aarthiknews.com शुक्रबार, २६ असार २०७७   Friday, 10 July, 2020
 
Citizen life
होटल

‘व्यवसाय चलाउनै नसक्ने गरी बन्द गर्नुपर्ने दिन नआओस्’

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ३२ जेठ २०७७
Sunrise
HIb
LBEF

मुलुक चैत ११ गतेदेखि बन्दाबन्दीको अवस्थामा छ । त्यसयता अन्य व्यवसाय बन्द भएपनि अधिकांश होटल भने जनवरीदेखि नै बन्द जस्तै अवस्थामा थिए । अहिलेको अवस्थामा होटल व्यवसायीको समस्या अन्यको भन्दा भिन्न र पृथक छ । यहि अवस्थालाई आँकलन गर्ने हो भने आगामी दुई वर्षसम्म होटल व्यवसाय पूर्ण क्षमतामा सञ्चालन हुन नसक्ने अवस्था देखिसकेको छ । हाल होटल क्षेत्रमा रहेका समस्या, सरकारले यी व्यवसायीका लागि चाल्नु पर्ने पहल र समाधानको विषयमा आर्थिकन्युजले होटल संघ नेपाल (हान) की पहिलो महिला अध्यक्ष श्रृजना राणासँग अन्तरवार्ता लिइएको छ  । 

सन् १०८० को दशकमा हस्पिटालिटी क्षेत्रमा प्रवेश गरेर २००८ पश्चात होटल डेला अन्नपूर्णमा प्रबन्ध निर्देशकको रुपमा कार्य सम्पादन गर्दै आएकी राणासँग राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उद्यम व्यवसायको समेत अनुभव छ । विभिन्न सामाजिक संघसंस्थासँग आवद्ध उनै हानकी अध्यक्ष राणासँग गरिएको आर्थिक बहसको सम्पादित अंशः

लकडाउनयता सबै उद्यम व्यवसायहरू ठप्प छन् । होटल व्यवसायको यसको झन ठूलो मारमा परेको छ ।होटलहरूलाई क्वारेन्टिनका लागि दिँदा अहिले ठप्प भएको व्यवसायलाई कस्तो योगदान पुर्याउला ?

कोरोनाको कारण विश्वभरमा संकटकालीन अवस्था सिर्जना भएको छ । यो अवस्थामा सरकारले शुरूदेखिनै सम्पर्क गरी होटलहरू क्वारेन्टिनलाई दिँदा के कस्तो होला भनेर सोधिरहनु भएको थियो । सुरुको अवस्थामा कोभिडको बारेमा बुझेकै थिएन । कोभिड भन्ने वित्तीकै त्रसित हुने अवस्था थियो । 

एकै चोटी क्वारेन्टिनको शब्द आउँदा हामी सुरक्षित हुन्छौ हुँदैनौ भन्ने चिन्ता थियो । त्यो बेला कोरोनाबाट कसरी बच्ने भन्ने वारे पनि प्रष्ट थिएन, हामीलाई त्यति ज्ञान थिएन । तर, नेपालमा विस्तारै संक्रमण बढ्दै जानु, विदेशमा अलपत्र परेका नेपालीलाई स्वदेश फर्काउने क्रममा होटलहरूलाई क्वारेन्टिमा दिनुपर्ने देखियो । 

हामीले चार तारे र पाँच तारे होटलले मात्र हैन सबै खाले होटलले ३ हजार ५ सय कोठा उपलब्ध गराएका छौं । पोखरा र चितवनका होटल व्यवसायीहरूले भने स्थानीय स्तरमै काम गछौं भनेर भन्नु भएको छ । कतिपय होटलहरूले भने स्थानप्यले विरोध गरेपछि दिन नसक्ने प्रतिक्रिया दिएपछि हामीले जवरजस्ती गरेनौं । 

विदेशमा अलपत्र परि स्वदेश फर्केका नेपालीहरूले तपाईहरूले निर्धारण गरेको शुल्क तिरेर क्यारेन्टिनमा बस्न सक्ने अवस्था छ त ? कुनै अध्ययन गर्नु भएको छ ?
कोरोनाका कारण जुन दिनदेखि एयरपोर्ट र नेपाल छिर्ने बोर्डरहरू बन्द भए त्यस दिनदेखि होटलमा एक रूपैयाँको पनि व्यवसाय छैन् । हामी होटल व्यवसायी कर्मचारीहरूलाई तलब खुवाउनेदेखि बैंकको ब्याज तिर्न समेत नसक्ने अवस्थामा पुगेका निःशुल्क कोठाहरू दिनुपर्ने कुरा आएको थियो । यो त कस्तो भने इनारमा डुवेको मान्छेलाई माथिबाट ढुङ्गा हानेको जस्तो भयो ।

अझ दुई हजार रूपैयाँमा तीन छाक खाना खुवाएर राखिदिनु भन्नेसम्मका कुरा पनि आए । होटल व्यवसायीले मात्र यो समस्या समाधान गर्नु पर्ने हैन नि । मेरो भनाइ भनेको अहिलेको समस्याको समाधान सरकार लगानी कर्ता र कर्मचारी तीन वटैको सहभागीता हुनुपर्छ । शुल्कको कुरा गर्नुपर्दा पाँच तारे होटलमा दुई हजारको शुल्क निर्धारण गर्नुभन्दा बरु निःशुल्क दिन उचित हुन्छ । क्वारेन्टिनको लागि खाना खुवाएर र सुत्न बस्नका लागि कोठा मात्र दिएर मात्र हुँदैन, त्यससँगै पीसीआर मेसिनदेखि अन्य सबै सामग्रीहरू किन्नु पर्छ । र पनि आफ्नो क्षमता अनुसारको मूल्य होटलहरूले निर्धारण गरेका छन् । 

होटल व्यवसाय कोरोनका कारण ठप्प भएको अवस्थामा कर्मचारीहरूले चैत देखिको तलव पाएका छन् कि छैनन् ? होटल क्षेत्रका कर्मचारीहरूको तलव व्यवस्थापन कसरी भैरहेको छ ?   

जनावरी देखिनै प्राय ठप्प व्यवसायका बाबजुत पनि सरकारले चैत महिनाको पुरा तलब दिनु भनेपछि मानवताको नाताले हामी सबैको सल्लाह बमोजिम चैतको पुरै तलब दिइसकेका छौं । हामीले चैतको पुरै तलब दिने भनेर निर्णय गरेका थियौं । सरकारले एक महिनाको कुरा गरिरहँदा होटल व्यवसायीको विषयमा एक महिनाको मात्र कुरा गर्न मिल्दैन । किनभने यो अवस्थामा हाम्रो होटल व्यवसाय फस्टाउन लामो समय लाग्छ । 
त्यसैले पनि हामीले होटल व्यवसायलाई अन्य व्यवसायभन्दा फरक क्षेत्रमा राख्नुपर्ने माग गरेका हौं । सबै होटल व्यवसायीसँग कर्मचारीको तलब व्यवस्थापन क्षमताको बारेमा बुझ्दा सबैले गाह्रो भए पनि बिहान बेलुकाको छाक टार्ने हिसावमा साढे १२ प्रतिशतसम्म तलब खुवाउन सक्ने गरी दिएका छौं । 

यस आवको पहिलो ६ महिनाको सेवा शुल्क वितरण भएको थिएन । सो रकम र साढे १२ प्रतिशत तलबले जिनतिन घर खर्चको व्यवस्थापन गर्न सकिन्छ भन्ने हाम्रो मूल्यांकन छ । हामीले दिने तलवले कर्मचारीको विहान वेलुकाको छाक टर्छ । अहिले मेरो पनि त कमाइ छैन नि । अहिले शतप्रतिशत तलब चाहियो भनेर ढिपी कसेर पर्यटन र संस्थालाई खत्तम पार्ने कि ? रियल स्टिक फिगरमा बसेर सबैले एउटै किसिमको रकम लिएर अहिले संस्था बचाउने अभियानमा जुट्नु पर्छ । 

म त भन्छु ! सरकारले पनि कर्मचारी र लगानीकर्तालाई भिडाइ दिनुभएन । अहिले त सरकारले कर्मचारी र लगानीकर्ता दुबै पक्ष भएर संस्था बचाउन आत्मबल दिनुपर्छ । अब ६ महिनापछि कर्मचारीहरूलाई दिने तलबको व्यवस्थापन गर्न सकिएन भने हामीलाई सरकारले जवरजस्ती गर्न त मिल्दैन । तर, पनि म के भन्न चाहन्छु भने अहिलेको अवस्थामा मुलुकले पर्यटन बचाउने, लगानीकर्ता र कर्मचारीले आफ्नो संस्था बचाउने हो । हामीले व्यवसाय चलाउँनै नसक्ने गरी बन्द गर्नुपर्ने दिन नआओस् । 

कहिलेसम्म यसरी नै बाच्नुपर्छ कर्मचारीले ? 

६ महिनासम्म साढे १२ प्रतिशत तलन दिने प्रतिवद्धता हामीले गरिसकेका छौं । यसबाट त हामी भाग्न पाउँदैनौ । ६ महिनापछि परिस्थिति के हुन्छ त्यो म अहिले नै भन्न सक्दिन । तर, जुन कुरामा हामीले प्रतिवद्धता गरिसकेका छौ, त्यसको लागि बैंकबाट कर्जा लिएर पनि गर्नै पर्नेहुन्छ । कर्मचारीहरूले पनि अहिलेको अवस्थालाई बुझेर पछि सुनौलो दिनपनि आउने अपेक्षा सहित हातेमालो गरेर अघि बढ्नुपर्छ ।
६ महिनासम्म कर्मचारीहरूलाई साढे १२ प्रतिशत तलब व्यवस्थापन गर्ने प्रतिवद्धता अनुसार कार्यान्वयनमा जाने योजना बनाउनु भएको छ ।

त्यस पछिको योजना के छ त ? 
मुलुकले के अधिकार दिएको छ, श्रमले के अधिकार दिएको त्यहि अधिकार बमोजिम गर्नेछौ । कुनैले आफ्नो क्षमता अनुसार सबै कर्मचारीलाई नियमित गर्न सक्लान् । जस्तै नयाँ होटलहरूको ठिक्क कर्मचारी छ । पुराना होटलमा ओभर स्टाप छन् । लकडाउन खुले पनि व्यवसाय विस्तार नहुने अवस्थामा सबै कर्मचारी बोलाएर के गर्ने ? यो व्यवसाय ताल्चा मारेर हिड्न नमिल्ने व्यवसाय हो । यसको सरसफाई र सुरक्षाका लागि थोरै कर्मचारीहरू त चाहिन्छ । यसलाई रोटेशन आधारमा गर्ने कि कसरी गर्न सकिन्छ हेरेर मिलाउनुपर्छ जस्तो लाग्छ ।

होटल व्यवसायीहरूले अहिलेको समस्यासँग जुध्न कस्तो रणनीतिक योजना अपनाएको छ ?

हाम्रा व्यवसायमा तीन वटा समस्या छ । पहिलो समस्याः नयाँ बनेका होटलहरूको ठूलो कर्जा छ । लगानी धेरै छ । व्यवसायीमा यसको बर्डन छ । त्यस्तै ठूला होटलहरूको कर्मचारी व्यवस्थापनमा समस्या छ भने सानो होटलहरू लिजमा लिएर सञ्चालन भएकाले लिजको भाडा तिर्ने समस्या छ । यस्तो अवस्थामा हामीले सरकारसँग एउटा फन्ड खडा गर्न सहयोग गरिदिन भनेका थियौं । तर, होटलको विषयमा सरकारले बुझेको जस्तो लाग्दैन । हाम्रो समस्या लगानीकर्ता र कर्मचारीले मात्र बुझेका छन् । हामीले हाम्रो समस्याको बारेमा अध्ययन गरेर बैंकको ब्याजदर घटाउनेदेखि लिएर धैरै विषयहरू हाम्रो सम्बन्धित मन्त्रालयदेखि सबै ठाउँमा कुरा पुर्यायौ । 

हाम्रो पहलमा पर्यटन क्षेत्रलाई रिभाइ गराउन सरकारले ५० अर्ब रूपैयाँ बजेट पनि छ्ट्याएको छ । प्रजातान्त्रिक मुलुकमा पारदर्शिता हुनुपर्छ । अहिले हामीलाई समस्या परिरहेको छ । पर्यटन क्षेत्रमा बजेटले छुट्याएको रकम ६ महिनापछि दिएर के काम ? उक्त रकमको मोडालिटी के हो त्यसमा तुरुन्त काम हुनुपर्ने हो । हुन त त्यो पैसा हामीले कर्जामै लिएर प्रयोग गर्ने हो, फाइदा त छैन् । यतिबेला हामीलाई कर्जा माथि कर्जा थपिने समस्या देखिएको छ । 

सरकारले यस वर्ष पर्यटन क्षेत्रका लागि बजेटमा छुट्याएको ५० अर्बको कुरा गर्नुभयो । त्यो रकम कार्यान्वयनका लागि कत्तिको सहज देख्नु भएको छ ? 

अहिले उक्त बजेट कार्यान्वयनका लागि गृहकार्य त भैइरहेकै छ होला । मैले पहिला पनि भने सरकारले बजेटमा छुट्याएको रकम हाम्रो लागि अनुदान हैन, ब्याज तिरेरै चलाउनुपर्ने रकम हो । ब्याजदर भने कम छ । त्यसको लागि पनि के कस्ता मापदण्ड तय हुने हुन् । सरकारले कर्जा लिन धरौटी राख भन्यो भने कहाँबाट राख्ने, विजनेश प्लान लिएर आइज भन्यो भने यो अवस्थामा कसरी देखाउने । त्यस कारण हामीले विशेषज्ञहरूसँग बसेर तयार पारिएको समस्या सहितको कागज बुझाएका छौं ।

तपाईको अनुमानमा अब होटल व्यवसाय कहिलेदेखि सुरु होला जस्तो लाग्छ ? 

अहिलेकै अवस्थामा २०२०/०२१ जान्छ । मेरो अनुमानले अब २०२२ देखि केहि परिवर्तन आउला । स्वदेशी पर्यटकबाट पनि व्यवसाय सुरु हुने अवस्था छ । तर, समस्या के छ भने हाम्रो नेपालमा प्रोडक्ट डेभलपमेण्ट छैन् । तपाई स्वदेशभित्र कहाँ घुम्न जानुहुन्छ भनेर सोध्यो भने पोखरा र चितवन नसोची भनिहाल्नुहुन्छ  । तर, त्यो भन्दा टाढा रारा जान्छु भनेर त्यतिले भन्नुहुन्न । रारा जाँदाखेरी बाटोमा शौचालयदेखि स्वच्छ खाना तथा बसोबासको राम्रो व्यवस्थापन छैन । होटल भएपनि ती होटलहरूले  स्ट्याण्डर्ड नभएका कारण जान नचाहेको हुन् । 

तपाईले घरमा दुध बेच्न मन लाग्यो भने पनि दुधमात्रै बेच्छु भनेको हुँदैन त्यसको लेवल के हो ? त्यसको सेफ्टी के हो ? त्यसको सर्टिफाइ गर्नुपर्छ । त्यो सबै कुरा दिन सक्नुपर्छ । अनि त म तपाईले उत्पान गरेको दुध किन्छु । प्रकृतिले नेपाललाई दुई वटा चिज दिएको छ । एउटा सुन्दरता एउटा खेती योग्य जनिम । यी चिज पाउनु हामी नेपालीको भाग्य हो । तर, दुर्भाग्य चाहिँ के हो भने हामी छ भनेर घमण्ड मात्र गरेर बस्छौ । आफ्नो देशमा फलेको सुन्तला र स्याउलाई हेला गरेर बाहिरबाट आएको स्याउ सुन्तलालाई महत्व दिन थालेपछि आफ्नो देशलाई कसरी टेवा मिल्छ ?  आफ्नो स्वदेशी उत्पादन र टुरिजम दुई कुरालाई राम्रोसँग मिलाएर लगियो भने दुई छिमेकी मुलुकसँगको व्यवसायले पनि हामीलाई धान्न सक्छ । 

नेपालमा सञ्चालित पाँच तारे होटलहरूमध्य कतिपयले आफ्नो स्तर अनुसारको सेवा नदिँदा अरुलाई पनि असर परेको गुनासो आईरहेको छ यस विषयमा के भन्नुहुन्छ ? 

मैले यो व्यवसायका लागि तालिम गर्दा बाथरुम सफा गर्न र भाडा माझ्न समेत हिच्किचाइन । किनभने मेरो पेशानै त्यहि थियो । म हिडिरहेको बेला कुनै ग्राहकले चिया खाएको कप देखियो भने त्यसलाई टिप्न हिच्किचाइन हुँदैन यो पेशा त्यस्तो हो । हामीले सिकेको हामीले पढेकै यहि हो । दुई जना कर्मचारी सँगै काममा भर्ना भए एकजना गफमात्रै गर्ने र अर्को मेहनत गर्ने छ भने अफिसले दुबैलाई बराबर प्रमोशन दिँदा मेहनत गर्नेलाई पनि आफ्नो मेहनतको प्रतिफल भन्ने ज्ञान हुँदैन । नगर्ने त नगर्ने नै भइहाल्यो । हो, यहाँ पनि यस्तै किसिमको प्रवृत्ति छ, यसले गर्दा नै हाम्रो व्यवसाय खस्केको हो ।

हजुर होटल अन्नपूर्ण डेलाको प्रबन्ध निर्देशक हुनुहुन्छ । यस होटलको व्यवस्थापन कसरी गरिरहनुभएको छ ?

म अन्नपूर्णको प्रबन्ध निर्देशक मात्र नभएर होटल संघ नेपाल (हान) को पनि अध्यक्ष हुँ । सरकारले होटल व्यवसायीसँग छलफल गर्ने हो भने एशोसिएशनमार्फत पर्छ । एउटा मन्त्रीलाई २० जना व्यवसायीले भेट्नुभन्दा एशोसिएशनको कमिटिले गएर सबैको आवाज दिँदानै सजिलो होला नि काम गर्न । यसर्थ अन्नपूर्णको व्यवसायको व्यवस्थापन भन्दा एशोसिएशनमा आवद्ध सम्पूर्ण होटल व्यवसायीको व्यवस्थापनले महत्व राख्दछ ।  जुन कुरा मैले माथि नै भनिसकेको छु । 

‘पर्यटन वर्ष २०२०’ का लागि होटल क्षेत्रमा ठूला लगानीहरू भएका छन् । तर, आम्दानी गर्ने अवधिमा कोभिडको महामारीका कारण होटल नै बन्द गरेर बस्नु परेको अवस्था छ । यो अवस्थामा राज्यबाट होटल व्यवसायीले के अपेक्षा गरेका छन् ?

हाम्रो दुई वटा कामका लागि सरकारले सहयोग गर्नुपर्नेछ । एउटा कर्मचारी व्यवस्थापन र अर्को राज्यले ब्याज भुक्तानीमा राहत हुने खालका योजनाहरू ल्याईदिए हुन्थ्यो । जस्तो वर्ष दिनभित्र तिर्नुपर्ने ब्याज तीन वर्ष भित्र तिर्न मिल्ने व्यवस्था गरे राम्रो हुने थियो । अहिले यी दुई विषयमा पहल गर्ने गरी सरकारसँग समन्वय गर्ने कार्यलाई निरन्तरता दिईरहेका छौ । 

पर्यटन वर्ष २०२० लाई लिएर देशभर चार तारेदेखि पाँच तारे होटलहरू निर्माण सम्पन्न हुने क्रममा थिए । अव ती होटलहरू बन्छन् कि अधुरै छोडिन्छन् ?

सबै कुरामा स्लो डाउन चाहिँ हुन्छ । किनभने जुन स्पिडमा हुन पर्ने अब उनीहरूको टार्गेट यो वर्षको थियो भने एक वर्ष अझ टाढा जाला । अहिले त केहि काम गर्न सकिरहेको अवस्था छैन् । यो सबै कामहरू अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक, पर्यटन मन्त्रालय, उद्योग मन्त्रालय र सँगसँगै व्यवसायी बसेर एउटा राम्रो मोडालिटी निकाल्न सकियो भने केहि न केहि विकल्प निस्किने छ ।

प्रतिक्रिया दिनुहोस