aarthiknews.com शुक्रबार, १४ कार्तिक २०७७   Friday, 30 October, 2020
 
Tansen_cement
Bajaj_Bike

बैंकमा तरलता थुप्रियो

  • आजको आर्थिक अभियान दैनिकबाट
    आजको आर्थिक अभियान दैनिकबाट
  • शुक्रबार, ०९ असोज २०७७
बैंकमा तरलता थुप्रियो
LBEF
Nabil Bank

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा कर्जाको माग नभएपछि निक्षेप मात्रै थुप्रिने स्थिति रहेको छ । बैंकिङ प्रणालीमा २ खर्ब रुपैयाँको अधिक तरलता भएपछि तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंक २८ दिनको निक्षेप संकलन उपकरणको प्रयोग गर्न बाध्य भएको छ । बिहीवार बैंकिङ प्रणालीमा असाधारण प्रकृतिको अधिक तरलताको स्थिति देखिएको भन्दै खुला बजार कारोबार सञ्चालन समितिको निर्णयानुसार बैंकिङ प्रणालीबाट लामो अवधिका लागि ३० अर्ब रुपैयाँको तरलता प्रशोचन गर्न निक्षेप संकलन उपकरण प्रयोग गरेको हो ।

यसअघि आन्तरिक ऋण व्यवस्थापन गर्न छोटो अवधिको एकहप्ते सरकारी ऋणपत्र ट्रेजरी बिलजस्ता उपकरण जारी गर्दै आएको थियो । साथै, मौद्रिक व्यवस्थापनका लागि बजारबाट तरलता प्रशोचन गर्न साउनमा रिभर्स रिपो पनि जारी गरेको थियो ।

राष्ट्र बैंकले अवस्था हेरेर अधिकतम ९० दिनका लागि निक्षेप संकलन उपकरण निष्कासन गर्न सक्छ । यस उपकरणको बोलकबोलमा सफल बोलकर्ताको बैंकमा रहेको खाताबाट रकम झिकी नेपाल राष्ट्र बैंकले निक्षेपका रूपमा राख्छ । यसबाट बैंकिङ प्रणालीमा रहेको अधिक तरलता तोकिएको समयावधिका लागि प्रशोचन हुन्छ ।

‘थोरै भए पनि बैंकबाट तरलता खिचिदिँदा निक्षेपको ब्याजदर धेरै तल जानबाट जोगिन्छ । कर्जा प्रवाह हुँदा समग्र अर्थतन्त्रलाई चलायमान गर्न मद्दत गर्छ,’ राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले बताए । बैंकरहरू भने बजारमा कर्जा प्रवाह अपेक्षा गरेअनुसार नभइरहेकाले राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्नुपर्नेमा जोड दिँदै आएका थिए ।

नेपाल बैंकर्स संघका अध्यक्ष भुवनकुमार दाहाल बैंकिङ प्रणालीमा अधिक पूँजी लामो समयसम्म रहनुभन्दा केन्द्रीय बैंकले लामो अवधिका लागि निक्षेपमा राख्नु उचित ठान्छन् ।

पूर्व बैंकर पर्शुराम कुँवर भने बजारमा २ सय खर्बभन्दा बढी तरलता रहेको बेला ३० अर्ब मात्र प्रशोचन गर्नु ज्यादै कम भएको बताउँछन् । ‘खर्बौंको अधिक तरलतामा ३० अर्ब मात्र प्रशोचन गर्नु चटनी खाएसरह हो,’ उनले भने, ‘छिमेकी मुलुक भारतमा पनि कर्जाको माग नहुँदा अधिक तरलताको स्थिति छ । यसलाई व्यवस्थापन गर्न सरकारले टन्नै आन्तरिक ऋण उठाएको छ । यसरी टन्नै पैसा उठाउँदा पनि असहज बन्न सक्ने भएकाले रिजर्भ बैंक अफ इडियाले त्यहीअनुसारको व्यवस्था गरेको छ ।’

भारतमा अधिक तरलताको स्थितिले मुद्रास्फीति (मूल्य वृद्धि) भन्दा निक्षेपको ब्याजदर कम भएको पूर्वबैंकर कुँवरले बताए । यस्तै अवस्थामा नेपाल पनि रहेको उनको भनाइ छ । लामो समयसम्म मुद्रास्फीतिभन्दा निक्षेपको ब्याजदर कम गरेर ग्राहकलाई अप्ठ्यारोमा पार्न नहुने कुँवरको तर्क छ ।

निक्षेपको ब्याजदर बढाउँदै केही बैंक लगानीयोग्य पूँजी फालाफाल हुँदा पनि केही बैंकले भने निक्षेपको ब्याजदर बढाएका छन् ।

बैंकहरूले निक्षेपको ब्याजदर घटाएर न्यूनतम ३ प्रतिशतदेखि अधिकतम साढे ८ प्रतिशतसम्म पुर्‍याएका छन् । पछिल्लो समय मुद्दती निक्षेपको ब्याजदर वृद्धि गर्नेमा सिभिल बैंक, नबिल बैंकलगायत अगाडि देखिएका छन् । नबिल बैंकले व्यक्तिगत मुद्दती निक्षेपको ब्याज साढे ९ प्रतिशतसम्म दिने घोषणा गरेको छ । साढे ९ प्रतिशतमा कर्जा उठाएको बैंकले कर्जा भने साढे ७ प्रतिशतमै प्रवाह गर्ने सूचना सार्वजनिक गरेको छ । यसैगरी, सिभिल बैंकले गत भदौमा निक्षेपको ब्याजदर अधिकतम ६ प्रतिशतमा राखेको थियो । तर, असोजमा भने व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर अधिकतम ८ दशमलव ७५ प्रतिशतसम्म दिने घोषणा गरेको छ । यसरी केही बैंकहरूले अधिक तरलता हुँदा पनि ब्याजदर बढाउनुलाई आन्तरिक व्यवस्थापन मिलाउन गरिएको हुनसक्ने बैंकर संघका अध्यक्ष दाहालको भनाइ छ ।

राष्ट्र बैंकले अधिक तरलतामा व्यक्तिगत निक्षेपको ब्याजदर बढ्नुलाई अनौठो मानेको छैन । अधिक तरलता हुँदा पनि बैंकहरूले दीर्घकालीन लगानीका लागि दीर्घकालीन निक्षेप उठाउनैपर्ने भएकाले ब्याजदर निर्धारण गर्नु उचित भएको प्रवक्ता डा. भट्ट तर्क गर्छन् । उनका अनुसार बैंकले दीर्घकालीन स्रोतसाधन उपयोग गर्न साधारण बचत मात्र लिएर बस्न नहुने बरु दीर्घकालीन व्यक्तिगत निक्षेपजस्ता स्रोत जुटाउनपर्छ । तर, ब्याजदर निर्धारण गर्दा १ महीनाअघि नै जानकारी दिने गरी घोषणा गर्नुपर्ने व्यवस्था रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस