aarthiknews.com बुधबार, ०७ असोज २०७७   Wednesday, 23 September, 2020
 
Bajaj_Bike
Tasen
मूल्य वृद्धि

‘मेरो अनुमानमा चिनीको मूल्य ८५ रुपैयाँ हुनपर्ने हो’

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २० साउन २०७७
LBEF

बजारमा चिनी अभाव हुन थालेको छ । अभावसँगै मूल्य बढ्न थालेको छ । हरेक वर्ष चाडपर्व नजिकिदै गर्दा चिनीको अभाव बजारमा देखिरहन्छ । तर, यसको समाधानका लागि सरकारी पक्षबाट त्यति चासो दिएकोे देखिदैन । चिनी कारखानाहरू हिउँदमा १०० दिनमात्रै सञ्चालन हुन्छन् । दशै, तिहार र छटपछि चिनी कारखाना सञ्चालन हुन्छन र एक सय दिनसम्म चलेपछि कारखाना बन्द हुन्छन् । त्यसपछि चिनी कारखानाले उखु नै नपाउने कारणले चिनी कारखाना बन्द हुने गरेका हुन ।

एक सय दिनमा उत्पादन भएको चिनी बजारमा चाँडो पुर्याएर बेच्न सबै चिनी मिलहरूलाई हतार हुन्छ किन कि त्यो चिनी बेचेर उखु किसानको रकम भुक्तानी गर्नुपर्छ । त्यो बेला बजारमा चिनीको आपूर्ति बढी हुने हुनाले चिनीको मूल्य कम नै हुन्छ । तर, चाड पर्वका बेला चिनीलगायतका वस्तु धेरै खपत हुने बेलामा चिनीको मूल्य बढ्नु राम्रो होइन ।   

हामीलाई धेरै पीडा भएको विषय चाहिँ के हो भने तीन वर्ष पहिला पाकिस्तान र भारतबाट सहुलियत प्राप्त चिनी निर्यात गर्दा उत्पादक मर्कामा परेका हुन् । त्यहाँ पाकिस्तानले केजीमा २० रुपैयाँ सहुलियत दिएको थियो भने भारतले निर्यात गर्दा १७ रुपैयाँ सहुलियत दिएको थियो । त्यस बेला नेपालमा २ लाख ५२ हजार मेट्रिक टन चिनी आएको  थियो । नेपालको वार्षिक खपत २ लाख ५० हजार हो । त्यसले गर्दा नेपालको चिनी बिक्री भएन र चिनी मिलहरू ठूलो मर्कामा परे । 

त्यो बेला नेपालका चिनी कारखानाहरूले किसानलाई भुक्तानी दिन नसकेका कारण किसानहरू असनमा बसे र वर्षौसम्म पनि किसानले उखुको भुक्तानी पाएनन् । र यसको असर किसानहरूमा पर्न थाल्यो त्यस बेलादेखि नेपाली किसानहरूले उखु बाली लगाउन नै कम गरे । त्यस बेलादेखिको किसानको पीडा अहिलेसम्म पनि निरन्तरता पाएको छ । त्यसपछि उनीहरूले उखु नै कम लगाउन थाले ।

अन्य वस्तुको वर्षैभरी उत्पादन गर्ने र वर्षैभरी नै बिक्री गर्ने हो । तर, चिनी भनेको एक सय दिन उत्पादन गर्ने र वर्षैभरी बिक्री गर्ने वस्तु हो । नेपाली चिनी कारखानाको वार्षिक उत्पादन क्षमता साढे चार लाख मेट्रिक टन छ । नेपालमा वार्षिक खपत भने २ लाख ५० हजार मेटिक टन मात्रै छ । नेपाली चिनी कारखानाहरूले चिनी उत्पादन गर्ने क्षमतामा कुनै पनि शंका छैन । तर, किसानले उखु नै उत्पादन नगरेपछि चिनी कारखाना नै बन्द भएका छन्, यसले समस्या आइरहेको हो । 

गत वर्ष एक लाख ८० हजार मेट्रिक टन जति चिनी उत्पादन भएको थियो । यस वर्ष करिब ४० हजार मेटिक टन जति नेपालमा मागभन्दा कम छ । हामीले के अनुमान गरेका थियौ भने हामीसँग भएको चिनीले साउन भरीलाई पुग्छ भन्ने थियो । 

गत वर्ष त बजार माग अनुसार चिनीको उत्पादन पनि भएन भने अर्को बाहिरबाट ४० देखि ५० हजार मेटिक टन तस्करी भएर नेपालमा चिनी आउँछ । लकडाउनका कारणले नेपालमा तस्करीको चिनी आउन पाएन त्यसैले मैले उद्योग मन्त्रालय लगायतका निकायलाई चिनीको अवस्थाको बारेमा जानकारी गराएको थिए । अहिले चिनी आयातका लागि प्रक्रिया अघि बढिसकेको छ । अब बजारमा चिनीको मूल्य केहि महँगो भएपनि चिनीको अभाव भने नहोला । 

चिनीको गुणस्तर हेर्दा हामीले पहिलो चिनीको गुलियो पना हेर्ने हो । सबै चिनीको गुलियो पन सुक्रोस ९९.९९ प्रतिशत हुुनुपर्छ । चिनी जति सेतो भयो त्यति नै गुणस्तरीय मानिने मानिन्छ किनकी यसभन्दा पहिला कोकाकोलाले नेपाली उद्योगबाट उत्पादन भएको चिनी लिदैन थियो ।

मेरो दुईवटा सुगर मिल छ । पुरानो एभरेष्ट सुगर मिल र नयाँ हिमालयन सुगर मिल । हिमालयनमा मैले सुगर रिफाइनरी मेसिन लगाएर चिनीको उत्पादन गरेको छु । यो मेशिन हिमालयन मिलसँगमात्रै छ । यसमा उखु प्रशोधान गर्ने बेलामा न चुना न फल्फर प्रयोग गर्छौ । बजारमा पाइने अन्य चिनीभन्दा यो चिनी धेरै सेतो हुन्छ ।

कोकाकोलाले हिलमायन सुगर मिलबाट उत्पादित चिनी २ वर्षदेखि लिन थालेको छ । यो हो कि खैरो चिनीमा केमिकल प्रयोग गरिएको हुन्छ । तर, सेतो चिनीमा कुनै पनि केमिकल प्रयोग गरिएको हुँदैन भनेर बुझ्न पर्योे । तर, खैरो भन्दैमा फेरि स्वास्थ्यलाई नै असर गर्ने प्रकारबाट केमिकल प्रयोग भने भएको हुँदैन । 

अहिले हामीले ६५ रुपैयाँमा चिनी बेच्छौ । त्यसमा ८ रुपैयाँ अन्य लागत र काठमाडौंसम्मको ढुवानी भाडा ३ रुपैयाँ र डिलर कमिसन २ देखि ३ रुपैयाँ जोडिन्छ । हाम्रो अनुमानमा चिनीको मूल्य ८५ रुपैयाँ हुन पर्ने हो । 

१० वषैदेखि अन्य खाद्य वस्तुको तुलनामा चिनीको मूल्य वृद्धि नै भएको छैन । अन्य वस्तुको मूल्यमा २ सयदेखि ३ सय प्रतिशतले वृद्धि हुँदा चिनीको मूल्य यथावत छ, यसमा हाम्रा कृषकहरूलाई धन्यवाद दिन पर्छ । हामीले  ६५ रुपैयाँ प्रति केजीमा चिनी दिइरहेका छौं । यो हामीले घाटामा दिइरहेका हौं हाम्रो लागत नै ७५ रुपैयाँ जति पर्ने भइसक्यो । 

नेपालका चिनी कारखानाको अवस्था हेर्दा गत वर्ष ३ वटा बन्द भए फेरि श्रीराम सुगर मिल बन्द गर्ने सूचना जारी गरिसक्यो । यस्तै हो भने चिनी कारखाना सबै बन्द हुन्छ । सरकारले यस्ता राष्ट्रिय उद्योगलाई बचाउन केही नयाँ रणनीति लिन ढिला भइसक्यो । यस्तो उद्योग जुन सतप्रतिशत कच्चा पदार्थ स्वदेशी, कृषकको आय स्तरमा वृद्धि गर्ने र वातावरणमैत्री उद्योग हो । 

आम नेपालीहरूले मानन गर्न पर्ने अर्को विषय के हो भने एउटा सानो परिवारले वार्षिक १० केजी पनि खपत नगर्ने चिनीको विषय राष्ट्रिय विषय बन्छ । तर, वर्षमा १० केजी खपत हुने अन्य खाद्य पर्दाथको मूल्य वृद्धिका विषयमा टिकाटिप्णी भएको देख्दा अचम्म लाग्छ । 

सरकारले पनि स्वदेशी उद्योगले उत्पादन गरेको चिनी बजारमा भइरहेको बेलामा विदेशबाट चिनी आयातलाई रोक्नु पर्छ । यहाँ स्वदेशी चिनी बिक्री नहुनु भनेको चिनी मिलले मात्र रकम नपाउने होइन । चिनीसँग सम्बन्धी मजदुर र उखु किसानको रोजी रोटी नै खासिनु हो । 

अर्को चिनी मिलले बिजुली उत्पादन गरेर सरकारलाई दिइरहेका छौं । हामीले नै १२ मेगावाट बिजुली उत्पादन गरेर ३ मेगावाट त सरकारलाई नै दिन्छौं । भारतको कुरा गर्ने हो भने ५ हजार मेगावाट बिजुली त त्यहाँको राष्ट्रिय प्रसारण लाइनमा नै जोडिएको छ । 

प्रतिक्रिया दिनुहोस