काठमाडौ । सिटी एक्सप्रेस मनि ट्रान्सफर र भक्तराज आचार्य संगीत प्रतिष्ठानको संयुक्त आयोजनामा ‘भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान २०८२’ प्रदान गरिएको छ।
कुपण्डोलस्थित होटल हिमालयमा आयोजित कार्यक्रममा यो सम्मान गायनतर्फ बरिष्ठ गायिका मीरा राणा र संगीततर्फ बरिष्ठ संगीतकार सी. के. राईलीलाई प्रदान गरिएको हो।
दुवै सम्मानित व्यक्तित्वलाई जनही एक लाख एक रुपैयाँ नगदसहित सम्मान गरिएको आयोजकले जनाएको छ। गायिका राणाले प्राप्त पुरस्कार क्यान्सर समाजका लागि हस्तान्तरण गरेकी छन्। उनले क्यान्सर सर्भाइभरका रूपमा क्यान्सर पीडित कलाकारहरूलाई सहयोग गर्ने उद्देश्यले नयाँ क्यान्सर समाज स्थापना गरिएको जानकारी पनि दिइन्।
कार्यक्रममा ‘सुशीला आचार्य सु–स्वास्थ्य कामना सम्मान’ बरिष्ठ संगीतकार तथा गितारवादक दीपक थापा र अभिनेता पवन मैनालीलाई प्रदान गरिएको छ। ५० हजार राशिको यो सम्मान सांगीतिक क्षेत्रमा सक्रिय रहँदै स्वास्थ्य उपचार गराइरहेका कलाकारहरूलाई प्रदान गरिँदै आएको छ।
सम्मान कार्यक्रम भक्तराज आचार्य संगीत प्रतिष्ठानकी अध्यक्ष सुशिला आचार्य र सिटी एक्सप्रेस मनि ट्रान्सफरका संस्थापक चन्द्र टण्डनले संयुक्त रूपमा प्रदान गरेका हुन्।
सिटी एक्सप्रेसले विगत १९ वर्षदेखि रेमिट्यान्स सेवामा काम गर्दै आएको छ। हाल कम्पनीले सिटी पे वालेटमार्फत अनलाइन भुक्तानी सेवा सुरु गर्नुका साथै रेमिट्यान्स भुक्तानी सुविधा पनि उपलब्ध गराइरहेको छ।
आर्थिकन्यूज
प्रतिक्रिया