aarthiknews.com मंगलबार, २० साउन २०७७   Tuesday, 04 August, 2020
 
Bajaj_Bike
Tasen
बीमा

‘सरकारले बीमा बण्ड निकालेर खर्बौ लाईफ फण्डलाई मूलुकको समृद्धिको लागि प्रयोग गर्न सक्छ’

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १८ असार २०७७
‘सरकारले बीमा बण्ड निकालेर खर्बौ लाईफ फण्डलाई मूलुकको समृद्धिको लागि प्रयोग गर्न सक्छ’
LBEF

विगत लामो समयदेखि बीमा तथा वित्तीय क्षेत्रमा कार्यरत रमेश कुमार भट्टराई हाल देश कै कान्छो जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) को जिम्मेवारीमा रहेका छन् । सन् २०१६ मा युरोप बिजनेश एसेम्बी, यूकेद्वारा सम्मानित भट्टराईले वाणिज्यशास्त्रमा स्नातकोत्तर गरेका छन् । उत्कृष्ट व्यवस्थापकको रुपमा स्थापित उनै भट्टराईसँग हाल बीमा व्यवसायमा रहेको चुनौती, अवसरका साथै नयाँ बीमा कम्पनीले अबका दिनमा लिनुपर्ने मार्गका विषयमा गरिएको आर्थिक बहसः

अहिले विषम परिस्थितिमा कम्पनीको दैनिक गतिविधिहरू कसरी व्यवस्थापन गरिरहनु भएको छ ?

कोरोनाको कारण नेपाल मात्र नभएर विश्व नै अहिले जटिल अवस्थामा छ । हामी निजी क्षेत्र व्यवसाय गरेर खर्च धान्न पर्नेलाई त झनै कठिन छ । हामीले नियमित रुपमा शाखा र उपशाखाका कर्मचारी र अभिकर्ताहरूसँग सम्पर्क गरी उनीहरूको मनोबल उच्च राख्ने, सुरक्षित हुँदै सक्रिय हुन र सकेको व्यवसाय गर्न अभिप्रेरित गरिरहेका छौँ । यसको परिणाम राम्रै आएको छ । लकडाउन अवधि चैत्र, वैशाख र जेष्ठमा नर्मल व्यवसाय गर्न सफल भएका छौँ । 

कोरोना पछि बीमा बजार घटछ कि बढ्छ ?

कोरोना पछि तत्काल बजार बढिहाल्ने अवस्था देखिदैन । लकडाउनको कारण आर्थिक गतिविधि खुम्चिएको अवस्थामा व्यक्तिसँग बचत सकिएको छ । उद्योग व्यवसायको नगद प्रवाह शून्य स्थितिमा छ । यस्तोमा कोरोना पछि आर्थिक गतिविधि सामान्य अवस्थामा फर्किएसँगै मानिसको क्रय शक्ति बढ्ने, बचत रहने अवस्थामा बीमा कारोबार बढ्ने निश्चित छ । कोरोनाले मानिसहरूलाई फेरि एक पटक बीमाको महत्व राम्ररी बुझाएको अवस्था छ । 

जीवन बीमा कम्पनीको कुन क्षेत्र वा कार्यहरूलाई लकडाउनले सबै भन्दा बढी असर गर्याे ? 

लकडाउनले मानिस, व्यापार र यातायातको मुभमेन्ट नै बन्द गरेपछि बीमाको समग्र क्षेत्रलाई नै असर गर्याे भन्दा हुन्छ । कार्यालय खोल्न सकिएन, कर्मचारीहरू मार्केटिङमा जान सकेनन् र अभिकर्ताहरू व्यवसाय खोज्न जान नपाए पछि समग्रमा व्यवसायलाई नै बढी असर गरेको पाइयो । 

महामारीले बीमा बजारका लागि के कस्ता अवसरहरू ल्याएको छ र के नेपाली बीमा कम्पनीहरूले यो अवसरबाट फाइदा लिन सक्छन त ?

२०७२ वैशाखको विनाशकारी भुइचालोमा ९०८० मानिसको मृत्यू भयो । त्यसमा ३ सय मानिसको मात्र बीमा थियो। । उनीहरूको परिवारले बीमाबाट दावी भुक्तानी समयमै लिएर आफ्नो जीवन सामान्य बनाए । तर, अन्य सबैले पटक–पटक गरी ३ लाख अनुदान लिन ४ वर्ष कुर्नु पर्याे । त्यो बेला बीमाको महत्व जनमानसले बुझे त्यसपछि बीमा कारोबार सोचे भन्दा धेरै बढ्दै गएको पनि हो । 

अहिले कोरोना महामारीले पुनः मानिसलाई बीमाको महत्व बुझाएको छ । छोटो समयमा ५ लाख भन्दा बढीले कोरोना बीमा गरेबाट यो कुरा पुष्टि हुन्छ । त्यसैले यो महामारीले बीमाको लागि ठूलो अवसर सृजना गर्छ भन्ने मेरो मान्यता छ । शिथिल अर्थ व्यवस्था उठ्न र आर्थिक गतिविधिलाई पूरानो लयमा ल्याउन केही समय लागे पनि त्यस पछि बीमा कम्पनीहरूले समय अनुकुल प्रोडक्ट लिइ मार्केटिङ गर्न सकेमा ठूलै फाइदा लिन सक्ने देखिन्छ । 

लकडाउनकोबीचमा अनलाइनबाट आफै बीमा गर्न सकिने व्यवस्था गर्नु भएको छ ? यसबाट बीमा गर्न चाहने सर्वसाधारण कसरी लाभाम्वित हुन सक्छन् ?

प्रविधिलाई प्रयोग गर्दा ५ लाख भन्दा बढी अभिकर्ताको रोजगारीलाई पनि हामीले हेर्नु पर्छ। विदेशमा जस्तो पूर्ण प्रविधिको बीमा कारोबार गर्दा विस्तारै विस्तारै ५ वर्ष भित्रमा अधिकांश अभिकर्ता विस्थापित हुने अवस्था आउँछ । अहिले बीमा समितिले लघु बीमालाई शर्त तोकेर ३ लाख रुपैयाँसम्मको मात्र प्रडक्ट अनलाइन मार्फत बिक्री गर्न स्वीकृत दिएको छ । 

अन्य  प्रडक्टलाई दिएको छैन । लकडाउनमा मानिसको मुभमेन्ट नभएको बेला अभिकर्ताहरूले बीमा प्रस्ताव फारम र नागरिकता कपी मोबाइलबाट फोटो खिचेर पठाएको आधारमा अण्डरराईटिङ गरी स्वीकृत दिएका हौं  ।  डिजिटल माध्यमले हाम्रो खातामा प्रिमियम जम्मा गरेपछि पोलिसी जारी गरेको हो । यो व्यवस्थाले केही हदसम्म सर्वसाधारण र अभिकर्तालाई घरबाट काम गर्न सहज बनाएको चाहिँ पक्कै हो । 

बीमा समितिले हाल ३ लाख सम्मको मात्र अनलाइन मार्फत बीमा गर्न सक्ने व्यवस्था गरेको छ । यस्तो साघुँरो व्यवस्थाले ठूला बीमा गर्ने बीमितहरूलाई त समेट्न सकेन नि ?

एकदम सही कुरा गर्नु भयो । ३ लाखसम्मको लघु बीमा मात्र अनलाइनबाट गर्न सक्ने व्यवस्थाले आम बीमितहरूलाई प्रविधिको फाइदा हुन सक्दैन । पूर्ण अनलाइन सुविधा दिन बीमा समितिको वर्तमान ऐन कानुनले नदिएको हुन सक्छ र अर्को तर्फ पूर्ण अनलाइन गर्दा ५ लाख अभिकर्ताको पेशामा कुठाराघात गर्छ की भन्ने डर र चिन्ताले पनि बीमा समितिले पूर्ण अनलाइन स्वीकृत नदिएको पनि हुन सक्छ । त्यसैले अहिलेको साँघुरो व्यवस्थाले ठूलो बीमा गर्नेलाई प्रविधिको फाइदा पुग्न नसकेको चाहिँ पक्कै हो ।

हालै सरकारले प्रस्तुत गरेको बजेटमा यो वर्ष जीवन बीमा पेनिट्रेशन ४० प्रतिशत पुर्याउन लक्ष्य राखिएको छ । तपाईलाई के लाग्छ र के यो लक्ष्य पुरा होला त ? यो लक्ष्य पुरा गर्न सरकारले के के गर्नु पर्छ ?

सरकारले जीवन बीमालाई कहिले पनि प्राथामिकतामा राखेन । २०७७/७८ को बजेट पूर्व पनि बीमा समिति र कम्पनीहरूले सामुहिक छलफल गरेर राय दिएका थिए । बीमा प्रबर्द्धनको लागि वार्षिक २५ हजारको कर छुटको सीमा ५० हजार सम्म पुर्याइदिन अनुरोध गर्दा  त जीवन बीमाको लागि सरकारले केही गरेन । ४० प्रतिशतको लक्ष्य राखेर मात्र के गर्ने ?

जीवन बीमाको गुणात्मक विकासमा जाने की संख्यात्मकमा जाने त्यो नीति नबनाइ ४० प्रतिशतको पेनिट्रेशनले मात्र केही भै हाल्छ भन्ने मलाई चाहिँ आशा छैन । यो लक्ष्य पूरा गर्न समय सुहाँउदो बीमा ऐन नियम आउनु पर्याे । स्कुल तह देखि बीमाको ज्ञान र जनचेतना जगाउने कोर्षको व्यवस्था हुनु प¥यो । दक्ष र प्राविधिक जनशक्ति तयार गर्न जोड दिनु पर्यो । बैंकिङ कारोबारमा जस्तै बीमा कारोबारलाई पनि अभिकर्ताको पनि सुरक्षा हुने गरी प्रविधि युक्त बनाउने कार्यक्रम ल्याउनु पर्याे। चाहेमा गर्न नसकिने के नै छ र ?

अझै पनि आम बीमितहरूले बीमा कम्पनीहरूको दावी भुक्तानी प्रकृया झन्झटिलो भएको गुनासो आउने गरेको छ । महालक्ष्मी लाईफ इन्स्योरेन्सले दावी भुक्तानी प्रकृयालाई कसरी व्यवस्थापन गरिरहेको छ ?

दावी भुक्तानी प्रकृया झन्झटिलो भनेको जनरल इन्स्योरेन्स तिरेको हो। जीवन बीमामा मृत्यु दावी भुक्तानी र अवधि भुक्तानी दावी मात्र हो । मृत्यु दावी भुक्तानीमा अपवाद वाहेक कोही चाहेर मृत्युवरण गर्दैनन् भन्ने मान्यता छ । मृत्यु दावीमा समितिले नै तोकेको कागज पु¥याएमा दावी भुक्तानी सजिलै हुन्छ । अवधि भुक्तानीमा कुनै समस्या नै छैन । मृत्युुसँग सम्बन्धित मृत्य दर्ता, हकवाला, नागरिकता प्रमाणपत्र र दुर्घटना केसमा प्रहरी मुचुल्का, पोष्टमार्टम रिपोर्ट नआएको अवस्थामा बीमितबाटै ढिलो हुने अवस्था आउँछ । 

कम्पनीले त सकेसम्म छिटो दावी भुक्तानी दिउँ र ग्राहक तथा बीमितमा राम्रो छाप पारौं भन्ने सोचमा सधै हुन्छ । बीमा गरेको छोटो अवधिमा मृत्यु हुँदा चाहिँ शंकास्पद हुन्छ र अनुसन्धान गर्नु पर्ने भएकोले कहिले काहिँ समय लाग्ने गरेको पनि छ । महालक्ष्मी लाईफले पनि सोही अनुसार छिटो छरितो हुने गरी व्यवस्थापन गरिरहेको छ । 

नयाँ बीमा कम्पनीहरू बीचको प्रतिस्पर्धा कतिको छ ? तपाईहरूको प्रतिस्पर्धा पूराना कम्पनीसँग हो की नयाँ कम्पनीहरूसँग हो ? पूराना कम्पनीका पूराना ग्राहक नै ल्याउन सक्ने कुनै प्रडक्ट ल्याउनु भएको छ या ल्याउदै हुनु हुन्छ ?

१९ वटा जीवन बीमा कम्पनीमध्य हामी सबै भन्दा पछि अरु भन्दा एक्लै आयौँ । हामी भन्दा डेढ वर्ष पहिले नौ वटा कम्पनी एकै पटक आएका थिए । प्रतिस्पर्धा कै कुरा गर्ने हो भने ती ९ वटा नयाँ कम्पनीसँग हाम्रो प्रतिस्पर्धा छ अहिले । 

हामी शाखा संजाल र अभिकर्ता संजाल विस्तारमा लागेको बेला लकडाउन आइपरेकोले अरुलाई भन्दा हामीलाई बढी समस्या परेको छ । तर, पनि हामी कडा प्रतिस्पर्धाको यो चुनौतीलाई अवसरमा बदल्ने प्रयत्नमा छौँ । हाम्रो अधिकांश प्रोडक्टहरू अरु भन्दा पृथक छन् । महालक्ष्मी डबल, जीवन हेरचाह, लगानी फिर्ता अन्य कम्पनीसँग नभएको प्रोडक्ट हो । अन्य प्रडक्टमा पनि नयाँपन र सुविधाहरू दिएका छौँ । प्रडक्ट राम्रो भएपछि पुरानो र नयाँ दुबै कम्पनीका ग्राहक अवश्य पनि आउँछन् भन्ने हामीलाई विश्वास छ ।

नेपालको बीमा बजार प्रविधि मैत्री छैन । यस्तो अवस्थामा कसरी विकाश हुँदैछ बीमाको ?

तपाइले भनेको कुरा सही हो, बीमा कारोबार प्रविधि मैत्री छैन । तर, लकडाउनको लामो अवधिमा बैंकिङ कारोबार, ग्रोसरी सामग्री, औषधि लगायतका दैनिक आवश्यकताको काम र सामान अनलाइनबाट सम्भव भएपछि प्रविधिको प्रयोग बढ्यो । महत्व पनि आम मानिसले बुझे । त्यसैले जब मानिस प्रविधिमा अभ्यस्त हुँदै जान्छन अनि स्वभाविक रुपमा बीमा व्यवसाय पनि प्रविधि मैत्री हुन्छ । अनि बीमाको विकास पनि अझै तिव्र गतिमा हुन्छ । 

प्रविधिको प्रयोग गरेर बीमाको कारोबार गर्न कुन क्षेत्रमा गाह्रो छ ?

जीवन बीमा कारोबारमा ठूलठूला बीमाको लागि अण्डरराइटिङ गर्नु पर्ने हुन्छ । बीमा गर्नेको राम्रो स्वास्थ्य अवस्था र प्रिमियम तिर्ने रकमको कानुनी स्रोत एकिन नभै स्विकृति दिन मिल्दैन । प्रविधिको प्रयोग अझै भन्दा अनलाइनबाट छिटो कारोबार गर्न गराउन लेस डकुमेन्टेशन मोर इन्फरमेसन प्रकृयामा मात्र संभव हुन्छ । 

त्यसैले पछि सम्म पनि आम जनताको आवश्यकताको सानो सानो रकम र अण्डरराइटिङ गर्नु नपर्ने प्रडक्ट प्रविधि मैत्री बनाउन सकिए पनि मध्यम र ठूला रकमको बीमाको कारोबार अनलाइनबाट तुरुन्तका तुरुन्त गर्न गाह्रो नै होला । 

लाइफ फण्डको प्रयोग कसरी गरिरहनु भएको छ ? यसको व्यवस्थापन सरकारले कसरी गरिदिए हुन्थ्यो जस्तो लाग्छ ?

लाइफ फण्डको प्रयोग विषयमा बीमा समितिले जारी गरेको लगानी निर्देशिका अनुसार नै भै रहेको छ । टेक्निकल रिजर्भको कुन कुन क्षेत्रमा कति लगानी गर्ने भनेर लिखित नीति नै भए पछि त्यस भित्र बसेर गर्नु पर्ने हुन्छ । सरकार, राष्ट्र बैंक र बैकहरूको ऋणपत्र तथा मुद्दतिमा बढी लगानीको व्यवस्थाले बीमा कम्पनीहरूलाई सुरक्षित नै बनाएको छ । लाइफ  फण्डको प्रयोग देश विकासमा गर्न लगाउने हो भने लगानी निर्देशिकाले तोकेको कृषि, पर्यटन, जलस्रोत र पूर्वाधारमा २० प्रतिशत सम्म लगानी गर्ने व्यवस्थालाई सरकारले रोजेको ठूला ठूला मेघा प्रोजेक्टमा सरकारको ग्यारेन्टीमा लगानी गर्न सकिएमा बीमा कम्पनी र देशलाई पनि बढी फलदायी हुने थियो। साथै,  सरकारले लामो अवधिको बीमा वोण्ड निकालेर पनि खर्वौ रकमको लाईफ फण्डलाई मूलुकको समृद्धिको लागि प्रयोग गर्न सक्थ्यो, यसतर्फ सोच्न आग्रह गर्दछु । 

बीमा कम्पनीहरूले पोलिसीको बोनशलाई ठूलो प्रचारको विधि बनाएका छन । के यो ठिक हो ?

जीवन बीमा पोलिसीमा लगानी गर्न चाहनेको लागि बोनश पनि एउटा फेक्टर हो । तर, सबै चिज चाहिँ पक्कै पनि होइन । बीमा गर्ने भनेको भविश्यमा हुने भवितव्यको सुरक्षा र सोधभर्नाको लागि हो । अतः खरिद गरिने पोलिसीले दिने सुविधाहरू के के हुन प्रिमियम कति पर्छ त्यो हेर्नु पर्ने हुन्छ त्यसपछि मात्र बोनश हेरिन्छ । हामीकहाँ जीबन बीमामा बोनशलाई प्रमुख आधार बनाइएको छ जुन सही होइन । 

पूराना कम्पनीहरूले २५ र ३० वर्षे पोलिसीमा पाइने बोनशलाई मात्र प्रचार गरेर आम जनतामा भ्रम सृजना गरिरहेका देखिन्छ जुन सरासर गलत हो । ७०/८० प्रतिशत पोलिसी १५/१६ वर्षे बिक्री गर्ने अनि प्रचार चाही २५÷३० वर्षे पोलिसीमा पाउने बोनसको गर्ने ? यो त सरासर सोझा साझा जनतालाई झुक्काउने खेल हो । किनकी २५ र ३० वर्षे पोलिसी कुनै पनि कम्पनीको नगन्य हुन्छ, उनीहरूको तथ्याङक मागेर हेरे पुष्टि हुन्छ । 

बीमा कम्पनीहरूले बैकान्स्योरेन्स बिक्री गरेका थिए । पछि राष्ट्र बैकले रोक लगायो । यसरी बीमा बिक्रि गर्ने तरिका ठिक थियो कि गलत थियो ?

बैंकले बैकिङ कारोबार गर्ने र बीमा कम्पनीले बीमा कारोबार गर्ने भनेर दुबैको ऐन नियमले नै तोकेको छ । अब बैंकले कोर बैकिङ छोडेर २५ प्रतिशत कमिशन आम्दानीकै लागि शाखा र कर्मचारीलाई बीमाको टार्गेट दिएर काम गराउनु ठिक थिएन भनेर आवाज उठाउनेमा म पनि हुँ ।

बैंकले प्रवाह गरेको कर्जा सुरक्षणको लागि टर्म इन्स्योरेन्स गर्न पाउँछ, डिपोजिट होल्डरको लागि कुनै बीमा कम्पनीसँग मिलेर छुट्टै प्रोडक्ट बनाएर बिक्री गर्न पाउँछ । तर, अभिकर्ताले झै कमिशनको लोभमा ऋणीहरूको जवरजस्ती लामो अवधिको इन्डोमेन्ट पोलिसी बिक्री गर्न पाउँदैन । बाहिरी मान्छेको खुलेआम बीमा गर्न पाउँदैन यो त बीमा कम्पनी र अभिकर्ताले मात्र गर्न पाउँछन । अन्तराष्ट्रिय प्रचलन पनि यही नै हो ।

बीमा कम्पनीहरू सबैले उस्तै उस्तै पोलिसी बिक्री गरिरहेका छन् । महालक्ष्मी लाईफको पनि त्यस्तै छ । अबको दिनमा फरक पोलिसी आउँछ ?

बीमा कम्पनीहरूले इन्डोमेन्ट, होल लाईफ र टर्म इन्स्योरेन्स गरी ३ थरीका प्रोडक्ट मात्र बिक्री गर्न पाउँछन् । सबै पोलिसीहरू यी तीन वेश लाइनमा रहेर बनेका हुन्छन् । त्यसैले कम्पनीहरूले ल्याउने पोलिसी उस्तै उस्तै लाग्न सक्छ । तर, महालक्ष्मी लाईफ इन्स्योरेन्स बीमा बजारमा नयाँ सोच लिएर आएको कम्पनी हो ।

प्रोडक्ट, एजेन्सी सिस्टम, म्यानेजमेन्ट टिम, पूनरबीमा सबै क्षेत्रमा हामी फरक छौँ । महालक्ष्मी डबल योजना, जीबन हेरचाह योजना, लगानी फिर्ता योजना कोहीसँग छैन । हामीले मात्र बजारको आवश्यकता र चाहना हेरेर ल्याएका छौँ । हामी दीर्घकालिन सोच लिएर आएका छौ । वर्षातको पानीको ठूलो फोका जस्तो आउने, ठूलो देखिने र हराउने गरि काम गर्दैनौ । हामी बीमा बजारमा नेतृत्वदायी भूमिका खेल्ने गरी काम गरिरहेका छौं । समय लाग्न सक्छ, तर गरेर देखाउने हाम्रो पूर्व इतिहास छर गर्न सक्छौँ भनि विश्वास पनि छ ।

प्रतिक्रिया दिनुहोस