तरकारीको मूल्यमा बिचौलियाको राज - Aarthiknews
aarthiknews.com मंगलबार, ०६ फागुन २०७६   Tuesday, 18 February, 2020
 

तरकारीको मूल्यमा बिचौलियाको राज

  • आजको गोरखापत्र दैनिकबाट
    आजको गोरखापत्र दैनिकबाट
  • शुक्रबार, ०२ फागुन २०७६
Sunrise
तरकारीको मूल्यमा बिचौलियाको राज
LBEF

काठमाडौं । कालीमाटीस्थित फलफूल तथा तरकारी बजार विकास समिति २४ घण्टा जागा हुन्छ तर बिहान २ बजेदेखि सुरु भएको चहलपहल ११ बजेसम्म कायम हुन्छ ।

उपत्यका र वरपरका तरकारी तथा फलफूलका ठूला व्यापारीदेखि साइकलमा घुमेर बेच्ने र किराना पसलमा तरकारी बेच्ने साना व्यापारीको बिहानैदेखि घुइँचो हुन्छ । सस्तो तरकारी पाइन्छ भनेर गृहणीहरू आउने गर्छन् तर कालीमाटीका लागि सबैभन्दा ठूलो समस्या भनेको मूल्य नै हो । बिचौलियाले पत्रपत्र गरेर मूल्य बढाउँछन् ।

छैन मूल्यसूची

त्यहाँको मूल्य कसैको नियन्त्रणमा छैन । खुद्रा व्यापारी त्यहाँ पुग्दासम्म तरकारीको मूल्य के हुन्छ भन्ने थाहा हुँदैन । त्यहाँ ठूला व्यापारीलाई सोधपुछ गरेपछि मात्र थाहा हुन्छ ।

मूल्य थाहा नहुँदा कतिपय व्यापारी तथा उपभोक्ता ठगिएको देखिएको छ । सरकारले सबै पसल तथा होटलमा देखिने गरी मूल्यसूची राख्न अनिवार्य गरेको छ । तरकारी बजारमा मूल्यसूची नै छैन ।

कालीमाटीको गेटभित्र छिर्नेबित्तिकै कुन तरकारी कति मूल्यमा पाइन्छ भनेर जान्नै समस्या भएको दुखेसो सानेपाका खुद्रा व्यापारी विपीन केसीले गरे । न समितिले देखिने गरी कहीँ सूची राखेको छ न कुनै स्टलमा मूल्यसूची झुण्डिएको पाइन्छ, त्यसले गर्दा त्यहाँका व्यापारीले भनेकै मूल्यमा तरकारी किन्न बाध्य हुनुपरेको उनी बताउँछन् ।

कालीमाटी तरकारी बजारभित्र समितिको भवन छ । भवनमाथि मूल्यसूची प्रदर्शन हुने ठूलो बोर्ड छ तर त्यो दुई महिनादेखि बन्द छ । मूल्यसूची अद्यावधिक गर्ने बजार सहायक राजेश श्रेष्ठसँग मूल्यसूचीबारे जिज्ञासा राख्दा उनले आफ्नो मोबाइल खोलेर मूल्य देखाए ।

उनले भने, ‘फेसबुक, अनलाइनमा मूल्यसूची हेर्न सक्नुहुन्छ ।’ मूल्यसूची कसरी अद्यावधिक गर्नुहुन्छ भन्ने जिज्ञासामा श्रेष्ठले बजारको अनुगमन गरी व्यापारीसँग सोधेर मूल्य तय गर्ने गरिएको जनाए । समर्थन मूल्य तोकेको छैन ।

दिनैपिच्छै मात्र होइन, घण्टैपिच्छे मूल्य फरक हुन्छ अर्थात् कालीमाटी बजारको मूल्य नियन्त्रणमा छैन । बिहान ३ बजेदेखि ५ बजेसम्म एउटा मूल्य हुन्छ भने ५ बजेदेखि ७ बजेसम्म अर्को र फेरि ७ बजेपछि अर्को मूल्यमा बिक्री भइरहेको हुन्छ ।

यस्तो हुनुको एउटै कारण तरकारी बजार किसान तथा उपभोक्तामुखी नहुनु हो । कालीमाटी तरकारी बजार न किसानमुखी हुन सकेको छ, न उपभोक्तामुखी । त्यसैले बजारको मूल्य सरकारको नियन्त्रणभन्दा बाहिर रहेको विश्लेषण गरिएको छ ।

किसानको पहुँच तरकारी बजारसम्म छैन । व्यापारीले किसानकै खेतमा गएर तरकारी किन्छन् । ठूल्ठूला व्यापारीले किसानलाई कालीमाटी बजारको गेटभित्र छिर्नै नदिएको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस