भएको हो, त्यो तपाईहरूले बुझ्नुपर्छ । राज्यले लागू गरेका स्वास्थ्य सम्बन्धी मापदण्ड पुरा गर्ने तर्फमा लाग्नुपर्छ । अहिले हामी बाँच्यौ भनेमात्र परिवार र समाजलाई बचाउन सकिन्छ । राज्यले ल्याएको नीति नियम पालना गर्नुपर्छ । 

कोभिड कहिले जान्छ र कुन अवस्थामा जान्छ यस विषयमा कसैले ठोस आधार दिन सकेका छैनन् । कोभिडसँगै जुध्दै श्रम गर्दै उत्पादकत्व बढाउने तिर लाग्नु पर्छ । हतास हुनु भएन । दृढताका साथ अघि बढ्दै आफूले गुमाएको रोजगारीलाई स्वरोजगारमा परिणत गर्नतर्फ लाग्नु पर्छ । राज्यले दिएको अवसरबाट लाभ उठाउँदै अगाडि बढ्नु पर्छ । म श्रम मन्त्रीको हैसियत के भन्न चाहन्छु भने राज्यको नीतिका कारणले अब कुनै श्रमिकले दुःख पाउनु पर्दैन, भोकै बस्नु पर्दैन । 

कोभिडका कारणले अप्ठ्यारोमा परेका रोजगारदातालाई मैले बैठक बोलाएर निर्देशन दिएको छु, तपाईहरू श्रम घटाउनुस् तर, श्रमिक नहटाउनुस् भनेर । ८ घण्टाको कामलाई चार घण्टा गर तर, श्रमिकलाई कामबाट विदा नगर । यसका साथै राज्यले निर्धारण गरेको ज्यालाभन्दा कम दरमा काम लगाउन विज्ञापन गरेको थाहा पाएमा यस्तालाई कानुनी दायरामा ल्याएर कारवाही गर्छु । 

कोभिडको बेलामा राज्य र रोजगारदाताबीच जुन सम्झौता भएको छ त्यसको अक्षराक्षर पालना गर्न लगाउँछु । राज्य श्रमिकको पक्षमा उभिएको अनुभूति गराउन चाहन्छु । श्रमिकमाथि कुनै शोषण र भेदभाव गर्न हुँदैन । उनीहरूको भविष्यसँग खेलबाड गर्न मैले दिने छैन । त्यसैले राज्य जहिले पनि श्रमिकको हक र हित पक्षमा भएको कुरा म सबै श्रमिक दाजुभाइ तथा दिदीबहिनीलाई दिन चाहन्छु । 

प्रतिक्रिया दिनुहोस