प्युठान । नेपालमा हरित हाइड्रोजन प्रविधिको परीक्षणका लागि पहिलो पाइलट परियोजना सुरु गरिएको छ। बुटवल पावर कम्पनी लिमिटेड (बीपीसी) ले प्युठानको दरिमचौरस्थित झिमरुक जलविद्युत आयोजनाको परिसरमा ५० किलोवाट क्षमताको हरित हाइड्रोजन पाइलट प्लान्टको उद्घाटन गरेको हो।
बेलायत सरकार अन्तर्गतको विदेश, राष्ट्रमण्डल तथा विकास कार्यालय र विश्व बैंकको प्राविधिक तथा आर्थिक सहयोगमा सञ्चालन गरिएको यो परियोजना नेपालमा स्वच्छ ऊर्जा प्रविधिको नयाँ सम्भावनाको परीक्षणका रूपमा हेरिएको छ।
परियोजनाअन्तर्गत झिमरुक जलविद्युत आयोजनाबाट उत्पादित नवीकरणीय विद्युत प्रयोग गरी पानीलाई इलेक्ट्रोलाइसिस प्रक्रियामार्फत हाइड्रोजन र अक्सिजनमा विभाजन गरेर हरित हाइड्रोजन उत्पादन गरिन्छ। उत्पादन गरिएको हाइड्रोजनलाई १५० बार प्रेसरमा कम्प्रेस गरी सिलिन्डरमा भण्डारण गरिन्छ।
बीपीसीका अनुसार प्लान्टमा ५० किलोवाट क्षमताको क्षारीय (Alkaline) इलेक्ट्रोलाइजर प्रणाली जडान गरिएको छ, जसले ९९.९९ प्रतिशत शुद्धताको हाइड्रोजन उत्पादन गर्न सक्षम छ। प्लान्ट १३ अप्रिल २०२६ देखि परीक्षण सञ्चालनमा ल्याइएको थियो र सोही दिन पहिलो हाइड्रोजन सिलिन्डर सफलतापूर्वक भरिएको कम्पनीले जनाएको छ।
परियोजनाको उद्घाटन कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि, विश्व बैंक, राष्ट्रमण्डल तथा विकास कार्यालय, नेपाल विद्युत प्राधिकरण तथा अन्य सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
हरित हाइड्रोजनलाई विश्वभर कार्बन उत्सर्जन घटाउने महत्वपूर्ण ऊर्जा स्रोतका रूपमा हेरिन्छ। जलविद्युतजस्ता नवीकरणीय स्रोतबाट उत्पादन भएको बिजुली प्रयोग गरेर तयार गरिने हरित हाइड्रोजनले यातायात, उद्योग, मल उत्पादन तथा ऊर्जा भण्डारणजस्ता क्षेत्रमा कार्बन न्यूनीकरणमा सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
बीपीसीले यो पाइलट परियोजनाबाट हाइड्रोजन उत्पादन, भण्डारण, सुरक्षा, सञ्चालन तथा आर्थिक व्यवहारिकतासम्बन्धी महत्वपूर्ण अनुभव हासिल हुने जनाएको छ। यसले भविष्यमा ठूलो स्तरका परियोजना तथा नीति निर्माणका लागि आधार तयार गर्ने विश्वास लिइएको छ।
नेपालमा जलविद्युतको ठूलो सम्भावना रहेकाले अतिरिक्त ऊर्जा हरित हाइड्रोजनमा रूपान्तरण गरी आन्तरिक उपयोग तथा सम्भावित क्षेत्रीय बजारमा उपयोग गर्न सकिने अवसर रहेको पनि विज्ञहरूले बताएका छन्।
सरकारले पनि हेटौँडामा २.५ मेगावाट क्षमताको हरित हाइड्रोजन पाइलट परियोजना अघि बढाउने तयारी गरिरहेको छ।
बीपीसी नेपालका अग्रणी ऊर्जा कम्पनीमध्ये एक हो, जसले जलविद्युत उत्पादनदेखि ऊर्जा पूर्वाधार विकाससम्मका क्षेत्रमा लामो समयदेखि काम गर्दै आएको छ। कम्पनीले यो परियोजना नेपालको स्वच्छ ऊर्जा भविष्यतर्फको व्यवहारिक कदम भएको जनाएको छ।
आर्थिकन्यूज
प्रतिक्रिया