
काठमाडौं । 'सिन्डिकेट' भन्दै श्रम मन्त्रालयले एक वर्षदेखि मलेसिया रोजगारी रोकेको छ । त्यसको समाधान नसकिँदै मन्त्रालयकै सहमतिमा कतार रोजगारीमा एक्लो सिन्डिकेट सुरु भएको छ ।
कतार भिसा सेन्टर नाममा सम्पूर्ण काम बिनाप्रतिस्पर्धा एउटा मात्रै संस्थालाई दिइएको छ । अब कतार जाने कामदारका लागि भिसा र त्यसका प्रक्रियामा १४ हजार रुपैयाँ थप आर्थिक भार पर्न सक्ने देखिएको छ । त्यो कसले तिर्ने भन्ने अन्योल छ ।
कतार भिसा सेन्टरले थम्ब प्रिन्ट, करार प्रमाणीकरण, भिसा प्रोसेस सबै काम गर्नेछ । मलेसियाका हकमा यस्तै काम गर्दै आएका संस्थालाई गत वर्षको सुरुमा धरपकड गर्दै मुद्दा चलाएको थियो । तिनको मुद्दा प्रायः खारेज हुँदै आएको छ ।
यसबारे परराष्ट्र मन्त्रालयले २०७५ चैत्र २३ गते श्रमलाई पत्र लेखेको थियो । प्रत्युत्तरमा श्रमले वैशाख २९ गते पत्र पठाउँदै भनेको छ, 'सम्पूर्ण शुल्क तथा लागत रोजगारदाताले बेहोर्ने र नेपाली कामदारलाई कुनै पनि शुल्क नलाग्ने विषयको प्रत्याभूत हुन आवश्यक छ । उपयुक्त व्यवस्था सुनिश्चित गरी कतार भिसा सेन्टरसम्बन्धी आवश्यक निर्णय प्रचलित कानुनबमोजिम साधिकार निकायबाटै हुनु उपयुक्त हुने व्यहोरा माननीय मन्त्रीस्तरको निर्णयअनुसार अनुरोध छ ।' आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस