aarthiknews.com विहीबार, १५ जेठ २०७७   Thursday, 28 May, 2020
 
Tansen_cement
ctz
hulas Remite

लकडाउनको पालना नगर्दा जोखिम बढ्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०८ जेठ २०७७
Sunrise
लकडाउनको पालना नगर्दा जोखिम बढ्यो
LBEF

जनकपुरधाम । प्रदेश २ को आठवटै जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै जान थालेपछि जोखिम बढेको छ । यतिबेला सरकारले जारी गरेको बन्दाबन्दीको पूर्ण पालना गरी जोखिमलाई कम गर्नुपर्नेमा यसको पालना राम्रोसँग नहुनाले पनि प्रदेशमा जोखिम बढ्दै गएको सम्बद्ध व्यक्तिहरूको भनाइ छ ।

लहान समाचारदाता जिवछ यादवका अनुसार बन्दाबन्दीको पूर्ण पालना नहुनाले सिरहाका सरोकारवाला निकायबाट चिन्ता व्यक्त गर्न थालिएको छ । लहान स्वास्थ्य शाखाका प्रमुख रामसुन्दर यादव देशकै सबैभन्दा ठूलो नगरपालिका लहान नगरपालिकामा समेत लकडाउनको पूर्ण पालना नभएको बताउछन्।

प्रहरी गाडी आएपछि घरभित्र जाने अरूबेला हेलचक्र्याइँ गर्ने, साँझबिहान चिया पसल, मदिरा पसल र चोकमा गफ गरेर बस्नेहरूको भीडभाडले कोरोना सङ्क्रमित हुनसक्ने जोखिम बढ्दै जान थालेको बताइन्छ । लहान २ नम्बर वडाका वडाध्यक्ष सियाराम यादव बन्दाबन्दीको मर्मविपरीत गतिविधि रोक्न गरिरहेको प्रयास पनि सफल हुन नसकिरहेकाले यस्तो अवस्थामा सङ्क्रमित फैलियो भने अवस्था भयावह हुनसक्ने बताउछन् ।

ग्रामीण क्षेत्रमा समेत सङ्क्रमित
वीरगञ्ज समाचारदाता दीपकप्रसाद गौतमका अनुसार पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिकाको एउटा वडामा ४० जना सङ्क्रमितसहित पर्सा जिल्लामा सङ्क्रमितको सङ्ख्या ९१ पुगेको छ । चैत २९ गते तीन जनामा सङ्क्रमण देखिएसँगै सङ्क्रमितहरू भेटिन थालेको पर्सा जिल्लामा ३६ दिनको अन्तरालमा सङ्क्रमितको सङ्ख्या बढेर ९१ पुगेको हो ।

वीरगञ्ज महानगरपालिकाको वडा नम्बर १, २, ३, ४, १२, १६, १७ र १८ मा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ भने पर्साको जयमङ्गलापुर, सम्झौता, तुलसीवर्वा, धोबिनी, सखुवा प्रसौनीको सिद्धपुर र भिस्वामा पनि सङ्क्रमित फेला परेका छन् ।
सदरमुकाम वीरगञ्जमा मात्र देखिएको सङ्क्रमण पर्साकै विभिन्न ग्रामीण क्षेत्रमा समेत देखिन थालेको छ । वैशाख ३० गते सबैभन्दा बढी ५७ जना नयाँ सङ्क्रमित थपिएसँगै सङ्क्रमितको सङ्ख्या ८५ पुगेको थियो । त्यसपछि जेठ २ गते चार जना र ३ गते दुई जनामा थपिएको थियो ।

पीसीआर किटको अभाव
सिरहा समाचारदाता सन्तोष सुवेदीका अनुसार अत्यन्त जोखिमपूर्ण जिल्लाका रूपमा रहेको सिरहामा पीसीआर किटको अभाव हुँदा कोरोनाबाट सङ्क्रमित व्यक्तिको पहिचान हुन कठिन भएको छ । स्वास्थ्य मन्त्रालयले एक महिना अगाडि सिरहामा पठाएको ६२८ वटा पीसीआर किट क्वारेन्टाइनमा राखिएका केही शङ्कास्पद, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी तथा जनप्रतिनिधिहरूको स्वाब सङ्कलन गर्दागर्दै सकिएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय सिरहाका जनस्वास्थ्य अधिकृत कृष्णदेव यादवका अनुसार सिरहामा विभिन्न क्वारेन्टाइनमा रहेका स्थानबाट आएका, भारतीय सीमावर्तीबाट आएका नेपाली नागरिक, कोरोना कहरको अवस्थामा अग्रमोर्चामा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीको परीक्षण बाँकी नै छ ।

जिल्ला विपद् व्यवस्थापन समितिले सिरहाका लागि दुई हजार पाँच सय थान पीसीआर किट, पाँच हजार थान आरडीटी किट, दुई हजार पाँच सय पूर्ण सेट पीपीई तथा एक हजार पाँच सय थान एन ९५ मास्क तत्कालका लागि माग गरेको जनाएको छ तर केन्द्रबाट २४० थान पीसीआर किट, १२० थान आरडीटी किट, २० थान एन ९५ मास्क तथा २० थान पूर्ण सेट पीपीआर पठाइएको छ ।

भारतबाट आएका क्वारेन्टाइनमा
सप्तरी समाचारदाता देवराप्रसाद यादवका अनुसार नेपाल सरकारले भारतमा रहेका आफ्ना नागरिकलाई प्रवेशमा रोक लगाएपछि सीमामा कडा सुरक्षा हुँदाहुँदै पनि लुकिछिपी प्रवेश गर्ने क्रमले तीव्रता पाएको छ ।

अलपत्र परेका वा घर फर्किन चाहने व्यक्तिहरूका लागि भारत सरकारले रेल सेवा सुचारु गरी गन्तव्यतर्फ पु¥याउने क्रमलाई प्राथमिकताका साथ अगाडि बढाएसँगै घरतर्फ हिँडेका नेपालीलाई सशस्त्र तथा नेपाल प्रहरीको टोलीले रोक्ने गरेका छन् । सीमा नाका भएर नेपालतर्फ प्रवेश गर्न नदिएपछि हजारौँ नेपाली सीमा क्षेत्रमा अलपत्र परेका छन् । सप्तरी जिल्लामा ७८ किलोमिटरको खुला सिमानामा एकअर्कालाई दखिने गरी प्रत्येक तीन सय मिटरको फरकमा सशस्त्र प्रहरी परिचालन गरिएको छ । यद्यपि रातिको समयमा प्रहरीको आँखा छलेर जिल्ला प्रवेश गर्नेको ओइरो नै लागेको छ । एकातर्फ सरकारले आफ्नै देशका नागरिकलाई देश छिर्न रोक लगाएको छ भने अर्कोतर्फ लुकिछिपी आउने क्रम बढ्दै गएकाले कोरोना भाइरसको जोखिमसमेत बढ्दै गएको छ ।

लुकिछिपी घर फर्केकाहरूमध्ये कतिपय त आफैँ अस्पताल तथा क्वारेन्टाइनमा जाने गरेका छन् भने कतिपयले आफूलाई केही नभएको भन्दै घरमै लुकिछिपी बस्ने गरेको पाइएको छ । कोरोना सुरक्षाको नाममा सीमामा उनीहरूलाई रोक लगाउनु तथा अर्कोतर्फ लुकिछिपी प्रवेशले गर्दा झन् सङ्क्रमणको चुनौती थपिँदै गएको गजेन्द्रनारायण सिंह अस्पतालका कोभिड–१९ संयोजक डा. रणजितकुमार झाले बताउनुभयो । स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवका अनुसार भारतबाट लुकिछिपी प्रवेश गर्नेहरूमध्ये हालसम्म जिल्लाको विभिन्न क्वारेन्टाइनमा गरी ६५८ जना रहेका छन् । गोरखापत्रबाट 

प्रतिक्रिया दिनुहोस