aarthiknews.com शनिबार, १० असोज २०७७   Saturday, 26 September, 2020
 
Bajaj_Bike
Tasen

काठमाडौं उपत्यकामा संक्रमण तीव्र, कसरी बढे संक्रमित ?

  • आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट
    आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट
  • बुधबार, २८ साउन २०७७
काठमाडौं उपत्यकामा संक्रमण तीव्र, कसरी बढे संक्रमित ?
LBEF

काठमाडौं । लकडाउन अन्त्यसँगै काठमाडौं उपत्यकामा कोरोना संक्रमण तीव्र देखिएको छ। मंगलबार मात्रै १ सय ३४ संक्रमित थपिएका छन्। आरटी पीसीआर परीक्षण गरेकामध्ये काठमाडौंमा १ सय १०, ललितपुरमा १६ र भक्तपुरमा ८ जनामा पोजिटिभ देखिएको हो।

काठमाडौंमा पाँच सयभन्दा बढी संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। ‘संक्रमितको संख्या दैनिक वृद्धि भइरहेको छ। यस अवस्थामा बढ्दा बेड अभावको स्थिति पनि छ’, मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भने। उनका अनुसार काठमाडौंसहित पर्सा, रौतहट, महोत्तरीमा पाँच सयभन्दा बढी संक्रमित छन्।

साउन ६ गते लकडाउन अन्त्य गरिँदा संक्रमितको कुल संख्या १७ हजार ९ सय ९४ थियो। अहिले बढेर २३ हजार ९ सय ४८ पुगेको छ। जोखिम कायमै रहेका बेला लकडाउन अन्त्यको निर्णयपछि संघीय राजधानी आउने संख्या बढेको थियो। असार २७ गतेदेखि साउन १२ गतेसम्म दैनिक औसत पाँच जना नयाँ संक्रमित पुष्टि भएका थिए।

लकडाउन अन्त्यसँगै उपत्यकामा संक्रमितको संख्या बढेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ। फलफूल एवं तरकारी व्यवसायी, नाई, होटल व्यवसायी, ब्युटिपार्लर, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायतमा संक्रमण देखिएको छ। जनप्रतिनिधि पनि संक्रमित पाइएका छन्।

उपत्यकामा साउन १३ गते ५३ जनामा कोरोना पोजिटिभ देखिएको थियो। साउन १५ गते ४८, १८ गते ३१, १९ गते ५१ जना नयाँ संक्रमित पुष्टि भएका थिए। साउन २० मा ६२ जनाको रिपोर्ट पोजिटिभ आएको मन्त्रालयले जनाएको छ।

उपत्यकाका तीन जिल्लामध्ये काठमाडौंमा सबैभन्दा धेरै संक्रमित छन्। साउन २१ गते काठमाडौंमा ५७ जना नयाँ संक्रमित फेला परेका थिए। ललितपुरका ५ जनामा संक्रमण देखिएको थियो। संक्रमणदर बढेपछि साउन २२ गते मन्त्रालयले सरकारी, सामुदायिक तथा निजी कार्यालयमा बैठक, गोष्ठी, सेमिनार तथा अन्य जमघट बन्द गर्न अपिल गरेको थियो। नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. गौतमले काठमाडौंमा संक्रमण दर बढेको जनाएका थिए।

त्यस दिन काठमाडौंका तीनै जिल्लामा गरी ८७ जना संक्रमित भेटिएका थिए। जसमध्ये काठमाडौंका ७६, ललितपुरका १० र भक्तपुरका १ जना थिए। अघिल्लो दिन स्वाब परीक्षणमा दिएका १६ जना मोबाइल स्विच अफ गरी सम्पर्कविहीन भएको महाशाखाका एक अधिकारीले बताए। ‘स्वाब संकलनपछि रिपोर्ट नआउञ्जेल क्वारेन्टाइनमा बस्नु पर्नेमा घुमफिर गरेको पाइयो’, उनले भने।

वीर अस्पतालको आपत्कालीन कक्षमा कार्यरत चिकित्सकलाई पनि साउन २३ गते कोरोना संक्रमण पुष्टि भएको थियो। त्यही दिन उपत्यकामा १ सय ६ जनामा कोरोना देखिएको थियो। त्यसमा काठमाडौंका ९२, ललितपुरका १० र भक्तपुरका ४ जना थिए। साउन २४ गते ६२ जना संक्रमित थपिए। तीमध्ये काठमाडौंका ५६, ललितपुरका ३ र भक्तपुरका ३ जना थिए। त्यस्तै, साउन २५ गते ९२ जनामा कोरोना पुष्टि भयो, जसमा काठमाडौंका ९०, ललितपुरका २ जना थिए। त्यस्तै साउन २६ गते ४४ जना संक्रमित थपिए, जसमा काठमाडौंका मात्रै ३६ जना थिए। ललितपुर र भक्तपुरमा ४÷४ जना नयाँ संक्रमित थपिए।

‘औषधि, अक्सिजन, भेन्टिलेटरले सहयोग मात्र गर्ने हो। रोगको उपचार नहुने भएकोले रोग लाग्न नदिनु नै उत्तम उपाय हो’, प्रवक्ता डा. गौतमले भने, ‘संक्रमण बढ्दै गए अस्पतालले धान्न सक्दैनन्। स्वास्थ्यकर्मी पनि अपुग हुन सक्छन्। अकालमा ज्यान जान सक्छ। बेलैमा सावधानी अपनाए हुन्थ्यो।’

कसरी बढे संक्रमित ?

सरकारले साउन ७ गतेदेखि यातायात सेवामा जोरबिजोर प्रणाली हटाएको थियो। सार्वजनिक सवारी साधनमा स्वास्थ्य सुरक्षा मापदण्ड प्रयोग गरिएको छैन। व्यापार, बैठक, भेटघाट भन्दै काठमाडौं आउनेहरूबाट संक्रमण फैलन पुगेको महाशाखा प्रमुख डा. वासुदेव पाण्डेले बताए। उनले भने, ‘सीमावर्ती जिल्लाबाट आएका व्यक्तिमा कोरोना संक्रमण बढी पाइएको छ।’

लकडाउन अवधिमा पनि पहुँचका भरमा पास बनाएर निजी र सार्वजनिक सवारी साधनबाट काठमाडौं भित्रिनेका कारण पनि संक्रमण बढेको हो। कतिपय एम्बुलेन्सबाट पनि आएका थिए। मन्त्रालयका पूर्वप्रमुख विशेषज्ञ डा. सुशीलनाथ प्याकुरेलका अनुसार काठमाडौं भित्रिने नाकाहरूमा होल्डिङ सेन्टर बनाएर परीक्षण नगर्दा उपत्यका जोखिममा परेको हो। ‘होल्डिङ सेन्टरमा राखेर कोरोना पोजिटिभ देखिएकालाई अस्पतालको आइसोलेसन र नेगेटिभ देखिएका व्यक्तिलाई कोठामा जान दिने व्यवस्था गरेको भए यो जोखिम हुने थिएन’, उनले भने। काठमाडौं उपत्यकाको प्रमुख प्रवेशद्वार नागढुंगा, साँगा, फर्पिङ नाकाबाट ठूलो संख्यामा यात्रुहरू प्रवेश गरिरहेका छन्।

७२ प्रतिशतले मात्रै लाउँछन् मास्क

नेपालमा ७२.१ प्रतिशतले मात्र मास्क प्रयोग गर्ने गरेको पाइएको छ। २७.१ प्रतिशतले मास्क नलगाएको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अध्ययनमा उल्लेख छ। परिषद्ले व्यक्तिगत रूपमा ४ हजार ५ सय २ जनामा अध्ययन गरेको थियो। यसैगरी सार्वजनिक स्थलमा २ हजार ७ सय ३ जनामा अध्ययन गर्दा २७.३४ प्रतिशतले मास्क सही तरिकाले नलगाएको पाइएको छ। उनीहरूले चिउँडोमा राख्ने, हातमा लिने वा मुख मात्र छोप्ने गरी लगाएको पाइएको हो।

परिषद्का सदस्यसचिव डा. प्रदीप ज्ञवालीले भने, ‘काठमाडौं उपत्यकामा बाहिर हिँडडुल गर्दा पनि मास्क नलगाउने प्रवृत्ति देखिएको छ। मास्क लगाए पनि सही तरिकाले नलगाउने गर्दा जोखिम झन् बढेको छ।’

संक्रमण बढी देखिएका जिल्लामा जोखिम रहेकाले अलि कडाइ गर्नुपर्ने देखिएको सञ्चार तथा सूचनामन्त्री डा. युवराज खतिवडाले बताए। उनका अनुसार कडाइ गर्ने अधिकार स्थानीय तह र जिल्ला प्रशासन कार्यालयलाई दिइएको छ। ‘जोखिम जहाँ बढ्छ। त्यहाँ कडाइका उपाय अपनाइन्छ’, मन्त्री खतिवडाले भने। मंगलबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित कार्यक्रममा मन्त्री खतिवडाले भने, ‘जोखिम घट्दै गएको स्थानमा खुकुलो हुँदै जाने र जोखिम बढेको ठाउँमा कडाइ बढ्दै जाने क्षेत्रगत नीति हो।’ मन्त्रालयका प्रवक्ता डा. गौतमले कोरोना रोकथाम र नियन्त्रणमा हरेक तहतप्काका व्यक्तिको उत्तिकै जिम्मेवारी भएको बताए।
 

प्रतिक्रिया दिनुहोस