aarthiknews.com सोमबार, १२ जेठ २०७७   Monday, 25 May, 2020
 
Tansen_cement
ctz
hulas Remite
कोरोना असर

‘आर्थिक मन्दी र असुरक्षा समाप्त गर्ने अस्त्र राहत र स्टिमुलस प्याकेज ’

  • माणिकरत्न शाक्य
    माणिकरत्न शाक्य
  • बुधबार, ०७ जेठ २०७७
Sunrise
‘आर्थिक मन्दी र असुरक्षा समाप्त गर्ने अस्त्र राहत र स्टिमुलस प्याकेज ’
माणिक रत्न शाक्य
LBEF

काठमाडौं । सन् २०१९ को सेप्टेम्वरमा चीनको वुहान शहरको पशुपन्छीको मासुको बजारबाट कोरोना भाइरसको पहिलो संक्रमण भएको खबर विश्वको सामु आएको थियो । अहिले यस भाइरसको महामारी विश्वभरि फैलिसकेको छ । यो लेख तयार हुँदासम्म ४७ लाख ३५ हजार भन्दा बढि यो रोगका संक्रमितहरू भई सकेका छन् भने ३ लाख १६ हजार भन्दा बढि मानिसहरूको मृत्यु भइसकेको छ ।

 विश्वको आर्थिक वृद्धिदरमा ३ प्रतिशत नकारात्मक वृद्धि हुने प्रक्षेपणहरू गरिएको छ । यसको प्रभावहरू के के हुन सक्छन र यसले विश्वको अर्थतन्त्रमा कस्तो प्रभावहरू पर्छ ? नेपालमा यसको प्रभावहरू कस्तो पर्ला र त्यसबाट बच्न के कस्ता उपायहरू अपनाउनु पर्ला ? यस विषयमा हामी चर्चा गर्न गइरहेका छौं ।

कोरोना संक्रमणको प्रभावहरूका चरणः

यो महामारीको प्रभाव ३ चरणमा देखिदै जाने छ ।  पहिलो चरणः मानिसको स्वास्थ्यमा कोरोना भाइरसको संक्रमणले ठूलो समस्याहरू आउने सक्नेछ । जुन अहिले संसार भरि देखिइ नै रहेको छ । भाइरस संक्रमितहरूलाई आवश्यक स्वास्थ्य उपचारहरू प्रदान गर्नका लागि धेरै ठूलो धनराशी, मानव शक्ति र औषधिहरूको अभाव भइरहेको छ । अमेरिका, युरोप जस्ता धनी अनि अति विकसित महादेशहरूमा समेत धन, स्वास्थ्यकर्मीहरू, स्वास्थ्य उपकरणहरू र औषधिहरूको अभाव देखिएको छ ।

संक्रमणको पुष्टि गर्न गरिनु पर्ने टेष्टिङ किटदेखि श्वास प्रश्वासका समस्यालाई सहयोग गर्ने र समाधान गर्न भेन्टिलेटर, आईसीयूका बेडहरू, स्यानिटाइजर, मास्क, आइसोलेशन वार्डहरू सहित विभिन्न औषधिहरूको कमी देखिएको छ । महामारीमा देशले परिपालना गर्नुपर्ने आपतकालीन स्वास्थ्य सेवा, लकडाउनलगायतका आदेशहरू कार्यान्वयन गराउन आवश्यक कानुनहरू संशोधित र समयसापेक्ष छैनन् । पुराना कानुनहरू अहिलेको यस महामारीमा सान्दर्भिकता देखिदैन । 

त्यसैले पनि विकसित तथा अन्य धेरै देशहरूले चाँडो चाँडो यस्ता महामारी नियन्त्रण गर्न आवश्यक कानुनहरूको निर्माण गरिरहेका छन् । अमेरिकामा केयर कानुनको निर्माण यहि हतारकोबीचमा भएको छ । नेपालमा पनि यस्तै कानुनको आवश्यकता महसुस गरिएको छ । कानुन संशोधनको लागि विभिन्न चरणहरूमा कार्य अगाडी बढीरहेको छ । चाँडै नै नयाँ कानुन पारित भएको समाचार हामीले सुन्न पाउँदैछौ ।

देशका नागरिकहरू बिरामी भइ काम गर्न नसक्ने हुँदा ती नागरिकहरूलाई आफ्नो घरखर्च चलाउन मुस्किल हुन जाँदा धनको ठूलो अभाव देखिएका छन् । आइसोलेशनमा राख्न, औषधिहरूको खर्च, स्वास्थ्यकर्मीहरूको खर्च, खानपानका लागि खर्च, अन्य स्वास्थ्य उपचारमा हुने विविध शीर्षकहरूमा हुने खर्चहरू पुर्याउन धेरै धनको आवश्यकता पर्दछ, जुन अभाव हुँदै गएको छ । संक्रमितहरूको अनपेक्षित मृत्यु हुँदा त्यसबाट हुने नकारात्मक मानसिक, भौतिक, पारिवारिक असरहरूलाई व्यवस्थित गर्नका लागि धेरै गाह्रो देखिएको छ ।

संक्रमणलाई फैलिन नदिन अपनाइएका लक डाउन, सामाजिक दूरी लगायतका उपायहरूका कारण उद्योग, व्यवसाय, व्यापारहरू बन्द भएका कारणले रोजगारीहरू क्रमशः गुम्दै गएको छ । कर्मचारीहरू क्रमशः रोजगारीहरू गुमाउने स्थितिमा पुग्दैछन् । आम्दानीहरू घट्दै गइरहेका छन् ।

कतिपय आम्दानी गर्न नसक्ने अवस्थामा पुगिरहेका छन् । उद्योग व्यवसाय, व्यापारमा भएका लगानीहरूले आ–आफ्नो ऋणमा तिर्नुपर्ने व्याज, किस्ताहरू तिर्न नसक्ने अवस्थामा पुगिरहेका छन् । बचत भएको रकमले आफ्नो जीविका धान्न नसक्ने अवस्थामा पुगिरहेका छन् ।

विस्तारै आफूसँग भएका सम्पत्तिहरूको क्षयीकरण हुँदै सम्पत्ति नै नाश हुने परिस्थितिको सिर्जना भइरहेको छ । आफ्नो अवकाशका लागि गरिएको बचतको रुपमा गरिएका लगानीहरू, घर, सवारी साधनहरूको बिक्री गर्नु पर्ने स्थिति आउँदै गएको छ ।

दोस्रो चरणः विभिन्न देशहरूले आ–आफ्नो अर्थतन्त्रमा परेका यस्ता परिस्थितिहरूको सामना गर्न विभिन्न आर्थिक राहतका प्याकेजहरूको घोषणाहरू गर्दै क्षतिलाई न्यूनीकरण गर्ने कोशिस गर्दैछन् । लगानी भएका विभिन्न बैंकहरूले ठूलो रकमको प्रोभिजनका राशीहरू छुट्याउनु पर्ने स्थिति आएको छ ।

बैंकहरूले व्याज दरहरूमा कटौती गर्नु पर्ने र बैंकका लगानीहरूमा प्रतिफल कम हुँदै जाँदैछ । तरलताको व्यवस्था गर्न क्रमशः मुस्किल हुँदै गइरहेको छ । नागरिकहरूले आफ्नो जीविकाका लागि भएको बचतलाई प्रयोग गर्दै जाँदा समग्रमा बचतमा कमी हुँदै गइरहेको छ । आर्थिक गतिविधिहरू कम हुँदै जाँदा देशको आर्थिक वृद्धिदर कम हुँदै गएको छ । समग्रमा देशहरूमा आर्थिक गतिविधिहरूमा कमी आएको छ ।

तेस्रो चरणः यो महामारीले ल्याउने तमाम असरहरू पछि विश्वमा चरम आर्थिक मन्दीको अवस्था आउँदै छ । स्वास्थ्यको समस्यालाई तत्काल समाधान गर्न नसक्नु, स्वास्थ्यलाई प्राथमिकता दिइ व्यवसाय चलाउन खोजे पनि पुरानो गतिमा व्यवसाय नचल्ने, बेरोजगारी, आर्थिक उपार्जन गर्न नसक्ने अवस्था आएको छ ।

कोभिडका कारण आर्थिक क्षेत्रका हरेक पाटामा घाटाको अवस्था रहनु, लिएका ऋणहरू तिर्न नसक्नु, सम्पत्तिहरूको परित्याग गर्नु पर्ने स्थिति आउनु, साना ठूला व्यवसायीले व्यवसायहरू बन्द गर्दै जानु पर्ने अवस्था आउनु लगायतका कारणहरूले विश्वमा चरम आर्थिक मन्दीको अवस्था आउँदै छ । आर्थिक मन्दीको परिणाम स्वरुप तेलको अन्तर्राष्ट्रिय भाउमा असामान्य कमी आइसकेको अवस्था छ ।

अन्तर्राष्ट्रिय रेटिङ एजेन्सी मूडिजको एक रिपोर्ट अनुसार संसारका सबै नै महादेशहरू यो मन्दीको दौरबाट गुज्रनुको विकल्प छैन । कुनै महादेशमा मन्दीको प्रभाव अलि कम होला, कुनैमा अलि बढी, तर सबै नै महादेशहरू मन्दीमा जाँदैछन् । संसारमा भएका विभिन्न व्यवसायहरूमा पनि यसको असर अलग अलग पर्नेछ ।

पर्यटन, यात्रा, हवाई सेवा, होटल, रेष्टुरेन्ट, धार्मिक कार्यक्रम, सामाजिक कार्यक्रमहरू गर्ने क्याटरिङ, इभेन्ट म्यानेजमेन्ट, गाडी तथा मोटरसाइकल उद्योग, सुनचाँदीका गर–गहनालगायतका व्यवसायहरूमा ठूलो नकारात्मक असर पर्दैछ ।

थाई एअरवेज दामासाहीमा गएको समाचार भर्खरै आएको छ । यस्ता अन्य पनि धेरै समाचारहरू विस्तारै देखिँदै जाने सम्भावनाहरू छन् । यो क्रममा क्रमशः वृद्धि हुने र विश्वको अर्थतन्त्रमा चरम आर्थिक मन्दीको चरणहरू शुरु हुँदैछ ।

नेपालमा पर्ने असरः

नेपालमा पनि कोरोना भाइरसको प्रभाव अहिले द्रुत गतिमा फैलिँदै गएको छ । चैत्रको ११ गतेबाट नेपालमा लकडाउन कार्यान्जवयनमा छ । अत्यावश्यक वस्तु र सेवा बाहेकका अन्य उद्योग, व्यवसाय, व्यापार बन्द भएको छ । नेपालमा पनि आर्थिक क्षेत्रको अवस्था हेर्दा अन्य मुलुकमा देखिए झै आर्थिक कृयाकलापहरू बन्द भएको छ ।

त्यसबाट सिर्जना हुने विभिन्न आर्थिक परिणामहरू देखिएका छन् । उद्योग व्यवसाय बन्द हुँदा लगानी भएको ऋणमा व्याज र किस्ताहरू तिर्न नसक्ने अवस्था आएको छ । नेपाल राष्ट्र बैंकले व्याजदरमा २ प्रतिशत विन्दुको छुट अन्तिम त्रैमासको लागि राहत दिन खोजेको छ । तर, त्यतिले मात्र नेपालको अर्थतन्त्रमा खोजेको प्राण फुक्न सक्ने अवस्था छैन । ब्याज र किस्ता ३ महिना पछि सार्ने सुविधा दिएको छ ।

तर, लकडाउनको समय थपिँदै गएको परिस्थितिमा त्यसपछि खप्टिएको साँवा र व्याज तिर्न झन व्कायवसायीहरूलाई नै मारमा पार्ने निश्चित छ । नेपाल छिमेकी देशहरू भारत र चीन जस्तो ठूलो जनसंख्या भएको देश नभएकोले तुलनात्मक रुपमा यस महामारीको संक्रमणबाट हुने जोखिम कम रहन्छ ।
यद्यपि आर्थिक कठिनाइहरूको विश्लेषण गर्दा बृहत र शुक्ष्म दुबै रुपमा फरक फरक असर पर्न सक्छ । सो असरहरू कम गर्नका लागि उपायहरू पनि फरक फरक अपनाउनु पर्ने हुन्छ ।

बैंक तथा वित्तिय संस्थाः

बैंक तथा वित्तिय संस्थाहरूलाई विभिन्न ४२ बुँदे कार्य निर्देशहरू दिइएको छ । उनीहरूलाई यस अवस्थामा हुने क्रेडिट लसलाई लेखांकनमा सहुलियत पनि दिइनु पर्दछ । क्रमशः ३ वर्षमा समायोजन हुने गरि क्रेडिट लसलाई लेखांकन गर्ने सुविधा दिइनु पर्दछ । यस महामारीबाट सिर्जित खराब ऋणलाई निश्चित समयसम्म गणना नगर्ने सुविधाहरू दिनु पर्दछ ।

हाल लागु भै रहेको एनएफआरएसको विधिमा आवश्यक परिमार्जन गरि लेखांकन गर्ने तरिकामा नयाँपन ल्याउनु पर्ने आवश्यकता छ । आईएफआरएस  र सीईसीएलजस्ता अन्तर्राष्ट्रिय निकायहरूले यस महामारीसँग सम्बन्धित सिफारिस गरे जस्तै कार्यविधिहरू बनाइ लागु गर्नु पर्दछ ।

कर्मचारीहरूको कार्य समयलाई परिमार्जन गर्नुपर्ने भएमा सो को लागि अनुमति दिने व्यवस्था हुनु पर्दछ । बैंक तथा वित्तिय संस्थाहरूलाई आवश्यक तरलताको व्यवस्था गरिनु पर्दछ । खराब कर्जाको मात्रा बढ्न सक्ने भएकोले कर्जाको आधारमा पुँजी पर्याप्तताको गणनामा केही खुकुलोपन दिनु पर्ने हुन्छ । खराब कर्जाको गणना गर्ने समयावधिलाई ९० देखि १५० दिनसम्म बढाउनु पर्ने हुन्छ ।
कानुन निर्माणः

नेपालमा हामीहरूले जिन्दगीमा कहिले पनि नभोगेको नदेखेको महामारीको स्वरुप अहिले देख्दै छौं । नेपालको राज्य संचालनमा यस्तो महामारीको परिकल्पना गरिएको थिएन । २०३० मा जारी भएको महामारी रोकथाम ऐनमा भएका ब्यवस्थाहरूले अहिलेको यस महामारीलाई सम्हाल्न पुग्ने व्यवस्थाहरू नभएकोले विभिन्न कार्यकारी आदेश मार्फत शासन परिचालन गर्नु परिरहेको छ ।

देश २०७२ सालको नयाँ सविधान अनुसार केन्द्र, प्रदेश र जिल्लाहरूको संरचनामा गएकोले यसलाई नयाँ कानुनको ब्यवस्था गरि मुलुकका बिभिन्न भागमा हुने यस्ता संक्रमणहरूको बेलामा नै नियन्त्रण गर्ने आवश्यक कानुनहरू बनाइनु पर्दछ ।

शेयर बजारः

नेपालको लगानीको क्षेत्रको कुरा गर्दा शेयर बजारको पनि चर्चा गर्नै पर्दछ । महामारीका कारण विश्वको शेयर बजारमा कमी आएको र नेपालमा लकडाउन सँगसँगै नेपालको शेयर बजार पनि बन्द नै छ ।

यस बजारमा महामारीका कारणले आउन सक्ने मन्दी र मूल्यको कमीले चुनौती र अवसरहरूको सिर्जना गर्दैछ । कतिपय माथि उल्लेख गरिएका व्यवसायहरूमा आधारित सेयरहरू अध्ययन गरि निवेश गर्ने वा विनिवेश गर्ने निर्णयहरू लगानीकर्ताहरूले गर्नु पर्नेछ । सरकारले देशको पूँजी बजारलाई जोगाउनका लागि आवश्यक लगानी र योजनाहरू पनि प्रयोगमा ल्याउनु अत्यावश्यक छ ।

रोजगारीः

नेपालको लगभग ६० लाख जनसंख्या वैदेशिक रोजगारीमा रहेको तथ्यांक छ । यो महामारीको कारण रोजगारी गुमाउँदा लार्खौंको संख्यामा विदेशिएका नेपालीहरू स्वदेश फर्कने अवस्था रहेको छ । देशमा पनि विभिन्न रोजगारीहरूमा कमी आउँदा ठूलो संख्यामा बेरोजगारीको सिर्जना हुँदैछ । यो अवस्थालाई मध्यनजर गर्दै र  महामारीबाट बच्दै विभिन्न क्षेत्रमा रोजगारीहरूको सिर्जना गर्नु पर्ने आवश्यकता छ ।

आउँदो बजेटः

बजेटको तर्जुमा भइरहेको सन्दर्भमा देशमा आउन सक्ने यस्ता विभिन्न आर्थिक समस्याहरू समाधान गर्न आवश्यक व्यवस्था सहितको बजेट बनाइनु अत्यन्त आवश्यक छ । विभिन्न सम्पन्न मुलुकहरूले आफ्ना नागरिकहरूलाई सम्भावित आर्थिक मन्दी र आर्थिक असुरक्षाबाट बचाउन विभिन्न राहत र स्टिमुलस प्याकेजहरू दिने घोषणाहरू गर्दै ती सुविधाहरू प्रदान गर्दै छन् ।

नेपालले त्यस्तै राहतका योजनाहरू दिन नसकेता पनि रोजगारीमा वृद्धि हुने, आम्दानी हुने, उद्योगहरूको वर्गीकरण गरि क्रमशः आर्थिक गतिविधिहरू गर्ने वातावरण बनाउन पहल गर्नु पर्दछ । ऋणीहरूलाई महामारीको प्रभावबाट बाहिर आउन नयाँ ऋणको आवश्यकता पर्नेहुन्छ । त्यसको लागि सहुलियत कर्जा र कर्जा छुट, ढिला भुक्तानीका सुविधाहरू, कर्जाका शर्तहरूमा पुनरावलोकन जस्ता औजारहरूको पनि प्रयोग गर्ने व्यवस्थाहरू हुनु पर्दछ ।

नेपाल कृषि प्रधान देश भएको र यहाँ प्रत्यक्ष विदेशी लगानीहरू त्यति नभएकोले अन्य देशहरूमा भन्दा अप्रत्यक्ष रुपमा नेपाललाई यस महामारीको असर कम गर्दै आत्मनिर्भर अर्थतन्त्र निर्माणको लागि योजनाहरू आउनु पर्दछ । कमसेकम एउटा परिवारको अर्थतन्त्र चलाउन आवश्यक आम्दानी गर्न सकिने बातावरण बनाइनु पर्दछ भने समग्र देशको अर्थतन्त्रको लागि आवश्यक थप आर्थिक गतिविधिहरू हुने नीतिहरूको अवलम्वन गरिनु पर्दछ । यस महामारीबाट पर्ने नकारात्मक आर्थिक प्रभावहरू कम गर्न चरणबद्ध रुपमा लागु गर्ने नीतिहरू आवश्यक छन् ।

दिनदिनै संक्रमितहरूको संख्यामा वृद्धि हुँदै जानु र मृत्युको समेत समाचारहरू आउनाले जनमानसलाई स्वास्थ्यसँग अझ बढी संवेदनशील र त्रसित बनाएको छ । देशका उद्योग व्यवसाय बन्द भई आर्थिक क्रियाकलापहरू कम भई राजस्व, रेमिटेन्स र अन्य आम्दानीमा कमी हुँदा आर्थिक स्रोतहरू क्रमशः कम हुँदै गएको छ ।

महामारीको रोकथामका लागि आवश्यक स्वास्थ्य सामाग्रीहरूको उपलब्धता, जनशक्ति, संसाधनहरूको उपलब्धता र सही नीतिको कार्यान्वयनले मात्र यसबाट बच्न र क्षति न्यूनीकरण गर्न सकिने भएकोले आगामी दिनहरू नेपालका लागि चुनौतिपूर्ण रहेका छन् ।

अवसरहरूः    

अवसरको कुरा गर्दा डिजिटल बैंकिङ, अनलाइन व्यापार गर्ने कम्पनी, सेवा प्रदायक व्यवसाय, कन्सल्टेन्सी, खाद्य तथा पेय पदार्थहरू, इनर्जी सेक्टर, निर्माण, कृषिजन्य उद्योगहरू लगायतमा सकारात्मक असर वा व्यवसाय विकास गर्ने अवसर आउँदै छ ।

महामारीका कारण यातायात, उद्योगहरू बन्द हुँदा बातावरणमा धेरै सकारात्मक असर परेर प्रदुषणको स्तरमा कमी आई कतिपय प्रदुषित शहरहरूको वायुको स्तर स्वस्थ्यबद्र्धक हुँदै गएको छ । यस महामारी पश्चातको दुनियाँ फरक ढंगले बाँच्नु पर्ने हुँदैछ ।

भौतिक रुपमा सम्पर्क क्रमशः कम गर्दै डिजिटल रुपमा भेटघाट गर्ने प्रचलन आउँछ । यस्ता प्रविधिहरूमा विकास भई जूम जस्ता भर्चुअल मिटिंग गर्ने प्रविधिहरू, अमेजन जस्ता डिजिटल बजारहरू, पे पाल, अलिबाबा जस्ता डिजिटल पेयमेन्ट सिस्टमहरू र नेपालका लागि पेयमेन्ट गेट वे को विकास हुनेछ ।

महामारीको असर कम भए पछि नीजि सवारी साधनहरूको प्रयोगमा ह्वाट्टै वृद्धि हुनेछ । औषधि उपचारहरूको लागि टेलि मेडिसिनका प्रविधिहरूको अझ विकास र प्रयोग बढ्दै जाने छ । अन्तत्वगत्व संसारमा भएका समस्त मानवहरू एउटै हुन्, धनी गरिबको फरक क्रमशः कमी हुने र मानवीय संवेदनामा वृद्धि हुनेछ ।

स्वास्थ्य प्रति अझ बढि संवेदनशील र सतर्क भई स्वस्थकर जीवनशैली अपनाउने जीवन पद्दतीहरूको प्रयोग बढ्दै जानेछ । यस महामारीले इतिहासमा पहिले नभएको सम्पत्तिको हस्तान्तरण हुने र यस्तो विषम समयमा सही निर्णय गर्नसक्नेलाई धनी र नसक्नेलाई गरिब बनाइ दिने अवस्था ल्याइदिएको छ । मन्दीका कारणले विभिन्न लगानीका साधन, सम्पत्तिहरूको मूल्यमा कमी आउँदा त्यस्ता सम्पत्तिको थप वृद्धि गर्न चाहनेहरूका लागि अवसरहरू आउने छन् ।

आर्थिक पाटोलाई विश्लेषण गर्दै गर्दा स्वास्थ्यको पाटो सबैभन्दा पहिलो प्राथमिकतामा राख्नु पर्ने अवस्था छ । स्वास्थ्यमा आएको अहिलेको आपतकाललाई सकेसम्म छिटो समाधान गरेर, स्वास्थ्यलाई बचाएर मात्र आर्थिक लगायत जीवनका अन्य पाटाहरूमा ध्यान दिनु पर्ने आजको समयको आवश्यकता छ । यस अर्थमा आगामी दिनहरू अत्यन्तै चुनौतीपूर्ण रहेका छन् ।

 (लेखक शाक्य नेपाल सुनचाँदी व्यवसायी महासंघको वरिष्ठ उपाध्यक्ष हुन् ।)

 

प्रतिक्रिया दिनुहोस