aarthiknews.com शनिबार, २७ असार २०७७   Saturday, 11 July, 2020
 
Citizen life
कोरोना प्रभाव

पर्यटन क्षेत्रले प्रतिफल दिन २ वर्ष लाग्ने, सर्वेक्षणको फर्म भर्न व्यवसायीले आनाकानी गरे

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०७ बैशाख २०७७
Sunrise
HIb
पर्यटन क्षेत्रले प्रतिफल दिन २ वर्ष लाग्ने,  सर्वेक्षणको फर्म भर्न व्यवसायीले आनाकानी गरे
डा.धनन्जय रेग्मी, दिपकराज जोशी, शन्तविर लामा, खुमबहादुर सुवेदी, विनायक शाह र विजय श्रेष्ठ
LBEF


काठमाडौं । पर्यटन उद्यमी तथा व्यवसायीहरूले पर्यटन क्षेत्र माथि उठन कम्तीमा पनि २ वर्ष लाग्ने बताएका छन् । अहिले कै अवस्थामा पनि अब पर्यटन क्षेत्रले प्रतिफल दिन  कम्तीमा पनि २ वर्ष लाग्ने सरोकारवालाहरूले बताएका हुन् । अहिले सबै उद्योग व्यवसाय ठप्प छन् । देश बन्दाबन्दीको यो अवस्थामा छ । यो सिजनमा त पर्यटक आउने कुरै भएन, अब अर्को सिजनमा पनि पर्यटक आउन सक्ने अवस्था नभएकोले अब पर्यटन उद्योग तङ्गिन अझै २ वर्ष लाग्ने उद्यमी व्यवसायी सहित सरकारी पक्षले समेत बताएका छन् । विभिन्न क्षेत्रका पर्यटन व्यवसायी तथा सरोकारवालाले आर्थिकन्युजसँगको कुराकानीमा आफ्ना पीडा र समस्या यसरी पोखेः

  • आय स्रोत शुन्य छ । जनवरीदेखि नै व्यवसाय घट्दै गएको थियो । कर्मचारीलाई तलब कसरी खुवाउने भन्ने चिन्तामा हामी डुबेका छौं । मानवीय समवेदनाको कुरा छ । हाम्रा कर्मचारीको छोराछोरीले भोकै बस्नु पर्ने दिन आयो भने के गर्ने ? ठूलो पीडा छ । हामीसँग यत्रो समय काम गरेका कर्मचारीको परिवार पाल्ने जिम्मा हाम्रो हो । अधिकांश होटलले कतैबाट जोरजाम गरेर तलब खुवाएपनि केहीले अझै तलब दिन सकेका छैनन् । तर, के गर्ने हामीसँग भए त दिने हो, नभए मासु काटेर दिन भएन, हानका उपाध्यक्ष विनायक शाहले भने ।
  • कोरोनाले पर्यटन क्षेत्र शुन्य भयो । मुख्य सिजनको बेला यसरी व्यवसाय ठप्प हुँदा के गर्नु कसो गर्नुजस्तो भएको छ । पर्यटन क्षेत्रमा कोरोनाको असर बढी परेकाले  यो वर्ष व्यवसायी र कामदार दुबैलाई अत्यन्त गाह्रो भएको छ । कामदारहरूलाई दैनिक जीवनयापन गर्न अप्ठ्यारो छ । यसमा पनि दैनिक ज्यालादारीमा काम गर्नेलाई अत्यन्त असहज भएको छ । वर्षदिन कुरेर मुखमा आएको गाँस गुम्दा पर्यटन उद्योगी पीडा छन्,’ एएमएका अध्यक्ष सन्तवीर लामाले भने ।
  • ‘अब लकडाउन सकिएपछि दैनिक ज्याला मजदुरी गर्नेलाई हिमाल तथा अन्य पर्यटकीय गन्तव्यको सर–सफाइ रुट मर्मत गर्ने काममा लगाउन सके राम्रो हुन्थ्यो । यसले दैनिक रोजीरोटी खोसिएकालाई राहत मिल्थ्यो । यस विषयमा पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, टान र एएमएबीच छलफल भएको छ,’ उनले भने ‘सकेसम्म दैनिक ज्यालादारी गर्ने १ हजार जनालाई यो सिजनमा सर–सफाइको काम दिलाउन पाए काम नभएको बेलामा राहत मिल्थ्यो ।’
  • ‘विश्वभरी फैलिएको महामारी कोभिड–१९ को वास्तविक क्षतिको अवस्था पत्ता लगाउन सरकारले श्वेतपत्र जारी गर्नुपर्छ । यसले अन्य क्षेत्रलाई पनि असर पारेपनि प्रत्यक्ष गोली  भने पर्यटन क्षेत्रलाई लागेको छ । यो गोलीले हाम्रो छातीमा नै हानेको छ । यस्तो अवस्थामा मुर्छित बनेको मानिसलाई बचाउने कि मार्ने भन्ने सवाल यहाँ उत्पन्न भएको छ । उपचार राम्रो पाए ऊ बाँच्छ, नत्र मर्छ । यसमा विवादै छैन । व्यवसायलाई बचाउने हो भने त्यहि अनुसारको राहत प्याकेज आवश्यक छ,’ टानका अध्यक्ष खुमबहादुर सुवेदीले भने ।
  • महामारीबाट भएको क्षति र सरकारको अवस्था कस्तो छ भन्ने थाहा पाउन अब अर्थ मन्त्रालयले स्वेतपत्र जारी गर्नुपर्छ । आर्थिक गतिविधिका अधिकांश क्षेत्रमा असर परेको छ । हालको वास्तविक अवस्थाका बारेमा आम नागरिकलाई जानकारी दिन भएपनि सरकारले स्वेतपत्र जारी गर्नु पर्छ । त्यसपछि मात्र हामी सबैले सरकारसँग राहतका लागि अपेक्षा गर्न सक्ने ठाउँ हुन्छ,’ उनले थपे ।
  • आम व्यवसायीबाट सरकारलाई यो गरिदेउ त्यो गरिदेउ भन्ने आवाज र गुनासो आएको छ । के कसरी गर्ने भन्ने प्रश्न उठेको छ । पर्यटन क्षेत्रमा के कति क्षति भयो यसलाई कसरी माथि उठाउन सकिन्छ भन्ने हेतुले सरकारले अध्ययन गर्न बुझ्नको लागि सर्वेक्षण शुरु गर्यौ ।  तर, बारम्बार भन्दा पनि सर्वेक्षणको अनलाइन फर्म भर्न व्यवसायीले आनाकानी गरिरहेका छन् । बोर्डले सूचना संकलन गरेर कर प्रशासनलाई दिन्छ भन्ने उहाँहरूको बुझाइ भयो क्यार,’ नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनन्जय रेग्मील भने ।
  • हाम्रो उद्देश्य यस क्षेत्रमा कतिले रोजगारी पाएका छन् । के कति नोक्सान भयो । कति कर्जा र ब्याज तिर्नुपर्छ र लगानी कति भएको रहेछ भनेर बुझ्न खोजिएको हो । तर, अहिलेसम्म थोरै व्यवसायीले मात्र सर्वेक्षणको फर्म भरेका छन् । हामीले  कम्तीमा पनि १० हजार व्यवसायीले सर्वेक्षणमा सहभागिता जनाउँछन् भन्ने ठानेका थियौं,’ सीईओ रेग्मीले गुनासो गरे ।’
  • ‘विजनेश नहुँदा व्यवसायमा ठूलो धक्का लागेको त छँदैनै छ, अर्कोतिर रोजगारीको क्षेत्रमा पनि यसले ठूलो नोक्सान पुर्याएको छ । पर्यटनमामात्रै प्रत्यक्ष र अप्रत्यक्ष गरी करिब १३ लाख जनशक्ति सम्लग्न थिए । दैनिक तलब खानेदेखि मौसमी रोजगारी गर्ने पर्यटक पथ प्रदर्शक, रिक्सा चालक, डुङ्गा खियाउने, भारी बोक्न, माउतेसम्ममा यसको असर परेकोे छ । उनीहरूको रोजगारी खोसिएको छ । यी सबै जनशक्ति बेइलमी भएका छन्, नेपाल पर्यटन बोर्डका पूर्व सीईओ दिपकराज जोशीले भन्छन् ।
  • ‘कोरोना संक्रमण नियन्त्रणमा आएपनि संसार भरिको आर्थिक अवस्थामा शिथिलता आएकोे छ । एकातिर परिवार गुमाएको पीडा छ भने अर्का तिर आय स्रोत टुटेको अवस्था छ । यस्तो अवस्थामा तत्काल पर्यटक आउन सक्ने अवस्था नदेखिएको जोशीले सुझाए ।

इतिहासमै पहिलो पटक पर्यटन क्षेत्र यसरी उठ्ने नसक्ने गरी थला परेको होटल संघ नेपाल (हान) का उपाध्यक्ष विनायक शाहले बताए । ‘अब रिकभरी हुन २ वर्ष लाग्छ,’ उनले भने ‘हामी कर्मचारीलाई तलब समेत खुवाउन नसक्ने अवस्थामा पुगेका छौं ।’ सरकारले राहत प्याकेज नदिए बैंकको ऋण र ब्याजले हाम्रो व्यवसाय उठ्न सक्दैन । सरकारले सबैको क्षतिको विवरण संकलन गर्दै छ । त्यसपछि केही न केही व्यवस्था हुन्छ भन्ने आशामा व्यवसायी बसेका छन् ।’

२०२० मा पर्यटनसँग सम्बन्धित व्यवसायहरू सरल रुपमा सञ्चालन गर्न कठिन हुने ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) का अध्यक्ष खुमबहादुर सुवेदीले बताए । यो सरभाइब हुन समय लाग्ने बताउँदै उनले भने ‘हामी तत्काल बैंकको ब्याज तिर्न सक्ने अवस्था पुग्दैनौ ।’ ‘बैंकमा भएको कर्जालाई पुर्नकर्जाको सुविधा दिएर उक्त ऋण २ वर्षभित्र तिर्नु सक्ने व्यवस्था मिलाइदिनु पर्छ,’ नत्र हामी कर्जा तिर्न सक्ने अवस्थामा पुग्दैनौ,’ उनले थपे ।
 
विश्वभरी फैलिएको महामारी कोभिड–१९ को वास्तविक क्षतिको अवस्था पत्ता लगाउन सरकारले श्वेतपत्र जारी गर्नुपर्ने माग टानले राखेको छ । महामारीबाट भएको क्षति र सरकारको अवस्था कस्तो छ भन्ने थाहा पाउन पनि अब अर्थ मन्त्रालयले स्वेतपत्र जारी गर्नुपर्ने सुवेदीले सुझाए ।

कोरोनका कारण पर्यटन क्षेत्रका साथै यस क्षेत्रमा काम गर्ने कामदार अझ बढी मर्कामा परेको नेपाल पर्वतारोहण संघका अध्यक्ष सन्तवीर लामाले बताए । तत्काल हामी सहज अवस्थामा पुग्दैनौ,’ उनले भने ‘सहज अवस्थामा पुग्न अझै २ वर्ष कुर्नुपर्छ । यो अवधिमा रोजगारीका विकल्पहरू खोजिनुका साथै कर्जामा सहुलियत दिनुपर्ने माग उनले राखेका छन् ।

सरकार र निजी क्षेत्र मिलेर यो व्यवसायलाई बचाउन केही न केही नयाँ व्यवस्था गर्नुपर्ने  नेपाल पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत दिपकराज जोशीले बताए । पर्यटन क्षेत्रले प्रतिफल दिन सन् २०२२ आउनु पर्ने उनको हिसाव छ । पर्यटन क्षेत्रको रिकभरीको लागि ३ वटा रणनीति बनाउन आवश्यक भएको उनले औल्याएका छन् । २०२० मा उद्योगलाई बचाएर २०२१ मा रिकभरी (पुर्नउत्थान) गर्ने गर्न सकियो भने २०२२ मा पर्यटन उद्योगबाट प्रतिफल पाउन सकिन्छ ।

‘यसका लागि राज्यले अत्यन्तै मर्का परेको क्षेत्रमा राहत दिनुपर्छ,’ उनले भने ‘उद्योगधन्दाको वृद्धि विकासको लागि विशेष प्याकेज ल्याउनु पर्ने अवस्था पनि देखिएको छ ।’ । उद्यमीहरूले तिरेको करलाई पुनः चलाउन मिल्ने, बैंकको कर्जा सहुलियतपूर्ण ब्याजमा दिने, नयाँ कामको लागि सरकारले प्रोत्साहन गर्ने मोडेलमा जान सके २०२० मा उद्योगलाई बचाउन सकिन्छ । यसरी गयौ भने २०२२ पछि पर्यटन क्षेत्र पुनः राम्रो अवस्थामा पुग्छ ।

पर्यटन क्षेत्रमा कोरोना प्रभावले साढे एक खर्बभन्दा बढी नोक्सान पर्ने देखिएको छ’ उनले भने ‘ गत वर्ष सरकारले यो क्षेत्रबाट एक खर्ब ६० अर्ब रुपैयाँ राजस्व उठाएको थियो ।’ लकडाउनका कारण होटल उद्योगमा ८५ अर्ब, ट्राभल्स, ट्रेकिङ ¥याफ्टिङ प्रकृतिका व्यवसायमाबाट ५० अर्ब, आन्तरिक उडानबाट ५ अर्ब, रेष्टुराँमा ५ अर्ब, माउण्टेरिङलगायत अन्य क्रियाकलापबाट १० अर्ब गरी करिब साढे एक खर्बभन्दा बढी राजस्व नोक्सान पर्ने जोशीले जानकारी दिए ।

त्यस्तै कोरोनाको अर्को ठूलो असर रोजगारीमा परेको छ । पर्यटनमामात्रै करिब १३ लाख जनशक्तिले सम्लग्न थिए । पर्यटन उद्योगमा ५ लाख ३७ हजार जनशक्तिले प्रत्यक्ष रोजगारी पाएका थिए भने अप्रत्यक्ष रुपमा २ लाख ८० हजारले रोजगारी पाएका छन् । सप्लाइ चेनमा सम्लग्न जनशक्ति समेत गर्दा कुल १३ लाख पर्यटन क्षेत्रमा इन्गेज भएका थिए । होटल क्षेत्रबाट अहिलेको अवस्थामा करिब ४ लाखले रोजगारी गुमाएका छन् ।

कोरोना भाइरस (कोभिड—१९) ले पर्यटन क्षेत्रमा पारेको वास्तविक असरका वारेमा जानकारी लिन सरकारलाई असहज भएको नेपाल बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा. धनन्जय रेग्मीले बताए । यो क्षेत्रमा भएको क्षति, कार्यरत जनशक्ति, लगानी, ऋण, बुकिङको अवस्था, कारोबारमा परेको प्रभावसहितको विवरण उद्यमी व्यवसायीले नदिँदा सरकारले आगामी दिनमा चाल्ने कदम तय गर्न अप्ठ्यारो भएको छ ,’ उनले भने ‘यस क्षेत्रको अध्ययन गर्न शुरु गरिएको अनलाइन सर्वेक्षणमा पर्यटन व्यवसायी सहभागी राम्रो भएन ।’

सरकारले कोरोनाको प्रभाव, बन्दाबन्दीको असर, जोखिम न्यूनीकरणको अवस्था र सरकारी राहत तथा नीति निर्माणमा आवश्यक सहयोग गर्ने उद्देश्यसहित सर्वेक्षण शुरु गरेको हो । बोर्डले एक साताको समय दिएर सर्वेक्षण शुरु गरे पनि अहिलेसम्म १० प्रतिशत व्यवसायीेले पनि सर्वेक्षणमा सहभागी नजनाएको उनले बताए ।

कोरोनाले पारेको असरका बारेमा अध्ययन गर्न बोर्डले पर्यटनका प्रमुख क्षेत्रहरू  एयरलाइन्स, होटल, पर्यटक सवारी, रेष्टुरेन्ट, जलयात्रा, पदयात्रा र पर्वतारोहण, ट्राभल एन्ड टूर र अन्य पर्यटकीय क्षेत्रको अध्यययन गर्न उक्त सर्वेक्षण शुरु गरेको हो ।
यो अवधिमा कम्तीमा १० हजार उद्यमी तथा व्यवसायीले फर्म भर्ने अनुमान बोर्डले गरेका थियो । बिहीबारसम्म जम्मा ६ सय २५ जना व्यवसायीलेमात्र सर्वेक्षणमा सहभागिता जनाएका छन् ।

बोर्डका अनुसार एयरलाइन्स र ठूला होटलले सर्वेक्षणमा सहभागिता जनाएपनि अन्यले भने आफ्नो वास्तविक तथ्यांक सरकारलाई दिएका छैनन् । ‘१८ एयरलाइन्समध्ये १५ वटा र ५ हजारभन्दा बढी होटलमध्य जम्मा एक सय ८४ वटा होटलले मात्र सर्वेक्षणमा सहभागिता जनाएका छन् । अहिलेसम्म प्राप्त तथ्यांक अनुसार १५ वटा एयरलाइन्सले १८ अर्ब ७२ करोड लगानी गरेका रहेछन् भने १७ अर्ब २४ करोड त उनीहरूको बैंकमा ऋण भएको विवरण बोर्डलाई उपलब्ध गराएको सीईओ रेग्मीले बताए । एक सय ८४ होटलमा ७२ अर्ब लगानी भएको तथ्यांक बोर्डलाई प्राप्त भएको छ । सोमध्य २६ अर्ब कर्जा हो भने यी होटलहरू मासिक २६ करोड रुपैयाँ ब्याजमात्रै बुझाउने गरेका रहेछन् । हाल नेपालमा ५ हजारभन्दा बढी होटल छन् । यीमध्ये पर्यटकीय सेवा दिने होटलको संख्या करिब ३ हजार छ ।

एयरलाइन्स क्षेत्रमा तीन हजार एक ७० जनाले प्रत्यक्ष र २ सय २१ जनाले अप्रत्यक्ष रोजगारी पाएका छन् । एक सय ८४ होटलमा करिब १० हजार जनाले रोजगारी पाएका छन् । सोमध्य ७ हजार एक जना प्रत्यक्ष र करिब ३ हजारले अप्रत्यक्ष रोजगारी पाएको विवरण प्राप्त भएको सीईओ रेग्मीले बताए ।

सन् १९३० पछि कै ठूलो आर्थिक संकटका रुपमा देखापरेको कोरोना महामारीमा पर्यटन क्षेत्र प्रत्यक्ष रुपमा असर देखिएको छ । पर्यटन क्षेत्रसँग प्रत्यक्ष रुपमा जोडिएको नागरिक उड्डयन क्षेत्रको क्षतिको अनुमान लगाउन नागरिक उड्डयन क्षेत्रमा संलग्नहरुलाई नै गाह्रो परेको हिमालयन एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठ बताए ।

नागरिक उड्डयन क्षेत्रमा कति व्यापार हुन्छ वा कति यात्रु हरेक दिन यात्रा गर्छन भन्ने तथ्यांक भेट्न गाह्रो भएको उनले बताए । उनले भने, नागरिक उड्डयन क्षेत्रको सम्पूर्ण तथ्यांकका लागि धेरै स्थानमा खोजी गरे तर कहि पनि तथ्यांक पाइएन ।’

श्रेष्ठका अनुसार सन २०१८÷१९ को वार्षिक नेपालमा आउने यात्रुको संख्या ४६ देखि ४८ लाख (अनुमानित) रहेको बताए ।  २०२० को तथ्यांक नआएसम्म कति नागरिकलाई अन्तर्राष्ट्रिय उडान गर्ने विमानले विदेशबाट नेपाल ल्याएभन्ने तथ्यांक नआउने उनले बताए ।

पर्यटनसँग जोडिएको नागरिक उड्डयन क्षेत्रको असर अबको केहि वर्षसम्म माथि उठ्न नसक्ने बुझाइमा उनी पुगेको बताए । उनले भने, पर्यटन क्षेत्र मानिसको आर्थिक र सामाजिक रुपमा सन्तुष्टी प्राप्तपछि अथवा अन्य क्षेत्रको रिकभरी पछिमात्र प्राथमिकतामा पर्ने भएकाले विश्वभरी नै महामारीका कारण परेको असरबाट मानिसलाई बाहिर निष्कन लामो समय लाग्न सक्छ ।

 

 

प्रतिक्रिया दिनुहोस