aarthiknews.com मंगलबार, २० साउन २०७७   Tuesday, 04 August, 2020
 
Bajaj_Bike
Tasen

मेलम्ची काठमाडौंमा आउने मिति अब कम्तीमा २ महिना पर धकेलियो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १७ साउन २०७७
मेलम्ची काठमाडौंमा आउने मिति अब कम्तीमा २ महिना पर धकेलियो
LBEF

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको सुरुङमा जडान गरिएका प्रवेश द्वार (गेट) को संरचना र जडानमा पुनर्विचार गरिने भएको छ । ३० असारमा १ जनाको मृत्यु, १ बेपत्ता र २ जना घाइते हुने गरी भएको घटनाको प्राविधिक अध्ययन समितिले डिजाइनिङ र जडानमा पुनः समीक्षा गर्नुपर्ने सुझाव दिएको छ ।

यसका कारण मेलम्ची खानेपानी आयोजनाले पानी आपूर्ति दिने समय कम्तीमा थप २ महिना ढिला हुने देखिएको छ । पूर्वनिर्धारित समयअनुसार आगामी असोजमा आउने भनिएको मेलम्ची अब कम्तीमा २ महिना पर धकेलिएको छ ।

समितिले अकस्मात् खुलेको गेटसँगै थप २ वटा गेटको समीक्षा गर्न सुझाव रहेको खानेपानी मन्त्रालयका प्रवक्ता रितेश शाक्यले जानकारी दिए । उनका अनुसार गेटको ‘नटबोल्ट फेल’ भएर खुल्यो । त्यसकारण डिजाइन र जडानको प्राविधिक पक्षलाई समीक्षा गर्नुपर्ने भएको छ ।
 
सुरुङ परीक्षण गर्न पानी पथान्तरण गरिएको बेला पानीको दबाब थेग्न नसकेर नटबोल्ट फुस्केपछि अकस्मात् प्रवेशद्वार खुलेको थियो । नटबोल्टभन्दा पनि प्रवेश द्वार जडानमा त्रुटि भएको छानबिन समितिले प्रारम्भिक निष्कर्ष निकालेको थियो ।

खानेपानी मन्त्रालयका सहसचिव रमाकान्त दुवाडीको संयोजकत्वमा बनेको समितिले मङ्गलबार मन्त्रालयका सचिव माधव बेल्बासेलाई प्रतिवेदन बुझाएको छ ।

सुरुङ भित्रको ५२ मिटर उचाइसम्म पानीको दबाब थेग्न सक्ने क्षमताको प्रवेश द्वार जडान गरिएको थियो । तर, १६ मिटर उचाइको पानीमै प्रवेश द्वार खुल्दा दुर्घटना भएको थियो । घटनामा इन्जिनियर सतिश गोइतको शव इन्द्रावती खोलामा अर्को दिन भेटिएको थियो । चालक राधाकृष्ण थापा अझै बेपत्ता छन् । घटनापछि पानी पथान्तरणको काम स्थगित छ । हेडवक्र्स निर्माणको काम भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस