aarthiknews.com शुक्रबार, २६ जेठ २०८०   Friday, 09 June, 2023
 
एक लाख बेरोजगारलाई ३० दिनको रोजगारी, स्थानीय तहलाई सवा दुई अर्ब अनुदान

एक लाख बेरोजगारलाई ३० दिनको रोजगारी, स्थानीय तहलाई सवा दुई अर्ब अनुदान

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ३१ बैशाख २०७६
एक लाख बेरोजगारलाई ३० दिनको रोजगारी, स्थानीय तहलाई सवा दुई अर्ब अनुदान
NIBL

काठमाडौं । सरकारले एक लाखभन्दा बढी बेरोजगारलाई ३० दिनको रोजगारी दिन ‘कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजना’ कार्यक्रम अगाडि बढाएको छ । यसका लागि सरकारले सबै स्थानीय तहमा दुई अर्ब ३६ करोड ७९ लाख ६९ हजार रुपैयाँ ससर्त अनुदान पठाइसकेको छ ।

स्थानीय तहले न्यूनतम पाँच लाखदेखि एक करोड रुपैयाँसम्मको अनुदान पाइसकेका छन् । यो रकमबाट स्थानीय तहले आउँदो दुई महिनाभित्र स्थानीय तहमा सूचीकृत एक लाख ६ हजार आठ सय ७२ बेरोजगारलाई ३० दिनको रोजगारी दिनुपर्नेछ ।

चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा सरकारले बेरोजगारलाई न्यूनतम रोजगारीको ग्यारेन्टी गर्ने र त्यसो गर्न नसके निर्वाह भत्ता वितरण गर्ने गरी प्रधानमन्त्री रोजगार कार्यक्रमको घोषणा गरेको थियो । तर, बेरोजगारको सूची संकलनमा भएको ढिलाइका कारण यो आर्थिक वर्षमा न्यूनतम सय दिनको रोजगारी दिन सम्भव भएन । त्यसैले बेरोजगारलाई ज्यालादारीमा एक महिनाको रोजगारी उपलब्ध गराउन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले स्थानीय तहलाई अनुदान वितरण गरेको हो । 

यो कार्यक्रम सञ्चालन तथा व्यवस्थापनका लागि ल्याइएको कार्यविधि २२ वैशाखमा मन्त्रीस्तरीय निर्णयबाट स्वीकृत भइसकेको प्रधानमन्त्री रोजगार कार्यक्रमका प्रवक्ता लोकनाथ भुसालले जानकारी दिए । बेरोजगारलाई न्यूनतम रोजगारी प्रत्याभूत गर्न तथा सामुदायिक पूर्वाधारको विकासमार्फत नागरिकको जीवनयापनमा सुधार ल्याउने उद्देश्यले यो योजना अघि बढाइएको कार्यविधिमा उल्लेख छ ।

जसअनुसार स्थानीय तहले एउटा आयोजनामा बढीमा पाँच लाख रुपैयाँसम्म खर्च गर्न सक्नेछन् । श्रमिक समूहमार्फत सञ्चालन गरिने आयोजनामा बढीमा एक लाख रुपैयाँसम्मको ज्यालाबापतको रकम आयोजनाको डिजाइन र करारविनै उपलब्ध गराउन सक्नेछन् । नयाँ पत्रिका दैनिकबाट । 

प्रतिक्रिया दिनुहोस