aarthiknews.com आइतबार, २८ असार २०७७   Sunday, 12 July, 2020
 
Citizen life
टिप्पणी

यो हो कोरोनाले गराएको ठुलो मृत्यु, जसबारे धेरैलाई हेक्का नै छैन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ०६ बैशाख २०७७
Sunrise
HIb
यो हो कोरोनाले गराएको ठुलो मृत्यु, जसबारे धेरैलाई हेक्का नै छैन
LBEF

कोरोना भाइरसबाट कति सङ्क्रमित भए र कतिको यसले ज्यान लियो ? हामी यस्तै कुरामा मात्र बढी ध्यान दिइरहेका छौँ । तर , विश्वभर शासन गर्ने पश्चिमी राष्ट्रहरूको प्रमुख हतियार खुल्ला बजार अर्थतन्त्रको युग कोरोनाका कारण कसरी सकियो भन्ने बारे भने धेरैको ध्यान पुगेको छैन ।

यसबिच विश्व पुँजीवाद र खुल्ला बजार अर्थनीतिलाई समेत कोरोनाले घाटमा पुर्‍याएको छ । अमेरिकाले घोषणा नै नगरी पनि व्यवहारिक रूपमा अब विश्वमा खुल्ला बजार अर्थनीतिले काम नगर्ने स्पष्ट पारिसकेको छ । उता धेरै अर्थशास्त्रीले पनि नयाँ आर्थिक प्रणालीको थालनी भएको घोषणा गरेका छन् । 

त्यसो त अब संसारलाई कस्तो आर्थिक नीतिले डोर्‍याउँछ ? यो सवालको अहिले नै जवाफ खोज्न सक्ने अवस्था छैन । त्यसैले खुल्ला बजार अर्थतन्त्रको अन्त्य भएको खबरले समाजवादी अर्थनीतिका पक्षपातीहरूले उल्लास मनाइहाल्ने अवस्था पनि यो होइन । तर, एउटा मानवीयता विरोधी अर्थनीतिले विश्राम लियो भन्ने समाचार धेरै श्रमजीवी र समाजवादको वकालत गर्नेहरूलाई भने अवश्य पनि कर्णप्रिय लाग्छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रत्यक्ष नियन्त्रणमा रहेको अमेरिकाको केन्द्रीय बैङ्क, युएस फेडरल रिजर्भ बैङ्कले अपत्यारिलो झैँ लाग्ने गरी त्यहाँ कोरोना भाइरसको महामारी सुरु भएयता ६ खर्व डलर नगद अमेरिकी अर्थतन्त्रमा जारी गरिसकेको छ । यो ऐतिहासिक घटना त हुँदै हो, त्यति नै अचम्मलाग्दो पनि छ । 

फेडको यस्तो असामान्य कदमलाई अहिले विश्वभरका केन्द्रीय बैंकहरुले अनुसरण गरिरहेका छन् ।  सबै राष्ट्रहरूले विश्वव्यापी बनेको कोरोना भाइरस सङ्क्रमण रोक्न जारी गरिएको लकडाउनका कारण थला पर्दै गएको आफ्नो अर्थतन्त्रलाई त्राण दिने निर्विकल्प उपायको रूपमा अमेरिकी कदमको नक्कल गरेको देखिन्छ ।

हाम्रो छिमेकी मुलुक भारतले समेत शुक्रवार ५० हजार करोड नगद बजारमा प्रवाह गर्ने घोषणा गरेको छ । अमेरिकी नीति कै सिको गर्दै भारत लगायतका धेरै देशले यो नीति अङ्गीकार गरेपछि खुल्ला बजार र उदारीकरण जस्ता आर्थिक नीतिलाई निर्देशित गर्ने विचारधाराको औचित्यता माथि नै प्रश्न गर्न थालिएको छ । 

यही अर्थनीतिको सैद्धान्तिक धरातलमा टेकेर विश्वव्यापी सञ्जाल निर्माण गरेको जर्मनीको चर्चित डोईचा बैकले भने अमेरिका लगायतका मुलुकले चालेको यो कदमलाई ‘खुल्ला बजारको अन्त्य’ भन्दै टिप्पणी गरेको छ । बजार मृत अवस्थामा पुगेको र खुल्ला बजेको अन्त्य भएको भन्दै सो बैकले धितो पत्र बजार र मुद्रा बजारले अनियन्त्रित हुँदै नयाँ दिशा खोजिरहेको छ । 

सो बैङ्कका विदेशी मुद्रा सटही तथा अनुसन्धान विभागका प्रमुख जर्ज साराभेलोसले बैक द्वारा प्रकाशित खुल्ला बजारको अन्त्य: मुद्रामा यसको प्रभाव शीर्षकको एक विशेष रिपोर्टमा लेखेका छन् – ‘अब यो दुनियाँमा खुल्ला बजार जस्तो कुनै पनि बस्तु बाँकी छैन ।’ 
सो रिपोर्टमा केही हप्ताको अन्तरालमा नै निजी क्षेत्रको क्रेडिट मार्केटबाट नीति निर्माताहरू पछाडि हटेको उल्लेख गरिएको छ । अमेरिकी केन्द्रीय बैङ्कले गरेको ब्याजदर कटौती र नगद प्रवाहको नीतिले अब बजारलाई नयाँ ढङ्गले अघि बढाएको देखिएको छ ।
फेडका नीतिका कारण अब विश्वमा नयाँ आर्थिक प्रणाली सुरु भएको निष्कर्षमा धेरै अर्थशास्त्रीहरु पुगेका छन् ।

क्वान्टम इकोनोमिक्सको विश्लेषण तथा सल्लाहकार बोर्डका संस्थापक माती ग्रिनस्पनले भनेका छन्, ‘हामी के देखिरहेका छौँ भने यो अवस्था भनेको पुँजीवादको मृत्यु र केही अर्कै नयाँ चिजको जन्म हो ।’ उनले आश्चर्य व्यक्त गर्दै थपे, ‘यो साँच्चै अचम्मलाग्दो छ, वास्तव मै ।’ 

उनका अनुसार जसरी फेडली बजारबाट ठुलो मात्रामा वस्तुहरू खरिद गर्ने कुरालाई अगाडी बढायो र त्यसपछि मूल्यमा ठुलो गिरावट आयो त्यसले केही नयाँ तस्बिर देखिएको छ ।  अमेरिका राज्य न नियन्त्रित अर्थतन्त्रको बाटोमा छ न त पुरानो पुँजीवादी अडानमा नै । एक दशक अघिको आर्थिक मन्दीको बेला त्यसलाई कम गर्ने अङ्गीकार गरेको मौद्रिक नीति अब नयाँ चरणमा प्रवेश गरेको देखिएको छ ।

व्यापारीहरूले समेत फेडले यसरी बजारमा सिधै हस्तक्षेप गरेको यो दुर्लभ घटनालाई अप्रत्याशित झट्काका रूपमा लिएका छन् । ‘यसमा कुनै सन्देह छैन कि पुँजी बजार र मुद्रा बजारलाई केन्द्रीय बैङ्कले कडा ढङ्गले हस्तक्षेप गरेको छ र यसमा पर्याप्त छेडखानी गरिएको छ’, वित्तीय विषयका स्थापित लेखक तथा ठुला कारोबारी ग्लेन गुडमेनले भनेका छन् ।

गुडमेन ती व्यक्ति हुन् जसले सन् २००८ को आर्थिक मन्दीको बेला समेत धितो पत्र बजारलाई कसरी आफ्नो पक्षमा राख्ने भन्ने खोजी गरेका थिए ।

यसरी एकाएक विकास भएको नयाँ परिवर्तनले कतै बिटक्वाइन लगायतका क्रिप्टोकरेन्सी तर्फ मानिसहरू आकर्षित हुने त होइनन् भन्ने चिन्ता समेत बढेको छ । विश्वका धेरै मुलुकहरूले अवैध घोषणा गरेको यस्तो डिजिटल मुद्रालाई कुनै पनि निकायले नियन्त्रण गर्न नसकिने भएकाले खुल्ला बजारका पक्षपातीहरू त्यता झुम्मिने पो हुन् कि भन्ने चिन्तामा स्वयम् पुँजीवादका नाइकेहरू समेत पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस