aarthiknews.com बुधबार, १२ कार्तिक २०७७   Wednesday, 28 October, 2020
 
Tansen_cement
Bajaj_Bike

अधिक तरलतामा पुँजी पलायनको खतरा, कर्जाको माग नहुँदा बैकरहरू चिन्तामा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०४ असोज २०७७
अधिक तरलतामा पुँजी पलायनको खतरा, कर्जाको माग नहुँदा बैकरहरू चिन्तामा
LBEF
Nabil Bank

काठमाडौं । पछिल्लो समय बैंकका प्रमुख कार्यकारी अधिकृत(सीईओ)हरू पुनः ठूला चिन्तामा डुब्ने गरेका छन् । २ वर्षसम्म प्रर्याप्त लगानी योग्य पुँजी अभावमा बजारको माग अनुसार कर्जा प्रवाह गर्न नसक्दा चिन्तामा डुबेका बैंकरहरूलाई अहिले फेरि कर्जा प्रवाह गर्न नसकेर चिन्ता परेको हो । निक्षेप थुप्रिदै जाने कर्जाको डिमाण्ड नभएपछि सीईओहरू कर्जाको डिमाण्ड कहिले हुन्छ भनेर कुरेर बसेका छन् । कर्जाका डिमान्ड छैन, निक्षेपको ग्राफ बढ्दै गएको छ । आम्दानीको स्रोत खुम्चिएपछि बैकर्सहरू चिन्तामा परेका हुन् । 

अहिले कर्जा माग हुँदै नभएको नेपाल बैकर्स संघका पूर्व अध्यक्ष तथा नेपाल बंगलादेश बैंकका सीईओ ज्ञानेन्द्रप्रसाद ढुंगानाले बताए ।  ‘अहिले कर्जा एउटा बैंकबाट अर्को बैंकमा कर्जा सार्ने काम मात्रै भइरहेको छ, नयाँ कर्जाको डिमाण्ड छैन,’ उनले भने ‘दुई÷चार लाख कर्जा डिमाण्डको अर्थ नै हुँदैन ।’ हामीसँग अहिले २ खर्बभन्दा बढी लगानी योग्य पुँजी छ । तर, त्यो परिचालन गर्न सकिरहेका छैनौं ।’

पूरानो कर्जाको किस्ता उठन सकेको छैन, नयाँ कर्जा प्रवाह हुन सकिएको छैन । एउटा बैंकमा रहेको कर्जा अर्को बैंकमा सारेर केही पनि हुँदैन । उनले भने ‘कर्जा प्रवाह गर्न सकेमात्रै हामीलाई सहज हुने हो । केही समय अगाडि तरलता नहुँदा बजार माग अनुसार कर्जा प्रवाह गर्न सकिएन भन्ने पिरलो थियो । तर, अहिले बैंकमा पैसा थुपारेर बसेका छौं,’ माग छँदैछैन, यस्तो बेलामा के गर्ने के नगर्ने अप्ठ्यारो अवस्था सिर्जना भएको छ ।’ 

बैंकमा कर्जाको माग हुँदै नभएको होइन, केही माग भएका छन् भने केही कर्जा पनि तिरेकाले कर्जाको ग्राफ नबढेको नेपाल बैकर्स संघका अध्यक्ष भुवन दाहालले बताए । ‘पूरानो कर्जा केही उठेको पनि छ,’ उनले भने ‘धेरै माग नभएका कारण कर्जाको ग्राफ बढन नसकेको हो ।’

सरकारले लकडाउन तथा निषेधाज्ञा खुला गरेपनि उद्यम व्यवसायहरू सञ्चालन हुन सकेको छैन । भर्खरै खुल्दै छन् । उनीहरूलाई पनि कर्मचारी पाल्ने र बैंकको किस्ता तिर्ने पिरलो छ । अझै कोभिड–१९ ले कस्तो रुप लिने हो । अयावह अवस्था आउने हो कि भन्ने अझ चिन्ता । यस्तो अवस्थामा उद्यमी व्यवसायीहरू ऋणको भार बोक्न या थप्न चाहदैनन् । उनीहरू अझै ‘पर्ख र हेर कै अवस्थामा छन् । 

बैंकहरूले कर्जा प्रवाह गर्न नसके पनि निक्षेपको ब्याज तिर्नै पर्यो, सञ्चालन खर्च खटाउन सक्ने ठाउँ छैन, कर्मचारी कटौती गरिएको छैन । हामी साह्रै अप्ठ्यारोमा छन् । अघिल्ला वर्षहरूको तुलनामा अहिले अधिकांश कर्जाको बैंकको ब्याज खुम्चिए पनि आर्थिक गतिविधि सुस्तताका कारण कर्जाको डिमाण्ड नभएको हो । 

बैंकहरुले कहिले कर्जा दिन नपाएर समस्या झेल्नुपर्छ त कहिले भएको पैसा लगानी नभएर तनाव लिनुपर्छ । यसपालि बैंकलाई भएको पैसा ऋण लगाउन नपाएर समस्या भएको छ । तरलता अभावका जस्तै अधिक तरलताले पनि अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्दछ । बैंकहरुमा निक्षेप बढ्ने तर कर्जा नबढ्ने भयो भने बैंकहरुको ब्याज खर्च बढ्न गई मुनाफा प्रभावित हुन पुग्छ ।

राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष तथा अर्थविद् प्राडा. गोविन्द पोखरेलले लगानीको माहोल नदेखिएका कारण कर्जाको माग नबढेको बताए । राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत केही क्षेत्रमा लगानीका प्रर्याप्त पाटाहरूलाई प्राथमिकतामा राखेपनि सोही अनुसार कर्जा लगानी हुन नसकेको उनले बताए । ‘कोभिडका कारण थला परेको व्यवसाय सञ्चालनको माहोल नबनिसकेको बुझाइ व्यवसायीको भएकाले पनि कर्जाको माग नभएको हो,’ उनले भने ‘यति बेला बैंकहरूले पूर्वाधार निर्माण, जलविद्युत् तथा कृषि क्षेत्रमा प्रशस्त लगानी गर्न सक्नु पर्ने थियो,’ उनले भने । 

यसो नहुँदा पुँजी पलायन हुने तथा अनुत्पादक क्षेत्रमा तरलता जाने सम्भावना हुने रहन्छ,’ उनले भने ‘तरलता बढी भएपछि पुँजीको उत्पादनशीलता घट्छ र विभिन्न च्यानलबाट पैसा बाहिरिने सम्भावना रहन्छ ।’ अधिक तरलताका कारण स्वदेशमा बचतको न्यून प्रतिफल हुने हुँदा पुँजी पलायनको अवस्था सिर्जना गर्छ ।

अधिक तरलता हुँदा बैंकहरुले निक्षेपको ब्याजदर घटाउन थाल्छन् र निक्षेपकर्ताहरु प्रभावित बन्न पुग्छन् । उता कर्जाको पनि ब्याजदर त घट्छ तर लगानीयोग्य वातावरणको अभावमा कर्जाको माग बढ्न सक्दैन र लगानी अनुत्पादक क्षेत्रतर्फ प्रवाहित हुन थाल्दछ ।

यतिबेलै यसको असर निक्षेपमा पर्न शुरु भइसकेको छ । सबै बैंकहरूले निक्षेपको ब्याजदर घटाइसकेका छन् । तर, कर्जाको ब्याजदरको जति चर्चा हुन्छ, त्यति चर्चा निक्षेपको ब्याजदरले नपाउने परिपाठीका कारण अहिले निक्षेपकर्ता समेत मारमा परेका छन् । मूल्य वृद्धिकै रेसियोमा ब्याजदर कायम भए एकातिर कर्जा लिनेलाई चर्को ब्याजदर तिर्नुपर्ने  थिएन भने अर्कोतिर निक्षेपकर्ता पनि निरुत्साहित हुने थिएनन् । 

प्रतिक्रिया दिनुहोस