aarthiknews.com बुधबार, ०७ असोज २०७७   Wednesday, 23 September, 2020
 
Bajaj_Bike
Tasen

सर्वसाधारणले आइपीओ न्यूनतम ५० कित्ता पाउने ब्यवस्था लागू हुँदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २८ साउन २०७७
सर्वसाधारणले आइपीओ न्यूनतम ५० कित्ता पाउने ब्यवस्था लागू हुँदै
LBEF

काठमाडौं । धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को नियम २५ग ले बुक बिल्डिङ्ग विधिबाट प्रारम्भिक सार्वजनिक निष्काशन गर्न सक्ने व्यवस्था लागू हुने भएको छ ।

उक्त बिधी सम्बन्धी थप प्रक्रियागत व्यवस्थाहरु निर्देशिकामा तोके बमोजिम हुने व्यवस्था गरेको सन्दर्भमा बुक बिल्डिङ्ग विधिलाई कार्यान्वयनमा ल्याउन सञ्चालक बोर्डको  साउन २२ गतेको बैठकले बुक बिल्डिङ्ग निर्देशिका, २०७७ लागू गरेको छ । 

प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मा बुक बिल्डिङ्ग विधि लागू गरिएको छ । नेपाल धितोपत्र बोर्डको धितोपत्र दर्ता तथा निष्कासन नियमावलीमा बुक बिल्डिङ्ग विधिबाट आईपीओ निष्कासन गर्न सकिने व्यवस्था बमोजिम यो विधि कार्यान्यनका लागि बोर्डले बुक बिल्डिङ्ग निर्देशिका , २०७७ लागू गरेको हो ।

निर्देशिकामा भएको व्यवस्था अनुसार संगठित संस्थाले निष्कासन तथा विक्री प्रबन्धकको परामर्समा धितोपत्रको अनुमानित मूल्य तथा मूल्यांकनको आधार समेत खुलाइएको प्रारम्भिक विवरणपत्र तयार गरी योग्य संस्थागत लगानीकर्तासँग छलफल कार्यक्रम संचालन गर्नुपर्नेछ । न्यूनतम १० योग्य संस्थागत लगानीकर्तासँग खरिद गर्न चाहेको न्यूनतम धितोपत्र संख्या, खरिद आशय मूल्य तथा मूल्यांकनको आधार सहित प्रारम्भिक विवरणपत्रको सम्बन्धमा सुझाव लिनुपर्नेछ ।

बुक बिल्डिङ्ग विधिबाट आईपीओ निष्कासन गर्ने संगठित संस्थाले योग्य संस्थागत लगानीकर्ताबाट प्राप्त आशय मूल्यको अध्ययन गरी आधार मूल्य तय गर्नुपर्ने र उक्त आधार मूल्यमा २० प्रतिशत थप गर्दा कायम हुने मूल्य माथिल्लो सीमा र २० प्रतिशत घटाउदा कायम हुने मूल्य तल्लो सीमा हुने गरी मूल्य सीमा निर्धारण गर्नुपर्नेछ ।

बोर्डमा धितोपत्र दर्ता भई योग्य संस्थागत लगानीकर्तालाई निष्कासन गर्न तयार गरेको धितोपत्रको मूल्य सीमा सहितको विवरण पत्र स्वीकृति पश्चात योग्य संस्थागत लगानीकर्तालाई बोलकबोल मार्फत धितोपत्र निष्कासन गर्नुपर्नेछ ।

यसरी कुनै एक योग्य संस्थागत लगानीकर्ताले निष्कासित धितोपत्रको २० प्रतिशतभन्दा बढी धितोपत्रको लागि बोलकबोल प्रस्ताव पेश गर्न नपाउने तथा कबोल गरेको शतप्रतिशत रकम तोकिएको निष्कासन बैंक खातामा जम्मा गर्नुपर्ने वा आवेदकको बैंक खातामा रोक्का राख्ने या गुड फर पेमेन्ट चेक पेश गर्नुपर्नेछ ।

बुक बिल्डिङ विधिका लागि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले स्वचालित विद्युतीय बोल कबोल प्रणाली संचालन गर्नुपर्नेछ । नेप्सेले स्वचालित विद्युतीय बोलबोल प्रणाली संचालनमा नल्याएसम्म संगठित संस्थाले सिलबन्दी बोलकबोलमार्फत धितोपत्रका लागि आवेदन माग गर्न सक्न व्यवस्था बोर्डले गरेको छ ।

योग्य संस्थागत लगानीकर्तालाई निष्कासित धितोपत्र पूर्ण रुपमा विक्री हुदाँ कायम हुने कट अफ मूल्य निर्धारण गरी सो मूल्य वा सो भन्दा माथिल्लो मूल्यमा कबोल गर्ने सबै आवेदकलाई माग बमोजिम धितोपत्र बाँडफाँट गर्नुपर्नेछ । कट अफ मूल्यमा आवेदन गर्ने लगानीकर्तालाई माग बमोजिम धितोपत्र बाँडफाँट गर्न नपुगेमा समानुपातिक रुपमा बाँडफाँट गर्नुपर्नेछ । यसरी बाँडफाँट गर्दा नपरेको रकम बाँडफाँट भएको तीन कार्यदिनभित्र आर्जित व्याजसहित फिर्ता गर्नुपर्ने वा खाता फुकुवा गर्नुपर्ने व्यवस्था समेत बोर्डले गरेको छ । 

यस विधिबाट शेयर निष्कासन गर्दा सर्वसाधारण लगानीकर्तालाई कट अफ मूल्यमा १० प्रतिशत छुट दिई सार्वजनिक निष्कास गर्नुपर्नेछ । सर्वसाधारणले धितोपत्र खरिदका लागि आवेदन दिने र बाँडफाँट हुने धितोपत्र संख्या न्यूनतम ५० कित्ता हुनेछ ।

आईपीओमा बुक बिल्डिङ विधि लागू भएसँगै धितोपत्रको मूल्य निर्धारण पारदर्शी तथा प्रतिस्पर्धात्मक रुपमा हुने बोर्डको विश्वास रहेको छ । बोर्डले पूँजीबजारमा वास्तविक क्षेत्रका कम्पनीहरुलाई प्रवेश गराउने लक्ष्य लिइईरहदा यस विधि लागू भएपश्चात वास्तविक क्षेत्रका कम्पनीको बजार प्रवेशमा प्रोत्साहित हुने अपेक्षा गरेको छ ।

बुक बिल्डिङ्ग निर्देशिका, २०७७ का मुख्य व्यवस्थाहरु देहाय अनुसार रहेका छन् ।

  1. संगठित संस्थाले निष्काशन तथा विक्री प्रबन्धकको परामर्शमा धितोपत्रको अनुमानित मूल्य तथा मूल्यांकनको आधार र औचित्य समेत खुलाइएको प्रारम्भिक विवरणपत्र तयार गरी योग्य संस्थागत लगानीकर्तासँग छलफल कार्यक्रम (च्यबमकजयध) संचालन गर्नुपर्ने छ ।
  2. न्यूनतम १० योग्य संस्थागत लगानीकर्तासँग खरिद गर्न चाहेको न्यूनतम धितोपत्र संख्या, खरिद आशय मूल्य तथा मूल्यांकनको आधार सहित प्रारम्भिक विवरणपत्रको सम्बन्धमा सुझाव प्राप्त गर्नुपर्ने छ । 
  3. संगठित संस्थाले योग्य संस्थागत लगानीकर्ताबाट प्राप्त आशय मूल्यको अध्ययन गरी आधार मूल्य तय गर्नुपर्ने र उक्त आधार मूल्यमा २० प्रतिशत थप गर्दा कायम हुने मूल्य माथिल्लो सीमा र २० प्रतिशत घटाउदा कायम हुने मूल्य तल्लो सीमा हुने गरी मूल्य सीमा निर्धारण गर्नुपर्ने छ ।
  4. बोर्डमा धितोपत्र दर्ता भई योग्य संस्थागत लगानीकर्तालाई निष्काशन गर्न तयार गरेको धितोपत्रको मूल्य सीमा सहितको विवरणपत्र स्वीकृत भएपश्चात् योग्य संस्थागत लगानीकर्तालाई बोलकबोल मार्फत् धितोपत्र निष्काशन गर्नुपर्ने छ ।
  5. कुनै एक योग्य संस्थागत लगानीकर्ताले निष्काशित धितोपत्रको २० प्रतिशतभन्दा बढी धितोपत्रको लागि बोलकबोल प्रस्ताव पेश गर्न नपाइने तथा कबोल गरेको शत प्रतिशत रकम तोकिएको निष्काशन बैंक खातामा जम्मा गर्नुपर्ने वा आवेदकको बैंक खातामा रोक्का राख्नुपर्ने वा गुड फर पेमेन्ट चेक पेश गर्नुपर्ने छ ।
  6. स्टक एक्सचेञ्जले स्वचालित विद्युतीय बोल कबोल (विडिङ्ग) प्रणाली संचालन गर्नुपर्ने र स्वचालित विद्युतीय बोलकबोल प्रणाली संचालनमा नआउञ्जेल संगठित संस्थाले सिलबन्दी बोलकबोलमार्फत् धितोपत्रका लागि आवेदन माग गर्न सक्नेछ ।
  7. योग्य संस्थागत लगानीकर्तालाई निष्काशित धितोपत्र पूर्ण रुपमा बिक्री हुदाँ कायम हुने मूल्य (कट अफ मूल्य) निर्धारण गरी कट अफ मूल्य र सो भन्दा माथिल्लो मूल्यमा कबोल गर्ने सबै आवेदनकर्ताहरुलाई माग बमोजिमको धितोपत्र कट अफ मूल्यमा बाँडफाँड गर्नुपर्ने, कट अफ मूल्यमा आवेदन गर्ने लगानीकर्तालाई माग बमोजिमको धितोपत्र बाँडफाँट गर्न नपुगेमा समानुपातिक रुपमा बाँडफाँट गर्नुपर्ने तथा बाँडफाँटमा नपरेको रकम बाँडफाँट भएको तीन कार्य दिनभित्र आर्जित व्याजसहित फिर्ता गर्नुपर्ने वा खाता फुकुवा गर्नुपर्ने छ ।
  8. सर्वसाधारण लगानीकर्तालाई कट अफ मूल्यमा १० प्रतिशत छुट दिई धितोपत्र निष्काशन गर्नुपर्ने छ ।
  9. सर्वसाधारणले धितोपत्र खरिदका लागि आवेदन दिने र बाँडफाँट हुने धितोपत्र संख्या न्यूनतम ५० कित्ता हुने छ ।

प्रारम्भिक सार्वजनिक निष्काशनमा बुक बिल्डिङ्ग विधि लागू भएसँगै धितोपत्रको मूल्य निर्धारण पारदर्शी तथा प्रतिस्पर्धात्मक रुपमा हुने, निष्काशनकर्ता कम्पनीले आफ्नो धितोपत्रको उचित मूल्य प्राप्त गर्न सक्ने बोर्डले जनाएको छ ।

यसबाट वास्तविक क्षेत्रका कम्पनीको बजार प्रवेश प्रोत्साहित हुने, निष्काशनकर्ता कम्पनीमा संस्थागत लगानीकर्ताको स्वामित्व बढ्न गई संस्थागत सुशासन अभिबृद्धिमा सहयोग पुग्ने, ठूला संस्थागत लगानीकर्ताले गरेको धितोपत्रको मागका आधारमा सर्वसाधारण लगानीकर्तालाई लगानी सम्बन्धी निर्णय लिन सहज हुने, दोस्रो बजारको शुरुवाती कारोवार मूल्य निर्धारण गर्न सहज हुने तथा लगानीकर्तालाई लगानी विविधिकरण गर्न सहयोग पुग्ने बोर्डको अपेक्षा रहेको जनाएको छ ।
 

प्रतिक्रिया दिनुहोस