कोसी करिडोरको सबस्टेसन निर्माण तीव्र - Aarthiknews
aarthiknews.com बुधबार, १४ फागुन २०७६   Wednesday, 26 February, 2020
 

कोसी करिडोरको सबस्टेसन निर्माण तीव्र

  • आजको गोरखापत्र दैनिकबाट
    आजको गोरखापत्र दैनिकबाट
  • शुक्रबार, ०२ फागुन २०७६
Sunrise
कोसी करिडोरको सबस्टेसन निर्माण तीव्र
LBEF

ताप्लेजुङ । ताप्लेजुङको ढुङ्गेसाँघुस्थित कोसी करिडोर प्रसारण लाइनका लागि निर्माणाधीन सबस्टेसन निर्माणको कार्यलाई तीव्रता दिइएको छ । मैवाखोला गाउँपालिका–१, ढुङ्गेसाँघुमा निर्माण सुरु गरिएको २२० केभीए क्षमताको सबस्टेसन निर्माण भइरहेको छ ।

निर्माण कार्य सुरु भएको पाँच महिनामा करिब १० प्रतिशत काम सम्पन्न भएको निर्माण कम्पनी केईसी इन्टरनेसनलले जनाएको छ ।

भारतीय निर्माण कम्पनी केईसी इन्टरनेसनलका साइट इन्चार्ज राजित मियाँका अनुसार भवन निर्माण, जमिन सम्याउने, माटो भर्ने, ट्रान्सफर्मर राख्ने केन्द्रको व्यवस्थापनसहितका जगका कार्य भइरहेका छन् । निर्माणको कार्य प्रारम्भ गरेसँगै अहिले दैनिक ८६ जना कामदारमार्फत काम भइरहेको मियाँले जानकारी दिए ।

ताप्लेजुङमा उत्पादन हुने विद्युत्लाई राष्ट्रिय प्रसारणमा जडान गर्नका लागि कोसी करिडोरअन्तर्गत गत असोजदेखि सबस्टेसन निर्माणको कार्य सुरु गरिएको हो ।

स्थानीय क्षेत्रका जनशक्तिसमेत परिचालन गरेर सन् २०२० को डिसेम्बरभित्रै सबस्टेसन निर्माणको कार्य पूरा गर्ने योजनाका साथ काम भइरहेको मियाँले बताए ।

निर्माण कार्यका लागि प्राकृतिक वा अन्य कुनै खालको अवरोध सिर्जना नभएमा लक्ष्यअनुसार काम पूरा हुनेमा कुनै द्विविधा नहुने उनको भनाइ छ ।निर्माण कम्पनीका अनुसार कम्पनीसँग सम्पर्कमा रहेका अन्य दक्ष जनशक्तिसमेत काममा परिचालन गरिने छ ।

आयोजना प्रभावित वा स्थानीय क्षेत्रका जनशक्तिलाई समेत रोजगारीको अवसर दिने गरी स्थानीय मजदुरलाई काममा लगाएको तर उनीहरूमा आवश्यक दक्षता पाउनलाई कठिन भएको उनको भनाइ छ ।

ठूलो क्षमताको विद्युत् सबस्टेसन निर्माण भइरहेकाले यसमा ट्रान्सफर्मरसहितका उपकरण वजनदार उपकरणलाई सबस्टेसन स्थलसम्म पु¥याउन समस्या हुने मियाँले बताए ।

प्रतिक्रिया दिनुहोस