aarthiknews.com बुधबार, ३१ असार २०७७   Wednesday, 15 July, 2020
 
Citizen life

कोरोनाले यसरी निम्त्याउँदै छ नयाँ रुपको आर्थिक सङ्कट

  • सीताराम  भट्टराई
    सीताराम भट्टराई
  • बुधबार, १२ चैत्र २०७६
Sunrise
कोरोनाले यसरी निम्त्याउँदै छ नयाँ रुपको आर्थिक सङ्कट
LBEF

काठमाडौँ । कोरोना भाइरसका कारण सारा विश्व नै ‘लक डाउन’ को अवस्थामा छ । तर यसले आफ्नो फैलावट रोक्ने कुनै लक्षण देखाएको छैन । नत अहिले नै यस विरुद्ध प्रभावकारी खोप विकास हुने सम्भावना देखिँदै छ । स्वास्थ्य विज्ञहरूले भनिरहेका छन् कोरोना विरुद्धको साच्चि कै प्रभावकारी खोप विकास गर्न कम्तीमा १२ देखि १८ महिना लाग्न सक्छ । 

कोरोनाको महामारीले मानवीय जीवनमा जति मूल्य चुकाउन बाध्य पार्दै छ त्यसरी नै आर्थिकरुपमा यसको विश्वव्यापी प्रभाव चुलिँदै छ । अब विश्वव्यापी आर्थिक मन्दी आउने त्रास त बढेको छ नै त्यसलाई सम्हाल्न सक्नेगरि हरेक राज्यहरूले कस्ता नीति अवलम्बन गर्लान् भन्ने अनुमान गर्न पनि गाह्रो पर्ने देखिन्छ । जे होस यसमा कुनै शङ्का छैन कि सन २००८ मा देखा परेको विश्वव्यापी आर्थिक मन्दिभन्दा अबको मन्दी गम्भीर र चुनौतीपूर्ण बन्नेछ । 

सामान्यतया आपूर्ति बढ्दा माग घट्ने र आपूर्ति कम हुँदा माग कम बढ्ने अर्थशास्त्रको नियम हो । तर अब माग र आपूर्तिको श्रृखलामा नै गडबडी देखिने विश्लेषण अर्थशास्त्रिहरुले गर्न थालेका छन् । 

नयाँ आर्थिक सङ्कट
समकालीन आर्थिक इतिहासले नभोगेको नयाँ खालको परिघटना अब देखिने वाला छ । माग र आपूर्तिमा एकैसाथ समस्या देखिने अनुमान गर्न सकिन्छ । सामान्यतया आपूर्ति बढ्दा माग घट्ने र आपूर्ति कम हुँदा माग कम बढ्ने अर्थशास्त्रको नियम हो । तर अब माग र आपूर्तिको श्रृखलामा नै गडबडी देखिने विश्लेषण अर्थशास्त्रिहरुले गर्न थालेका छन् । 

आपूर्तिको पक्षबाट नै हेर्ने हो भने चीनमा पुरै फेबुअरी र मार्चको आधा महिना जसरी अर्थतन्त्र टक्क अडियो त्यसले वस्तु तथा सेवाको उत्पादनमा नराम्ररी धक्का पुर्‍याएको छ । अहिले नै पनि युरोप र अमेरिका जस्ता ठुला उत्पादकहरू सबै कुरा छाडेर कोरोना विरुद्धको युद्धमा व्यस्त छन् । यसबाट के देखिन्छ भने वस्तु तथा सेवाको उत्पादन पुरै घटेको छ । जसले आपूर्तिमा समस्या ल्याउने पक्का छ । 

त्यसैगरि अस्ट्रेलिया जापान, भारत जस्ता क्षेत्रीय र अन्तर्राष्ट्रिय आपूर्तिकर्ताहरू समेत उत्पादनलाई निरन्तरता दिन नसक्ने अवस्थामा पुगेका छन् । यो अवस्था कति समय सम्म रहन्छ कसैले अनुमान गर्न सकेका छैनन् । 

फलस्वरूप विश्वभरिका पुँजिबजारमा पटक पटक सर्किट ब्रेकर लगाउने र अल्पकालीन बजार बन्द गर्ने जस्ता बाध्यताहरू देखा परिरहे । हाम्रो जस्तो मुलुकमा समेत यो स्थिति रह्यो । पुँजी बजारमा पहिरो जाने क्रम यसरी देखियो कि मध्य दिनमा नै कारोबार बन्द गर्ने बाध्यतामा नेप्से पटक पटक पुग्यो ।

उता मागको पक्षबाट हेर्दा मानिसहरू यातायात, पर्यटन, होटेल तथा रेष्टुँरा,  हवाई यात्रा जस्ता खर्च गर्ने सेवा लिनबाट वञ्चित छन् । लगभग सबै मुलुकहरू लक डाउनको अवस्थामा छन् । सङ्क्रमण नफैलिओस् भनेर सामाजिक दुरी टाढा राख्ने र क्वारेन्टाइनका मापदण्डहरू पुरा गर्ने बाध्यतामा मानिसहरू छन् । 

उता वित्तीय बजारमा पनि उस्तै स्थिति छ । यसै बेला चलेको तेलको मूल्यबारेको विवाद र नियमित आर्थिक गतिविधिमा कोरोना भाइरसको रोकावटले वित्तीय परिचालनमा तगारो हालेको छ । फलस्वरूप विश्वभरिका पुँजिबजारमा पटक पटक सर्किट ब्रेकर लगाउने र अल्पकालीन बजार बन्द गर्ने जस्ता बाध्यताहरू देखा परिरहे । हाम्रो जस्तो मुलुकमा समेत यो स्थिति रह्यो । पुँजी बजारमा पहिरो जाने क्रम यसरी देखियो कि मध्य दिनमा नै कारोबार बन्द गर्ने बाध्यतामा नेप्से पटक पटक पुग्यो । लगानीकर्ताहरू केही समयलाई शेयर कारोबार बन्द गरियोस् भन्ने माग लिएर नियामक निकाय समक्ष गुहार माग्न बाध्य भए । 

यसरी के भन्न सकिने अवस्था बनेको छ भने अहिले विश्व एकैसाथ तिन वटा सङ्कटहरूको सामना गर्दै छ–स्वास्थ्य सङ्कट, आर्थिक सङ्कट र वित्तीय सङ्कट । यी सङ्कटहरूसँग जुध्ने उपयुक्त नीति निर्माण गर्न त्यति सजिलो छैन । यो किन भनिएको हो भने आइएमएफ, विश्व बैङ्क र सबै मुलुकका केन्द्रीय बैङ्कहरूले जारी गरेका आर्थिक मन्दी रोक्ने उपायहरू असफल बनिरहेका छन् । स्पष्ट शब्दमा भन्दा हाल बैङ्कहरूले जारी गरेको ब्याजदर घटाउने नीतिले भाइरसको सङ्क्रमण फैलन र बन्द भएका उद्योगहरू खोल्न कुनै भूमिका खेल्ने देखिँदैन । 

आर्थिक मन्दीमा थपिएको भाइरस 
पछिल्ला दिनहरूमा विश्व अर्थतन्त्र त्यसै पनि गम्भीर चुनौतिहरुसंग जुधिरहेको थियो । आर्थिक वृद्धिमा अवरोधहरू देखा पर्दै थिए, अनिश्चितता व्याप्त थियो । त्यसै बेला थलिँदै गरेको विश्वको अर्थतन्त्रलाई कोरोना भाइरसलाई गाँज्यो । 

क्रस बोर्डर व्यापार पुराका पुरा ठप्प छ । लगानीकर्ताहरूलाई तनावले घेरेको छ । मध्यपूर्वमा भू–राजनीतिक अस्थिरता बढ्दो क्रममा छ । इरान र कतारलाई अमेरिकाले देखिसहेको छैन । बेलायत र युरोपेली युनियन आ–आफ्नै तनावमा छन् । त्यहाँ कुन प्रकारको व्यापार सम्झौता हुने हो थाहा छैन । साउदी अरब र रसियाबिच तेलको मूल्य सम्बन्धी प्रतिस्पर्धा जारी छ । अनि यसै बेला यी सबैलाई कोरोना भाइरसले तर्साएको छ । 

विश्व वित्तीय बजार लगभग थला परेको छ । आर्थिक गतिविधिहरू विश्वव्यापीकरण ठप्प छ । सुनको मूल्यमा अनौठो उतारचढाव देखिँदै छ । यी सबै अवस्थाहरूको अन्ततोगत्वा परिणाम देखिने वाला छ– विश्वव्यापी आर्थिक मन्दिकोरुपमा ।

आर्थिकरुपमा विकसित मुलुकहरूको सङ्गठन (ओइसीडी)ले सन् २०२० मा विश्वको कुल ग्राहस्थ उत्पादन वृद्धि २ दशमलव ४ प्रतिशतमा झर्ने यसअघि नै अनुमान गरिएको थियो । सन् २०१९ मा २ दशमलव ९ प्रतिशत रहेको यो वृद्धि नयाँ वर्षको पहिलो त्रैमास सकिदा निकै अत्यासपूर्ण बन्ने देखिँदै छ । इन्स्टिच्युट अफ इन्टरनेशनल फाइनान्सले त अब विश्वको आर्थिक वृद्धिदर १ प्रतिशत मात्रै रहने प्रक्षेपण गरेको छ । जुन सन् २००८ को भन्दा पनि तल हो । 

कोरोना भाइरसका कारण रोजगारी गुमाउनेहरूको सङ्ख्या पनि सायद सन् २००८ को आर्थिक मन्दीको भन्दा निकै बढी हुनेछ । आर्थिक गतिविधिहरू रोकिदा र व्यापार व्यवसाय ठप्प हुँदा ठुलो सङ्ख्यामा मानिसहरू बेरोजगार बन्दै छन् । अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ)ले कोरोनाका कारण विश्वभर २ करोड ५० लाख भन्दा बढी मानिसले रोजगारी गुमाउने अनुमान सार्वजनिक गरिसकेको छ । समग्रमा के भन्न खोजिएको हो भने कोरोनाका कारण अब देखा पर्ने आर्थिक सङ्कट सन २००८ को आर्थिक मन्दीको बेला भन्दा निकै गहिरो र जटिल बन्नेछ । 

प्रतिक्रिया दिनुहोस