aarthiknews.com सोमबार, २६ साउन २०७७   Monday, 10 August, 2020
 
Bajaj_Bike
Tasen

सोमबारबाट रसुवागढी नाका एकतर्फी सञ्चालनमा आउने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २० असार २०७७
सोमबारबाट रसुवागढी नाका एकतर्फी सञ्चालनमा आउने
LBEF

काठमाडौं । कोभिड–१९का कारण बन्द गरिएको नेपाल–चीन व्यापार नाका रसुवागढी सुचारु हुने भएको छ । आउँदो सोमबार २२ गतेदेखि उक्त नाका पुनःसञ्चालनमा ल्याउन लागिएको हो । सरकारले एकतर्फी रुपमा नाका सञ्चालन गर्न लागेको छ । चीनबाट नेपालमा सामान आउने तर, नेपालबाट चीनमा कुनै पनि सामान नजाने हिसावले एकतर्फी नाका सञ्चालन गर्न लागिएको भन्सार विभागका महानिर्देशक सुमनप्रसाद दाहालले बताए । 

‘हामी नाका खोल्ने तयारी मै थियौं,’ उनले भने ‘उताबाट गाडी आउने तयारी भएको छ ।’ सोमबारसम्म नाकामा सामान आइपुग्ने चिनियाँ पक्षले बताएको छ । विभागकाअनुसार अस्ति बिहीबारदेखि सामग्री नेपाल भित्र्ने सामान लोड हुन थालेको छ । गत साता बसेको दुई देशबीचको सीमा सुरक्षा बैठकले केही सर्त राखेर नाका सञ्चालनमा ल्याउने सहमति भएको हो । सामान आयात गर्नको लागि नेपाली पक्षले चिनियाँ पक्षलाई १५ जना चालक र १५ जना कामदारको विवरण उपलब्ध गराइसकेका छ ।

चीनले नेपाल–चीनको सीमा मितेरी पुलसम्म चिनियाँ पक्षले नै सामग्री ल्याइदिने छ । सुरुमा ट्रायलका लागि चिनियाँ चारवटा ट्रकले सामग्री लिएर मितेरी पुल आउने छन् । मितेरी पुलमा सामग्री लिन जाने चालक तथा लोड अनलोडका लागि जाने कामदारको दैनिक परीक्षण गरिने छ । मितेरी पुलबाट चीनतर्फ जान पाइने छैन । चीनतर्फको दोस्रो ठूलो नाका सोमबारबाट पुनः सञ्चालनमा ल्याउन लागिएको हो । 

कोरोना भाइरस संक्रमणको जोखिमबाट पर्न सक्ने असरका वारेमा मध्यनजर गर्दै गएको माघ १५ गतेदेखि रसुवागढी नाका बन्द भएको थियो । चीनसँग सञ्चालनमा रहेका दुईवटा नाकामध्ये सिन्धुपाल्चोकको तातोपानी नाका यसअघि नै सञ्चालनमा आइसकेको छ । तातोपानी नाकाबाट पनि एकतर्फी रुपमा मात्रै सामान नेपाल भित्रिरहेको छ । सोही मोडलमा अन्य नाका पनि सुचारु रहेको महानिर्देशक दाहालले बताए । 

त्यतिबेला स्थानीयले कोरोना भाइरस भित्रिन सक्ने त्रासमा नाका नखोल्ने अडान लिएका कारण नाका सञ्चालनमा आउन सकेको थिएन । २०७१ मङ्सिर १५ गते यो नाका औपचारिक रूपमा खुला भएको हो । बीचमा भूकम्पका बेला बाटो अवरोध भएका कारण केही समय उक्त नाका बन्द रहेको थियो । 
राजधानीबाट केरुङ १४८ किमी टाढा छ । केरुङबाट सिगात्से पाँच सय ४८ किमी टाढा छ । सिगात्सेसम्म रेल आएको र रसुवागढी नाकासम्म रेलमार्गले जोड्ने चीनको योजना छ । नाकाबाट चीनको केरुङ पुग्नका लागि २४ किलोमिटर दूरी पार गर्नुपर्छ ।  
 

प्रतिक्रिया दिनुहोस