aarthiknews.com विहीबार, ०९ बैशाख २०७८   Thursday, 22 April, 2021
 
nmb
Esewa_Remit
Bajaj_Bike

उपत्यकाका पाँच रूटमा मेट्रो रेल निर्माण

  • आजको आर्थिक अभियान दैनिकबाट
    आजको आर्थिक अभियान दैनिकबाट
  • विहीबार, ११ भदौ २०७७
Reliance life insurance
उपत्यकाका पाँच रूटमा मेट्रो रेल निर्माण
Jagadamba
LBEF

काठमाडौं । संघीय राजधानी काठमाडौंका विभिन्न पाँच स्थानमा मेट्रोरेल निर्माण गर्न पूर्वसम्भाव्यता अध्ययन सकिएको ८ वर्ष बित्दा पनि लगानीको टुंगो लाग्न सकेको छैन । काठमाडौं महानगरका जनप्रतिनिधिदेखि सरकारी घोषणामा समेत समेटिएको उपत्यकाका पाँच रूटमा बनाइने भनिएको मेट्रोरेल योजनामा लगानी जुटाउने विषय छलफलमा मात्रै सीमित भएको हो ।

सन् २०१२ मा अध्ययन भएको कुल ८७ दशमलव १८ किलोमीटर (किमी) का पाँच रूटमध्ये चोभार–सातदोबाटो–रत्नपार्क–नारायणगोपाल चोक–बूढानीलकण्ठसम्म २२ किमी, कीर्तिपुर–कालिमाटी–नयाँ बानेश्वर–एयरपोर्टसम्मको ११ दशमलव १५ किमी, कोटेश्वर–चाबहिल–स्वयम्भू–कोटेश्वरसम्म २८ दशमलव ५३ किमी रहेको छ ।

यस्तै, स्वयम्भू–डिल्लीबजार–बौद्धसम्म ११ दशमलव ७० किमी र धोबीघाट–सिंहदरबार–नक्साल–गोंगबुसम्म १३ दशमलव ८० किमी रहेको छ ।

हाल रेल विभागले चोभार– सातदोबाटो–रत्नपार्क–नारायणगोपाल चोक–बूढानीलकण्ठमध्ये नारायणगोपाल चोकदेखि सातदोबाटोसम्मको विस्तृत सम्भाव्यता अध्यययन (डीपीआर) का लागि परामर्शदाता छनोट गरेको छ ।

परामर्शदाताले ८ महीनाभित्रै अध्ययन सम्पन्न गर्ने भने पनि कोरोना संक्रमणका कारण हाल काम रोकिएको रेल विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिए । अन्य रूटको मेट्रोरेल अध्ययनको विषयमा भने छलफलै हुन नसकेको उनी बताउँछन् ।

जनघनत्व बढी भएका काठमाडौं उपत्यकाका रूटहरूमा मेट्रोरेल सञ्चालनका लागि अध्ययन गरिए पनि हालसम्म लगानी सुनिश्चित हुन सकेको छैन । यसैगरी अहिलेसम्म कुनै रूटको डीपीआर पनि बनिसकेको छैन ।

पूर्वसचिव तुलसीप्रसाद सिटौला ती पाँच रूटमध्ये चोभार–सातदोबाटो–रत्नपार्क–नारायणगोपाल चोक–बूढानीलकण्ठसम्म बन्ने मेट्रोरेललाई पहिलो प्राथमिकता दिएर निर्माण गर्न सुझाउँछन् ।

२०१२ मै अध्ययन गर्दा नारायणगोपाल चोकदेखि जावलाखेलसम्मको रूटमा मात्रै १ लाख जनसंख्या रहेको र अहिले उक्त जनसंख्या थप बढेकाले यहाँको चापअनुसार यो खण्डलाई पहिला निर्माण गर्नुपर्ने सिटौलाको तर्क छ ।

मेट्रोरेलका लागि ठूलो लगानी आवश्यक पर्ने भएकाले नेपालले त्यसको स्रोत सुनिश्चित गर्नु नै चुनौतीपूर्ण रहेको उनले बताए । ‘भारतका १० ओटा शहरमा मेट्रोरेल बनिसकेको छ । त्यहाँ प्रतिकिमी रू. ३५ देखि ४० करोडसम्म खर्च भएको उदाहरण छ । नेपालको हकमा भने उक्त रकम दोब्बर हुने देखिएकाले महँगो पर्छ तर निर्माणको विकल्प भने छैन,’ सिटौला भन्छन् ।

यसैबीच, भौतिक, पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ र नेपालका लागि रसियाली राजदूत एलेक्सी नोभिकोभबीच रेलमा रूसको लगानी विषयमा छलफल भएको थियो । उक्त भेटमा नेम्वाङले पूर्व–पश्चिम विद्युतीय रेलमार्गको इनरुवा–बर्दिवास खण्ड निर्माणमा लगानीसहितको सहकार्यका लागि रूसलाई आग्रह गरेका थिए । त्यस्तै, काठमाडौंका विभिन्न पाँच रूटमा बनाइने भनिएको मेट्रो प्रोजेक्ट (मेट्रोरेल) को कुनै पनि रूटमा रूसको प्रविधि तथा लगानी सहकार्य विषयमा छलफल भएको मिश्रले जानकारी दिए ।

२०१२ मा गरिएको पूर्वसम्भाव्यता अध्ययनले यी रूटमा मेट्रोरेल निर्माण गर्न रू. ५ खर्ब ४७ अर्ब लगानी लाग्ने प्रारम्भिक प्रक्षेपण गरेको थियो । यसमा निर्माण, सञ्चालन तथा मर्मत र यातायात खरीदसमेत गरी उक्त लगानी आवश्यक देखिएको थियो ।

यद्यपि अब बन्ने नयाँ डीपीआर तथा अध्ययन थप परिष्कृत हुने हुँदा यो लगानी बढ्ने निश्चित छ । सरकारका मन्त्री र रूसी राजदूतबीच लगानी विषयमा छलफल भए पनि तत्कालै रूसबाट ठूलो लगानी आउन नसक्ने एक पूर्वाधारविद्को दाबी छ ।

नेपालमा रूसको ठूला लगानीका परियोजना पनि नभएको र ऊसँग लगानी क्षमता पनि कमजोर रहेकाले यहाँ रेल निर्माण तथा सञ्चालनमा ठूलो लगानी आउला भन्नेमै द्विविधा रहेको उनको तर्क छ ।

२०१२ मा अध्ययन भएका पाँच मेट्रो रूट
१    चोभार–सातदोबाटो–रत्नपार्क–नारायणगोपाल चोक–बूढानीलकण्ठसम्म : २२ किमी
२.    कीर्तिपुर–कालिमाटी–नयाँ बानेश्वर–एयरपोट : ११.१५ किमी
३.    कोटेश्वर–चाबहिल–स्वयम्भू–कोटेश्वर : २८.५३ किमी
४.    स्वयम्भू–डिल्लीबजार–बौद्ध : ११ दशमलव ७० किमी
५.    धोबीघाट–सिंहदरबार–नक्साल–गोंगबु : १३ दशमलव ८० किमी

स्रोत : रेल विभाग

प्रतिक्रिया दिनुहोस