aarthiknews.com शुक्रबार, १९ असार २०७७   Friday, 03 July, 2020
 
Citizen life

यसकारण कुनै प्रदर्शन हिंसामा परिणत हुन्छन्

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २१ जेठ २०७७
Sunrise
HIb
यसकारण कुनै प्रदर्शन हिंसामा परिणत हुन्छन्
LBEF

एकजना अश्वेत निहत्था पुरुष जोर्ज फ्लोइडको प्रहरी हिरासतका क्रममा भएको मृत्युलाई लिएर अमेरिकाभरि भएका प्रदर्शन र अशान्तिका कारण थुप्रै सहरहरूमा कर्फ्यू लगाइएको छ।

थुप्रै प्रदर्शनहरू शान्तिपूर्ण सुरु भएका थिए र थुप्रै शान्तिपूर्ण नै रहे। तर थुप्रै प्रदर्शनहरूमा भने प्रदर्शनकारीहरूको प्रहरीसँग झडप भयो, गाडी जलाइए, पसलहरू लुटिए र तोडफोड गरियो।

अमेरिकाको न्याश्नल गार्डका ५,००० सदस्यहरूलाई वासिङ्टन डीसी र अन्य १५ राज्यहरूमा परिचालन गरियो। विज्ञहरूले अहिलेको यो घटना र सन् २०११ मा इङ्ग्यान्ड भएको शान्तिपूर्ण प्रदर्शनमा समानता रहेको बताएका छन्।

त्यतिबेला पनि प्रहरीले एकजना पुरुषलाई गोली हानी हत्या गरेको घटनालाई लिएर शान्तिपूर्ण प्रदर्शन सुरु भएको थियो तर पछि त्यो हिंसात्मक प्रदर्शनमा परिणत भयो। चार दिनसम्म चलेको उक्त प्रदर्शनका क्रममा भवनहरू जलाइएका थिए र बृहत् लुटपाट मच्चिएको थियो।

प्रदर्शनहरू कसरी छिट्टै फैलिन्छन् र केही प्रदर्शन किन हिंसात्मक बन्छन् ? 

प्रदर्शन फैलिने कारणः पहिचान

"फ्लोइडको मृत्यु जस्ता घटनाले मानिसलाई झल्याँस्स बनाउन सक्छ किनभने अश्वेत समुदायका ठूलो सङ्ख्याका मानिसहरूले प्रहरीसँग गरेका अनुभव कस्तो हुन्छ भन्ने कुराको यो एउटा प्रतीक हो," भिडको व्यवहार र सार्वजनिक निर्देशनसम्बन्धी विज्ञ किल विश्वविद्यालयका प्राध्यापक क्लिफोर्ड स्टटले भने।

संरचनात्मक रूपमा असमानता भएपछि मुठभेड हुने सम्भावना रहने उनले बताए। सन् २०११ मा इङ्ग्ल्यान्डमा भएको दङ्गाको विस्तृत अध्ययन गरेका प्राध्यापक स्टोटले त्यतिबेला दङ्गा फैलिनुका दुईवटा कारण पत्ता लगाएका थिए।

विभिन्न सहरमा रहेका प्रदर्शनकारीहरूले जातका कारण एकअर्कासँग आफूलाई पहिचान गर्न सकेका थिए वा उनीहरूलाई पनि प्रहरीको व्यवहार मनपर्दैन थियो। यसको अर्थ जब प्रहरीले ज्यादती गरेको देखियो, विभिन्न शहरमा प्रदर्शन गरिरहेकाहरूले आफू सशक्त भएको अनुभव गरे।

प्रहरीको प्रतिक्रियाको अर्थ
स्थानीय समुदायसँग प्रहरीको सम्बन्ध राम्रो रहँदा हिंसात्मक प्रदर्शनहरू हुने सम्भावना कम रहन्छ। तर प्रदर्शनकै दिन उनीहरू प्रदर्शनकारीसामु कसरी प्रस्तुत हुन्छन् भन्ने विषयले पनि अर्थ राख्ने विज्ञहरू बताउँछन्।

प्रहरीले भिडमा कस्तो प्रतिक्रिया जनाउँछ भन्ने कुरालाई लिएर नै दङ्गाहरू हुने प्राध्यापक स्टोटले बताए। उदाहरणका दिँदै उनले भने, "प्रदर्शनकारीहरूको ठूलो भिडमा पनि तनाव सुरु त केही थोरै मानिसहरूले प्रहरीसँग मुठभेड गरेर नै हुने हो।"

यद्यपि, "प्रहरीले पनि भिडलाई सोलोडोलो हेरेर प्रतिक्रिया जनाउँछ" र त्यसरी आफूविरुद्ध बल प्रयोग गरेको कुरालाई मानिसले अन्यायपूर्ण ठान्छन्, यसले नै "हामीविरुद्ध तिनीहरू" को मानसिकताको विकास गराउँछ। यसले गर्दा "हिंसा र मुठभेडबारे मानिसहरूले फरक महसुस गर्न सक्छन्। उदाहरणका लागि, त्यस्तो परिस्थितिमा उनीहरूलाई हिंसा जायज हो भन्ने लाग्न थाल्छ।"

युनिभर्सिटी अफ क्यालिफोर्निया लस एन्जलस डार्नेल हन्ट सप्ताहन्तमा प्रहरीले "आक्रामण तीव्र रूपमा बढाएको" ठान्छन्। "न्याश्नल गार्डलाई परिचालन गर्नु, रबरको गोली प्रयोग गर्नु, अश्रुग्यास र पिपर स्प्रे प्रहार गर्नु जस्ता प्रहरीको भिड नियन्त्रण गर्ने उपायले पहिल्यै तनावपूर्ण बनेको स्थितिलाई थप खराब बनाउन सक्छ।"

विश्वका अन्य भागमा भएका प्रदर्शनहरूमा पनि यही शैली देखिन्छ। उदाहरणका लागि सन् २०१९ मा हङ्‌कङमा सात महिनासम्म सरकारविरोधी प्रदर्शनहरू भए जुन शान्तिपूर्ण रूपमा सुरु भएका थिए तर हिंसात्मक बनेर अन्त्य भए। तनाव बढ्न नदिने बारे प्रहरी फौजलाई दिइने तालिमले प्रदर्शनका क्रममा हिंसा सकेसम्म नहुन दिनुपर्ने कुरा समेट्ने प्राध्यापक स्टोट तर्क गर्छन्।

प्रदर्शनको विषय

राइस विश्वविद्यालयमा सङ्गठनात्मक व्यवहारका सहप्राध्यापक रहेका मर्लुन मुजिम्यान भन्छन्प्र दर्शनहरू हिंसात्मक हुने कुरालाई व्याख्या गर्न नैतिक मनोविज्ञानले मद्दत गर्छ। मानिसले आफूलाई कसरी हेर्छ भन्ने कुरा नै उसको नैतिकताको बुझाइ हो, त्यसैले "जब हामी केही कुरालाई अनैतिक भनेर हेर्छौं, त्यसले बलियो भावना उत्पन्न गराउँछ, किनभने हामीलाई हामीले बुझेको नैतिकताको रक्षा हुनुपर्छ भन्ने लाग्छ।"

"यसले शान्ति कायम गर्नुपर्छ भन्ने बारेका मानिसका अरू चासोहरूलाई पनि पाखा लगाइदिन्छ", किनभने "यदि तपाईँलाई स्थिति बिग्रियो भन्ने लाग्यो भने त्यो स्वीकार्य छैन भन्ने देखाउनका लागि तपाईँ साँच्चै नाटकीय केही गर्न चाहनुहुन्छ।" अनुसन्धानहरूले सामाजिक सञ्जालले पनि मानिसहरूलाई हिंसाप्रति असंवेदनशील हुन मद्दत गर्नसक्ने देखाएका छन्।

लुटपाट र तोडफोड

अमेरिकामा सयौँ व्यापार व्यवसायमा क्षति पुर्याइएको छ एवम् सप्ताहन्तमा लस एन्जलस र मिनियापलिसमा व्यापक लुटपाट भएका छन्। दङ्गा र भिड "तर्कहीन र अराजक भन्ने सोच्न सहज लागे पनि त्यो सत्य होइन किनभने त्यसमा भाग लिने मानिसहरूलाई त्यो एकदमै अर्थपूर्ण लाग्छ" प्राध्यापक स्टोटले भने।

"केही हदसम्म लुटपाट भनेको शक्तिको अभिव्यक्ति हो। प्रहरीसँगको सम्बन्धमा अश्वेत नागरिकहरूले आफूलाई सशक्त हुन नसकेको ठानेका हुन सक्छन् तर दङ्गाको सन्दर्भमा भने उनीहरू क्षणभरका लागि प्रहरीभन्दा बढी शक्तिशाली भएका हुन्छन्।"

प्राध्यापक स्टोट र प्राध्यापक हन्ट प्रदर्शनका क्रममा लुटपाट किन हुन्छ भन्ने विषय निकै जटिल रहेको बताउँछन्। खासगरी त्यसमा भाग लिने मानिसहरूलाई फरक-फरक कुराले प्रेरित गर्ने भएकाले त्यो जटिल रहेको उनीहरू बताउँछन्। केही मानिसहरू गरिबीले लुटपाट गर्छन् भने केही सङ्गठित अपराधमा संलग्न हुन्छन्।

उदाहरणका लागि हङ्‌कङमा भएका प्रदर्शनका क्रममा पसलका झ्यालहरूमा तोडफोड गरिएको थियो, प्रहरीलाई पेट्रोल बमहरू हानिएको थियो, राष्ट्रिय चिन्ह विरुप पारिएको थियो तर त्यहाँ लुटपाट भएको थिएन। हङकङस्थित एजुकेशन युनिभर्सिटीमा सार्वजनिक निर्देशन व्यवस्थापनका विज्ञ रहेका लरेन्स होले ती प्रदर्शनहरू सामाजिक अन्याय र भेदभावका कारण भन्दा पनि राजनीतिक घटनाक्रम र प्रहरीको दमनलाई लिएर भएका कारण लुटपाट नभएको बताए।

हिंसा कसरी रोक्ने

विज्ञहरू भन्छन्, प्रहरीका लागि वैधानिक देखिन र प्रदर्शनकारीहरूलाई वार्तामा सहभागी गराउन उनीहरूको महत्त्व हुन्छ भन्ने देखाउन आवश्यक छ। "प्रहरीको राम्रो भूमिका निभाउनेले 'हामी' र 'तिनी'हरू भन्ने मानसिकता त्याग्न प्रयास गर्नुपर्छ, र प्रहरीले मानिसहरूलाई गैरकानुनी लाग्ने कुरा पनि गर्न पाउछौँ भन्ने भावना त्याग्ने कोसिस गर्नुपर्छ," प्राध्यापक स्टोटले भने।

डा. हो वार्ता नै सबैभन्दा राम्रो माध्यम भएको ठान्छन्। तर आजकाल हुने धेरै प्रदर्शनहरूमा कुनै नेता नहुनु सबैभन्दा कठिन कुरा भएको उनको बुझाइ छ। "कुनै प्रदर्शनको नेतृत्व कसैले गरिरहेको छैन भने उनीहरूसँग तपाईँले वार्ता गर्न सक्नुहुन्न।"

अझै सामान्य रूपमा भन्ने हो भने राजनीतिज्ञहरूले नै स्थितिलाई राम्रो वा खराब बनाउन सक्ने उनी बताउँछन्। दङ्गा गहिरो रूपमा जरा गाडेको र जटिल विषय भएका कारण यसको सहज समाधान छैन। प्राध्यापक हन्ट भन्छन्, यो साता अमेरिकामा भएका दङ्गाहरू सन् १९६८ मा मार्टिन लुथर किङ्गको हत्या भए यताकै सबैभन्दा गम्भीर खालका हुन्।

"समाजमा रहेका असमानता र त्यसले उब्जाएका चासोहरूबारे विचार नगरी तपाईँ प्रहरीको बर्बरता र केही समुदायलाई गरिएको चित्रणबारे सोच्न सक्नुहुन्न," उनले भने। "जोर्ज फ्लोइडको घटना कारण होइन, प्रहरीले गरेका हत्याहरू पनि लक्षण हुन् भन्ने तर्क तपाईँ गर्न सक्नुहुन्छ।" "तर खास कारण चाहिँ श्वेतहरूको वर्चश्व, जातिवाद र अमेरिकाले आधारभूत रूपमा सम्बोधन नगरेका कुराहरू हुन्।" बीबीसी 

प्रतिक्रिया दिनुहोस