aarthiknews.com बुधबार, २४ असार २०७७   Wednesday, 08 July, 2020
 
Citizen life

कस्तो होला ४६ दिनमा शेयर बजार खुलेपछि ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २५ बैशाख २०७७
Sunrise
HIb
कस्तो होला ४६ दिनमा शेयर बजार खुलेपछि ?
LBEF

काठमाडौँ । बुधवारको मन्त्रीपरिषद् बैठकले शेयर बजार सञ्चालन गर्नै पर्ने सेवाको सूचीमा राखेको छ । यो निर्णयसँगै आउँदो आइतबारदेखि नेपालको पुँजी बजार (शेयर कारोबार)लाई खोल्ने आधार निर्माण भएको छ । 

सरकारले लकडाउनको घोषणा गरेपछि चैत ११ गते पनि धितो पत्र बोर्ड र नेपाल स्टक एक्सचेन्ज (नेप्से)बिचमा सहमति र सल्लाह बिना नै एकाएक सेयर बजार बन्द गरिएको थियो ।

बुँदा न. ४३ को व्याख्या 

बुधवारको मन्त्रिपरिषद्को बैठकले २६ गतेदेखि सञ्चालनमा आउने ४४ वटा उद्योगहरूको सूचीमध्ये ४३ नम्बरको बुँदाले शेयर कारोबार सञ्चालनका लागि बाटो खोलेको नेप्सेका प्रमुख चन्द्र सिंह साउद बताउँछन् । मन्त्रिपरिषद्को बैठकले गरेको निर्णय बमोजिम ४३ नम्बरको बुँदामा विशेष आर्थिक क्षेत्रमा सञ्चालित सबै खाले उद्योग खुला गर्ने भनिएको छ । त्यसले पुँजी बजारलाई समेत समेट्ने व्याख्या उनले गरेका हुन् ।

क्याबिनेट निर्णयसँगै बजार सञ्चालक नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले लकडाउन जेठ ५ गतेसम्म लम्बिए पनि बजार खुल्ने जानकारी दिएको छ । नेप्सेका प्रमुख चन्द्र सिंह साउद अहिले नियामक निकाय र सेयर बजारसँग सम्बन्धित अन्य पक्षहरूसँग कसरी अघि बढ्ने भन्ने छलफलमा छन् ।

कता जाला अबको बजार ?

आइतबारदेखि सेयर कारोबार सुरु भएपछि बजार कता जान्छ घट्छ भन्ने चिन्तामा अधिकांश लगानीकर्ता छन् । त्यसैले अब कति अङ्कले घट्ला ? कुन बिन्दुमा आएर नेप्से परिसूचक अडिएला भन्ने अनुमान समेत सुरु भएको छ ।

तर,नेपाली पुँजी बजारका जानकारहरू भन्छन्, बजार बन्द गर्नै पर्ने थिएन र अहिले नै पनि खोल्न ढिला भइसक्यो । उनीहरू बजार खोल्दा वित्तीय क्षेत्रमा तरलताको आपूर्ति हुने बताउँछन् । बजार धेरै घट्छ भन्ने आधार नरहेको उनोहरुको तर्क छ । बन्दको नाममा बजारलाई बन्दी बनाउनु ठिक नभएको लगानीकर्ता बताउँछन् ।

त्यसैले बजारलाई माग र आपूर्तिको नियममा आफै चल्न स्वतन्त्र रूपले छाड्नुपर्ने शेयर लगानीकर्ता जीवन बस्नेत बताउँछन् । उनी भन्छन्, ‘अहिले खरिद गर्न ठिक लाग्नेले खरिद गर्छन्, बेच्न ठिक लाग्नेले बेच्छन् । बजारमा खरिद विक्रीको प्रक्रियालाई चलायमान बनाउनु पर्छ । बाह्य अतिक्रमण र नियन्त्रण ठिक होइन ।’

शेयर बजारका कतिपय विश्लेषकहरू नेप्से परिसूचक एक हजारको हाराहारीमा आउन सक्ने अनुमान गर्छन् । कहिले बजारमा ५/६ सयको नै उतार चढाव हुने समेत अनुमान लगाइरहेका छन् ।

धेरैजसो लगानीकर्ताहरू नेपालको बजार धेरै तल झर्छ भन्नेमा विश्वास गरिरहेका छैनन् । बरु, हरेक सङ्कटपछि निकै सक्रिय बन्ने र परिसूचक माथि उक्लने अनौठो चरित्र नेपाली पुजी बजारमा देखिएको र त्यो यस पटक समेत कायम रहने उनीहरू विश्वस्त देखिन्छन् ।

इतिहास भन्छ- बजार घट्दैन  

धेरैले अब बजार ठुलो विन्दुले घट्ने अडकल गरिरहेका छन् तर नेपालको शेयर बजारको इतिहास हेर्दा त्यस्तो देखिँदैन । बजारमा सबैभन्दा भयावह स्थिति आएको बेलामा कुनै पनि विपद् देखिएको थिएन । २०६५ सालतिर बजार ५ सय अङ्कबाट झरेर २९२ अङ्कमा आउँदा देशमा वा विश्वमा कुनै पनि महामारी वा विपद्को अवस्था थिएन ।

नेपालको शेयर बजार ४४ दिन बन्द हुनुपूर्वको एक महिनाभित्र धेरै पटक १५ सयमाथिको बिन्दु र न्यून विन्दु ११ सय २ सम्म झरेर आइ कारोबार भएको थियो । चैत ११ गते बजार १२ सय ५१ मा कारोबार भएर बन्द भएको थियो । 

त्यस्तै, विपद् लगत्तै नेपालको पुँजी बजारले उचाइ लिएको इतिहास हामीसँग छ । २०५० जेठ २५ गतेबाट सुरु भएको शेयर बजार २०६४ सालसम्म त ओपन क्राइ प्रणालीबाट नै चल्यो । त्यसमा पनि २०५७ सालमा माओवादी सशस्त्र युद्ध चरम अवस्थामा पुगेका बेलाम नेपालको शेयर बजारका लगानीकर्ताले मनग्यै कमाइरहेको थिए । 

२०७२ सालको महाभूकम्पपछि पनि शेयर बजार हरियालीबाट सुरु भएको थियो । कोरोना महामारी सुरु भइरहेका बेला विश्व शेयर बजारमा महामन्दी सुरु भइसकेको थियो तर नेपालमा भने दैनिक नयाँ नयाँ रेकर्डका साथ शेयर बजार उचाइमा जाँदै थियो ।
कोरोना महामारीका बेलामा पनि विश्वका ठुला शेयर बजारहरू बन्द भएनन्  र कारोबार निरन्तर गरिहरेका छन् । त्यहाँको बजार अहिले कोल्टे फेर्ने अवस्थामा पुगिसक्यो ।

अमेरिका जहाँ कोरोनाका कारण मृत्यु हुनेहरूको सख्या सर्वाधिक छ त्यहाँको शेयर बजार ४२ हजार अङ्कबाट ३१ हजार आएर पुन फर्किसकेको छ । भारत जुन नेपालसँग धेरै कुराले मेल खान्छ त्यहाँपनि १८ हजारको न्यूनतम विन्दुबाट फर्केर २३ हजार पुगिसकेको छ ।

बजार बन्द गर्दा खुसी थिएन नेप्से 

गत चैत १० गतेदेखि बन्द भएको बजार बन्द गर्न नहुने पक्षमा नेप्से रहेको थियो । बन्द भएपछि पनि नेप्सेले कुनै मोडालिटी तयार गरी कारोबार सुचारु गर्न बोर्डलाई पत्र लेखेको थियो । बोर्डले अनलाइन कारोबार प्रणालीलाई मात्र आधार बनाएर बजार खोल्दा सबै लगानीकर्ताको पहुँच नपुग्ने अवस्था भएको भन्दै नेप्सेको प्रस्ताव स्वीकृत गरेको थिएन ।

अब भने बजार सुचारु गर्ने पक्षमा बोर्ड पनि पुगेको छ । लकडाउन जारी रहेको अवस्थामा लगानीकर्ताहरू डिपी कार्यालय र बैङ्कमा जान पाउने व्यवस्था सरकारले मिलाउनुपर्ने तर्क बोर्डका अध्यक्ष भीष्मराज ढुङ्गानाको छ । 

बजार बन्द भएको ४४ दिन बितिसकेकोले यस क्षेत्रमा निर्भर भएका लगानीकर्ताहरू मारमा परेको भन्दै बजार खोल्नुपर्ने माग केही लगानीकर्ताले गर्दै आएका थिए । तर, कतिपय लगानीकर्ताहरू भने बजार खोल्न नहुने पक्षमा उभिएका छन् । कतै बजार अनियन्त्रित गतिमा ओरालो पो लाग्ने कोही भन्ने चिन्ता उनीहरूमा देखिन्छ ।

कोरोनाले भन्यो- प्रविधिमा जोड देऊ 

अनौपचारिक रूपमा नेपालको धितो पत्र बजारको इतिहास लामो भएपछि औपचारिक रूपमा बजार सुरु भएको करिब १४ वर्षपछि कम्प्युराइज प्रणालीमा शेयर बजारका लगानीकर्ताले कारोबार गर्न पाएका थिए । २०६७ सालदेखि शेयर बजारलाई पेपरलेस बनाउन लागिपरेको सीडिएस एण्ड क्लियरिंगले अहिलेसम्म पनि पूर्णरुपमा पेपरलेस बनाउन सकिरहेको छैन ।    

कारोबार प्रणालीमा बैङ्क इन्टिग्रेसन नभएको हुँदा खरिद गरेको शेयर बापतको रकम र विक्री गरेको शेयर स्वचालित रूपमा राफसाफ सदस्य (ब्रोकर) कोमा आउने व्यवस्था नभएको अवस्था छ । राफसाफ प्रक्रिया म्यानुअल रूपमा गर्नु पर्ने बाध्यकारी अवस्थाका कारण लकडाउनको अवस्थामा शेयर कारोबार तथा राफसाफ प्रकृय अवरुद्ध हुन पुगेको छ । पूर्ण स्वचालित कारोबार तथा राफसाफ प्रणाली नहुँदा नेपालको शेयर बजारको इतिहासमा यस भन्दा अगाडि २०७२ सालको महाभूकम्पको समयमा पनि बन्द हुन पुगेको थियो ।

अहिलेको कोभिड-१९ को सङ्क्रमण त्रासका कारण लामो अवधिसम्म शेयर बजार बन्द गर्नुपर्ने बाध्यकारी अवस्थाको सृजना भएको छ । त्यसैले यो महामारीले नेपाली पुँजी बजारलाई समेत चाँडो प्रविधि मैत्री बन्न र पूर्णपुरमा स्वचालित बन्न प्रेरित गरेको छ ।

सेबोन नै यो स्विकार्छ  

करिब १७ अर्वको चलायमान पुँजी रहेको बजार बन्द कोठामा बन्दी बनिरहेको छ । हजारौँ लगानीकर्ताहरूको लगानी बन्दी बनेको छ । महामारीबाट महासङ्कटमा रहेका देशहरूमा समेत सञ्चालनमा रहेको यो बजार नेपालमा बन्दी हुनुमा सरकारी उदासीनता रहेको प्रमाणित भएको शेयर बजारका विश्लेषक डा. गोपाल भट्ट बताउँछन् । 

उनले सरकारले शेयर बजारलाई पुँजी निर्माणको औजारका रूपमा गणना नगरेको र बजार विकासमा नलागेका कारण विश्वभरि सञ्चालनमा रहेको बजार नेपालमा बन्दी बन्न परेको आरोप लगाए ।

२०६७ देखि पुँजी बजारको कारोबारदेखि सम्पूर्ण प्रक्रियालाई स्वचालित वा डिजिटल बनाउन भनेपनि अर्धडिजिटल मात्र भएको सेयर बजारको नियामक निकाय धितो पत्र बोर्डका अध्यक्ष नै स्विकार्छन् ।

उनले भने, अहिलेको अनलाइन प्रणाली अर्ध अनलाइन मात्र हो यसलाई पूर्ण अनलाइन प्रणालीमा लैजान बोर्डले बारम्बार निर्देशन दिएको उनले बताए । बोर्डले अर्ध अनलाइन भने पनि शेयर कारोबारको महत्पूर्ण पक्ष कारोबारको राफसाफ हो । अनलाइन प्रणाली सुरु गर्नलाई कारोबार प्रणालीमा बैङ्क इन्टिग्रेसन नहुँदा खरिद गरेको शेयर बापतको रकम र विक्री गरेको शेयर स्वचालित रूपमा राफसाफ सदस्य (ब्रोकर) कोमा आउने व्यवस्था नभएकाले यो बन्दाबन्दीमा शेयर कारोबार हुन नसकेको हो ।

राफसाफ प्रक्रिया भौतिक रूपमा गर्न बाध्यकारी अवस्थाका कारण लकडाउन पूर्वको करिब १९ करोड शेयर कारोबारको रकमको कारोबार तथा राफसाफ प्रक्रिया अवरुद्ध हुन पुगेको छ ।  पूर्ण स्वचालित कारोबार तथा राफसाफ प्रणाली नहुँदा नेपालको शेयर बजार बारम्बार बन्द हुँदै आएको छ ।
 

प्रतिक्रिया दिनुहोस