aarthiknews.com बुधबार, २४ असार २०७७   Wednesday, 08 July, 2020
 
Citizen life

नेपालमा कोरोना संक्रमित निको हुने दर नबढेकोप्रति विज्ञको चिन्ता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २८ बैशाख २०७७
Sunrise
HIb
नेपालमा कोरोना संक्रमित निको हुने दर नबढेकोप्रति विज्ञको चिन्ता
LBEF

कोरोना भाइरसको संक्रमणबाट हालसम्म कसैको मृत्यु नभए पनि निको हुने दर पनि बढ्न सकेको छैन । चिकित्सकहरूका अनुसार कोरोना संक्रमितमा कुनै प्रकारको उपचार गर्नुपर्ने अवस्थासमेत आएको छैन ।

स्वास्थ्य मन्त्रालयका अनुसार शनिबार रातिसम्म मुलुकभर ११० जना संक्रमित देखिएकोमा ३१ जना निको भएर अस्पतालबाट डिस्चार्ज भइसकेका छन् । ‘संक्रमण बढ्दै गएर सय नाघिसकेको छ तर भगवान् भरोसा नै भनौं कसैको मृत्यु भएको छैन,’ जनस्वास्थ्यविद् डा. राजेन्द्र बीसी भन्छन्, ‘हामीकहाँ २८ प्रतिशत मात्र बिरामी निको भएका छन्, यो धेरै कम हो । यसलाई न्यूनतम ५० प्रतिशतसम्म पुर्‍याउनुपर्छ ।’

दिनहुँ नयाँ संक्रमित थपिने र उपचाररत संक्रमितहरू लामो समयसम्म अस्पताल बस्नुपर्दा निको हुने दरमा अझै कमी आउन सक्छ । विश्वमै चीनमा कोरोना संक्रमितको निको हुने दर सबैभन्दा राम्रो देखिएको छ । त्यहाँ झन्डै ८४ हजार संक्रमितमध्ये ९५ प्रतिशत निको भएका छन् । डा. बीसी भन्छन्, ‘हामीले कोभिड–१९ संक्रमित निको हुने दर बढाउनैपर्छ, यसका लागि हालको उपचारको मोडालिटी (प्रणाली) परिवर्तन गर्नुपर्छ ।’

चीनलगायत विश्वका अन्य भागमा कोभिड–१९ बिरामीहरूलाई प्रयोगात्मक, आधुनिक, वैकल्पिकलगायत विभिन्न प्रकारको उपचार प्रक्रिया शुरू गरेको छ । नेपालमा भने ज्वरोका लागि सिटामोल र तत्काल देखिएको समस्याको लाक्षणिक उपचारबाहेक अन्य कुनै प्रयास नगरिएको उनको भनाइ छ । उनले हाल डिस्चार्ज भएका संक्रमितहरू आफैं निको भएको दाबी गरे ।

कोभिड–१९ का संक्रमितबाट अन्य व्यक्तिमा संक्रमण नफैलियोस् भनेर अस्पतालमा राख्नुबाहेक हालसम्म कुनै सघन उपचार आवश्यक नपरेको वीरगन्जस्थित नारायणी अस्पतालका डा. निरज सिंह बताउँछन् । उनका अनुसार नारायणी अस्पतालमा हालसम्म भर्ना गरिएका २८ जनालाई कुनै उपचार आवश्यक देखिएको छैन । संक्रमितमा सामान्य लक्षणबाहेक अन्य जटिलता नदेखिएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख कन्सल्टेन्ट डा. अनुप बास्तोला बताउँछन् ।

‘हामीकहाँ तीन जना संक्रमित भर्ना भए, सामान्य लक्षणबाहेक अन्य जटिलता देखिएन,’ उनले भने, ‘ती संक्रमितलाई ज्वरोका लागि पारासिटामोल, खोकी, घाँटी खसखस गर्दा एन्टिहिस्टामिन र चिन्ता/व्याकुलता बढ्दा तनाव कम गर्ने औषधि मात्रै दिइएको थियो ।’

'हालसम्म रोग प्रतिरोधी क्षमता भएकालाई मात्रै संक्रमण’

हालसम्म मुलुकमा कोभिड–१९ भाइरससँग लड्न सक्ने क्षमता भएकालाई मात्र संक्रमण देखिएको र यसबाट कसैको मृत्यु नभएकाले आत्तिने अवस्था नआएको डा. बीसीको भनाइ छ । ‘हामीले कम्तीमा ५० प्रतिशतसम्म निको हुने दरलाई बढायौं भने भविष्यमा यो रोगले हुन सक्ने सम्भावित मृत्युदर कम हुन्छ,’ उनले भने ।

रोगसँग लड्ने क्षमता कम भएका (दिर्घरागी, वृद्घ) व्यक्तिहरूमा संक्रमण चुलिए मुलुकको टाउको दुखाइ हुने उनले जनाए । ‘हामीले चीनको उपचार प्रणाली अपनाएर भविष्यमा हुन सक्ने मृत्युलगायत समस्याबाट जोगिनुपर्छ,’ उनको सुझाव छ ।

समयमै लकडाउन शुरू भएकाले संक्रमण समुदायमा फैलिन नपाउँदा कमजोर वृद्घ, दिर्घरोगी पीडित हुन नपरेको कोसी अस्पतालकी मेडिकल सुपरिन्टेन्डेन्ट एवं जनस्वास्थ्यविद् डा. संगीता मिश्रको बुझाइ छ । भन्छिन्, ‘उस्तैउस्तै भूगोल, संस्कृति, जीनसमेत भएको भारतमा देखिएको मृत्यु र विदेशमा भएका नेपालीहरूको मृत्यु हाम्रा लागि चेतावनी नै हो ।’

विश्वभर केही समययता आइसोलेसनमा मृत्यु भएकाहरूको राम्ररी निगरानी हुनुपर्नेसमेत विज्ञहरूले औंल्याएका छन् । उनीहरूले अब कोभिड–१९ को प्रयोगात्मक उपचारसमेत शुरू गर्ने समय आइसकेको डा. बास्तोलाले जनाए । ‘एन्टिभाइरल औषधि ‘रेमडेसिविर’ कोभिड–१९ विरुद्घ सबैभन्दा राम्रो ‘एक्सपेरिमेन्टल’ औषधि हो,’ उनले भने, ‘यसबाहेक प्लाज्मा थेरापी, परम्परागत चिनियाँ, नेपाली जैविक औषधिको समेत उपयोग गर्न सकिन्छ ।’

हालसम्म कोभिड–१९ संक्रमितहरूमा निमोनिया सबैभन्दा धेरैमा देखिएको छ । ‘निमोनिया भएमा अक्सिजन थेरापी सबैभन्दा महत्त्वपूर्ण हुन्छ, यसैले मुलुकमा सबै ठाउँमा अक्सिजन उपलब्ध हुनुपर्छ,’ डा. बास्तोला भन्छन्, ‘योसँगै हालसम्म उपलब्ध विज्ञानसम्मत वैकल्पिक उपचारमा समेत ध्यान दिनुपर्छ ।’

उनका अनुसार कोरोनाका करिब १४ प्रतिशत संक्रमितलाई अक्सिजनले जोगाउने र ५ प्रतिशतलाई भेन्टिलेटर चाहिन सक्छ । संक्रमितलाई घोप्टो पारेर राख्दा श्वास फेर्न सहज हुने डा. बास्तोलाले जनाए । ‘हामी अक्सिजन थेरापीमा केन्द्रित हुनुपर्छ, अक्सिजन दिएर पनि केही प्रतिशत बिरामीको ज्यान जोगाउन सक्छौं,’ उनले भने । यस्तो उपचार प्रक्रियाले भविष्यमा देखिन सक्ने सम्भावित मृत्युदर कम गर्नुका साथै संक्रमित निको हुने समयमा समेत कमी आउनेछ । कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस