aarthiknews.com मंगलबार, ३० असार २०७७   Tuesday, 14 July, 2020
 
Citizen life

सरकार, रोगले मात्रै मान्छे मर्छन् ? भोकको जोखिम कसले हेर्ने ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १७ जेठ २०७७
Sunrise
HIb
सरकार, रोगले मात्रै मान्छे मर्छन् ? भोकको जोखिम कसले हेर्ने ?
LBEF

कोरोना संक्रमणको फैलावट दिनानुदिन बढ्दो छ । परीक्षणको दायरा बढ्ने बित्तिकै संक्रमितको संख्या ह्वातै बढ्ने निश्चित छ । यसर्थ सक्रिमतको संख्या बढीरहँदा कतै मेरो नेपाल पनि इटली, स्पेन, अमेरिकाकै हालतमा पुग्ने त हैन भन्ने डर पैदा हुन थालेको छ ।

त्यो भन्दा ठुलो चिन्ता त यो छ कि कतै यसबीच रोगले भन्दा भोकले मर्नेको संख्या ठुलो हुने त होइन ? किनकी नेपाल सरकारले कोरोना संक्रमण फैलिन नदिन भन्दै देश बन्दाबन्दी गरेको दुई महिना भन्दा अधिक भैसकेको छ ।

यसबीच नेपाली जनताको नाममा प्रधानमन्त्री केपी ओलीको तीन पटक सम्बोधन गरेका छन् । प्रत्येक पटक विभिन्न आश्वासन र सपना बाड्ने बाहेक अरु केही उपलब्धि त्यहाँ उल्लेख छैन । दैनिक ज्याला मजदुरी गरेर विहान बेलुकाको छाक टार्नेहरु यो समय के खाएर बाँचेका होलान् को चिन्ता उनमा देखिएन । त्यसैले कोरोनाको प्रभावले हात मुख जोर्न समस्या भएकको समस्या सम्बोधन गर्ने खालका कुनै पनि कार्यक्रम हाल सम्म आउन सकेका छैनन् । अहिलेको बन्दाबन्दीको प्रत्यक्ष असर दैनिक ज्यालादारी तथा मजदुरी गरेर जीविकोपार्जन गर्नेमा अधिक मात्रामा परिरहेको छ ।

लामो बन्दाबन्दीले व्यवसाय तथा उद्योग कलकारखाना ठप्प छन् । धेरैजसोले कर्मचारी कटौती गरेका छन् । कर्मचारी कटौती नगर्नेले पनि कर्मचारीलाई पुर्ण रुपमा तलब तथा सेवा सुविधा भुक्तानी गर्न सकेका छैनन् । नागरिकको दैनिक गुजारा कष्टप्रद भैरहेको छ । मनोविदले भनिरहेका छन्, यस्तो बेला मानिसमा नैराश्यताको विकास हुने, सरकारप्रति वितृष्णा जागृत भई नकरात्मक भावनाको उत्पन्न हुने र नकारात्मक कार्य गर्न उत्प्रेरित हुने जोखिम उच्च हुन्छ ।

अब गाउँ घरमा खेती लगाउने समय शुरु भएको छ । पहुँच हुनेहरु त आ-आफ्ना ठाउँमा पुगे तर चिनजान र सामर्थ्य नहुनेहरु जहाँको तहीँ छन् । खेतीपातीको समयमा समेत आफ्नो कार्य गर्न नसक्दा उब्जनीमा कमी आउने र आगामी दिनमा खाद्य संकट भै भोकमारीको समस्या बढ्न सक्ने देखिन्छ ।

कोरोनाको प्रभाव विशेष गरी बाल बच्चामा एकदमै धेरै परेको छ । परिवारका सदस्यहरु काम विहीन हुँदा दैनिक जीवनयापनमै समस्या भैरहेको अवस्थामा बच्चाहरुले पोषणयुक्त खाना खान पाइरहेका छैनन् । यसले गर्दा बच्चामा कुपोषणको समस्या देखिन सक्छ । बच्चाको शारिरिक तथा मानसिक विकासमा समस्या देखिन सक्छ । यसतर्फ समय मै ध्यान नदिने हो भने कुपोषणले समेत ज्यान जाने स्थिती बन्दैछ ।

प्रधानमन्त्रीले केही समय अघि देशबासीको नाममा सम्बोधन गर्दै असक्तलाई राहात दिने र काम गर्न सक्ने उमेरकालाई रोजगार दिने घोषणा गरेका छन् । रोजगारी दिने भन्ने कुरा आजको भोलि कार्यान्वयनमा आउने कुरा होइन । तर मानिसको दैनिक जीवनयापन अहिले नै कष्टपद भैसकेको छ ।

यो बन्दाबन्दी कहिलेसम्म लम्बिने हो कुनै टुगों छैन । घरमा छाक टार्ने समस्या भएर विहान बेलुका के खाउँ भन्ने अवस्थामा रहेका नागरिकलाई सरकारले रोजगारी दिने र त्यसबाट सिर्जित आम्दानीले छाक टार्ने भन्ने कुरा लंकाको सुन सम्झेर कान छाम्नु जस्तै हो । यो कती व्यवहारिक कुरा हो त्यो सम्बन्धित निकायले बुझ्न जरुरी छ । अहिलेको समस्या समाधन गर्न रोजगारी दिने सपना देखाइनु कतै नागरिकलाई सरकारले अल्मल्याउने र झुलाउने कुरा मात्रै त होइन ? संशयको प्रशस्तै ठाउँ छ ।राहातको आशामा बसेकालाई कुनै राहात वा सहयोग नै नदिन वहानाबाजी गरेको त हैन भन्ने आभाष हुन थालेको छ ।

समाजमा यस्तै स्थिति अझ केही समय रहिरहने हो भने कोरोना संक्रमणबाट पिडित तथा मृत्यु हुनेको संख्या भन्दा भोकले मृत्यु हुनेको संख्या बढी हुन सक्छ । कोरोना कै कारण रोजगारी गुमाएका नागरिकहरुमा सरकारले सहयोग तथा राहत नदिदाँ नैराश्यता वृद्धि भई आत्महत्याको शृखंला वृद्धि हुने सम्भावना समेत उत्तिकै रहन्छ । मानिसहरु विभिन्न मानसिक रोगको सिकार हुने र डिप्रेसनमा समेत पर्न सक्ने समस्या समेत हुन्छ ।

नेपालको संविधानले नै प्रत्येक नागरिकको गाँस, बास र कपासको सुनिश्चितता गरेको अवस्थामा कुनै नागरिकले भोकको कारण ज्यान गुमाउनु पर्ने अवस्था आयो भनेमा त्यो लज्जाश्पद हुन सक्छ । अहिले दैनिक जीवनयापनको समस्या भएकामा न्युन आय भएका र दैनिक मजदुरी गर्नेमा मात्र देखिएका छन् यदि यही अवस्था रही रहने हो भन्ने मध्यम वर्गीय मानिसहरुमा समेत भोकमारी देखिन सक्छ । अहिलेको अवस्थामा को कसलाई राहत तथा सहयोगको आवश्यकता छ, निष्पक्ष अध्ययन गर्नु र लक्षित वर्गमा आवश्यक सहयोग तथा राहात पु¥याइनु नै उत्तम कार्य हो । सरकारले आवश्यक कदम चालेर पिडित वर्गको सम्बोधन गर्नु नै आजको आवश्यकता हो ।

 

प्रतिक्रिया दिनुहोस