aarthiknews.com सोमबार, १२ जेठ २०७७   Monday, 25 May, 2020
 
Tansen_cement
ctz
hulas Remite

कोरोनाले निम्त्याएको नेपालको अर्थतन्त्र, चुनौती र अवसर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १० जेठ २०७७
Sunrise
कोरोनाले निम्त्याएको नेपालको अर्थतन्त्र, चुनौती  र अवसर
LBEF

बागलुङ ।यतिखेर विश्व कोरोना भाइरसको आतङ्कबाट त्रसित छ । कोरोना भाइरसको कारण देखा परेको रोग ‘मर्स’ सन् २०१२ मा शाउदी अरेवियामा देखिएको थियो । यसले सन् २०१५ मा दक्षिण कोरियामा दर्जनौ मानिसको ज्यान लिएको थियो । सन् २०१९मा चिनको शहर वुहानमा पुनःयो रोग देखिएपछि विश्व स्वास्थ्य संगठनले ७ जनवरी २०२० मा यसलाई कोभिड–१९ नामाकरण गरी विश्वव्यापी महामारीको रुप दियो । उक्त महामारीबाट यतिखेर सारा विश्व आतंकित बनिरहेको छ ।

विश्वका सबै राष्ट्रमा फैलिसकेको उक्त महामारीबाट यो लेख तयार पार्ने दिनसम्म विश्वभर ५३ लाख ६ हजार १५८ जना  संक्रमित बनेका छन् । २१ लाख ६० हजार ३९ जनालाई निको भएको छ भने ३ लाख ४० हजार ४० जनाको ज्यान गएको छ । नेपालको  सन्दर्भमा २६ जिल्लामा फैलिसकेको उक्त महामारीले तीन जनाको ज्यान गएको तथ्याङ्क सार्वजनिक भएको छ भने संक्रमिता हुने संख्या ५४८ र निको हुनेको संख्या ७० पुगेको छ ।

कमजोर आर्थिक अवस्था, फितलो स्वास्थ्य संयन्त्र तथा प्राविधिक क्षमता, भारतसँगको खुला सिमानाजस्ता कारणहरूले नेपाल कोरोना महामारीको उच्च जोखिममा रहेको तथ्य विश्व स्वास्थ्य संगठनले सार्वजनिक गरिसकेको छ । उक्त अवस्थालाई मध्यनजर गर्दै सरकारले चैत्र ११ देखि आजसम्म निरन्तत रुपमा लकडाउन गर्दै आएको छ । अन्तर्राष्ट्रिय देशहरूको तुलनामा नेपालमा त्यति ठूलो मानवीय क्षति  भै नसकेको तर अबका दिनहरू भने झन भयावह र डरलाग्दो रुप लिने आकलन गरेर नै जेठ ४ गते बसेको मन्त्रिपरिषदको बैठकले पुनः लकडाउनको समयावधि थप गरि जेष्ठ २० सम्म पु¥याएको छ ।

यसरी निरन्तर लकडाउनकोे समयावधि थपिँदै जाने हो भने अब जनजीविकाको दुनियाँ र अर्थतन्त्रको सबाल कस्तो हुने होला भन्ने प्रश्न हरेक चेतनशील मस्तिष्कमा उब्जिनु स्वभाविक नै हो । यसले एकातिर मानव जीवनको अस्तित्व नै संकटमा रहेको चित्रण गरेको छ भने अर्कोतिर अर्थतन्त्र कसरी चलायमान हुने र जनजीविका कसरी चलाउने  भन्ने समस्या यतिखेर राज्यको अगाडी एक अजङ्गको पहाड झैँ बनेर उभिएको छ ।

विश्व अर्थतन्त्रको परिवेशः

कोरोना भाइरसको प्रभावले विश्व उत्पादन र आपूर्ति श्रृङ्खला खलबलिएको छ । करोडौं श्रमिकको रोजगार गुमेको छ । ठूला–ठूला स्टक मार्केटहरू दुर्घटना हुने स्थितिमा पुगेका छन् । पर्यटन क्षेत्रबाट विश्वले झण्डै २ अर्ब अमेरिकन डलर बराबरको क्षति व्यहोर्ने तर्क विश्व पर्यटन काउन्सिलले जनाएको छ । विश्वमा हवाइ यातायात प्रणाली ठप्प छ । त्यसैले यतिखेर विश्वको अर्थतन्त्र मन्दिको गतिमा छ भने सिंगो एशियाली अर्थतन्त्र ४० वर्ष यताकै कमजोर हुन सक्ने आकलन अर्थशास्त्रीहरूको रहेका छन् ।

नेपाली अर्थतन्त्रः

भूमण्डलीकृत अर्थतन्त्रको एउटा स्वरुप विश्वव्यापिकरणको बढ्दो प्रभावले समग्र विश्वलाई नै साँघुरो बनाइदिरहेको वर्तमान सन्दर्भमा विश्व अर्थतन्त्रको यो प्रभावबाट  नेपाली अर्थव्यवस्था अछुतो रहने कुरै भएन । नेपाली अर्थतन्त्रको गति कुन दिशामा जाला ? अर्थतन्त्रका परिसूचकहरूमा यसले कस्तो प्रभाव पार्ला ? भन्ने सन्दर्भमा विभिन्न अर्थशास्त्रीहरूले आफ्नो धारणा राख्दै आएका छन् ।

तिनै अर्थशास्त्रीहरूको विचार, प्रक्षेपण, प्रकाशित प्रतिवेदनहरू अध्ययन गर्दा नेपाली अर्थतन्त्रले वास्तविक क्षेत्र, सार्वजनिक वित्तीय क्षेत्र, बैंकिङ क्षेत्र र वाह्य क्षेत्र भित्र रहेका उत्पादन, आम्दानी, रोजगारी, मुद्रास्फिति, बैँक तथा वित्तिय क्षेत्र, विपे्रषण, यातायात, पर्यटन, उद्योग तथा निर्माण जस्ता परिसूचकहरूबाट निम्नानुसारको चुनौती फेस गर्नुपर्ने देखिन्छ ।

कुल ग्राहस्थ उत्पादन(जीडीपी):

कुनै पनि देशको भौगोलिक सिमाना भित्र उत्पादन हुने सम्पूर्ण अन्तिम वस्तु तथा सेवाको कुल मौद्रिक मूल्यको जीडीपी हो । जीडीपी मूख्य आधार लगानी र लगानीको मूख्य आधार पुँजीगत खर्च हो । नेपालमा कोभिड–१५ को प्रभावले पुँजीगत खर्च न्यून हुने तर्क गर्दै जीडीपीमा झण्डै ६० प्रतिशत भन्दा बढी योगदान गर्ने नीजी क्षेत्रको लगानी समेत निरुत्साहित बनेको र चालु खर्च कटौती गर्न पनि नसक्ने र पुँजीगत खर्च बढाउन पनि नसक्ने अवस्थाले गर्दा र नेपालको पुँजी बजार तिव्र रुपले ओरालो लागेको कारण आगामी वर्षको जीडीपी झण्डै २ प्रतिशतमा झर्ने र यसैगरी बन्दाबन्दीको अवधि थपिँदै जाने र अर्थतन्त्र चल्न नसकेमा जीडीपी ऋणात्मक समेत हुन सक्ने तर्क अर्थविद डा.रेवत वहादुर कार्कीले गरेका छन् । सरकारले यो वर्षको जीडीपी ८.५ प्रतिशत हुने अनुमान गरेको थियो । कोरोनाको प्रभावले नेपालको जीडीपी औषतमा साढे दुई प्रतिशत हुन सक्ने अनुमान आईएमएफ, विश्व बैंकले गरेको छ ।  

बेरोजगारी र गरिबीः

बजारमा प्रचलित ज्यालादरमा काम गर्न खोजेको तर काम नपाएको अवस्था बेरोजगार हो । देशमा झण्डै ६२ प्रतिशत श्रमिकहरू अनौपचारिकमा र करिब ४४ लाख श्रमिकले गैर सरकारी क्षेत्रमा काम गर्ने श्रमशक्ति रहेको सर्वेक्षणले देखाएको छ । यसरी बन्दाबन्दी थपिँदै जाने र निर्माणका कामहरू ठप्प हुँदै जाने हो भने ती सबै श्रमिकको रोजीरोटी उच्च जोखिममा छ । त्यतिमात्र नभएर कोरोनाको प्रभाव विश्वभरी फैलिएकोले जुन सुकै बेला ४० लाख भन्दा बढी विदेशिएका नेपालीहरू नेपाल  फर्कने अवस्था भएमा नेपालमा लाखौँ बेरोजगारीको समस्या निम्तिने छ । यसले गर्दा मूलुकमा ४ प्रतिशत भन्दा बढीले गरिबी बढ्न जाने अनुमान अर्थशास्त्रीहरूले गरेका छन् ।

मुद्रास्फीतिः

वस्तु तथा सेवाको मूल्य निरन्तर रुपले बढ्दै जाने र मुद्राको मूल्य कम हुँदै जाने अवस्था मुद्रास्फीर्ति हो । बन्दाबन्दी लामो समय थपिदै गएमा कालो बजारी निरन्तर बढ्दै जानेछ । नेपाली मुद्रा डलरसँग अवमूल्यन भएका कारण वैदेशिक ऋणको लागत बढ्नेछ र आयातित रुपले मुद्रास्फीर्ति चाप सिर्जना भइ २ अंकको दरले मुद्रास्फीर्ति हुन सक्ने विज्ञहरूले बताएका छन् ।
 

सार्वजनिक वित्तः

सरकारले प्राप्त गर्ने आम्दानी र खर्चबीचको अध्ययन यस अन्तर्गत गरिन्छ । उत्पादन वृद्धि गर्ने मूख्य आधार पुँजीगत खर्च हो । कोरोनाको प्रभावले गर्दा पुँजीगत खर्च वृद्धि हुन सकेको छैन । चालु खर्च कटौती गर्न पनि मुस्किल देखिन्छ जसले गर्दा बजेट घाटा उच्च हुनेछ । विप्रेषणमा कमी आउने  र आयात समेत प्रभावित बन्ने भएकोले राजस्व संकलनमा ठूलो समस्या सिर्जना हुने देखिन्छ ।  

बैँक तथा वित्तिय क्षेत्रः

साख सिर्जना गरी मूनाफा कमाउने उद्देश्यले स्थापित संस्थाहरू बैँक तथा वित्तिय सँस्था हुन् । कोभिड–१९ को प्रभावले यसको असर बैँक तथा वित्तिय क्षेत्रमा गतिलैसँग पर्ने देखिएको छ । ऋण लगेका ऋणीहरूले समयमा ब्याज र साँवा भुक्तान गर्न नसक्ने स्थिति यो संकटले निम्त्याएको छ । यसैगरी आर्थिक गतिविधि ठप्प भएमा खराब कर्जा बढ्दै जाने र वित्तीय स्थायित्वमा खलल पुगी मुनाफा समेत कम हुने भएकोले लगानीकर्ता हतोत्साहित हुनेछन् भन्ने तर्क गर्दै विज्ञहरूले सबैभन्दा उच्च जोखीममा लघुवित्तीय कारोबार रहेको बताएका छन् ।

पर्यटन,यातायात, थोक खुद्रा र उद्योग निर्माण क्षेत्रः

जीडीपीमा पर्यटन क्षेत्रको योगदान २ प्रतिशत जति छ । आर्थिक क्रियाकलापमा ८ प्रतिशत र रोजगारीको क्षेत्रमा ७ प्रतिशत योगदान दिएको पर्यटन क्षेत्रमा यसरी नै बन्दाबन्दी लामो समयसम्म थपिदै गएमा गत वर्षको तुलनमामा यस वर्ष पर्यटन क्षेत्रमा २१ प्रतिशतले गिरावट आउने सम्भावना छ । जीडीपीमा ७ प्रतिशत योगदान दिएको यातायात क्षेत्र समेत कोरोनाको कारण प्रभावित छ ।

स्थल यातायात प्रभावित रहेकोले उत्पादन र रोजगारीमा ठूलो असर पुगेको छ । जीडीपीमा १४ प्रतिशत योगदान दिएको थोक तथा खुद्रा व्यापार प्रभावित छ । औद्योगिक उत्पादनमा ३२ प्रतिशत योगदान दिने उद्योग धन्दाहरू बन्द छन् । जसले गर्दा उत्पादनमा कमी आई अर्थतन्त्र पूर्णरुपले संकुचनतर्फ जाने तर्क राष्ट्र बैँकका उप निर्देशक सिद्धराज भट्टले गर्दै आएका छन् ।  

अन्य चुनौतीहरूः

नेपालमा कोभिड–१९ को प्रभावले धेरै चुनौतीहरू थपेको छ । १५ औं योजना कार्यान्वयन गर्न चुनौती छ । दिगो विकासका लक्ष्यहरू पूरा गर्न चुनौती छ । अन्य अन्तर्राष्ट्रिय प्रतिवद्धताहरू पूरा गर्न चुनौती छ । शिक्षा क्षेत्र पूर्ण रुपले अस्तव्यस्त छ । लाखौँ बालबालिकाको भविष्य अन्योल छ । परीक्षाको मुखैमा आएर बन्द भएकोले गर्दा विद्यालय र विश्वविद्यालयस्तरका परीक्षा कसरी सञ्चालन गर्ने भन्नेमा सरकार अन्योलमा छ । कतिपय निजी विद्यालय र विश्वविद्यालयहरूले अनलाइन कक्षा सञ्चालन गरेता पनि नयाँ शैक्षिक सत्रको पहिलो महिना बितिसक्दा समेत अब के गर्ने भन्ने सन्दर्भमा स्पष्ट नीति ल्याउन नसकी सरकार कुहिरोको काग जस्तै बन्नु बिडम्बना हो ।

महामारीले निम्त्याएको अवसरः

हरेक कालो बादलमा चाँदीको घेरा हुन्छ भनेझैँ हरेक चुनौतीसँग अवसरहरू पनि गाँसिएका हुन्छन् । यो संक्रमणकालीन अवस्थामा कोही अतालिनु हुँदैन । हाम्रो मन, भावना, सोच, सद्भाव र आशा सबै सकरात्मक हुन जरुरी छ । यसका निश्चित केहि अवसरहरू छन् । जसलाई सदुपयोग गर्न सक्यौं भने यो प्रलयबाट आत्तिनु पर्दैन । सोच बदलौँ । कर्म गरौँ । दुनियाँ बदलिएको  आभाष मिल्नेछ । उक्त महामारीले निम्त्याएका केहि अवसरहरूलाई यहाँ उल्लेख गर्ने जमर्को गरिएको छ ।

स्थानीय सरकार जीम्मेवारी बनाउने अवसरः संविधानको पालना र संघियता कार्यान्वयन गर्नको लागी स्थानीय सरकारलाई यो एउटा सुनौलो अवसर हो । यतिखेरको महामारीले हरेक स्थानीय सरकारलाई जिम्मेवारी बनाइदिएको छ । एउटा साबुन,एक पोका तेल र २÷४ केजी चामल बोकेर भएपनि जनप्रतिनिधिहरू नागरीकको घर दैलोमा पुगेका छन् । यसले सरकार घर घरमा पुगेको आभाष दिलाएको छ ।
 

आईसीटीको प्रयोग गर्ने अवसरः

अन्तर्राष्ट्रिय स्तरमा बढ्दो रुपले प्रयोग र प्रचलनमा आएको सूचना सञ्चार तथा प्रविधिको प्रयोग बढ्दो मात्रामा छ । डिजिटलाइज इकोनोमीबाट अर्थतन्त्र चलायमान छ ।  मानव गतिविधि बिना अर्थतन्त्र चल्ने यो एउटा सूनौलो अवसर हो । यसले ई–मोबाइल, ई–बैकिङ, ई–सेवा, ई–लर्निङ, अनलाइन स्टडीजस्ता सूचना पूविधिहरूको अभ्यास गर्ने सुअवसर दिएको छ ।

जीडीपीमा कृषि क्षेत्रको हिस्सा वृद्धि गर्ने अवसरः

आर्जित ज्ञान, सीप र प्रविधिको प्रयोग गरी कृषि क्षेत्रको उत्पादन वृद्धि गर्ने, कृषि क्षेत्रमा आधुनिकीकरण र व्यवसायिकरण गरेर देशको जीडीपीमा कृषि क्षेत्रको हिस्सा वृद्धि गर्ने यो अर्को अवसर हो । नेपालमा कोभिड–१९ प्रभाव र लकडाउनले गर्दा ग्रामीण भेगमा बस्ने जो रोजीरोटी र अन्य अवसरको खोजिमा शहर पसेका थिए ति बिछोडिएका मनहरूलाई यो महामारीले जोडेको छ । पारिवारिक सम्बन्ध सुमधुर बनाएको छ । गाउँघरतिर लामो समयदेखि बाँझिएका खेतबारीहरूमा खोरिया फाँड्ने र खेती गर्ने, तरकारी रोप्ने, अन्य नगदे बाली र फलफूल लगाउने क्रम बढ्दो छ । यसलाई कृषि क्षेत्रको उत्पादन वृद्धि गर्ने अवसरको रुपमा लिन सकिन्छ ।

अनावश्यक र अनुत्पादकीय खर्च कटौती गरी उत्पादकीय क्षेत्रमा लगाउने अवसरः

अनावश्यक र अनुत्पादकिय खर्च कटौती गरी बिलासी वतुको आयातमा कमी गर्ने र त्यस्ता वस्तुको उपभोगमा कटौती गरी अति आवश्यक वस्तुको उत्पादनमा खर्च गर्ने अवसर यो महामारीले दिएको छ ।

शिक्षाको राष्ट्रिय उद्देश्य पूरा गर्ने अवसरः

स्कुले उमेरका केटाकेटीलाई परम्परागत खालको शिक्षा प्रदान गरी आफ्ना पिता पुर्खाको पेशासँग आवद्ध गराइ विभिन्न खालका सीपमूलक, आयआर्जन हुने खालका आर्थिक गतिविधिमा संलग्न गराइ घरमा डोका, डाला, नाम्ला बुन्न सिकाउने, तरकारी खेतीमा काम गर्न सिकाउने, श्रमप्रति सम्मान गर्न सक्ने सकरात्मक सोच भएका नागरिक उत्पादन गर्ने र शिक्षाको राष्ट्रिय उद्देश्य पूरा गर्न सहयोग गर्ने बेलाको रुपमा यसलाई लिन सकिन्छ ।

संविधानको पालना र राज्यका नीति कार्यान्वयन गर्ने अवसरः

शिक्षा क्षेत्रमा राज्यको लगानी अभिवृद्धि गर्दै शिक्षामा भएको निजि क्षेत्रको लगानीलाई नियमन र व्यवस्थापन गरी सेवामूलक बनाउदै जाने राज्यको नीति स्पष्ट रुपले संविधानको भाग ४ मा उल्लेख गरिएको छ । नयाँ शैक्षिक सत्रको सुरुवातमै देखा परेको यो महामारीले यतिखेर बहुसङ्ख्यक नागरिकको सोच बदलेको छ । यसलाई अवसरका रुपमा लिएर सामुदायिक विद्यालयमा केहि प्रभावकारी कार्यक्रम लागु गर्न सकेमा आम नागरिकमा नीजि विद्यालयप्रति रहेको आकर्षण कम गरी राज्यको नीति कार्यान्वयन गर्न सकिन्छ ।

यति धेरै अवसरका ढोकाहरू खुला हुँदा पनि सरकारले स्पष्ट रुपले नीतिगत उद्देश्यहरू तय गर्न नसकी, राजनैतिक खिचातानी, दलिय मतिभ्रष्टता, भ्रष्टाचारको चङ्गुलमा फसेर मनखुसी गर्न खोज्नु बिडम्बना मात्र हैन गम्भिर अपराध हो । जनजीविकाको सवालमा पनि सरकार चनाखो र चिन्तित हुन सकेन भने यो सरकार इतिहासकै एक कलङ्कित सरकारको रुपमा चित्रित हुनेछ । अब, सरकारले यो महामारीबाट बच्न प्रभावकारी रणनीतिमूलक कार्यक्रम लागु गर्न जरुरी छ । (लेखक मालिका माध्यमिक विद्यालय बागलुङका अर्थशास्त्र विषयका शिक्षक हुन् )

 

प्रतिक्रिया दिनुहोस