aarthiknews.com सोमबार, १२ असोज २०७७   Monday, 28 September, 2020
 
Bajaj_Bike
Tasen

शेयर कारोबारमा यसरी लुटिएका छन् लगानीकर्ता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १७ भदौ २०७७
शेयर कारोबारमा यसरी लुटिएका छन्  लगानीकर्ता
LBEF

काठमाडौं । सेयर बजार पूर्ण रुपले अटोमेशनमा गएसँगै बजारमा कारोबार गर्दा लाग्ने ब्रोकर कमिशन बढी भएको आवाज आम लगानीकर्ताबाट उठन थालेको छ । धितोपत्र बजार अनलाइन कारोबारमा गएसँगै अहिले ब्रोकरहरूको कामको भार घटेकोले कमिशन बढी भएको सेयर बजार ठूला लगानीकर्ता निर्मल प्रधानले बताए ।

‘अहिले ब्रोकरहरूले हिजो जस्तो लगानीकर्ताले किनेको सेयरको पैसा उठाउन ताकेता गर्नु पर्दैन,’ उनले भने ‘सबै डिजिटल प्रविधिकामाध्यमबाट हुन्छ ।’ धेरैजसो काम अनलाइनबाटै हुने भएकोले ब्रोकरहरूको खर्च पनि कम हुन्छ । त्यसैले लगानीकर्ताको कारोबारबाट आउने कमिशन ब्रोकर लगायत नेप्से तथा सेबोनले समेत समानुपातिक रुपमा घटाउनु पर्छ ।

जति धेरै लगानीकर्ताहरूले तिर्नुपर्ने कमिशन कम हुँदै जान्छ, लगानीकर्ताहरूले कारोबारको संख्या बढाउने हुन्,’ उनले थपे ‘एउटै लगानीकर्ताले धेरै कारोबार गर्नु भनेको कमिशनको मात्रा पनि बढ्नु हो ।’ 

नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियारले ब्रोकरको काम ८० प्रतिशतले घटेपनि लगानीकर्ताले भने उत्तिकै कमिशन तिर्नु परेको बताए । ‘अहिले सेयरको ८० प्रतिशत कारोबार अनलाइनबाट हुने गरेको छ,’ उनले थपे ‘तर हामीले भने उत्तिकै कमिशन तिर्नु परेको उनले बताए । २ वर्ष अगाडिदेखि यो विषय हामीले उठाउँदै आएका हौंं । अहिलेसम्म सुनुवाइ भएको छैन ।

हामीले सबोनसँग पटक पटक कमिशन घटाउन कुरा गयौं । अहिले यसको अध्ययनको लागि कमिटी बनाएको छ । ‘अहिले हामीले तिरेको कमिशन दक्षिण एशिया मै अत्यधिक बढी हो,’ अध्यक्ष रौनियारले भने ‘कमिशनमा अत्याचार छ । पछिल्लो समय राफसाफ कम भएको छ । ६४ हजार लगानीकर्ताले अनलाइन कारोबार गर्न थालिसकेका छन् । 

सीडीएससीले एउटा स्क्रिपको २५ पैसा लिन्छ । उसले दिनभरमा कति स्क्रिपको कारोबार गर्छ होला । २५ रुपैयाँ हेर्दा थोरै भएपनि समग्रमा धेरै हुन्छ । नेप्से र ब्रोकरले मिलेर छुट्ट कमिशन लिन्छन् । सबोनले ०.१५ प्रतिशत कमिशन लिने गरेको छ । हामी लगानीकर्ता मारमा परेका छौं,’ उनले भने ‘जति सक्दो छिटो कमिशनका  विषयमा पुनरावोलक हुनुपर्छ ।’ 

लगानीकर्ता शम्भु कडेरियाले अहिले ब्रोकरले लिने कमिशनका कारण साना लगानीकर्ता अझ बढी मारमा परेको बताए । ‘अहिले सेयर कारोबारको प्राय काम सबै लगानीकर्ताले आफैले गर्दै आएका छन्,’ उनले भने ‘ब्रोकरको कमिशन भने पहिला नै बढी थियो ।’ अहिले अनलाइन कारोबारपछि त यो कमिशन नघटाइ नहुने भएको छ । । यसमा सम्बन्धित निकायको ध्यान जान जरुरी भएको उनले बताए ।

सेयर बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले ब्रोकर कमिशनका विषयमा अध्ययन समिति गठन गरेर अध्ययन अन्तिम चरणमा पुर्याएको सेबोनका कार्यकारी निर्देशक निरज गिरीले बताए । ‘अनलाइन सेयर कारोबार बढेपछि कमिशनमा संशोधन गर्नु नै पर्ने भनिएको छ,’ उनले भने ‘अध्ययन समितिले गरेको अध्ययन फाइनल भएपछि सरोकारवालाहरूसँग छलफल गरेर कमिशनको रिभ्यू गर्नेछौं ।’ 

तर, नेपाल सेयर ब्रोकर संघका अध्यक्ष भरत रानाभाटले हामीलाई हाम्रो लगानीको १५ देखि २० प्रतिशत नाफा भए पुग्ने बताउँदै सोही अनुसारको नाफाको व्यवस्था नियामक निकायले गरिदिनु बताए । ‘हामीले अहिले लिइरहेको कमिशन दक्षिण एशियामा नै सस्तो हो,’ उनले भने । 

सेबोनका अनुसार हाल ब्रोकरले पाउने कमिशन कारोबारका आधारमा ०.६० प्रतिशतदेखि ०.४० प्रतिशतसम्म रहेको छ । ५० हजारसम्म कारोबार गर्दा लगानीकर्ताले ०.६० प्रतिशत अर्थात ३ सय रुपैयाँ ब्रोकरलाई कमिशन तिर्नुपर्छ । त्यस्तै ५० हजारदेखि ५ लाखसम्मको कारोबार गर्दा ब्रोकरले ०.५५ प्रतिशत कमिशन तिर्नुपर्ने हुन्छ । 

यदि लगानीकर्ताले ५ लाख रुपैयाँको कारोबार गर्यो भने २ हजार ७ सय ५० रुपैयाँ ब्रोकरलाई कमिशन तिर्नुपर्ने हुन्छ । ५ लाखदेखि २० लाखभन्दा तलको कारोबार गर्दा ब्रोकरले १० हजार कमिशन पाउँछन् । त्यस्तै एक करोडभन्दामाथिको कारोबार ब्रोकरले ४० हजार कमिशन पाउने छन् । यो कमिशन रिभ्यू गर्ने तयारी सेबोनले गरिरहेको प्रवक्ता समेत रहेका गिरीले बताए ।  

उदाहरणको लागि यदि कुनै लगानीकर्ताले एक लाख रुपैयाँको सेयर कारोबार गर्यो भने उसले ब्रोकरलाई ०.५५ प्रतिशतले ५५० रुपैयाँ कमिशन तिर्छ भने सो रकम वा प्रतिशतबाट नेपाल स्टक एक्सचेन्जलाई २० प्रतिशत ११० रुपैयाँ तिर्नुहुन्छ । यसको अर्थ एक लाख रुपैयाँको सेयर कारोबार भएका ब्रोकरहरू ४४० रुपैयाँ कमिशन पाउँछन् । 

यो वाहेक डीपी सदस्यलाई २५ रुपैयाँ प्रति सेयर कारोबार र सेबोनलाई ०.१५ प्रतिशत अर्थात १५ रुपैयाँ तिर्नुपर्ने हुन्छ । यसका साथै कारोबार गर्दा नाफा भएको रकमबाट सरकारलाई लगानीकर्ताले क्यापिटल गेन ट्याक्स (पुँजीगत लाभकर) व्यक्तिरुपमा ५ प्रतिशत र संस्थागत रुपमा साढे ७ प्रतिशत तिर्नुपर्ने हुन्छ । 

धितोपत्र बजारको डिजिटाइजेशनसँगै यो सँग सम्बन्धित सबै निकायको म्यानुअल गर्नुपर्ने काम स्वभाविकमा घट्छ । हिजो म्यानुयअल रुपमा गर्दा जुनजुन रुपमा खर्च हुन्थ्यो त्यो त स्वभाविक रुपमा घट्नु पर्ने सेयर विज्ञ डा. गोपाल भट्टले बताए । ‘  अहिले सेयर बजारको कारोबारको भोलुम हेर्दा ब्रोकरहरूको आम्दानी राम्रो भएको देखिन्छ,’ उनले भने ‘ब्रोकर कम्पनीलाई पनि पारदर्शी बनाउन उनीहरूले खडा गर्ने कोष अध्ययन हुन जरुरी छ ।’ 

‘उनीहरूको खर्चको व्यवस्थापन पक्षलाई ध्यानमा राखेर अस्वभाविक रुपमा आम्दानी भएको देखियो भने अहिले दिइरहेको कमिशन घटाउँनै पर्छ,’ उनले भने । ब्रोकरहरूले सेयर ब्रोकरको बाहेक अन्य काम गर्छु भन्नु भएन । अन्तर्राष्ट्रिय अभ्यास हेर्ने हो भने ब्रोकर कम्पनीले ब्रोकर कम्पनीबाटै लगानीकर्ता, पोटफोलिया म्यानेजर तथा परामर्शदाताको काम गरेका अनुभव छैन । तर, नेपालका धेरै जसो ब्रोकरहरूले यस्तो काम गरिरहेका छन् । 


 

प्रतिक्रिया दिनुहोस