aarthiknews.com मंगलबार, १० असार २०७६   Tuesday, 25 June, 2019
 
बीमा क्षेत्रमा कर्मचारी तानातान

बीमा समितिमा गुनासोका चाङ, लोभ्याउने र लोभिनेको हानथाप

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २२ जेठ २०७६
Sunrise bank
बीमा समितिमा गुनासोका चाङ, लोभ्याउने र लोभिनेको हानथाप
NIBL-Capital-inside
LBEF

काठमाडौं, जेठ २२ । बीमा समितिमा गुनासोका चाङ थुप्रिदै गएका छन् । अघिकांश गुनासोका पत्रमा लेखिएको छ, ‘अध्यक्षज्यू मेरो राजीनामा स्वीकृति भएन, स्वीकृतिका लागि पहल गरिदिनु हुन अनुरोध गर्दछु । ’

विगतमा बीमा समितिमा बीमा कम्पनीहरुले दाबी भुक्तानी नगरेको भन्दै बढी गुनासो आउने गर्थे । तर, अहिले भने एउटा बीमा कम्पनीबाट अर्को बीमा कम्पनीमा कर्मचारी जाने क्रम बढेसँगै राजीनामा स्वीकृति नभएका गुनासो बढी आउन थालेका छन् ।नयाँ बीमा कम्पनीले तलब, सेवा सुविधा बढी दिन थालेपछि कर्मचारी पुरानो कम्पनी छाडेर नयाँमा जाने क्रम बढेको छ । 

कर्मचारीहरु एउटा बीमा कम्पनीबाट अर्कोमा जाने क्रम बढेसँगै राजीनामा स्वीकृति नभएको गुनासो पनि बढेको बीमा समितिका निमित्त कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए । ‘पहिला दाबी भुक्तानी फछ्यौट नभएका गुनासो बढी आउने गर्थे,’ उनले भने–‘अहिले राजीनामा स्वीकृति नभएका गुनासो पनि त्यतिकै मात्रमा आउने गरेका छन् ।’

दाबी भुक्तानी नभएकै हाराहारीमा कमचारीको राजीनामा स्वीकृति गर्न पहल गरिदिनु भन्ने गुनासो आउने क्रम बढेको छ । यसले एउटा बीमा कम्पनीबाट अर्को बीमा कम्पनीमा कर्मचारी जाने क्रम बढेको देखाउँछ ।

बजारमा बीमा कम्पनीमा काम गर्ने अनुभवी बिज्ञ कर्मचारीको अभाव रहेको छ । अहिले पनि धेरै बीमा कम्पनीमा उच्च तहका कर्मचारीहरु तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) छैनन् ।

दुई वर्षअघि एकैचोटी एक दर्जन बीमा कम्पनीलाई सञ्चालनको अनुमति दिएपछि अनुभवी कर्मचारीको अभाव भएको बीमा विज्ञहरुको भनाइ छ । शुरु सुरुमा त पुराना बीमा कम्पनीबाट अनुभवी कर्मचारी ल्याउन अस्वस्थ्य प्रतिस्पर्धा नै चल्यो । एक बीमा कम्पनी दिएको भन्दा अर्कोले बढी तलब, सेवा सुविधा दिएर कर्मचारी तान्न थालेपछि बीमा क्षेत्रमा हलचल नै पैदा भयो । 

पुराना बीमा कम्पनीबाट कर्मचारीले धमाधम राजीनामा दिन थाले । तर, व्यवस्थापन पक्षले स्वीकृति नदिएका कारण बीमा समितिमा उजुरीको चाङ बढेको बिज्ञको भनाइ छ । भटाभट नयाँ बीमा कम्पनीहरु खुल्ने क्रमसँगै बीमा क्षेत्रमा कार्यरत कर्मचारीको महत्वकांक्षा बढेको बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईँले सार्वजनिक समारोहमा समेत बताउँदै आएका थिए । नयाँ अवसर वृद्धिसँगै बीमा कम्पनीमा कार्यरत कर्मचारीमा छिटो–छिटो बढुवा र उच्च दरमा पारिश्रमिकको वृद्धिको आकांक्षा पलाएको खुलासा उनले गरेका थिए ।

यतिबेला अध्यक्ष चापागाईले स्थिति जटिल हुने देखिएमा कर्मचारीको तलब सीमा तोक्न बाध्य हुने चेतावनीसमेत दिएका थिए ।संस्थागत सुशासन सम्बन्धी निर्देशिकमा प्रमुख कार्यकारी अधिकृतको तलबको सीमा तोकिएको छ । 

नयाँ कम्पनीहरुले पुराना कम्पनीबाट मात्र कर्मचारी तान्ने क्रम चलेपछि बीमा समितिले असन्तुष्टि जनाउँदै आएको छ । विश्वविद्यालय पढेका र बेरोजगार भएर छट्पटाइ रहेका युवालाई अवसर दिनुपर्ने बीमा समितिको भनाइ छ । 

क्षमता विकासमा बीमा कम्पनीले लगानी गर्नुपर्नेमा जोड दिएको छ । यसले कम्पनी र बीमा क्षेत्र दुवैलाई ठूलो मद्दत गर्ने बीमा समितिको भनाइ छ ।

बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरुलाई पनि करार अवधि तोडेर अर्को कम्पनीमा नजान बीमा सतितिले सचेत गराउँदै आएको छ । करार अवधि नसकिँदै पुरानो कम्पनीलाई धोका दिएर नयाँ कम्पनीमा जाने प्रमुख कार्यकारी अधिकृतहरुलाई बीमा समितिले राम्रो मान्ने गरेको छैन् । बीमा क्षेत्रको स्थायित्व र विकासका लागि लगानीकर्ता, सञ्चालक, सीईओ, कर्मचारी सबै जिम्मेबार बन्नु पर्ने बीमा समितिको भनाइ छ ।

बीमा कम्पनीका सञ्चालक, प्रवद्र्धकले सीईओ तथा व्यवस्थापन समितिलाई बढी नाफा, छिटो नाफाको लागि दबाब दिन नहुने पनि बीमा समितिको भनाइ छ । तर, ‘जवानी र पानी जता ओरालो त्यतै बग्ने गरेका छन् ।’ यसलाई नियन्त्रण गर्न सकिने अवस्था छैन ।
 

प्रतिक्रिया दिनुहोस