aarthiknews.com बुधबार, ०७ असोज २०७७   Wednesday, 23 September, 2020
 
Bajaj_Bike
Tasen

साढे ९ अर्बभन्दा बढीको ऋणपत्र निष्कासन गर्दै ५ वाणिज्य बैंक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २४ साउन २०७७
साढे ९ अर्बभन्दा बढीको ऋणपत्र निष्कासन गर्दै ५ वाणिज्य बैंक
LBEF

काठमाडौं । पाँच ओटा वाणिज्य बैंकले  ९ अर्ब ६० करोडको ऋणपत्र (वण्ड) निष्कासन गर्ने भएका छन् । ऋणपत्र निष्कासन गर्न बैंकहरूले नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् । बैंकहरूमा सिद्धार्थ बैंक, एभरेष्ट बैंक, सानिमा बैंक, नेपाल क्रेडिट एन्ड कमर्श (एनसीसी) बैंक र बैंक अफ काठमाण्ड ले ९ अर्ब ६० करोड रुपैयाँ बराबरको ९६ लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेका हुन । 

नेपाल राष्ट्र बैंकले चुक्ता पुँजीको न्युनतम २५ प्रतिशत ऋणपत्र निष्कासन गर्नुपर्ने बाध्यकारी व्यवस्था गरेपछि बैंकहरूले बोर्डमा आवेदन दिएका हुन । रकमका आधारमा सानिमा बैंकले सबैभन्दा बढी ४ अर्ब रुपैयाँ बराबरको ४० लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो ।
१० वर्षका लागि निष्कासन गर्न लागेको ऋणपत्रको ब्याजदर वार्षिक १०.२५ प्रतिशत रहने छ । ऋणपत्रको अवधि २०८६ सालसम्म छ । ऋणपत्र निष्कासन तथा बिक्री प्रवन्धकमा एनआईसी एसिया क्यापिटल लिमिटेड रहेको छ । 

एनसीसी बैंकले ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्न धितोपत्र बोर्डमा आवेदन दिएको छ । एनसीसीले १० वर्षका लागि ल्याएको ऋणपत्रको ब्याजदर १०.२५ प्रतिशत छ । ऋणपत्र निष्कासन तथा बिक्री प्रवन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ रहेको छ । 

सिद्धार्थ बैंकले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कास गर्न लागेको छ । ७ वर्षका लागि निष्कासन गर्न लागेको ऋणपत्रको ब्याजदर ८.५ प्रतिशत छ । ऋणमा उल्लेख गरेको ब्याज अन्य बैंकको भन्दा सिद्धार्थ बैंकका कम छ । ब्याज कम भएका कारणले सिद्धार्थ बैंकको ऋणपत्र कममात्रै बिक्ने सम्भावना बढेको छ । ऋणपत्र निष्कासन तथा बिक्री प्रवन्धकमा एनएमबी क्यपिटल लिमिटेड रहेको छ ।  

यस्तै बैंक अफ काठमाण्डूले १ अर्ब ६० करोड रुपैयाँ र एभरेष्ट बैंकले १ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्न लागेको हो । बैंक अफ काठमाण्डूले १६ लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको छ । बैंक अफ काठमाण्डूले निष्कासन गर्न लागेको ऋणपत्रको ब्याज १०.२५ प्रतिशत रहेको छ भने एभरेष्ट बैंकले पनि १०.२५ प्रतिशत ब्याज उपलब्ध गराउने भएको छ । एभरेष्ट बैंकले १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको छ । ७ वर्षका लागि निष्कासन गर्न लागेको हो ।

लगानीयोग्य पुँजी जुटाउन बैंकहरूले ऋणपत्र निष्कासन गर्न लागेका हुन । ऋणपत्रबाट संकलन भएको न्यूनतम ८० प्रतिशत रकम बैंकहरूले कर्जा प्रवाह गर्न सक्छन् । 

प्रतिक्रिया दिनुहोस