aarthiknews.com आइतबार, २१ जेठ २०८०   Sunday, 04 June, 2023
 
सहकारीको अर्को ठगेर सञ्चालक फरार, २ हजार जनाको २४ करोड डुब्यो

सहकारीको सञ्चालक फरार, २ हजार जनाको २४ करोड डुब्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ३१ बैशाख २०७६
सहकारीको सञ्चालक फरार, २ हजार जनाको २४ करोड डुब्यो
NIBL

काठमाडौं । बचतकर्ताको २४ करोडभन्दा धेरै रकम कुम्ल्याएर बूढानीलकण्ठको नयाँ सन्देश बचत तथा ऋण सहकारी लिमिटेडका मुख्य सञ्चालक फरार भएका छन् ।

साढे २१ प्रतिशत ब्याज पाइने प्रलोभन देखाएर सहकारीले सय दिने मुद्दती योजना ल्याएपछि बूढानीलकण्ठ नगरपालिका वडा नम्बर ३ र ५ लगायत वडाका बासिन्दाले करोडौं रुपैयाँ निक्षेप गरेका थिए । पीडितहरूका अनुसार कम्तीमा २ हजार जनाको रकम फसेको छ ।

सहकारीका सञ्चालकले ब्याज त परै जाओस् साँवासमेत फिर्ता दिन आलटाल गरेपछि निक्षेपकर्ताहरू रकम फिर्ताका लागि दौडधुपमा थिए । गत पुस १५ मा वडा नम्बर ५ का अध्यक्ष विजयकुमार तामाङ, सहकारीका अध्यक्ष सानु ठकुरी, उपाध्यक्ष राजकुमार ठकुरी र पीडितबीच बूढानीलकण्ठस्थित प्रहरी इकाईमा छलफलसमेत भएको थियो ।

वडाध्यक्ष तामाङका अनुसार उक्त छलफलमा सहकारीले ४५ दिनभित्र सबै निक्षेपकर्ताको रकम फिर्ता गर्ने सम्झौता गरेको थियो । कागजी भाका सकिएपछि पनि सहकारी सञ्चालकहरू सम्पर्कमा नआएपछि पीडितहरूले सोमबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा जाहेरी दिएका छन् ।

पीडितहरूका अनुसार फसेको रकम उठाउने नाममा टाठाबाठा पीडितहरूले भित्रभित्रै कुरा मिलाउन रआफ्नो मात्रै पैसा उठाउन लागिपरेका थिए । २०६५ पछि सानु ठकुरीको अध्यक्षतामा सञ्चालनमा आएको सहकारीले सात वर्षयता वार्षिक लेखापरीक्षण पनि नगरेको वडाध्यक्ष तामाङले बताए ।

आफ्नै दाइ, भाइ र भिनाजुको समेत सहकारीमा १३ लाख फसेको सुनाउँदै उनले भने, ‘फसेको रकम उठाउन अनेक प्रयत्न गर्‍यौं । अहिले त सञ्चालकहरू नै फरार भए ।’ कान्तिपुर दैनिकबाट ।

प्रतिक्रिया दिनुहोस