
काठमाडौं । सरकारले जेठ १५ गते संसदमा प्रस्तुत गरेको बजेट (विनियोजन विधेयक) लाई आज संसदबाट पारित गर्ने तयारी भएको छ। सांसदहरूले उठाएका प्रश्नको प्रधानमन्त्री केपी ओलीसहित अन्य सबै मन्त्रीले सोमबार जवाफ दिने र त्यसपछि निर्णयार्थ पेस गरिने कार्यसूची संसद् सचिवालयले सार्वजनिक गरेको छ। बजेटसँग आश्रित आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने र ऋण तथा जमानत संशोधन विधेयक भने केही दिनपछि मात्र निर्णय प्रक्रियामा लगिने संसद् सचिवालयले जनाएको छ।
कोरोना भाइरसका कारण बजेट पारित गरेर छिटो अधिवेशन अन्त्य गर्ने तयारीमा सरकार छ। संसद्को बहुमतबाट विनियोजन पारित हुने भएकाले सरकारसँग पर्याप्त संख्या छ। विनियोजित बजेटमाथि कांग्रेस नेता प्रकाशमान सिंह, मीनेन्द्र रिजाल, नारायण खड्का, गगन थापालगायत सांसदले खर्च कटौतीको प्रस्ताव गरेका छन्। कांग्रेस, नेमकिपा, राष्ट्रिय जनमोर्चा, जनता समाजवादी पार्टीका २६ जना सांसदले खर्च कटौतीको प्रस्ताव दर्ता गरेको सचिवालयले जनाएको छ।
प्रतिक्रिया दिनुहोस