aarthiknews.com विहीबार, ०९ बैशाख २०७८   Thursday, 22 April, 2021
 
nmb
Esewa_Remit
Bajaj_Bike

रासायनिक उद्योगबाट ग्यास चुहिँदा भारतमा १३ जनाको ज्यान गयाे, सयाैं बेहाेस

  • बीबीसी
    बीबीसी
  • विहीबार, २५ बैशाख २०७७
Reliance life insurance
रासायनिक उद्योगबाट ग्यास चुहिँदा भारतमा १३ जनाको ज्यान गयाे, सयाैं बेहाेस
Jagadamba
LBEF

एजेन्सी । भारतको आन्ध्र प्रदेश राज्यस्थित विशाखापटनममा एउटा रासायनिक उद्योगमा ग्यास चुहिँदा कम्तीमा १३ जनाको ज्यान गएको बीबीसी हिन्दीले जनाएको छ ।

सबै आपतकालीन सेवा निकाय दुर्घटनास्थल पुगेको र ३०० भन्दा बढी मानिस अस्पतालमा भर्ना भएको बताइएको छ ।

प्रहरीले आसपासका इलाकाबाट सैयौँ मानिसलाई सुरक्षित स्थानमा लगिएको जनाएको छ ।

दुर्घटनाबाट प्रभावित धेरैले आँखा पोलेको र सास फेर्न गाह्रो भएको बताएका छन् ।

स्थानीय समय अनुसार बिहान ३ बजे एक पोलिमर फ्याक्ट्रीमा दुर्घटना भएको थियो ।

बीबीसी हिन्दीका अनुसार ८० जनाभन्दा बढीलाई भेन्टीलेटरमा राखिएको छ ।

स्टाइरिन ग्यास चुहावट
आन्ध्र प्रदेश प्रदूषण नियन्त्रण बोर्डका वरिष्ठ अधिकारी राजेन्द्र रेड्डीले बीबीसी तेलुगुका सतिश बल्लालाई बताएअनुसार चुहिएको ग्यास स्टाइरिन हो। यो ग्यास सामान्यत: रेफ्रिजरेटरमा राख्ने गरिन्छ।

कोरोनाभाइरस नियन्त्रण गर्न भन्दै लगाइएको लकडाउनका कारण २४ मार्चपछि पहिलो पटक यो उद्योग खोलिएका बेला दुर्घटना भएको जनाइएको छ ।

अधिकारीहरूले दुर्घटनाको कारण थाहा नभएको र अनुसन्धान भइरहेको बताएका छन् ।

ग्यास फैलिएपछि स्थानीय बासिन्दा आत्तिँदै घर बाहिर भागदौड गरेका थिए ।

ग्यासको मुश्लो तीन किलोमिटर वरिपरिसम्म फैलिएको छ भने अधिकारीहरूले प्रभावित क्षेत्रबाट मानिसहरूलाई उद्धार गरेर अन्यत्र लान थालेका छन् ।

एकजना वरिष्ठ जिल्ला अधिकारीले बीबीसीलाई बताए अनुसार ग्यास चुहावट रोक्ने प्रयत्न सफल हुन सकेको छैन। तर स्थानीय समाचार एजेन्सीहरूले अहिले परिस्थिति नियन्त्रणमा रहेको जनाएका छन् ।

अधिकारीहरूले मानिसहरूलाई भिजेको कपडाले आफ्नो अनुहार छोपेर आफूलाई सुरक्षित पार्न भनेका छन् ।

भारतमा पटक पटक यस किसिमका ग्यास चुहावटका दुर्घटना हुने गरेको इतिहास छ ।

सन् १९८४ मा भोपालमा भएको रासायनिक पदार्थ चुहावटका कारण हजारौँ मानिसको ज्यान गएको थियो। त्यसलाई संसारकै ठूलो औद्योगिक दुर्घटना भन्ने गरिएको छ ।

दुर्घटना भएको ३५ वर्षपछि पनि त्यहाँ अझै सोही दुर्घटनाको असरका कारण अपाङ्गता भएका बच्चाहरू जन्मिने गरेको पीडितहरूले बताउने गरेका छन् ।

स्टाइरिन भनेको के हो र त्यसले मान्छेलाई कस्तो असर गर्छ ?

  • स्टाइरिन ग्यास रङ्विहीन अथवा हल्का पहेँलो हुन्छ। यो प्रज्ज्वलनशील हुन्छ। पोलिस्टिरिन प्लास्टिक र रेजिन बनाउन प्रयोग गरिन्छ । यी तत्वबाट खानेकुरा राख्ने भाँडाहरू, सामान पोको पार्न आवश्यक प्लाष्टिक, कृत्रिम मार्बल, भुईँमा ओच्छ्याउने बस्तु, फर्निचर लगायत बनाउन सकिन्छ ।
  • स्टाइरिनयुक्त हावामा श्वासप्रश्वास गर्दा नाक र घाँटीमा खसखस हुने, खोकी लाग्ने दम आउने र फोक्सोमा पानी जम्न सक्छ ।
  • यदि स्टाइरिनको मात्रा बढी भयो भने 'स्टाइरिन बिमार' हुन सक्छ जसमा टाउको दुख्ने, वाकवाकी लाग्ने, वान्ता आउने, कमजोरी महसुस हुने थकाइ लाग्ने अचेत जस्तो हुने हुन्छ ।
  • केहीलाई मुटुको चालमा अनियमितता हुन सक्छ र बेहोस पनि हुन सक्छ ।
  • केही अध्ययनले स्टाइरिन र रक्त क्यान्सरबीच सम्बन्ध हुनसक्ने जनाएका छन् तर त्यसको प्रमाणित अध्ययन निष्कर्षमा पुगेको छैन ।

(सेन्टर फर रेडिएशन, केमिकल एन्ड इन्भार्नमेन्टल हजार्ड्स र यूएस इन्भार्नमेन्ट प्रोटेक्सन एजेन्सीमा उपलब्ध सामग्रीबाट सङ्कलित सूचना)
 

प्रतिक्रिया दिनुहोस