aarthiknews.com शुक्रबार, २६ असार २०७७   Friday, 10 July, 2020
 
Citizen life
परिसंघ

साना ऋणीलाई राहत प्याकेज, '१० लाख अमेरिकी डलरसम्म लगानीमा स्रोत नमाग'

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०९ बैशाख २०७७
Sunrise
HIb
साना ऋणीलाई राहत प्याकेज, '१० लाख अमेरिकी डलरसम्म लगानीमा स्रोत नमाग'
LBEF

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघले साना तथा मझौला उद्यम व्यवसाय (एसएमई) हरूलाई राहत प्याकेज घोषणा गरेको छ । परिसंघले वाणिज्य बैंकहरूले साना तथा मझौला उद्यम व्यवसाय (एसएमई) हरूलाई दिइएको १ करोड रुपैयाँसम्मको ऋणमा १ प्रतिशत व्याज घटाउने निर्णय गरेको हो ।

 यस्तै, विकास बैंकहरूले ४० लाख रुपैयाँसम्मको र फाइनान्स कम्पनीहरूले २० लाख रुपैयाँसम्मको एसएमई कर्जामा १ प्रतिशत व्याज घटाउने सहमति गरेका छन् । कोरोनाका कारण विषम परिस्थिति निम्तिएपछि बैंक तथा वित्तीय संस्थाहरुको चालु तथा संचालन खर्च उल्लेख्य रुपमा घटाउनको लागि विशेष पहल गर्न लागिएको परिसंघका उपाध्यक्ष तथा प्रवक्ता भोज बहादुर शाहद्वारा प्रेश विज्ञप्तीमा उल्लेख गरिएको छ ।  

‘कोभिड १९ संक्रमणले नेपालको वित्तीय क्षेत्र तथा समग्र अर्थतन्त्रमा परेको असर बारे अध्ययन गर्न विशेष अध्ययन कार्यदल गठन गरी सो कार्यदलले दिएको सुझावका आधारमा नियामक निकायसँग समन्वय गरी कार्यान्वयन गर्ने गराउने तयारी परिसंघले गरेको छ,’ उपाध्यक्ष शाहले भने ।

साथै महिलाले १५ लाख रुपैयाँसम्म निक्षेप जम्मा गर्दा त्यसमा सम्पत्ति शुद्धीकरणका व्यवस्था आकर्षित नहुने, केआईसी÷कर चुक्ता सम्बन्धि र सम्पत्तिको स्रोत खोज्ने अहिलेको व्यवस्था लागू नगर्न पनि नियामक निकायलाई सुझाव दिने भएको छ । यस्तो व्यवस्था कार्यान्वयन गर्दा देशभर छरिएर रहेको रकम बैंक तथा वित्तीय संस्था मार्फत परिचालन हुने छ ।

नेपाली नागरिक, गैरआवासीय नेपाली, विदेशी नागरिक तथा संस्थाहरूले विदेशबाट ५ लाख अमेरिकी डलरसम्म रकम ल्याएर नेपालका मर्चेन्ट बैंकिङ वा क्यापिटल मर्चेन्ट कम्पनी मार्फत नेपालको पुँजी बजारमा लगानी गर्न चाहेमा त्यसो गर्न पाउने नीतिगत व्यवस्था गर्नुपर्ने समेत परिसंघले माग गरेको छ  । यस्तो रकमको लकिङ पिरियड २ देखि ३ वर्ष कायम गरिनु उपयुक्त हुने उसको सुझाव छ ।

नेपालमा कसैले पनि ५० लाख अमेरिकी डलरसम्म बैंकिङ प्रणाली मार्फत रकम ल्याएर लगानी गर्न चाहेमा नेपाल राष्ट्र बैंक र उद्योग विभागको स्वीकृति चाहिने अहिलेको व्यवस्था हटाउने तथा यस्तो लगानीको बैंक तथा वित्तीय संस्थाहरुले रेकर्ड राख्ने र सोको जानकारी नियामक निकाय तथा सरोकारवाला निकायलाई दिने विज्ञप्तीमा भनिएको छ ।

गैरआवाशीय नेपालीले १० लाख अमेरिकी डलरसम्म नेपालमा लगानी गर्न ल्याउँदा नेपाल सरकारले त्यस्तो रकमको सम्पत्तिको स्रोत नखोज्ने व्यवस्था गर्ने गराउने उनीहरूको सुझाव छ । नेपाली नागरिकले नेपालको कृषि तथा अन्य उत्पादनशील क्षेत्रमा लगानी गर्दा त्यस्तो रकमको स्रोत नखोज्ने व्यवस्था गर्न पनि सुझाइएको छ ।

बैंक तथा वित्तीय संस्थाहरूबाट कर्जा सुविधा उपयोग गरेका नियमति ग्राहकहरूले  वैशाख मसान्तसम्ममा चुक्ता भुक्तान गर्नुपर्ने सम्पूर्ण मासिक तथा त्रैमासिक किस्ता, ब्याज लगायत तिर्न बाँकी रहेको वक्यौता साँवा तथा ब्याज भुक्तानी गरेमा साधारण ब्याजको १० प्रतिशतले हुन आउने रकम तथा जरिवाना ब्याजको शतप्रतिशत रकम छुट प्रदान गरिनेछ । यो सुविधा मासिक तथा त्रैमासिक किस्ताबन्दी कर्जाहरुका साथै चालु पुँजी कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका कर्जाहरुमा लगायत बैंकबाट प्रवाह भएका सम्पूर्ण कर्जाहरुमा लागू हुनेछ ।

कोरोना भाइरस (कोभिड १९) संक्रमणले महामारीको रुप लिएको छ । कोभिड १९ संक्रमण र सोही कारणले ज्यान गुमाउनेहरुको संख्या विश्वभर बढ्दो क्रममा छ ।  सोही कारण विश्व आर्थिक मन्दीमा प्रवेश गरेको छ । यसैको कारण उत्पन्न समस्या न्यूनिकरणका लागि विभिन्न देशले विभिन्न प्रकारका राहत कार्यक्रम ल्याएका छन् ।

नेपाल पनि कोभिड १९ महामारीको चपेटामा परेको छ । महामारीको कारण नेपालको आर्थिक, सामाजिक, साँस्कृतिकलगायत सबै क्षेत्रमा गम्भीर असर पुगेको छ । यही परिवेशमा बैंक तथा वित्तीय संस्था परिसंघ नेपालका अध्यक्ष पवन कुमार गोल्यानको अध्यक्षतामा बैंक तथा वित्तीय संस्थाहरुका अध्यक्ष तथा संचालकहरूको  बैैठक बसी अहिलेको ऐतिहासिक संकट सामना गर्नको लागि समग्र अर्थतन्त्र जोगाइ अगाडि बढ्नु पर्ने निष्कर्ष निकालेको छ ।

कोभिड १९ संक्रमण फैलनबाट रोक्न नेपाल सरकारले चैत ११ देखि देशभर लकडाउन घोषणा गरेको छ । लकडाउनका कारण उद्योग व्यवसाय बन्द छन् । मानिसहरु घरभित्रै बसेका छन् । उद्योग कलकारखना चल्न सकेका छैनन् । अर्थतन्त्रका सबै क्षेत्रमा गम्भीर असर परेको छ । यही परिवेशमा नेपालको वित्तीय क्षेत्रले गर्न प्रदान गर्न सक्ने राहत कार्यक्रमको घोषणा गर्दै र सरकारले गर्नुपर्ने सुधारका लागि विभिन्न नीतिगत परिवर्तन गर्न सुझाव दिने निर्णय गरिएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस