aarthiknews.com मंगलबार, ०६ असोज २०७७   Tuesday, 22 September, 2020
 
Bajaj_Bike
Tasen

भक्तपुरकै काउली र बन्दा बिकेन, बोटमै काउली कालो भयो

  • मेनुका कार्की
    मेनुका कार्की
  • शनिबार, २७ बैशाख २०७७
भक्तपुरकै काउली र बन्दा बिकेन, बोटमै काउली कालो भयो
LBEF

काठमाडौं । खेतमा लगाएको काउली कुहियो, अहिले तेल किनेर खाने पैसा समेत छैन । १० जनाको परिवार गुजारा गर्न  निकै गाह्रो भएको छ । लकडाउन नभएको भए अहिले धमाधम काउली बेचेर डेढ दुई लाख पैसा भित्रिन्थ्यो,’ भक्तपुर, सूर्य विनायक नगरपालिका वडा नं.१० का किसान कृष्णबहादुर कार्कीले भने । सवारी साधन र पास नहुँदा बजारमा तरकारी पुर्याउन सकिएन । बोटमै काउली कालो भै सक्यो । तीन रोपनीमा लगाएको काउलीले बजार त पाएन पाएन मौसमले समेत साथ नदिँदा सुकाएर राखेको काउली समेत गहनाएर घरमा बस्न नहुने भयो । काउली कुहिएको गन्धले झिंगा भन्किएर घरमा बस्नै नसक्ने मल खाल्डोमा हालिदिए ।  

सुकाएको काउली वर्षातका कारण कुहिन थालेपछि मल खाल्डोमा फालिदिए । हिजो (शुक्रबार) पनि करिब २ सय किलो जति काउली सुकाएको छु । बजार नपाउँदा काउली बाँकी काउली खेतमै जोत्नु पर्ने अवस्था आएको कृषक कार्कीले बताए । आम्दानीको स्रोत बन्द भएको छ ।
५ रोपनी जमिनमा लगाएको बन्दा कुहिने भयो । व्यापारी लिन आएनन् । कृषकले बजारसम्म लैजान सक्ने अवस्था छैन । डेढ/ दुई सय काउली पनि कुहिएर गयो । अब बन्दा पनि कुहिने अवस्थामा पुगेको छ, भक्तपुर चाँगुनारायण नगरपालिका झौखेलका कृषक टेक बहादुर लाखाजूले भने ।

गत वर्षसम्म २० रोपनी जमिनमा काउली बन्दा, फर्सीलगायतका तरकारी लगाउँदै आएको थिए । यस वर्ष ५ रोपनीमामात्रै काउली र बन्दा लगाएको हो । कोभिड–१९ का कारण भएको लकडाउनले बजारसम्म तरकारी पुर्याउन सकिएन,’ उनले दुखेसो पोखे ‘अब तरकारी नलगाउने सोचमा पुगेको छु ।’ तरकारी लगाएर अब कृषकले जीविकोपार्जन गर्न सक्ने दिन रहेन ।

प्रति बेर्ना १ रुपैयाँ तिरेर लगाएको बन्द १० रुपैयाँ किलोमा दिन्छु भनेर मूल्य नै तोक्दा पनि लिन आएनन् । धेरै व्यवसायीलाई दैनिक ताकेता गरिरहेको छु । तर, अहिलेसम्म कोही पनि लिन आउनु भएको छैनन् । गत १८ गतेदेखि फेसबुक मै राखेर बन्दा काउली सस्तो मूल्यमा दिन्छु भनेर सम्पर्क गर्न समेत भनेको छु ।

अहिले करिब ३५ सय किलोजति बन्दा खेतमा छ । बजार नपाउँदा खेतमै जोत्नु पर्ने अवस्था आएको छ,’ कृषक लाखाजूले भने ‘अब व्यवसायबाटै पलायन हुने अवस्था आएको छ । तरकारी उत्पादन गरेर दैनिक गुजारा गर्दै आएका कृषकहरू अहिले ठूलो पीडामा छन् ।

यी त प्रतिनिधि पात्र मात्रै हुन् लकडाउनका कारण खेतबारीमा नै तरकारी तथा फलफूल कुहिएर जोत्ने अवस्थामा पुगेका कृषक । भक्तपुरमै हजारौं कृषकको अवस्था त्यस्तै छ । भक्तपुरमा जस्तै देशभर लाखौं कृषक छन्, उनीहरूले उत्पादन गरेको तरकारी तथा फलफूल बजारसम्म पुग्न सकिरहेको छैनन् ।

काठमाडौंसँगै जोडिएको जिल्लाका कृषकले त लकडाउनका कारण सवारी साधनको पास नपाउँदा तथा सवारी साधन नहुँदा नजिकैको बजारसम्म तरकारी पुर्याउन सकेका छैनन् भने अन्यको अवस्था कस्तो होला ? त्यो हामी आफै आकलन गर्न सक्छौं । कृषकको मेहनत एकातिर कुहिएर माटोमा मिलेको छ भने अर्कोतिर आम उपभोक्ता अहिले पनि ४०÷५० रुपैयाँ प्रति किलो मूल्य तिरेर तरकारी किन्न बाध्य छन् ।

साना स्केलमा तरकारी खेती गर्ने कृषक हुन् या ठूला स्केलमा गर्ने कृषक सबैको समस्या उस्तै छ । बजारसम्म कृषक जान सक्दैनन् । बिचौलियाको भरमा आफ्नो उत्पादन छोड्नु पर्छ । सो कारण कृषकले एकातिर उचित मूल्य पाएका छैनन् भने अर्कोतिर तरकारी बिक्री गरेको पैसा पाउन १५÷२० दिन कुर्नपर्छ । कृषकको सिधै बजारसम्म पहुँच नहुँदा उत्पादन गर्ने कृषक र आम उपभोक्ता सधै मारमा छन् ।  ‘पछिल्ला वर्षमा कृषकको होइन, बिचौलियाको दिन आएको छ, कृषकलाई दुःख धेरै भयो, दुःख अनुसारको प्रतिफल आएन ।

अर्कोतिर तरकारीलगाउँदा मल र गुणस्तरीय बिउको सहज छैन, लाखाजू भने ‘ अब त तरकारी खेती नगर्ने सोचमा पुगे ।’ २०५५ सालदेखि शुरु गरेको तरकारी खेती २०७२ को भूकम्पका बेला करिब ५ लाख जतिको घाटा भयो । अहिले त थोरै मात्र बिक्री गर्न सक्ने अवस्था पनि रहेन राष्ट्रिय कृषक समूह महासंघका अध्यक्ष समेत रहेका लाखाजूले भने ।

‘के के मात्रै गरिन, अब नगरेको व्यवसाय भन्नु पर्दा जुत्ता सिलाउनमात्रै बाँकी छ । अहिले पनि हाँस, टर्की, राँगालगायतका पशु पन्छीपालन गरिरहेको छु । लाखाजू दुध बिक्री गर्ने प्रयोजनले सातवटा गाई समेत पाले । त्यसै बस्नुभन्दा केही गरौं भनेर तरकारी खेती शुरु गरेका थिए । दिनमै ३÷४ सय किलो तरकारी बिक्री हुन्थ्यो । अहिले ठप्प भएको उनले दुखेसो पोखे ।

कोही कोठामा बस्ने तथा अन्य कसैले खान नपाउनु भएको छ भने तरकारी लिन आउन समेत भनेको छु,’ लाखाजूले  भने । ‘बिना लगानी नै नाफा कमाउने धेरै भए, १० जनाको परिवार भएका लाखाजूले आफू मेहेनत गरेर त्यहाँ पुगेको र भगवानले हेरेको  बताए ।

सूर्यविनायक वडा नम्बर १० का कृषक कार्कीको पीडा अझ बढी छ । १० जनाको परिवार पाल्न उनलाई धौ धौ छ । जेठो छोराको वाइन शप लकडाउका कारण बन्द छ । कान्छो छोरा निजी विद्यालयमा अध्यापन गराउथे ।

बन्दका कारण तलब दिएको छैन,’ कार्कीले भने ‘अहिले दाल, नुन, तेल, जिरा समेत किनेर खान नसक्ने अवस्थामा हामी पुगेका छौं ।’ कृषकको पीडा कसले बुझ्छ ? पुख्यौली पेश गर्दै आएका कार्कीले भने ‘सरकारले कुनै सहयोग गरेको छैन । बाली लगाउने बेला भयो । मल छैन, धानको बिउ छैन । हामी किसानको पीडा जहिले पनि उस्तै ।’ हामीले दुःख कहिलेसम्म पाउने ?  २०४८ सालमा कृषि उपज बिक्री गरेर कार्कीले तीन तले घर बनाएका थिए ।

कार्की र लाखाजूजस्ता भक्तपुरमा मात्रै हजारौं कृषक छन् । उनीहरूको पीडा पनि उनीहरूको भन्दा कम छैन । एकातिर कृषक उत्पादित तरकारी बिक्री गर्न नपाएर पीडामा डुबेका छन् भने अर्कोतिर भारतबाट यो कोरोनाको महामारीमा पनि टनका टन तरकारी नेपाल भित्रिरहेको छ ।
यस्तो अवस्थामा आफै देशका उत्पादित तरकारीलाई बजारसम्म पुर्याउने व्यवस्था सरकरी संयन्त्रले गर्न सकेको भए एकातिर कृषकको परिश्रम माटोमा मिल्ने थिएन भने अर्कोतिर तरकारी किन्न जाँदा समेत आम उपभोक्ता संक्रमणको भयबाट मुक्त हुने थिए । आयातित तरकारीभन्दा स्थानीय तरकारी संक्रमणका हिसावले कम जोखिम मान्न सकिन्छ ।  

 

 

 

प्रतिक्रिया दिनुहोस