aarthiknews.com शनिबार, ०८ कार्तिक २०७७   Saturday, 24 October, 2020
 
Tansen_cement
Bajaj_Bike

यसै वर्ष निर्माण हुँदैछन् ५ औद्योगिक क्षेत्र

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०४ असोज २०७७
यसै वर्ष निर्माण हुँदैछन् ५ औद्योगिक क्षेत्र
LBEF
Nabil Bank

काठमाडौं । सरकारले पाँच वटा औद्योगिक क्षेत्र यसै वर्ष निर्माण सुरु गर्ने भएको  छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले झापाको दमक, सर्लाहीको मुर्तिया, मकवानपुरको मयुरधाम र चितवनको शक्तिखोर र बाँकेको नौबस्तामा यसै वर्ष औद्योगिक क्षेत्र निर्माण कार्य सुरु गर्न लागेको हो । 

यसका साथै रूपन्देहीको मोतीपुर र कञ्चनपुरको दैजीमा औद्योगिक क्षेत्र बनाउने निर्णय भए पनि यस वर्ष जग्गा प्राप्ति र वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) मै समय वित्ने मन्त्रालयले बताएको छ । सरकारले कर्णाली प्रदेश बाहेक अन्य ६ वटा प्रदेशमा औद्योगिक क्षेत्र निर्माण तयारी गरेको छ ।

सरकारले दशक अघि नै देशका विभिन्न स्थानमा औद्योगिक क्षेत्र निर्माण गर्ने चर्चा गर्दै आएपनि यस वर्षमात्रै उक्त कार्यको थालनी गर्न लागेको हो । सरकारले लामो गृहकार्य, अध्ययन तथा अनुसन्धान गरेर औद्योगिक क्षेत्र निर्माण कार्य अघि बढाएको मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरेले बताए । सचिव घिमिरेले यसै वर्ष पाँचवटा औद्योगिक क्षेत्रको निर्माण शिलान्यास गर्ने योजना बनेको बताए । 

जग्गा प्राप्ति र वन क्षेत्रको समस्याले गर्दा लामो समयदेखि प्रक्रिया अघि बढ्न औद्योगिक क्षेत्र निर्माण कार्य अघि बढ्न सकेको थिएन । सात स्थानमा औद्योगिक क्षेत्र निर्माण गर्ने सरकारले निर्णय गरे पनि जग्गा प्राप्ति मै सरकार रुमल्लिएको थियो ।

दमकमा जग्गा प्राप्तिको अन्तिम चरणमा पुगेकाले यहि आर्थिक वर्षभित्र शिलन्यास हुने गरी काम अघि बढेको छ । 

लामो समयदेखि मयुरधामको जग्गा प्राप्ति वन मन्त्रालयमा अड्किएको थियो । जग्गा प्राप्ति प्रक्रिया अघि बढेको छ । यसै आर्थिक वर्षमा काम सुरु हुने सचिव घिमिरेले बताए ।  हेटौडा र शक्तिखोरको पनि वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) सम्पन्न भएको छ । अन्य क्षेत्रमा पनि जग्गा प्राप्ति र ईआईएको समस्या भएको मन्त्रालयले जनाएको छ । 

‘सात मध्ये ५ वटा औद्योगिक क्षेत्र निर्माण कार्य द्रूत गतिमा अघि बढेको छ,’ उनले भने ‘मोतिपुर दजीको पनि केही जग्गा प्राप्त र वनसँग ईआईए यहि आर्थिक वर्षमा सकिने छ ।’ सातमध्ये दुई वटामा अझै थप काम गर्न बाँकी भए पनि यस वर्ष ५ वटा औद्योगिक क्षेत्रको निर्माण सुरु हुने उनले बताए ।  

सरकारले पछिल्लो समय औद्योगिक क्षेत्र घोषणा तथा निर्माण गर्न उच्च प्राथमिकता दिएको छ । सरकारले विगत केही वर्षदेखि बजेट उपलब्ध गराए पनि जग्गा प्राप्ति, वातावारणीय प्रभाव मूल्यांकन (ईआईए) लगायत समस्याले औद्योगिक क्षेत्रको काम अघि बढ्न सकेको थिएन । 

अब बन्ने औद्योगिक क्षेत्रमा उत्पादमूलक उद्योगले मात्रै स्थान पाउनेछन् । एउटा उद्योगमा एकै खालको उत्पादन र फरक क्षेत्रमा फरक खालको उद्योग खोल्न प्राथमिकता दिने सरकारको तयारी छ । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले अन्य सम्भावित औद्योगिक क्षेत्रको पनि अध्ययन गरिरहेको छ । 

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले घोषणा भएका सातवटामध्ये ५ वटाको निर्माण छिट्टै सुरु हुने र अन्य सम्भावित क्षेत्र पनि खोज्ने उनले बताए ।मन्त्रालयले यी औद्योगिक क्षेत्रका साथै सर्लाहीको मुर्तिया, दाङको लक्ष्मीपुर, कैलालीको लम्की, तनहुँको चिन्तुटार, दैलेखको चुप्रामा औद्योगिक क्षेत्र घोषणा गर्नको लागि  मन्त्रिपरिषद्मा फाइल पुगेको छ ।

प्रतिक्रिया दिनुहोस