aarthiknews.com शनिबार, २४ साउन २०७७   Saturday, 08 August, 2020
 
Bajaj_Bike
Tasen
सर्वोच्चको आदेश

क्षति भएको १६ वर्षपछि एभरेष्ट पेपर मिल्सले पायो न्याय, युनाइटेडले ५ करोड तिर्नुपर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०८ साउन २०७७
क्षति भएको १६ वर्षपछि एभरेष्ट पेपर मिल्सले पायो न्याय, युनाइटेडले ५ करोड तिर्नुपर्ने
LBEF


काठमाडौं । एभरेष्ट पेपर मिल्सले १६ वर्षपछि क्षतिपूर्ति पाउने भएको छ । सर्वोच्च अदालतको आदेशपछि बीमा रकम भुक्तानी गर्न आनाकानी गरेको युनाइटेड इन्स्योरेन्स अन्ततः बीमा वापतको करिब ५ करोड रुपैयाँ तिर्नुपर्ने भएको छ । 

एभरेष्ट पेपर मिल्सले फ्याक्ट्री तथा उत्पादनको बीमा युनाइटेड इन्स्यारेन्सबाट गराएको थियो । ८ वर्ष प्रिमियम तिरेको एभरेष्ट पेपर मिल्समा २०६०  भदौ ७ मा आगलागी भयो । तत्कालीन समयमा माओवादीले धनुषाको महेन्द्रनगरमा रहेको फ्याक्ट्रीमा बम हानेर आगो लगाएपछि एभरेष्ट पेपर मिल्सको करिब ११ करोड रुपैयाँको क्षति भएको थियो । सर्वोच्चले  एभरेष्ट पेपर मिल्सले न्याय माग्न शुरु गरेको १३ वर्षपछि न्याय पाएको छ ।

युनाइटेडले आफूले भवनको मात्रै बीमा गरेको उत्पादनको बीमा नगरेको भन्दै ११ करोडको क्षति भएकोमा ४ करोड ५० लाख रुपैयाँमात्रै भुक्तानी गरेको थियो ।  आगलागीपछि विभिन्न चरणमा छलफल भएपनि बीमा कम्पनीले बीमितलाई पुरै क्षतिपूर्ति रकम नदिएर अदालत गएको थियो  ।

एभरेष्ट पेपर मिल्सले आफूले  प्रिमियम तिरे बमोजिम बीमा रकम युनाइटेड इन्स्योरेन्स माग गरेको थियो । कम्पनीले क्षति भएको रकम कटाउनेमध्य पनि करिब २ करोड रुपैयाँ मिल्सलाई दिएको थिएन । तत्कालीन समयमा ११ करोडको क्षति भएपनि बीमा कम्पनीबाट ६ करोड ५० लाख मात्रै बीमा रकम प्राप्त गर्न सकिने गरी क्षतिको मूल्यांकन भएको थियो । उक्त रकम तिर्नुपर्ने भएपनि इन्स्योरेन्स कम्पनीले भने जम्मा ४ करोड ५० लाख मात्रै रकम दिइ थप रकम दिन आनाकानी गरेको थियो ।

त्यसपछि पुनरावेदन अदालत पाटनमा एभरेष्ट पेपर मिल्सले मुद्दा दायर गरेको थियो । मिल्सको मुद्दा पुनरावेदन अदालत पाटनका न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र प्रकाशकुमार ढुंगानाको इजलाशले युनाइटेडले नै बीमा वापतको बाँकी २ करोड रकम पनि भुक्तानी गर्नुपर्ने फैसला गरेको थियो ।

२०६७ साल वैशाख १३ गतेको उक्त फैसला चित्त नबुझेको भन्दै युनाइटेड इन्स्योरेन्स सर्वोच्च अदालत पुगेको थियो । सर्वोच्च अदालतका न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र हरिप्रसाद फुयालको संयुक्त इजलाशले बुधबार एभरेष्ट पेपर मिल्सको पक्षमा फैसला गर्दै बीमावापतको रकम र त्यसको ब्याजसहित भुक्तानी गर्न निर्देशन दिएको हो ।

सर्वोच्च अदालतले बीमा कम्पनीबाटै बीमा वापतको रकम भराउने निर्णय गरेपछि अब बीमा समितिले युनाइटेड इन्स्योरेन्सलाई बीमा वापतको रकम भराउन निर्देशन दिनेछ । बीमा ऐन २०४९ अनुसार बीमा रकम समयमै भुक्तानी नभएमा बीमा कम्पनीले ब्याज रकमसहित भुक्तानी गर्नुपर्ने हुन्छ ।


 

प्रतिक्रिया दिनुहोस