aarthiknews.com मंगलबार, ०६ असोज २०७७   Tuesday, 22 September, 2020
 
Bajaj_Bike
Tasen

सन्तान विदेशिएका आमाबाबुको पीडा

  • मेनुका कार्की
    मेनुका कार्की
  • शनिबार, २२ चैत्र २०७६
सन्तान विदेशिएका आमाबाबुको पीडा
LBEF

काठमाडौं । भगवान भरोसा ! ‘छोरी अमेरिकामा छिन् । आफ्नो तन र मन दुबै उत्तै छ । यस्तो अवस्थामा सबै परिवारसँगै बस्न पाएँ हुन्थ्यो । के गर्नु पढ्न गएकी छोरीलाई त्यतिकै बोलाउन सकिएन,’ झापा निवासी ईरा अधिकारी भनिन् ‘सुरक्षित साथ बस छोरी (इकिता अधिकारी) भनेको छौं ।’ दैनिक कुरा हुन्छ । तर, आमाबाबुको मन मान्दैन । के गरौंं कसो गरौंं हुन्छ । हुने भए अहिले बोलाउ वा आफै पुगौं जस्तो । पढाइ सकिएको छैन । कोरोनाले यस्तो महामारी लेला भन्ने जानिएन उनले दुखेसो पोखिन् । छोरीसँगै बस्ने साथी काम गर्न बाहिर जान्छिन, त्यसले पो अझ डरमर्दो भएको छ । सरुवा रोग हो के गर्नु ।’

साढे दुई वर्षदेखि छोरी अमेरिकाको टेक्सासमा मेडिकल टेक्नोलोजीसम्बन्धि अध्ययन गर्दै्छिन् । भर्खर दोस्रो सेमेस्टर सकियो । अध्ययन अझै वाँकी नै छ । बोलाउन पनि मिलेन इकिताका बाबु गोकर्णेश्वर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले भने । पिर त लाग्छ । अहिले छोरी अनलाइन स्टडी गरेर कोठामै बसेकी छिन् । दिनभरि अफिसको काममा व्यस्त भइन्छ बिहान बेलुका त मन काटिन्छ ।’ 

पाटन मंगलबजारका हिरालाल बस्नेतको पीडा पनि अधिकारी दम्पत्तीकोभन्दा कम छैन । एक्लो छोरो दुबईमा छ । हामी बूढाबूढी यता । छोरोलाई पनि हामीलाई केही होला भन्ने चिन्ता, हामीलाई पनि छोरालाई केही होला भन्ने डर । सुखी छैनौ हामी यतिबेला,’ बस्नेतको भक्कानी दै भने उता कति मरिसके भन्छन् । बरु छोरा आइदिए हुन्थ्यो । सरकारले लकडाउन गरेको छ । छोरो सुयोगले बाहिर ननिस्की बस्नु भनेको छ । 

हामी त बाहिर निस्कीएका छैनौ ।’ परदेशको ठाउँ आफ्नो आफन्त सबै पराइ बन्छन् भन्छन् । मत भगवानलाई प्राथना गरेर बसेको छु, यो कोरोना भनेको संसारबाटै निर्मूल होस् भनेर । के गर्नु झन दिन दुई गुणा रात चौ गुणा बढ्दै छ,’ उनले लामो सुस्केरा हाले । यहाँ घरमा आमा चाहिँ चिन्तामा डुबेकी छ । राती निन्द्रामै पनि बर्बराउँछे । छोरालाई चीनमा कोरोना बढ्दै गर्दा फागुन पहिलो सातातिरै बोलाएका थियौं । ठिक हुन्छ डराउनु पर्दैन भनेर आउन मानेन, अहिले अझ विकराल रुप लिदैछ । 

रोजगारीका लागि विदेशिएका छोरा आउभन्दा मानेन, नेपाल आएर के गर्ने बाबा । केही समय यतै बसेर काम गर्छु अनि घर आउला अनि नेपालमै सानोतिनो बिजनेश गरेर बसौला भन्यो । विदेशको ठाउँ खान पो पाएको छैन कि मकवानपुरबाट पाटन मंगलबजार आएर बसेकी बस्नेतकी श्रीमती सुष्माले भनिन् । पढाउन धेरै सकिए, राम्रो शिक्षा दिन सकेको भए यहि पनि काम पाउथ्यो होला । रोजगारीका लागि छोरो विदेशियो, अहिले यो महामारी आयो । कुलदेवतालाई सम्झेर बसेको छु । 

हाँडीगाउँका द्वारिका महर्जनको पीडा अझ बढी छ । दुई संन्तानमध्ये दुबै विदेशमा छन् । छोरी (अर्पणा)जापान र छोरो (अमित) कुवेत । छोरो छोरी दुबै यस वर्ष दशैंमा घर आएका थिए । झण्डै आधा दशकपछि खुब रमाइलो गरी दशैं मनाइयो । तर, अहिले पीडा थपियो । अर्कोका मुलुक । के गरेर बसेका होलान् ।  घर आउन त भन्दा जागिर छोडेर आउन पनि नमिल्ने । फोनमा कुुरा गर्यो चित्त बुझायो बस्यो महर्जनकी श्रीमती नानीविष्णुले भनिन् । 

धेरै चिन्ता लाग्छ, तर छोरोछोरीले डराउनु पर्दैन हामी सुरक्षित साथ बसेका छौं भनेका छन् । यस्तो बेलामा दुबै सन्तान साथमा नहुँदा साह्रै मन दुखेको छ,’ उनले भनिन् । होटलमा काम गर्ने छोरी अर्पणाको अफिस बन्द भएको छैन, कार्यालयको समयअवधिभन्दा घर बाहिर निष्कन पाइदैन । आवश्यक ठूलो सामान फोन गरेपछि घरमै ल्याइदिने व्यवस्था मिलाएको छ सरकारले । सानातिना सामान किन्न बाहिर जाने गरेको छु, छोरीले भन्थिन्’ नानीविष्णुले भनिन् । 

कुवेतमा छोरोको भने सातामा दुई दिनमात्रै काम छ रे । अरु दिन घरमै बस्छ । कार्यालय अवधिपछि बाहिर निस्कन पाइदैन । सामान किन्नको लागि दुई साढे दुई घण्टाको समय दिएको हुन्छ, त्यहि समयमा किनिसक्नु पर्छ । लामो लाइन बसेर सामन किन्नु पर्छ, छोरीको भन्दा छोराको रिक्स बढी छ । छोरा बसेको घरभन्दा केही परको अपार्टमेण्टमा कोरोनाका कारण मृत्यु भएपछि कसैलाई बाहिरसम्म निस्कन दिएको छैन रे,’ उनले भनिन् ‘हामी चिन्त बुझाएर बसेका छौं ।’

हिजो कालोपुलमा भेटिएकी सिन्धुपाल्चोक स्थायी घर भएकी काँखमा सानो नानी च्यापेकी कुमारी गुरुङले भनिन् ‘बच्चा सानो छ, श्रीमान् विदेशमा छन् । कतार गएको चार महिनामात्रै भयो । अहिले एक महिनाभन्दा बढी भैसक्यो पैसा पठाउन सकेका छैनन् , हामी आमा छोरी भोकै जस्तै छौं, राहत लिन आएकी उनले भनिन् । उता श्रीमानको पनि काम छैन रे । यसअघि यहिनै ज्यालादारीको काम गरेर बस्ने गरेका थियौ । अहिले श्रीमान् विदेशिए । यता न उता भएका छौं । म साथी तथा अन्यको सहयोगमा गुजारा गरिरहेकी छु, २६ वर्षीया गुरुङले भनिन् । 

हुन पनि कोरोना भाइरसको विश्वव्यापी महामारीका कारण छोरोछोरी विदेशिएका आमाबाबु तथा परिवारको पीडा सबैको उस्तै छ । अध्ययनका लागि गएकाभन्दा रोजगारीका लागि गएका परिवारको पीडा अझ दर्दनाक र करुणादायी छ । यता परिवारको पीडा उता काम गर्न नपाउँदा कमाएको पैसा खाएर बस्नु पर्ने बाध्यता । साहुको ऋण र ब्याज अनि परिवारको गाँस । विदेशमा केही वर्ष दुःख गरेर पछि नेपालमै केही गर्ने सपना साचेका उनीहरू अहिले अझ पीडामा डुबेका छन् । 

कोरोनाको प्रकोप बढ्दै जाँदा कतिपय मुलुकले त अन्य नागरिकलाई केही गर्न नसक्ने भनेर हात समेत उठाइसकेको अवस्था छ । छोरोछोरीलाई घर बोलाउँ भने फेरि जान जान नपाइएला भन्ने डरले नबोलाएर ठूलो गल्ती गर्यौ भन्ने अध्ययनको लागि विदेशीएका अभिभावको दुखेसो छ । 

नेपालबाट वैदेशिक रोजगारीमा तथा अध्ययनको लागि गएका समेत गरी ४० लाखभन्दा बढी नेपाली विदेशिएको बताइन्छ । अझ भारतमा गएकाको त कुनै हिसाव नै छैन । यीमध्ये कतिपय रोजीरोटीको जोह गर्न गएका छन् भने कतिपय अध्ययनको शिलशिलामा । अध्यागमन विभागको तथ्यांक अनुसार मार्च १५ सम्म ४३ हजार ८ सय ८९ नेपाली बाहिरिएका छन् भने ४४ हजार एक सय ४७ नेपाल भित्रिएका छन् । 

फेब्रुअरीमा एक लाख ११ हजार  दुई सय ८७ बाहिरिएका छन् भने एक लाख नौ हजार आठ सय ७५ भित्रिएको अध्यागमन विभागका निर्देशक रामचन्द्र तिवारीले बताए । जनवरीमा एक लाख १२ हजार ५ सय १४ नेपाली नेपाल भित्रिएका छन् भने १ लाख १६ हजार ६ सय ४२ बाहिरिएका छन् ।

प्रतिक्रिया दिनुहोस