
काठमाडौं । भनिन्छ पशुपतिनाथले सबैको रक्षा गर्छन् । तर, नेपालका भूमाफिया यति शक्तिशाली छन्, जसबाट पशुपतिनाथले आफ्नै जायजेथा रक्षा गर्न सकिरहेका छैनन् । पशुपतिका नाममा रहेको उपत्यकाकै कम्तीमा दुई सय ३१ रोपनी १० आना जग्गा कहिले कसले खायो पत्तै छैन ।
वागमतीदेखि मनहरा नदी बगरसम्मका पशुपतिको जग्गा हराएका हुन् । तत्कालीन राणा प्रधानमन्त्री चन्द्र शमशेरदेखि भूमाफियासम्मले पशुपतिको जग्गा गायब पारेको ठहर छानबिन समितिले गरेको छ । श्रीपशुपतिनाथ अमालकोट कचहरी, श्रीपशुपति भण्डार तहबिल र जयवागेश्वरी भण्डार तहबिलको असुली लगतको अभिलेखअनुसार पशुपतिनाथको नाममा रहेको दुई सय ३१ रोपनी १० आना जग्गा गायब पारिएको छ ।
पशुपतिनाथको गुठी जग्गा छानबिन तथा संरक्षण समितिले अर्बौं रुपैयाँ पर्ने जग्गा हराएको प्रतिवेदन तयार पारेको छ । कोष सञ्चालक परिषद्का कोषाध्यक्ष एवम् समितिका संयोजक डा। मिलनकुमार थापाले पशुपतिनाथको नाममा रहेका अझै धेरै जग्गा गायब पारिएको हुन सक्ने बताए ।
हालसम्म पशुपतिनाथको जग्गा र सम्पत्तिको खोजबिन गर्न तीनवटा समिति बनिसकेका छन् । संस्कृति मन्त्रालयका तत्कालीन सचिव जलकृष्ण श्रेष्ठको संयोजकत्वमा समिति बनाइएको थियो । त्यो समितिले पशुपतिको जग्गाको खोजबिन गरी प्रतिवदेन बाहिर ल्याउन सकेन ।
त्यसपछि कोषका परिषद् सदस्य नवलकिशोर चौधरीको संयोजकत्वमा जग्गा छानबिनका लागि समिति बन्यो । त्यो समितिले पनि प्रतिवेदन तयार पार्न सकेन । परिषद् सदस्य रमेशराज सिवाकोटी, मालपोत विभागका महानिर्देशक, नापी विभागका महानिर्देशकलगायत राखेर कोषाध्यक्ष थापाको संयोजकत्वमा तेस्रोपटक गठित समितिले भने प्रतिवेदन तयार पारेको छ ।
‘अमालकोट कचहरीको ६ रोपनी १२ आना, जयबागेश्वरी भण्डार तहबिलको ११ रोपनी ७ आना र भण्डार तहबिलको दुई सय १३ रोपनी ७ आना जग्गा हराएको छ’, थापाले अन्नपूर्णसँग भने । भण्डार तहबिलको विवरणअनुसार लगत नम्बर २४९ को चन्द्रशमशेर मोही भएको ६ रोपनी ४ आना जग्गा हराएको छ । काठमाडौं बौद्ध–६ स्थित पूर्वप्रधानमन्त्री चन्द्रशमशेर मोही रहेको यो जग्गा उनका सन्तानले हडपेर खाएको पाइएको छ ।
लगत नम्बर ९२४ मा देखिने डा। रघुवीर वैद्यको बौद्धकै कित्ता नम्बर ४८ को २९ रोपनी ४ आना २ पैसा २ दाम जग्गा गायब छ । यो जग्गा कित्ताकाट भइसकेको छ तर साबिकको लगत भने काटिएको छैन । अन्नपूर्ण पोस्टबाट ।
प्रतिक्रिया दिनुहोस