
काठमाडौं, जेठ २ । पछिल्लो समय निरन्तर बढेर पुँजी बजार मापक नेप्से परिसूचक १३२१ अंकमा पुग्दा पनि हाइड्रोपावरको शेयर किन्नेहरुमा भने कुनै उत्साह देखिएको छैन ।
पुँजी बजारमा कारोबार रकम बढ्दा लगानीकर्तामा नयाँ उत्साह पैदा गरेको छ । केही समय पहिला ३० करोडको हाराहारीमा कारोबार हुँदै आएको शेयर पछिल्लो समय दैनिक १ अर्बभन्दा माथि हुन थालेको छ । शेयर बजारमा एकथरी लगानीकर्ता उत्साहित हुँदै जाँदा हाइड्रोपावरको शेयर किन्नेहरुमा भने निरुत्साहित बन्न पुगेको छन् ।
कुनै समय हाइड्रोपावरको शेयर किन्न झुम्मिनेहरु अहिले भने नाक खुम्चाउन थालेका छन् । पैसा जति धामीलाई बेथा हामीलाई भनेजस्तै मोटो रकम संस्थापक सञ्चालकले लिने तर सर्वसाधारणले केही पनि नपाउने अवस्था आएपछि हाइड्रोपावरको शेयर खरिद गर्र्ने लगानीकर्ताहरु निरुत्साहित हुन पुगेका हुन् ।
अहिले पनि नेपाल स्टक एक्चेन्ज (नेप्से) मा सूचीकृत २४ हाइड्रोपावर कम्पनीमध्ये १० वटाको शेयर मूल्य आधारभूत मूल्यभन्दा कम अर्थात सय रुपैयाँभन्दा कम छ । सय रुपैयाँभन्दा तल शेयर हुने हाइड्रोपावर कम्पनीमा बरुण, छ्याङदी, दिव्यश्वरी, कालिका, खानीखोला, माउन्टेन, नेसनल, रैराड., रिडी, सिनर्जी छन् । नेप्सेमा सूचीकृत सबै कम्पनीमध्ये करिव आधा हाइड्रोपावर कम्पनीको शेयर आधारभूत मूल्यभन्दा कम भएपछि त्यसले लगानीकर्तामा सकारात्मक प्रभाव पार्न नसकेको हो ।
१० वटा कम्पनीको प्राथमिक शेयर (आईपीओ) किन्दा एक सय रुपैयाँ तिरेका लगानीकर्तको शेयर मूल्य त्योभन्दा तल पुगेको छ । बैंकको ब्याज त के कुरा साँवा पनि गुमाउन पुगेका छन् । कृषकले मानो रोपेर मुठी पनि उब्जनी नभएजस्तै भएको छ, अहिले हाइड्रोपावर कम्पनीको शेयरमा लगानी गर्नेको अवस्था ।
नेप्सेमा सूचीकृत २४ वटा हाइड्रोपावर कम्पनीमध्ये २१ वटाको शेयर मूल्य २ सयभन्दा कम छ । २ सय रुपैयाँभन्दा बढी शेयर मूल्य हुनेमा चिलिमे, सानिमा र अपर तामाकोशी मात्रै छन् ।
सरकारी स्वामित्वको चिलिमे कम्पनीको शेयरमा कुनै समय उल्लेख्य चासो रहने गर्दथ्यो । पछिल्लो दिनमा उक्त कम्पनीको शेयरमा समेत लगानीकर्ताले चासो दिन छाडेका छन् ।
कुनै बेला चिलिमे हाइड्रोपावर कम्पनीले बोनस र लाभांश प्रशस्त दिने हुँदा चिलिमेको शेयरलाई सुनको अन्डा दिने कुखुरको रुपमा लिइन्थ्यो । तर, अहिले त्यो कम्पनीको शेयरमा पनि त्यति चासो लगानीकर्ताले दिन छाडेका छन् । हुन त अहिले पनि चिलिमेको शेयर अन्य हाइड्रोपावर कम्पनीको तुलनामा उच्च नै छ । अहिले पनि चिलिमेको शेयर ५३० को हाराहारीमा कारोबार भइरहेको छ ।
यसैगरी, सानिमा माईको २६५ रुपैयाँ र अपर तामाकोशीको २४५ रुपैयाँको हाराहारीमा कारोबार भइरहेको छ । यी तीन कम्पनीको बाहेक अरु जलविद्युत् कम्पनीको अवस्था खराब रहेकाले शेयर मूल्य पनि कम भएको लगानीकर्ताको भनाइ छ ।
कुनै समय शेयर लगानीकर्ताका लागि हाइड्रोपावरको शेयर प्रमुख आकर्षक मानिएको थियो । तर, अहिले बैंक, बीमा, माइक्रोफाइनान्सको शेयरमा लगानीकर्ता बढी झुम्मिन थालेका छन् ।
नेपाल धितोपत्र बोर्डमा अन्य जलविद्युत् कम्पनीले साधारण शेयर बिक्रीको तयारी गरिरहँदा दोस्रो बजारमा भने जलविद्युत् कम्पनीका शेयर उकालो लाग्न सकेको छैन् ।
प्रतिक्रिया दिनुहोस