aarthiknews.com बुधबार, ०८ बैशाख २०७८   Wednesday, 21 April, 2021
 
nmb
Esewa_Remit
Bajaj_Bike

युवालाई बजेटअनुसार स्वरोजगारमुखी बनाइने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २३ भदौ २०७७
Reliance life insurance
युवालाई बजेटअनुसार स्वरोजगारमुखी बनाइने
Jagadamba
LBEF

काठमाडौं । युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले युवालाई स्वरोजगार बनाउन ल्याइएका नीतिलाई सरल बनाइने बताए । राष्ट्रिय युवा परिषद्ले सोमबार आयोजना गरेको स्वरोजगार कोषमा युवाका अवसर विषयक भर्चुअल अन्तरक्रिया कार्यक्रममा उहाँले स्वरोजगार बनाउनका लागि भएका नीतिगत समस्यालाई चाँडै संशोधन गरेर युवालाई बजेटअनुसार स्वरोजगारमुखी बनाइने बताए । चालु आर्थिक वर्षमा सङ्घ र प्रदेशले करिब रु ७६ अर्ब युवाका लागि बजेट विनियोजन गरेको छ । 

उनले बजेटअनुसार युवालाई जोड्ने कार्य सरकारले गरिरहेको समेत जानकारी दिए । “विकास र समृद्धिको मेरुदण्ड  युवालाई स्वदेशमा नै कसरी परिचालन गर्ने भन्नेमा सरकार रहेको छ”, उनले भने, “युवा नीति श्रम, सीप र उत्पादनसँग जोड्ने गररेर ल्याइने छ,  मुलुकको विकासका लागि युवालाई राष्ट्रिय उत्पादनसँग जोडिने छ ।”

उनले कोरोना भाइरस (कोभिड–१९)का कारणले युवालाई स्वरोजगार बनाउने काम सञ्चालन हुन नसकेकाले कोभिड–१९ को सामान्यावस्था आउनेबित्तिकै युवाका क्षेत्रमा काम हुने धारणा राखे । उनले कोभिड–१९ का कारणले विश्वभर रोजगार गुमाएका युवा नेपाल फर्किएकाले  युवालाई स्वरोजगार बनाउने चुनौती रहेको बताए । 

कार्यक्रममा राष्ट्रिय  युवा परिषद्का उपाध्यक्ष माधव ढुंगेलले एकिकृतरुपमा समन्वय गरेर युवालाई स्वरोजगार बनाउने कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए । उनले युवालाई तालीम तथा ऋण प्रवाह गरेर मुलुकमा नै स्वरोजगार बनाइने बताए । 

उनले युवाका क्षेत्रमा काम गर्ने सरकारी निकाय एकै मातहत भए परिमाण निकाल्न सजिलो हुने बताए । उनले  सरकारले घोषणा गरेका युवालाई स्वरोजगार बनाउने कार्यलाई प्रभावकारी कार्यन्वयनका लागि परिषद्ले दबाव दिने जनाए ।

गरिबी निवारण कोषका उपाध्यक्ष निर्मल भट्टराईले यस आर्थिक वर्षमा एक लाख ५० हजार युवालाई स्वरोजगार बनाइने बताए । यसका लागि कोषले रु १९ अर्ब बजेट विनियोजन गरेको उनले जानकारी दिए । उनले एकिकृतरुपमा स्वरोजगार बनाउने कार्यक्रम गर्न सके प्रभावकारीरुपमा हुने बताए । 

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् ९सिटीइभिटी०का उपाध्यक्ष खगेन्द्र अधिकारीले युवालाई तालिम दिएर परिषद्ले स्वरोजगार बनाउने गरेको बताए । उनले यसवर्ष २३ हजार युवालाई तालिम दिएर स्वरोजगार बनाउने उल्लेख गरे । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ (नेस्फुन)का अध्यक्ष परितोष पौडेलले स्वरोजगार हुन चाहने युवालाई आफूहरुले ऋण प्रवाह गरिरहेको बताए । उनले ३५ हजार युवालाई प्रत्यक्ष रुपमा नेस्फुनले ऋण प्रवाह गरिरहेको जानकारी दिए । 

युवा तथा साना स्वरोजगार कोषका उपाध्यक्ष डा कल्याण रोकाले कृषि क्षेत्रलाई प्राथमिकता दिएर कोषले ऋण उपलब्ध गराउने बताए । उनले पहिले सहकारीमार्फत युवालाई ऋण प्रवाह गरेपनि अब अन्य किसिमले ऋण प्रवाह गरिने बताए । उनले स्वरोजगरामार्फत अन्यलाई रोजगार बनाउन सक्ने जो सुकैलाई पनि ऋण प्रवाह गर्न सहयोग गर्ने जनाए । यस वर्ष कोषले १२ हजार युवालाई स्वरोजगार बनाउने उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस