aarthiknews.com सोमबार, १२ असोज २०७७   Monday, 28 September, 2020
 
Bajaj_Bike
Tasen

चाडपर्व केन्द्रीत बजार अनुगमन गर्न असोज १ गते मन्त्रीस्तरीय बैठक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ३१ भदौ २०७७
चाडपर्व केन्द्रीत बजार अनुगमन गर्न असोज १ गते मन्त्रीस्तरीय बैठक
LBEF

काठमाडौं । चाडपर्व नजिकिदै जाँदा सरकारले बजार अनुगमनलाई तिव्र बनाउने भएको छ । अघिल्ला वर्षमा जस्तै यस वर्षपनि दशैं तिहार नजिकिदै जाँदा सरकारले कालो बजारी हुन नदिन अनुगमलाई तिव्र बनाउन मन्त्री स्तरीय छलफल गर्न लागेको हो । 

भोलि असोज १ गते दिउँसो १ बजे मन्त्रालयमा मन्त्रीस्तरीय बजार अनुगमनका विषयमा छलफल गर्ने तयारी भएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले जानकारी दिए । 

‘सदाका वर्ष जस्तै यस वर्ष पनि चाडपर्व केन्द्रीत बजार अनुगमन गर्न भोलि मन्त्रालयमा उच्चस्तरीय छलफल छ,’ उनले भने ‘त्यसपछि हामी निजी व्यवसायी तथा अन्य सरोकारवालासँग पनि छलफल गरी ‘एकीकृत अनुगमन समिति’ बनाएर बजारको अनुगमन गर्छौ ।’

यस वर्ष कोभिडको प्रभाव भएकोले स्वास्थ्यको मापदण्ड अपनाएर व्यवसायीहरूले व्यापार विजनेश गरेका छन् कि छैनन् त्यो समेत हेरिने उनले बताए । अहिले व्यापार गर्नेले सामाजिक दूरीदेखि स्वास्थको प्रोटोकल समेत अवलम्वन गर्नुपर्ने छ । 

दशैं तिहार तथा छट पर्वलाई सहज आपूर्ति व्यवस्थापन मिलाउने सरकारले हरेक वर्ष खाद्यान्नलगायता खसी, बोका, च्याङ्ग्रा, भेडा समेत ल्याएर बिक्री गर्ने गरेको छ । यसका साथै विभिन्न स्थानमा सुपथ मूल्य पसल राखेर आम सर्वसाधारणलाई सेवा दिने भएको छ । 

त्यसो त विभागले दशैं तिहारमामात्र होइन अन्य समयमा पनि अनियमितता नहोस् भन्नका  लागि बजार अनुगमन गर्ने गरेको छ । यस वर्ष कोभिड महामारी कै बीच सरकारले अनुगमनलाई चुस्त बनाउन बैठक बस्न लागेको हो । 

सरकारद्वारा सञ्चालित सार्वजनिक संस्थानहरूले विभिन्न प्रकारका चामल, दाल, तेल, चिनी, गेडागुडी, विभिन्न दुग्धजन्य उत्पादन संकलन गरेर बिक्री गर्दै आएको छ । यसरी बिक्री गर्ने वस्तुमा विशेष गरेर चिनी आम उपभोक्ताको रोजाइमा पर्ने गरेको छ । 

साथै सरकारले यस वर्ष ल्याउने भनेको खसी बोकाको संख्या केही घटाउने खोजिरहेको छ । सरकारले करिब ६ करोडको खसी बोका ल्याउने भनेकोमा कोभिडका कारण बिक्री नहुने होकि भनेर केही कममात्र ल्याउने सोचमा खाद्य व्यवस्थापन तथा व्यापार कम्पनी पुगेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत समेत रहेका सुवेदीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस