
रूपन्देही । चौतर्फी दबाबपछि बुटवल उपमहानगरपालिकाले निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई न्यूनतम दररेटमै गिट्टी(बालुवा उपलब्ध गराउने निर्णय गरेको छ । आयोजनाले पठाएको पत्रलाई आधार मान्दै प्रदेश सरकारले तयार गरेको कार्यविधिअनुसार न्यूनतम प्रतिघनफुट ६ रुपैयाँ दरमै गिट्टी(बालुवा उपलब्ध गराउने निर्णय गरेको हो । सोमबार नगर कार्यपालिकाको बैठकले उक्त निर्णय गरेपछि गतिरोध हटेको छ ।
उपमहानगरपालिकाले सप्लायर्स कम्पनीसँग न्यूनतम दरमा सम्झौता गरिसकेपछि राजस्व दर वृद्धि गरेर प्रतिघनफुट १५ रुपैयाँ ४१ पैसा निर्धारण गरेको थियो । उपमहानगरले पछिल्लोपटक वृद्धि गरेको दरमा सप्लायर्स कम्पनीले नदीजन्य सामग्री उत्खनन गर्न मानेन । त्यसले विमानस्थल निर्माणका लागि गिट्टी(बालुवा अभाव भएको थियो ।
काम रोकिएपछि पुरानै दरमा आपूर्ति गर्न उपमहानगरपालिकालाई दबाब बढेको थियो । दबाब थेग्न नसकेपछि सोमबार पुरानै दरमा उपलब्ध गराउने निर्णय गरेको हो । उत्खनन, संकलन र ढुवानीलाई कडा अनुगमन गर्ने उपमहानगरले जनाएको छ ।
उपमहानगरपालिकाले गत चैत ८ गते स्वसाम कन्स्ट्रक्सनसँग प्रतिघनफुट ६ रुपैयाँ ७८ पैसामा गिट्टी(बालुवा उपलब्ध गराउने सम्झौता गरेको थियो । स्वसामले विमानस्थल आयोजनालाई नदीजन्य सामग्री उपलब्ध गराउँदै आएको छ ।
उक्त कन्स्ट्रक्सनले सम्झौतापछि उपमहानगरपालिकामा ४२ लाख ४० हजार ४ सय ६६ रुपैयाँ राजस्वसमेत जम्मा गरिसकेको छ । उपमहानगरको गत वैशाख ५ गते बसेको बैठकबाट सबै नदीबाट उत्खनन हुने सामग्री प्रतिघनफुट १५ रुपैयाँ ४१ पैसामा मात्र उपलब्ध गराउने निर्णय गरेको थियो ।
कान्तिपुर दैनिकबाट ।
प्रतिक्रिया दिनुहोस