कोरोनाबारे हल्लाको महामारी - Aarthiknews
aarthiknews.com आइतबार, २३ चैत्र २०७६   Sunday, 05 April, 2020
 
Tansen_cement
Janahit Suchana

कोरोनाबारे हल्लाको महामारी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १० चैत्र २०७६
Sunrise
कोरोनाबारे हल्लाको महामारी
LBEF

काठमाडौं । ‘अप्रिल फुल’ अर्थात् अरूलाई ढाँटेर आनन्द लिने कामका लागि छुट्याइएको दिन आउन अझै १० दिन बाँकी छ । त्यस दिन हामी आफूलाई कसैले ढाँट्ने पो हुन् कि भनेर सतर्क हुन्छौं । अप्रिल फुलका दिन मानिसलाई ढाँट्न नसकिएला भन्ने ठानेर ढाँटहरूले हामीलाई अरू दिन ढाँटिरहेका छन् । हल्ला र त्यसमार्फत आतंक फैलाइरहेका छन् ।

हामीले सुनेका ताजा हल्ला हुन् स् ‘नर्भिक अस्पताल र शिक्षण अस्पतालमा कोरोनाले गर्दा बिरामी मरे, सेनाले आकाशबाट विषादी छर्न लागेको छ’ आदि ।

यी हल्लालाई धेरैले पत्यायौं, सेयर गर्‍यौं । आफू आतंकित भयौं र अरूलाई पनि आतंकित बनायौं । नयाँ कोरोना भाइरसको बिगबिगी बढ्नेबित्तिकै संसारभर यस विषयमा ढाँट्नेहरूको पनि बिगबिगी बढेको छ । जनवरी २० (माघ ६ गते) यता कोरोना भाइरस सम्बन्धमा फैलिएका हल्लाको अध्ययन गरेर तिनको खण्डन गर्ने काममा लागेका संसारका ३९ वटा देशका ९० जना तथ्य–जाँचकीले कोरोना भाइरस सम्बन्धमा फैलिएका केही हल्ला यस्ता भएको पाएका छन्:

सबैभन्दा पहिले यो भाइरस कहाँबाट आयो भन्ने विषयमा मानिसले नचाहिँदा हल्ला फिँजाए । त्यसपछि उनीहरूले अर्कै सन्दर्भको भिडियोलाई काटकुट पारेर कोरोनाले मानिसको ज्यान लियो भनेर प्रचार गरे । चीनले कोरोना भाइरस लागेका मानिसलाई मार्न खोजेको छ भनेर पनि हल्ला चलाए । अमेरिकामा सैनिक शासन लगाउने तयारी भएको छ भनी अर्को हल्ला फिँजियो । कोरोना लागेका अभिनेता टम ह्याक्सको नक्कली फोटो भाइरल भयो । कोरोनालाई लिएर हामीकहाँ फैलिएका हल्लाले पनि उत्तेजना र आतंक फैलाए, मानिसको मनोबल घटाए ।

ढाँट्ने चलन अहिले मात्र होइन, निकै पहिले पनि रहेछ । उहिले जंगबहादुरका पालामा बनेको मुलुकी ऐनमा भनिएको छ, ‘कोही मानिसले आगा डढ्यालाले पोलि भयो पानिमा लडि बगि भयो रुष भीर छाना झ्यालबाट षसी भयो चौपाया गैह्रले हानि मिचि भयो ढुंगा मुढो लागी भयो वा अरु कुराले बेरामि भै थलियाकालाइ फलानु ता छुट्टी भयेछ भनि कुरा गर्‍याकामा सुन्या चाहिका वुद्धिले नपुगी मनले मरेछ भंन्या ठहर्‍याइ उस्का दाज्यू भाइ गैह्रलाइ फलानु ता मर्‍यो भनि सुनायेछ र तेसै खवरमा सुन्याले जुठो समेत बार्याछन् भन्या अर्कोले भन्याको कुरो सुनी नबुझि भन्याको ठहर्न्याले मर्‍यो भन्यालाई २० रुपैया दंड गर्नु। जुठो बार्‍याको रहेनछ भन्या १० रुपैया दंड गर्नु। रुपैया नतिर्‍या अ‍ैन वमोजिम् कैद गर्नु ।’

कुनै पनि किसिमका आन्दोलन, कुनै पनि किसिमका विपद् र चुनावजस्ता अलि असामान्य अवस्था हल्लाका लागि उर्वर हुन्छन् । यस्ता अवस्थामा मानिस त्रसित, आतंकित वा आवेशमय हुन्छन् । यति बेला धेरै मानिसले विवेक गुमाउँछन् । थोरैले हल्ला गर्न सुरु गर्छन्, धेरैले त्यसलाई फिजाउँछन् । यस्ता हल्लाबारे वास्तविकता बताउने पेसामा लागेका तथ्य–जाँचकीहरू के भन्छन् भने समाजमा हल्ला चाँडै फैलन्छ, तिनका खण्डनचाहिँ फैलन अल्छी गर्छन् किनभने हल्लाका वाहक धेरै हुन्छन्, तथ्यका वाहक थोरै ।

नेपालमा कोरोनाबाहेकका विषयमा पनि हल्ला फैलाएर आतंक मच्चाइएका घटना छन् । २०७६ साउनमा शालिकराम पुडासैनीको मृत्युपछि त्यत्तिकै जिस्किएर ‘फोटोसप’ गरी एमआरआर नामक सीमित व्यक्ति भएको समूहमा राखिएको एउटा फोटो बाहिर आएपछि पुडासैनीको हत्या नै भएको हो भनी वातावरण निकै उत्तेजित भएको थियो । यो काम नियतवश गरेझैं देखिँदैन, तर पनि यसले हल्ला र उत्तेजना फैलायो । यसअघि २०५७ सालमा झूटा कुरा फैलँदा ‘ऋतिक रोशन काण्ड’ हुन पुग्यो, जसले ठूलो आतंक फैलायो र जनधनको क्षति गरायो ।

अक्टोबर १, २०१७ मा भारतको मुम्बईमा भएको भागदौडमा किचिएर मर्न लागेकी एउटी महिलालाई एक जना पुरुषले यौन दुर्व्यवहार गरेको भनी समाचार छापियो । यो समाचार रिपोर्टरले पाएको ८ सेकेन्ड लामो भिडियो क्लिपमा देखिएका कुरा र साक्षीका अन्य प्रसंगकाभनाइका आधारमा तयार गरिएको थियो । हिन्दु दैनिकले यो समाचार छापेपछि भारतका धेरै सञ्चार माध्यमले छापे । त्यसपछि सनसनी फैलियो । सामाजिक सञ्जालमा भारतीय समाज यति असभ्य भएको भनी असंख्य टिप्पणी गरियो । खासमा त्यो भिडियो लामो भिडियोको एउटा अंश रहेछ । पछि, त्यो लामो भिडियो हेर्दा थाहा भयो– त्यो मानिसले महिलाको उद्धार पो गरेको रहेछ । त्यसपछि हिन्दुले रिपोर्टिङ र सम्पादनमा त्रुटि भएको भनी क्षमा माग्दै त्यो रिपोर्टआफ्नो अनलाइनबाट हटायो ।

सामान्यतया हिन्दुजस्ता पत्रिकामा सत्यतथ्य जाँच नगरी समाचार छापिँदैन । तर २३ जना मानिस मरेको भागदौडको घटना सुन्दा र भिडियो हेर्दा रिपोर्टर र सम्पादकले आफ्नो पेसामा सधैं अपनाउने सावधानी अपनाउन सकेनन्, उनीहरूले विवेक उपयोग गर्न सकेनन् । यसले के देखाउँछ भने यस्ता घटना भएका बेलामा कठोरतापूर्वक सत्यापन गर्ने पेसामा लागेका मानिसलाई त त्यसो गर्न गाह्रो पर्छ भने त्यसो गर्नुपर्ने दायित्व सामान्यतया नभएका सर्वसाधारणलाई के पत्याउने, के नपत्याउने भन्ने कुरा ठम्याउन झन् गाह्रो हुन्छ ।

तथ्य–जाँचकीहरूको विश्वव्यापी सञ्जालका सदस्यहरूले के अनुभव गरेका छन् भने यस्तो हल्ला फैलाउनेले हल्लालाई विश्वसनीयजस्तो लाग्ने बनाउन कोसिस गरेका हुन्छन् । नर्भिक र शिक्षण अस्पतालमा कोरोना लागेका बिरामीको मृत्यु भयो भनी चलाइएको हल्लामा पनि त्यो कुरा अस्पतालका डाक्टरले भनेको भनिएको थियो ।

हल्ला फिँजाइएको विषयका जानकार भनी समाजले विश्वास गरेका मानिसले तथ्यलाई बंग्याउँदा हल्लाले अझ बढी बल पाउँदो रहेछ । नेपालमा कोरोना भाइरसको परीक्षण थोरै भएको तथ्यलाई एक जना वरिष्ठ डाक्टरले अलिकति बंग्याएर जाँच हुँदै नभएको भनिदिँदा निकै आतंक फैलिएको थियो ।

विभिन्न कारणले अन्योल फैलिएका बेलामा पनि मानिसले थरीथरीका हल्ला चलाउने गरेका छन् । २०५८ सालमा राजा वीरेन्द्रको वंश विनाश भएपछि अनेक हल्ला चलेका थिए । एउटा हल्ला थियो स्काठमाडौंको खानेपानीको ठूलो मुहान सुन्दरीजलको पोखरीमा विषादी मिसाइएको छ, त्यो पानी खानयोग्य छैन । काठमाडौंमा विषादीको त्यति ठूलो भण्डार छैन र त्यतिबेला गाडी बन्द भएकाले बाहिरबाट विषादी काठमाडौं ल्याउन सम्भव छैन भन्ने सामान्य ज्ञान प्रयोग गरेको भए पानीमा विषादी मिसाइएको कुरा हल्ला मात्र हो भन्न सकिन्थ्यो । तर दरबार हत्याकाण्डले मानिसलाई आतंकित र अन्योलग्रस्त बनाएकाले मानिसको विवेक गुम भयो, धेरैले त्यो हल्ला पत्याए र थप आतंकित भए ।

हरेकजसो आन्दोलनमा आन्दोलनलाई उत्तेजित बनाउने हिसाबले झूटा कुरा फैलाउने गरिएको छ । २०४६ सालको आन्दोलन चर्किंदै जाँदा सरकारसँग पैसा छैन भन्ने हल्ला फैलिएको थियो । त्यसपछि मानिसहरू आफूले बैंकमा राखेको पैसा निकाल्न भिडमभीड गर्न थाले । २०४६ चैत २४ गते कर्फ्यु नलागेको भए एक हप्ताजतिमा नेपालको बैंकिङ प्रणाली तहसनहस हुने थियो । हल्लाले कति ठूलो प्रभाव पार्छ भन्ने कुराको एउटा उदाहरण हो यो । त्यही आन्दोलनमा विद्यार्थी नेता लक्ष्मी कार्कीको हत्या गरिएको भनी हल्ला चलाइएको थियो । विश्वविद्यालयका नाम चलेका वरिष्ठ प्राध्यापकले समेत सार्वजनिक भेलामा सरकारले उनको हत्या गरिसकेको भनी किरिया खाँदै ठोकुवा गरेका थिए ।

२०७२ साउनदेखि २०७६ माघसम्म साउथ एसिया चेकको तथ्य–जाँच गर्ने टोलीको सम्पादक भएका नाताले मैले यस्ता धेरै हल्लाको आन्द्राभुँडी खोतलेको छु । २०७२ सालमा संविधानसभाबाट नेपालको संविधान जारी भएपछि मधेसमा आन्दोलन चल्यो । आन्दोलनकारीले टीकापुरमा प्रहरीको हत्या गरे । यस घटनाले मानिसलाई स्तब्ध बनायो । त्यसलगत्तै एउटा ब्लगमा टीकापुरमा प्रहरीलाई यसरी आगो लगाइएको थियो भन्ने आशय झल्कने गरी एउटा फोटो छापियो । चाँडै फैलिएको यस फोटोले थप आतंक मच्चायो । खासमा त्यो चार वर्ष पुरानो अमेरिकाको फोटो थियो ।

यो हल्ला सामाजिक सञ्जालमा फैलिएको थियो । त्यही सामाजिक सञ्जाल प्रयोग गरेर हेरेको भए यो फोटो चार वर्ष पहिलेदेखि धेरैपटक विभिन्न वेबसाइटमा राखिएको प्रस्ट हुन्थ्यो । त्यस फोटोमा देखिएका मानिसका अनुहार हेर्दा त्यो नेपालको होइन भन्ने स्पष्ट देखिन्थ्यो तर त्यतिबेलाको वातावरण कस्तो थियो भने मानिसले त्यसरी हेर्ने कोसिस गरेनन्, जे सुने, जे देखे त्यही पत्याए । यस्ता बेलामा सामाजिक सञ्जालमा फैलिएका ढाँट कुरालाई अकाट्य सत्यका रूपमा लिइँदो रहेछ । अरू त अरू, यस घटनाका बारेमा रिपोर्ट तयार गर्दा संयुक्त राष्ट्रसंघले समेत नमरेको मान्छेलाई मरेको भन्यो ।

कोरोनाको महामारी फैलियो भने हामीले धेरै हल्ला सुन्नुपर्ला जस्तो लाग्छ किनभने यस्तो हल्ला फिँजाउनका लागि धेरै मानिस यस ग्रहमा स्वयंसेवीका रूपमा खटिन्छन् । तिनले चलाउन थालेका हल्लालाई फैलाउन अझ धेरै स्वयंसेवी खटिनेछन् । त्यति बेला हामीले यस्ता हल्लाबाट बच्नुपर्छ । तथ्य–जाँचकीहरूको अन्तर्राष्ट्रिय सञ्जालले केही वर्षअघि दिएको सल्लाह मान्यौं भने यस्ता हल्लाबाट बच्न सकिन्छ । उसले भनेको थियो— अरूले मूर्ख बनाउलान्, बुझेर मात्र पत्याऔं ।यसका लागि हामीले कुनै कुरा देखेरसुनेरपढेपछि केही काम गर्नुपर्छ । ती हुन्ः

-पत्रपत्रिका, रेडियो र टीभीले भनेको हो ? सामान्यतया आमसञ्चारका यी साधन बढी विश्वसनीय हुन्छन् । गल्ती भएको रहेछ भने उनीहरूले चाँडै सच्याउँछन् ।
-यिनले भनेको होइन भने त्यसको स्रोत कत्तिको भरपर्दो हो ?
-त्यो मान्छे यसो भन्नका लागि कत्तिको योग्य छ ?
-योग्य छ भने पनि उसले सरकारसँग अथवा कसैसँग आफ्नो पुरानो रिस साध्नका लागि पो यसो भनेको हो कि ?
-यही कुरा विश्वसनीय सञ्चार माध्यमले भनेको छ कि छैन ?
-कसैले कुनै फोटोरभिडियो राख्यो भने त्यो फोटोरभिडियो यसअघि कसैले इन्टरनेटमा राखिसकेको छ कि ? (यो कुरा पैसा नतिरी उपयोग गर्न पाइने इन्टरनेट टुल्सका माध्यमले पत्ता लगाउन सकिन्छ ।)

तपाई‌ं–हामी हल्ला सजिलै पत्याउँछौं, त्यसैले मानिसहरू हल्ला गर्ने गर्छन् । हामी हल्ला फैलाउने सामग्री सोच्दै नसोची सेयर गर्छौं, त्यसैले मानिसहरू हल्ला गर्छन् । अत्याउने, सनसनी फैलाउने खालका सामग्री सामान्यतया झूटा हुन सक्छन् । त्यसैले, यस्ता सामग्री सेयर गर्नुअघि धेरैपटक सोचौं । र, ख्याल राखौं, झूटा कुरा हेर्नु र सुन्नु र पढ्नु, पत्याउनु र सेयर गर्नुभन्दा उँघेर बसेको बेस ! कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस