aarthiknews.com सोमबार, २६ साउन २०७७   Monday, 10 August, 2020
 
Bajaj_Bike
Tasen

रिपोर्टर डायरीः ‘रिपोर्टिङमा हिँडेपछि आफ्नै टोल पस्न दिइएन्’

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ३१ असार २०७७
रिपोर्टर डायरीः ‘रिपोर्टिङमा हिँडेपछि आफ्नै टोल पस्न दिइएन्’
LBEF

उदयपुर जिल्लाबाट रासस समाचारदाता भएर २०६४ सालदेखि नै समाचार लेख्न थालेको भएपनि विषम परिस्थितिमा रिपोर्टिङ गरेको खासै अनुभव ममा थिएन । गत वर्षको चैत १८ गते उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–३ भुल्केमा पहिलो चोटि कोरोनाको संक्रमण देखा परेको खबरसँगै दौडधूप बढ्न थाल्यो । भुल्के हुँदै अन्यत्र पनि कोरोना संक्रमण फैलन शुरु भयो । लकडाउनलाई पर्वाह नगरी जतिखेर पनि स्थलगत रिपोर्टिङमा हिँड्नु पर्यो । त्यस दौरान जीवनमा पहिलो पटक रिपोर्टिङ कठिन काम रहेछ भन्ने अनुभूति मलाई भयो । 

चैत १८ गते पहिलो पटक उदयपुरको भुल्केस्थित नुरी मस्जिदका चार जमातीमा कोरोना संक्रमण पुष्टि भयो ।  यो घटनाले उदयपुर जिल्ला मात्र हैन १ नं प्रदेशसहित नेपालभरबाट चिन्ता र चासो व्यक्त भयो । चैत २२ गते भुल्केमा थप आठ जनामा कोरोना संक्रमण पुष्टि भयो । वैशाख ४ गतेसम्म पुग्दा भुल्केमा मात्रै ३२ जना संक्रमित भेटिए । उदयपुरको भुल्के गाउँको चर्चा प्रदेश नं १ मा मात्र नभएर देशकै कोरोनाको ‘इपिसेन्टर’ रुपमा हुन थालिसकेको थियो । भुल्केमा फैलिएको संक्रमणले जिल्लाभर सन्त्रास फैलाएको थियो । यस्तो अवस्थामा जिल्लाका धेरै पत्रकारहरु ज्यान हत्केलामै राखेर त्यस गाउँमा रिपोर्टिङ गर्न जाने तयारीमा जुटे । देशकै एक मात्र समाचार एजेन्सी रासससँग आबद्ध भएको नाताले ममाथि ठूलै जिम्मेवारी थियो ।

चिन्ता र डरलाई पन्छाएर रिपोर्टिङमा हिँड्ने अठोट गरें तर जाने काम सोचे जस्तो सहज भने थिएन । मास्क थिएन, सेनिटाइजर थिएन, लकडाउनका कारण पसलहरु बन्द थिए । केही कपडा खोजखाज गरी घर नजिकैको टेलर्समा मास्क सिलाउन दिएँ र त्यही लगाएर म पहिलो पटक रिपोर्टिङ् गर्न भुल्के पुगें ।

स्थानीय प्रशासन तथा सुरक्षाकर्मीले पूरै गाउँ सिल गरेका थिए । भुल्केका बासिन्दा घरभित्र थुनिएका थिए । सारा भुल्के क्षेत्र चकमन्न थियो । घरपालुवा जनावरहरु चरन र पानीको अभावमा ड्वाँ–ड्वाँ कराइरहेको आवाज सुन्न सकिन्थ्यो । पहिलो पटक भुल्केको स्थलगत रिपोर्टिङ पछि लेखेको समाचार धेरै सञ्चारमाध्यमले प्राथमिकताका साथ प्रसारण/प्रकाशन गरेको पाएर आफूले खाएको हण्डर बिर्से । सन्तोषको अनुभूति भयो ।

विभिन्न सञ्चारमाध्यममा आबद्ध हामी पत्रकारहरु भुल्के गएर रिपोर्टिङ कार्य शुरु गरेपछि वरपर छिमेकीहरुले समेत कोरोना सर्ने डर र त्रासले आफ्ना घर टोलमा हामीलाई प्रवेश निषेध गरे । मेरा छिमेकीहरुले मलाई वल्लो घर पल्लो घर जान निषेध गरे । यस्तो स्थिति बेहोरेपछि भुल्के क्षेत्रमा रिर्पोर्टिङमा जाने सबै पत्रकारले तत्काल स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुबेदीलाई आफूहरुको नमूना स्वाब परीक्षणको प्रवन्ध मिलाइदिन अनुरोध गर्यौँ । उनको जवाफ उत्साहप्रद थिएन । उनको भनाइ थियो – “अहिले हामीसँग किट र अन्य उपकरण कमै मात्र छ, भुल्केवासीलाई नै स्वाब परीक्षण गर्न पुगेको छैन, तपाईहरुको पछि परीक्षण गरौंला ।” वास्तवमा प्रदेश नं १ को उदयपुर पहिलो कोरोना संक्रमित जिल्ला भएका कारण परीक्षणका लागि पर्याप्त सामग्री र उपकरण जिल्लामा आइसकेकै थिएन । एकातिर जिल्लामा यस्ता उपकरणहरुको अभाव थियो भने अर्कोतिर दिनानुदिन कोरोना संक्रमितको संख्या बढ्दै गइरहेको थियो । हेर्दाहेर्दै सम्पूर्ण उदयपुर जिल्ला नै सिल गरियो ।

विशेष व्यक्ति र अनुमतिपत्र लिएकाहरु बाहेक बाहिरबाट कसैलाई पनि जिल्ला प्रवेश गर्न दिइएको थिएन । उदयपुरबाट बाहिर जान पनि निषेध गरिएको थियो । परीक्षण सामग्री पुगेको केही दिन पछि नै खपत भएर अभाव शुरु भइहाल्थ्यो । कोरोना संक्रमित क्षेत्रमा पटक–पटक रिपोर्टिङमा गएको हुनाले घर फर्केर आएपछि महिनौं दिनसम्म एउटा कोठामा रहनु पर्यो । श्रीमती, छोराछोरी भन्दा टाढै छुट्टै कोठामा अलग्गै बस्नु पर्ने बाध्यता आयो । बिहान बेलुकी कोरोना संक्रमणबाट बच्न दैनिक तातो पानी र बेसार पानी पिउँदै रिपोर्टिङको कार्यलाई जारी राखें । रासस केन्द्रीय कार्यालयबाट सोधखोज हुँदा समाचार लेख्न प्रोत्साहन मिल्थ्यो । जिल्लाको स्थिति अवगत गराउन पाएर खुशी लाग्थ्यो ।

भुल्के क्षेत्रमा दैनिक भइरहेको लकडाउनले गाउँलेहरुको अवस्था दिनानुदिन नाजुक बन्दै गइरहेको थियो । गाउँलेहरुलाई घरबाट बाहिर समेत निक्लन प्रशासनको कडा निर्देशन भएकाले गाउँलेहरुले घरमा भएका धान मिलमा पिसेर खाने अवस्था थिएन । गाईवस्तु गोठभित्रै भोकभोकै मर्ने अवस्था थियो । भुल्केवासीहरुबाट हामी पत्रकारहरुलाई गाउँको दयनीय अवस्था र आफूहरुको समस्यालाई उजिल्याइदिन पटक–पटक फोन आउन थाल्यो । वैशाख ३ गते केही पत्रकार साथीहरुसँगै म भुल्केको कोरोना फैलिएको मुख्य टोल र अन्य टोलहरुमा गएर उनीहरुको मर्का बुझ्यौं र त्यसबारे समाचार सम्प्रेषण गर्यो । 

रिपोर्टिङका क्रममा भुल्केका एक स्थानीय बासिन्दाले यसरी पीडा पोखे – “एक महिनादेखि पूरै गाउँ सिल छ । हिँडडुल गर्न पाइन्न । घरमा भएका चामल, नून, तेल सबै सकिए । ढु्कुटीमा धान छ, मिलमा पिस्न पाइँदैन । घरमा पैसा छ, किनेर खान पाइँदैन ।” 

यो समाचारलाई राससले प्राथमिकताका साथ सम्प्रेषण गर्यो । थुप्रै सञ्चारमाध्यमबाट भुल्केवासीको यो दर्दनाक पीडाको समाचार बाहिर आएपछि स्थानीय प्रशासन, प्रहरी र नगरपालिकाको ध्यान आकृष्ट भयो । समाचार आएको भोलिपल्ट नै भुल्केमा स्थानीय प्रशासनले छुट्टै एउटा पसल सञ्चालन गर्न लगायो भने सामाजिक दूरी कायम गराउँदै गाउँमा एउटा मिल पनि चल्न दियो । मर्कामा परेका जनताको बोली बोलिदिन पाएकामा सन्तोष मानें । राससले समाचारमार्फत स्थानीयवासीको पिरमर्कालाई उठाइदिएर समस्या समाधान गरिदिएको भन्दै केहीले व्यक्तिगत रुपमै धन्यवाद दिए । 

पटक–पटकको अनुरोध पछि बल्ल वैशाख ५ गते संक्रमित क्षेत्रमा रिपोर्टिङ गर्न जाने २६ जना पत्रकारको पहिलो पटक स्वास्थ्य कार्यालय उदयपुरको प्राङगणमा नमूना स्वाब संकलन कार्य हुनसक्यो । एक २६ वर्षीय पत्रकारमा बाहेक अरु सबैको नेगेटिभ रिपोर्ट आयो । यसपछि राहत महसुश गर्यौ । कोरोना संक्रमण भुल्के हुँदै जिल्लाको अन्य स्थानीय तहहरुमा पनि फैलिँदै थियो । संक्रमितको संखया बढ्दै गइरहेको थियो । अर्कातिर निरन्तर लकडाउनको कारण जिल्लामा दैनिक ज्यालामा बाँच्ने मजदूरहरुको अवस्था पनि झन् झन् कष्टकर बन्दै गइरहेको थियो ।

रासस केन्द्रीय कार्यालयका चिफ रिपोर्टरबाट पाएको हौसला र सल्लाहअनुसार जिल्लाका विभिन्न स्थानीय तहमा रहेका क्वारेन्टिनको अवस्था, ज्यालादारी मजदूरहरुको सकस, राहत वितरण र उपचारबारे बुझ्न दैनिक रिपोर्टिङमा निस्कन थालें र सकेसम्म समाचार बनाएँ । जिल्लाका पूर्वी क्षेत्रको बेलका नगरपालिका, चौदण्डी नगरपालिका, विकट पहाडी क्षेत्रको उदयपुर गाउँपालिका सहितका स्थानमा रहेका क्वारेन्टिनको  अवस्था र राहत वितरणबारे बुझ्न जान घरबाट एकाबिहानै निक्लनु पर्ने हुन्थ्यो । ती ठाउँमा पुग्दा होटल र पसलहरु बन्द भइसक्थ्यो । धेरैचोटि भोकभोकै रिपोर्टिङ गर्नुपर्यो । 

पहिलो पटक भुल्केका दुई स्थानीयवासीबाट उदयपुरमा कोरोना संक्रमण शुरु भएको थियो । भुल्केकै एक १८ वर्षीय युवक भारतको उत्तरप्रदेशको मदरसाबाट फागुन ४ गते पढेर फर्केका थिए भने अर्का भुल्केकै ५८ वर्षीय पुरुष भारतको गुजरातको गार्मेन्ट उद्योगबाट चैत ३ गते फर्किएका थिए । उनीहरुबाटै भुल्केको नुरी मस्जिदका जमातेहरुमा र छिमेकीहरुमा कोरोना सरेको थियो । तर जेठको दोस्रो हप्तादेखि भारतबाट उदयपुर आउने मात्र हैन विदेशबाट आउनेहरुको भीड बढ्दै गएपछि उदयपुरमा पनि कोरोना सक्रमितको सङख्या थपिँदै गयो । फलतः जिल्लामा क्वारेन्टिनहरु थपिए । संक्रमितको उपचारका लागि बाध्य भएर धरानस्थित बिपी मेमोरियल अस्पताल र कोशी अस्पताल कोरोना उपचार केन्द्र विराटनगर पठाउनुपर्यो ।

 

कडा लकडाउनको समयमा रिपोर्टिङमा खटिँदा प्रहरी तथा सुरक्षाकर्मीहरुबाट पटक–पटक दुव्र्यवहार खेप्नु पर्यो । मेरो गाडी समेत प्रहरीले कब्जा गरेर लगिदियो । छिमेकीहरुबाट छिः छिः दूरदूर सहनुपर्यो । मैले संकटका बीच पनि रिपोर्टिङको कामलाई जारी राखे । कोरोना महामारीको रिपोर्टिङ भन्दा अगाडि मैले यस्तो कठिन अवस्था कहिल्यै भोगेको थिइनँ ।

जिल्लाका यस्ता समस्याहरुका बारेमा पनि सङ्घीय सरकार र प्रदेश सरकारको ध्यानाकर्षण गराउन मैले पटक–पटक गाउँठाउँमै पुगेर समाचार लेखे । जेठ ४ गते मुख्य मन्त्री शेरधन राई भुल्केको अवस्था बुझ्न आइपुगे । त्यस मौकामा हामी पत्रकारहरुले उदयपुरमा कोरोना उपचार केन्द्र स्थापना गर्नु पर्ने माग जोडदार रुपमा अघि सार्यौ ।  यसबारेमा समाचार पनि लेखें ।

यो समाचार सम्प्रेषण भएपछि स्थानीय तह र प्रदेश सरकारको आर्थिक व्यवस्थापनमा उदयपुरको चौदण्डी नगरपालिकामा कोरोना उपचार केन्द्रको स्थापना गर्ने काम भयो । हाल यहाँ १६ कोरोना संक्रमितको उपचार भइरहेको छ । क्वारेन्टिनमा बसेकाहरुको अवस्था र क्वारेन्टिन सुधारका विषयमा कठिनाइहरु भोग्दै समाचार लेख्दैआएको छु । अहिले जिल्लामा सञ्चालित क्वारेन्टिनहरुमा धेरै सुधार आइसकेको जो कोहीले अनुभव गर्न सक्छन् ।

कडा लकडाउनको समयमा रिपोर्टिङमा खटिँदा प्रहरी तथा सुरक्षाकर्मीहरुबाट पटक–पटक दुव्र्यवहार खेप्नु पर्यो । मेरो गाडी समेत प्रहरीले कब्जा गरेर लगिदियो । छिमेकीहरुबाट छिः छिः दूरदूर सहनुपर्यो । मैले संकटका बीच पनि रिपोर्टिङको कामलाई जारी राखे । कोरोना महामारीको रिपोर्टिङ भन्दा अगाडि मैले यस्तो कठिन अवस्था कहिल्यै भोगेको थिइनँ । गत वर्षको चैत १८ गतेदेखि अहिलेसम्मको अनुभवले रिपोर्टिङ भनेको एउटा संघर्र्ष रहेछ भन्ने बुझें । आगामी दिनमा थप प्रतिकूल परिस्थितिमा काम गर्न यसले हौसला थपिदिएको छ । 

पछिल्लो समय सबैले कोरोनाका बारे राम्ररी बुझ्न थालेका छन् । लकडाउन केही खुकुलो हुन थालेपछि रिपोर्टिङको कार्य विस्तारै सहज हुँदै गएको अनुभूति भएको छ । सुरक्षाकर्मीहरुले पनि सञ्चारकर्मीहरुप्रति सहयोगी र सभ्य व्यवहार गर्नुपर्छ भन्ने बुझ्न थालेका छन् । छिमेकीहरुले पनि कोरोनाको नाममा एक मानवले अर्का मानवलाई घृणा र तिरस्कार गर्नु भन्दा सामाजिक दूरी कायम गरेर बस्न सहयोग गर्नु पर्छ भन्ने तथ्य आत्मसात गर्न थालेका छन् । (लेखकः राष्ट्रिय समाचार समितिका रिपोर्टर हुन् ।) 

प्रतिक्रिया दिनुहोस