aarthiknews.com विहीबार, २५ असार २०७७   Thursday, 09 July, 2020
 
Citizen life
सबोन ‘डे’

‘लकडाउनबीचको कारोबार वैधानिक देखियो, रद्द गर्नु पर्दैन’

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २४ जेठ २०७७
Sunrise
HIb
LBEF

काठमाडौं । जेठ २५ गते नेपाल धितोपत्र बोर्डले आफ्नो स्थापना दिवसको २८ औं वर्ष मनाउँदै छ । औपचारिक रुपमा धितोपत्र बजारको कारोबार भएको २८ वर्ष लाग्दै गरेको बजार भने बामे सर्दै गरेकै अवस्थामा छ । तीन दशकको नजिक पुगेको नेपालको धितोपत्र बजारको नेतृत्व सम्हाल्न आएका भिष्मराज ढुंगानासँग नेपाल राष्ट्र बैंकमा लामो समय काम गरेको कार्यानुभव छ । नेपालको धितोपत्र बजारलाई थर्ड जेनेरेशन (नयाँ युग) मा प्रवेश गराउने उद्देश्यका साथ आएका ढुंगानाले धितोपत्र बजारको विकासमा कस्ता योजना बनाउँदै छन् भन्ने विषयमा आर्थिक न्युजडटकमले गरेको कुराकानीको सम्पादित अंशः

विश्वभरी कोभिड–१९ को त्रासमा पनि धितोपत्र बजार सञ्चालनमा आइरहेको छ । तर, नेपालमा भने बजार चल्न सकेन किन बन्द गरिएको हो ?
बजारलाई प्रविधिमैत्री बनाउँदै थियौं । त्यहि बेलामा लकडाउन शुरु भयो । तयारी गर्दा गर्दै पनि प्रविधिक रुपले बजार सञ्चालन गर्न सक्ने अवस्था रहेन । कोरोना भाइरसका कारणले भएको लकडाउनमा कारोबार नभएपनि अब लकडाउनपछि राम्रोसँग कारोबार गर्ने तयारीमा हामी लागि रहेका छौं । यो विषम परिस्थितिमा बजार बन्द गर्नु पर्ने कारण चाहिँ नेपालको पुँजीबजार पूर्ण रुपले अनलाइन कारोबार व्यवस्थापन हुन नसक्नु हो । अनलाइन कारोबारलाई वित्तीय संस्थाहरूसँग इन्ट्रिगेसन गराउँदै थियौं । काम नसकिदै लकडाउन शुरु भयो, अनलाइन इन्ट्रिगेसनको काम पुरा भएन । 

पूर्णरुपमा अनलाइन कारोबार शुरु हुन केहि समय त पक्कै लाग्छ होला । अब वित्तीय कारोबार पनि अनलाइन गर्नेहरूसँग इन्ट्रिगेसन गराउँछौं । साथै लगानीकर्ताहरूले पनि सावधानीपूर्वक काम गर्ने वातावरण आफैले बनाउनु पर्छ । अब लगानीकर्ताहरूले प्रविधिमैत्री नभइकन बजारमा प्रवेश गर्ने सोच्न राख्नु हुँदैन । नेपालमा भएका प्रविधिलाई आत्मसाथ गर्दै कारोबार गर्नुपर्ने हुन्छ । 

लकडाउनपछि बजार के हुन्छ ?

लकडाउनपछि बजार बढ्न पनि सक्छ घट्न पनि सक्छ । तर, हामीले लगानीकर्ताहरू बजारमा जानसक्ने अवस्था भने तयार पार्न खोजिरहेका छौं । जेठ मसान्तसम्म लकडाउन भएकाले त्यसपछि मानिसको मुभमेन्ट हुन सक्यो भने बजार खोल्ने अवस्थामा छौं । लगानीकर्ताहरू धेरैले स्टक डिलर ल्याइदिन पर्यो भनेर माग गरिरहनु भएको छ । कसैले लकडाउनको बीचमा दुई दिन भएको कारोबार बन्द गरिदिनपर्यो भन्नु भएको छ । कतिले मार्जिन ट्रेडिङको समय सीमा बढाइदिनु पर्यो भन्नु भएको छ । 

कसैले असार मसान्तसम्मलाई नवीकरण गर्ने समयलाई निरन्तरता गरिदिनपर्यो भन्ने भएको छ । लगानीकर्ताहरूले राख्नु भएको कुरालाई हामीले तत निकायमा राखिदिइएका छौं । राष्ट्र बैंकले मौद्रिक नीति बनाउँदै छ । त्यसबाट सम्बोधन हुने विषय राष्ट्र बैंकसँग राखेका छौं । दुई दिनको कारोबारका सम्बन्धमा स्टक एक्स्चेञ्जलाई हामीले त्यो कारोबार कसरी भएको थियो भनेर प्रतिवेदन बनाउन भनेका थियौं त्यो प्रतिवेदन बोर्डमा पेश भइसकेको छ । उक्त दुई दिनमा भएको कारोबार अवैधानिक तरिकाले नभएको प्रतिवेदनमा उल्लेख गरिएको छ । उक्त प्रतिवेदनका आधारमा दुई दिनको कारोबार रद्द गर्न पर्ने देखिदैन । 

२८ औं वार्षिकोत्सव कसरी मनाउँदै हुनुहुन्छ ?

अहिले हामीमात्रै नभएर विश्व नै अति असामान्य र जटिल अवस्थामा छ । हामी पनि त्यस्तै छौं । बोर्डको वार्षिकोत्सव भव्यताका साथ मनाउने पक्षमा हामी यस वर्ष छैनौं । सरकारी एक पत्रिकामा वार्षिकोत्सव विशेशांक प्रकाशन र वेववेस केहि शुभकामना प्रकाशन गरेर मनाउँछौं । 

बोर्डमा यहाँको नियुक्त भएको करिब ५ महिना पुग्न लागेको छ यो अवधिमा के के काम भए ?

म राष्ट्र बैंकमा बसेर आएको मान्छे, त्यो पनि नियामक निकाय र यो पनि नियामक निकाय । नियामक नियकायले गर्ने काम उस्तै भएपनि प्रकृति अलि फरक छन् । यहाँ आएको दिन देखि पुँजी बजारको स्थायित्व र वृद्धि विकासको लागि के के कामहरू गर्न सकिन्छ भनेर अध्ययन अनुसन्धानमा लागिरहेको छु । 

२ सयभन्दा बढी सूचीकृत संस्था र अन्य करिब ४ सय जति संस्थाहरूको नियमन गर्ने काम बोर्ड अन्तर्गत पर्छ । लकडाउन नभएको भए वस्तु विनिमय बजारको सञ्चालनका लागि पूर्वाधार तयार पार्ने लगायतका विषयमा हामी धेरै अघि बढिसकेका हुन्थ्यौं । लकडाउन हुनपूर्व वस्तु विनिमय बजारलाई कसरी सञ्चालन गर्ने भनेर सञ्चालक समितिमा छलफल हुन थालिसकेको थियो । त्यस्तै विशिष्टिकृत लगानीकोषहरू स्थापना गर्ने सम्बन्धमा पनि काम अगाडि बढाएका थियौं, त्यो पनि रोकिएको छ । 

त्यस्तै अनलाइन रिपोर्टिङको काम पनि शुरु गरिसकेका थियौं त्यो पनि बीचमा रोकिएको छ । कम्पनी र तिनीहरूको कारोबार सञ्चालन सम्बन्धी कार्यविधिहरू र अन्य म्यानुअल कामहरू गरिरहेका छौं । अहिले एक तिहाइ कर्मचारी मात्रै काम गर्न बोलाइएकोले काम पनि त्यति हुन सकिरहेका छैनन । नियमित कामहरू सञ्चालन भएपनि प्रविधिक रुपमा गर्नै पर्ने कामहरू भने गर्न गाह्रो भइरहेको  छ । विश्व बजारलाई हेर्ने हो भने नेपालको शेयर बजारमा नयाँ लगानीकर्ता र नयाँ औजारहरू पनि आवश्यक देखिन्छ । 

नेपालीलाई पुँजी बजारमा लगानी खुलाउन र विष्टिकृत लगानी कोष लगायतका विषयमा काम गर्ने भनिएको थियो त्यो काम कहाँ पुग्यो ?

गैरआवसीय नेपालीलाई नेपालको शेयर बजारमा लगानी गर्न दिनका लागि उनीहरूलाई दुईभागमा बाढेर हेर्नुपर्ने हुन्छ । गैरआवसीय नेपाली जोसँग नेपाली नागरिकता र पासपोर्ट छ उनीहरूलाई अहिले पनि लगानी गर्न कुनै अप्ठ्यारो छैन । नेपाली नागरिकता त्यागेकाहरूलाई भने विदेशी सरह व्यवहार गर्नुपर्छ । विदेशी सरह व्यवहार गर्दा विदेशी विनियम कानुनहरू लागू हुन्छन् । 

यसमा अब नेपालका विदेशी विनियम ऐनमा हाम्रो पुँजीगत खाता अपरिवर्तीय भएका कारण विदेशी लगानीकर्तालाई नेपाली पुँजी बजारमा कारोबार गर्न स्वीकृति दिएको छैन । विदेशी विनियमको कारोबार सम्बन्धी कानुनहरू संशोधनपछि मात्र विदेशीलाई नेपालको पुँजीबजारमा लगानीको बाटो खुल्छ । 

त्यस्तै गरि विष्टिकृत लगानीका कोषहरू भेञ्चार क्यापिटल, इक्विटी फण्ड, हेज फण्डलगायतका विषयमा लकडाउनका बीचमा पनि कार्यविधि बनाउने काम भइरहेका छ । अब सञ्चालक समितिमा राखेर त्यस विषयमा छलफल गरी यसलाई हामी पास गराउँछौं । लकडानकै क्रममा हामीले बुक बिल्डिङको नियम र गाइलाइन्सहरूको मस्यौदा बनाइसकेका छौं । लकडाउन कै बीच नेप्सेलाई परिचालन गरेर सीडीएसबाट इडीआईएस सेवाका माध्यमबाट लगानीकर्ताहरूले घरबाटै भर्ने व्यवस्था गराएका छौं । 

वाणिज्य बैंकहरूलाई ब्रोकर लाइसेन्स दिने विषय अघि बढिरहेको छ वा स्थगित भयो ?

बैंकहरूका सहायक कम्पनीले ब्रोकर कम्पनी चलाउन पाउने भनेर नियामवलीमा समावेश भइसकेको छ । तर, यो प्रक्रियाकै क्रममा रहेको छ । वाणिज्य बैंकलाई ब्रोकर लाइसेन्स दिने कि नदिने भनेर विवाद आइसकेपछि नेपाल सरकारको संसदीय समितिले अध्ययन नै गरिरहेको छ । त्यो अध्ययनको रिपोर्ट बोर्डमा आइसकेको छैन । 

दुई वटा स्टक एक्स्चेञ्ज चाहियो भनेर बजारले मागिरहेको छ यसका विषयमा तपाईले कसरी सोचिरहेका छन् ?

यो बजारले मागेको विषय हो । मैले पनि बजारमा अर्को स्टक एक्स्चेञ्ज चाहिन्छ भनेको सुनेको छु । तर, यो नीतिगत व्यवस्था विषय हो । यो कुनै लगानीकर्ता, एक्स्चेञ्ज, बोर्ड वा मन्त्रालयले मात्र भनेर हुने होइन । यसमा सबैको अध्ययन अनुसन्धानबाट अर्को स्टक चाहिने आवश्यकता देखियो भने मात्र ल्याउने विषय हो । 

एउटा स्टक एक्स्चेञ्ज छ यसले अब काम गर्न सकेन वा बजारलाई अर्को स्टक पनि चाहिने भन्ने निक्र्यौल गर्ने आधार र तथ्यहरू हुन पर्यो । अहिले भइरहेको स्टक एक्स्चेञ्ज यी यी कारणले भएन वा पुगेन भनेर सबै सम्बन्धित नियकाहरू सहमत भए भने अर्को स्टक एक्स्चेञ्ज नआउने होइन । तर, बोर्डको तर्फबाट अर्को स्टक एक्स्चेञ्ज ल्याउने भनेर लागेका छैनौ । 

स्टक डिलरको काम गर्ने भनेर कम्पनी खोलेर तयारी अवस्थामा बसेका छन् अब यी कम्पनीले बजारमा स्टक डिलरको काम गर्न पाउने कहिले होला ?
नागरिक लगानी कोषको नेतृत्वमा केहि कम्पनीहरू अब लाइसेन्स लिने गरी तयारी अवस्थामा रहेका छन् । उहाँहरू कम्पनी रजिष्टार कार्यालयमा कम्पनी दर्ता गरेर कार्यविधिहरू बनाएर कार्यालय स्थापना तर्फ लाग्नु भएको छ । उहाँहरूसँग मेरो कुराकानी भइरहको छ । मैले उहाँहरूलाई चाँडो गर्नुहोस बजारमा प्रवेश गर्ने यो उपयुक्त समय हो भनेको पनि छु । उहाँहरूको तयारी र काम गराइले चाडो आउनु हुन्छ भन्ने मलाई पनि लागेको छ । उहाँहरू आउनु भएपछि हामीलाई लाइसेन्स दिन गाह्रो छैन र समय पनि लाग्दैन । 

यहाँको कार्यकालमा के के गर्ने कार्यतालिका बनाउनु भएको छ ?

यो धितोपत्र बजारमा गर्नै पर्ने काम धेरै छन् । मलाई त यी काम मेरो कार्यकालमा गर्न भ्याउछु कि भ्याउदिन भन्ने लागिरहेको छ । पुँजी बजार जसरी सञ्चालन हुन पर्ने हो त्यसरी सञ्चालन भइरहेको छैन । नेपालको शेयर बजारमा साना÷साना कारणले पनि बजारमा असर परिरहेको छ । बजार स्थायित्वका लागि पहिलो काम गर्न हामी लागिरहेका छौं ।

अर्को बजारमा विभिन्न थरीका मानिसहरूले कारोबार गर्छन । धितोपत्र बजार पनि लगानीको माध्यम हो र यसलाई पनि व्यवसायका रुपमा लान सकिन्छ भन्ने अवधारण विकास गराउन जरुरी छ । धितोपत्र बजारमा कारोबार गराउनका लागि विभिन्न औजारहरूको अभाव छ । सरकारी ऋणपत्रको कारोबारलाई व्यवस्थित गर्ने लगायतका काम गर्न बाँकी नै छ । धितोपत्र बजारमा अब ऋणपत्र, वस्तु विनिमय लगायतका औजारहरू थपेर बजारलाई लगानीको आकर्षण केन्द्रका रुपमा विकास गर्दैछौं । धितोपत्र बोर्ड स्थापना हुँदा धितोपत्र ऐन बनाउनु पर्ने थियो, तर बनेको रहेन छ । 

त्यो नै बनाउन बाँकी छ । धितोपत्र कारोबार ऐनले यसलाई बोर्डलाई गभर्न गरिरहेको रहेछ । धितोपत्र बोर्ड ऐन बनाएपछि बोर्डलाई जिम्मेवार र उत्तरदायी संस्था बनाउँछ । अर्को चाहिँ धितोपत्र कारोबार सम्बन्धि ऐन ल्याउन पर्छ । २७/२८ वर्ष भइसक्यो अहिलेसम्म धितोपत्र बोर्डको अफिस नै छैन । भाडामा लिएर शरणार्थीका रुपमा काम गरिहेको अवस्था रहेछ । अब बोर्डको आफ्नै भवन हुन पर्यो । त्यहाँ आफूलाई आवश्यक पर्ने सेवा सुविधाहरू विकास गरिनु पर्यो । 

प्रतिक्रिया दिनुहोस