aarthiknews.com मंगलबार, २३ असार २०७७   Tuesday, 07 July, 2020
 
Citizen life

यी देशका लागि प्रमुख काउन्सेलर र सहचारी सिफारिस

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २१ जेठ २०७७
Sunrise
HIb
यी देशका लागि प्रमुख काउन्सेलर र सहचारी सिफारिस
LBEF

काठमाडौं । सरकारले ठूलो सङ्ख्यामा नेपाली कार्यरत खाडीका मुलुक, मलेशिया तथा दक्षिण कोरियाका लागि काउन्सेलर (श्रम) र श्रम सहचारी सिफारिस गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले दक्षिण कोरियाको काउन्सेलरमा रमा भट्टराई (निरौला), कतारका लागि कृष्णप्रसाद खनाल र मलेशियाका लागि दीपक ढकाललाई काउन्सेलरमा सिफारिस गरेको हो । भट्टराई सामाजिक सुरक्षा कोष, खनाल वैदेशिक रोजगार विभाग र ढकाल मन्त्रालयमा उपसचिवका रूपमा कार्यरत थिए ।

यस्तै संयुक्त अरब इमिरेट्स (युएइ) श्रम सहचारीमा प्रमिला केसी, ओमानका लागि दिनेश ढकाल, मलेशियाका लागि प्रकाश पन्थी, कुवेतका लागि विपना ज्ञवाली र साउदी अरेबियाका लागि प्रेमप्रसाद उपाध्याय छनोट भएको मन्त्रालयका उपसचिव देवेन्द्र कार्कीले जानकारी दिए । श्रम सहचारीमा सिफारिस भएका सबै मन्त्रालय र मातहतका निकायका शाखा अधिकृत पदमा कार्यरत थिए ।

सिफारिस गरिएका काउन्सेलर र सहचारी परराष्ट्र मन्त्रालय हुँदै सम्बन्धित मुलुकमा रहेको नेपाली नियोगमा जानेछन् । उनीहरुले नेपाली श्रमिकका समस्या समाधानका लागि नेपाल सरकारको प्रतिनिधित्व गर्दै सम्बन्धित मुलुकसँग संवाद गर्नेछन् । काउन्सेलर र सहचारीको दरबन्दी श्रम मन्त्रालयमै हुनेछ भने काम कारवाही परराष्ट्र मन्त्रालयमार्फत गर्नुपर्नेछ । उनीहरुले प्रत्येक महिना श्रम मन्त्रालयमा मासिक प्रगति विवरण पठाउनु पर्नेछ । झण्डै दुई वर्षअघि काउन्सेलर र सहचारी छनोटको प्रक्रिया शुरु भए पनि सिफारिस हुनसकेको थिएन ।
 
काउन्सेलर र सहचारी छनोटलाई पारदर्शी र व्यवस्थित बनाउन मन्त्रालयले नयाँ मापदण्ड बनाउने तयारी थालेपछि तत्कालीन अवस्थामा सिफारिस हुनसकेको थिएन । श्रम मन्त्रालयले श्रम काउन्सेलर र सहचारी छनोटका लागि २०७४ माघ २५ मा सूचना प्रकाशित गरेको थियो । पुरानो प्रक्रियालाई निरन्तरता दिन मन्त्रालयले गत मङ्सिर २६ गते अन्तर्वार्ताका लागि पुनः सूचना प्रकाशित गरेको थियो । लामो समयसम्म श्रम काउन्सेलर र सहचारी नियुक्त हुन नसक्दा अप्ठ्यारोमा परेका नेपाली कामदारको उद्धार तथा सहजीकरणमा गर्न समस्या हुँदै आएको थियो ।

काउन्सेलर (श्रम) तथा श्रम सहचारी छनोट तथा नियुक्तिसम्बन्धी कार्यविधि तथा मापदण्ड–२०७३ मा भएको व्यवस्थाबमोजिम काउन्सेलर र सहचारी छनोट गरिएको मन्त्रालयले जनाएको छ । मापदण्डअनुसार श्रम मन्त्रालय, वैदेशिक रोजगार विभाग, श्रम विभाग, वैदेशिक रोजगार बोर्ड, सामाजिक सुरक्षा कोष तथा व्यावसायिक तथा सीप विकास तालिम केन्द्र र मातहतका कार्यालयका कर्मचारी मात्र काउन्सेलर र सहचारी छनोट प्रक्रियामा सहभागी हुन पाउनेछन् ।


 

प्रतिक्रिया दिनुहोस